पाथीभरा मन्दिर भेटी हिनामिना प्रकरण : गाउँपालिकाद्वारा अध्ययन प्रतिवेदन सार्वजनिक

८८ लाख हिनामिना भएको दाबी

इलामको रोङ गाउँपालिकाले सानो पाथीभरा मन्दिर अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ । रोङ गाउँपालिका–३ स्थित पाथीभरा मन्दिरको सम्बन्धमा गठित छानबिन समितिको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीले सार्वजनिक नगरेपछि गाउँपालिकाले पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा पाथीभरा मन्दिरको भेटी बापतको ८८ लाख बढी रकम हिनामिना भएको दावी गरिएको छ । अध्ययन प्रतिवेदनमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग नगद मौज्दात रहेको दावी गरिएको छ । त्यस्तै १७ लाख ६६ हजार ९ सय ९ रुपैयाँको बैंक मौज्दात भेटिएको उल्लेख छ ।

अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७५/७६ देखि २०७९ माघ मसान्तसम्म पाथीभरा मन्दिरको आम्दानी ३ करोड १४ लाख ६२ हजार ९ सय २९ रुपैयाँ देखिएको छ । जसमध्ये खर्च २ करोड २० लाख ९१ हजार २ सय ४२ रुपैयाँ देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा आम्दानीतर्फ आव २०७५/७६ मा ८६ लाख ६ हजार ६ सय ६४, २०७६/७७ मा ७१ लाख ४३ हजार ३ सय ४५, २०७७/७८ मा ४२ लाख ३ हजार ५ सय ३४, २०७८/७९ मा ८२ लाख १ हजार ७ सय ७३ र ०७९ माघसम्म ३३ लाख ७ हजार ६ सय १२ रुपैयाँ देखिएको छ ।

त्यस्तै खर्चतर्फ आव २०७५/७६ मा ९१ लाख ९१ हजार १ सय ९५, २०७६/७७ मा ५० लाख २५ हजार ७ सय ७०, २०७७/७८ मा ३६ लाख ५० हजार ६ सय २२, २०७८/७९ मा २८ लाख १३ हजार ७ सय ७८ र २०७९ माघसम्म १८ लाख ९ हजार ८ सय ७७ रुपैयाँ देखिएको छ ।

संस्थाले उपलब्ध गराएको विवरणमा आव २०७९/८० मा कुनै निर्माण कार्य नभएको जानकारी गराएको भए पनि सात लाख ६९ हजार ५ सय ५९ बराबरको निमाण सामग्रीको बिल भेटिएको प्रतिवेदनमा उल्लेख छ । संस्थाले आव २०७५/७६, २०७६/७७ र २०७७/७८ को लेखापरीक्षण गरेको पाइएता पनि २०७४/०७५ पछि नवीकरण नगरेको र नवीकरण नहुनुको कारण समेत नपाइएको प्रतिवेदनमा उल्लेख छ ।

अध्ययन प्रतिवेदनका आधारमा संस्थालले रकम हिनामिना गरेको हुन सक्ने गाउँपालिकाको आशंका छ । ‘अध्ययनका क्रममा प्राप्त कागजातका आधारमा ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ पाथीभरा संरक्षण संस्थासँग मौज्दात देखिन्छ’ गाउँपालिकाले अध्ययनका लागि खटाएका चार्टर एकाउन्टेन प्रज्वल अधिकारीले भने, ‘तर, त्यो रकम कहाँ छ थाहा छैन । हिसाबमा चाहिँ देखिएको छ ।’

संस्थाले चलाएका कतिपय रसिद नभेटिएको र कतिपय केरमेट गरेको पाइएको अधिकारीले पत्रकार सम्मेलनमा बताए । ‘पाँच महिनाको २ सय ४६ रसिद बुक पाइएन, कतिपय रसिदमा केरमेटसमेत पाइयो, दान पेटिकामा कति रकम उठ्यो, त्यसको त हिसाब नै छैन । उठाएको रकम बैंकमा जम्मा नगरी सोझै भुक्तानी गरिएको पाइयो’, अधिकारीले भने, ‘अध्ययन प्रतिवेदन प्राप्त कागजातका आधारमा मात्र तयार गरिएकाले कागजी विवरणभन्दा बाहिर पनि कारोबार हुनसक्ने सम्भावना प्रशस्तै देखिन्छ ।’

पाथीभरा मन्दिरमा भेटी रकम हिनामिना भएको व्यापक गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयले गत २३ जेठमा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा रोङ गाउँपालिकाको तर्फबाट प्रतिनिधिका रूपमा चार्टर एकाउन्टेन अधिकारी सदस्य थिए ।

तीन महिनापछि आइतबार समितिले प्रजिअ श्रवणकुमार पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रजिअ पोखरेलले प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरेपछि गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

