नेपालले माल्दिभ्सलाई १३८ रनले हरायो, अविनाश बोहराले लिए ६ विकेट

काठमाडौं । १९औँ एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा नेपालले माल्दिभ्सलाई १३८ रनले हराएको छ । आइतबार चीनमा भएको खेलमा अविनाश बोहराले ६ विकेट लिएपछि नेपालले मल्दिभ्सलाई १३८ रनले हराएको हो ।

नेपालले सुरुवातमा टस जितेर पहिले ब्याटिङ गर्दै दिएको २१३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा माल्दिभ्स अन्तिम ओभरमा ७४ रनमा अलआउट हुन पुग्यो । पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २१२ रन बनाएको थियो ।

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए । रन आउट हुनुअघि उनले २७ बलमा ५२ रन बनाएका थिए । यस क्रममा उनले ३ चौका र ३ छक्का हिर्काए । मंगोलियाविरुद्धको खेलमा कीर्तिमानी शतक बनाएका कुशल मल्ल ४७ रनमा नटआउट रहे ।

उनले आक्रामक पारी खेल्दै २० बलमा ३ चौका र २ छक्का हिर्काए । यसअघि, ओपनर कुशल भुर्तेलले १८ बलमा ३५ रन बनाउँदै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । भुर्तेलले ५ चौका र १ छक्का हिर्काए । गुल्शन झाले पनि समान ३५ रन बनाए ।

उनले २१ बलको सामना गर्दै १ चौका र तीन छक्का हिर्काए । माल्दिभ्सका लागि नजवान इस्माइलले ३ विकेट लिए भने नसिर इस्माइल, मोहमद मुइभान र थोलाल मोहमद रायाले १–१ विकेट लिए । यो जितसँगै नेपाल क्रिकेटमा नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ ।

समूह ‘ए’ को विजेता भन्दै नेपाल अन्तिम आठमा पुगेको हो । अब अन्तिम आठमा नेपालले भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया