शनिबार काठमाडौंमा नेकोस खेलकुद महोत्सवको उद्घाटन हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट खेलकुद महासंघले शनिबार काठमाडौंमा खेलकुद महोत्सवको उद्घाटन गर्दै छ । बिहीबार नेपाल खेलकुद महासंघ समाजवादी (नेकोस) ले पत्रकार सम्मेलन गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै शनिबार महोत्सवको उद्घाटन गर्ने जनाएको हो ।

महोत्सव पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गर्नेछन् । असोज ११ दिन चल्ने महोत्सवमा काठमाडौं, ललितपुर, पोखरा र हेटौँडामा १० वटा खेलको राष्ट्रिय च्याम्पियनसिप, सांस्कृतिक कार्यक्रम, पूर्वखेलाडी सम्मानसहित विभिन्न खेलको प्रदर्शनी हुने जनाइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका अध्यक्ष केशवकुमार विष्टले १३ गतेदेखी नै खेलकुद प्रतियोगिता सुरु भइसकेको जानकारी दिए । ‘योग खेल र स्केटबोर्ड असोज १३ र १४ गते पोखरा रंगशालामा भव्यरुपमा सम्पन्न भइसकेको छ र आज काठमाडौं लैनचौरमा वि बोईङ खेल सञ्चालन भईरहेको छ, बाँकी ७ वटा खेल असोज २० गतेदेखी २३ गतेसम्म काठमाडौं, ललितपुर र हेटौँडामा सम्पन्न हुनेछ र समग्र महोत्सवको समुद्घाटन असोज २० गते शनिबार २ बजे सातदोबाटो खेल परिसरमा पूर्वप्रधानमन्त्री तथा पार्टीका अध्यक्षद्धारा भव्य समारोहका बीचमा हुने कार्यक्रम तय भएकोसमेत जानकारी गराँउदछौँ’, विष्टले भने ।

त्यस्तै सबै खेलहरुको सञ्चालन र खेलकुद परिषदमा दर्ता भएका सम्बन्धीत खेल संघहरुले नै प्राविधिक सहयोग गरिरहेको र स्थानीय व्यवस्थापन खेलकुद महासंघ मातहतका राष्ट्रिय खेल संघ र प्रदेश तथा जिल्ला कमिटीहरुले गरिरहेको पनि विष्टले बताए ।

विष्टका अनुसार महोत्सवमा पोखरा महानगरपालिका र हेटौँडा उपमहानगरपालिकाले आफ्ना पालिकाहरुमा हुने खेलहरुको प्रवर्धन र सहयोग गरेको छ । त्यस्तै राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास बोर्ड, नेपाल ओलम्पिक कमिटी र विभिन्न संघ संस्थाहरुले पनि आवश्यक सहयोग गरिरहेको उनले बताए ।

उक्त महोत्सवमा ७ वटै प्रदेश र खुल्ला गरी देसभरीबाट करिव १ हजार ६ सय खेलाडीहरुको सहभागिता रहने छ । त्यस्तै असोज २३ गते भलिबल खेलको फाईनल खेलसँगै पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले महोत्सवको समापन गर्ने कार्यक्रम रहेको विष्टले बताए ।

सरकारको आयोजना बाहेकको निजी क्षेत्रबाट भएको उक्त प्रतियोगिता देसकै पहिलो भएको भन्दै विष्टले खेलाडी र खेलकुदको क्षेत्रमा गरिरहेको प्रयासलाई प्रोत्साहन दिन र प्रत्येक वर्ष आयोजना गरिने लक्ष्य राखेको महोत्सवलाई सफल बनाउन पनि सबैसामु आग्रह गरे ।

महोत्सवमा भलिवल, एथ्लेटिक्स, तेक्वान्दो, कराँते, बुद्धीचाल, योग खेल, सेपाकताक्र, वि वोईङ, स्केटवोर्ड, फुलकन्ट्याक कराँते लगायतका १० खेल खेलाइने छ ।

प्रतिक्रिया