छानबिन प्रतिवेदन सार्वजनिक गर्न प्रजिअलाई दबाब दिन आफ्नो अध्ययन प्रतिवेदन सार्वजिक गरिएको गाउँपालिका अध्यक्ष मणीकुमार स्याङ्बो सुवासले बताए । ‘हामीले गाउँपालिकालाई प्रतिवेदनको एकप्रति उलब्ध गराइदिन प्रजिअलाई टेलिफोनमार्फत भन्यौँ, उहाँले दिन मिल्दैन भन्नुभयो । दिन नमिल्ने लेखेर दिन सक्नुहुन्छ ? भन्ने प्रश्न गर्दा लिखित पत्र पठाउनुहोस् म त्यही लेखेर पठाउँछु भन्नुभयो’ अध्यक्ष स्याङ्बोले भने, ‘हामीले तुरुन्त लिखित पत्र पठायौँ, तर अहिलेसम्म त्यसको केही प्रतिक्रया आएको छैन । छानविन प्रतिवेदन सार्वजनिक गराउन दबाब दिन हामीले अध्ययन प्रतिवेदन सार्वजनिक गरेका हौँ ।’

उसो त सार्वजनिक नभएको छानविन प्रतिवेदन र सार्वजनिक भएको अध्ययन प्रतवेदनको रकममा भने कुनै फरक छैन । गाउँपालिकाका प्रतिनिधि छानबिन समितिका सदस्य चार्टर एकाउन्टेन अधिकारीले नै अध्ययन प्रतिवेदन तयार गरेकाले दुवै प्रतिवेदनको रकममा फरक नरहेको अधिकारीले बताए । तर प्रतिवेदनको ढाँचा र भाषामा भने भिन्नता रहेको अधिकारीले बताए । सोही कारण अधिकारीले छानबिन समितिको निर्णयमा ‘नोट अफ डिसेन्ट’ समेत लेखेको बताए ।

यता गाउँपालिका अध्यक्ष स्याङ्बोले पाथीभरा मन्दिरमा भएको अनियमितता ढाकछोप गर्ने बहानामा प्रजिअले छानबिन प्रतिवेदन लुकाएको आरोप लगाए । ‘अध्ययन गर्छु भनेर प्रजिअले प्रतिवेदन सार्वजनिक गर्नुभएको छैन । उहाँले जति दिनमा अध्ययन गरे पनि प्रतिवेदन परिवर्तन गर्न सक्नुहुन्न’, अध्यक्ष स्याङ्बोले भने, ‘उहाँलाई चित्त बुझेन भने पनि प्रतिवेदन परिवर्तन गर्न सक्नुहुन्न । यो अनियमितता ढाकछोप गर्ने बहाना मात्र हो ।’

उता प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले छानबिन समितिबाट प्राप्त प्रतिवेदन एक साताभित्र सञ्चारकर्मीहरूमाझ सार्वजनिक गर्ने बताए । ‘मलाई ३१ भदौ साझमा प्रतिवेदन प्राप्त भयो । यो बीचमा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङको श्रदाञ्जलीसभा, संविधान दिवसलगायतमा व्यस्त भइयो । अध्ययन गर्ने मौका पाइएन’, प्रजिअ पोख्रलले भने, ‘आजदेखि प्रतिवेदन अध्ययन गर्न सुरु गरेका छौँ । अबको एक हप्तामा सञ्चारकर्मीहरूमाझ प्रतिवेदन सार्वजनिक गर्छौं ।’

पाथीभरा संरक्षण संस्थाको मातहतमा रहेको उक्त मन्दिरको सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारीसहित गत १ फागुनदेखि गाउँपालिकाको स्वामित्वमा ल्याइएको थियो । गाउँपाकिाले पाथीभरा संरक्षण तथा व्यवस्थापन ऐन २०७९ तयार गरी गाउँसभाबाट २०७९ माघ ११ गते पारित गरेको थियो । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ अनुसार कार्यविधि बनाई जैविक विविधता तथा धार्मिक क्षेत्रको संरक्षण गर्ने गरी उक्त मन्दिरलाई गाउँपालिकाको स्वामित्वमा ल्याइएको हो ।

सात महिनामा एक करोड बढी भेटी संकलन

पाथीभरा मन्दिरमा ७ महिना ३ दिनमा १ करोड ६ लाख ११ हजार ३ सय ४४ रुपैयाँ भेटी संकलन भएको छ । गएको १ फागुनदेखि ३ असोजसम्म संकलन भएको रकम पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको विवरणअनुसार सो अवधिमा ९७ लाख ५६ हजार ५ सय ८४ रुपैयाँ नगद र ८ लाख ५४ हजार ७ सय ६० रुपैयाँ बराबरको जिन्सी संकलन भएको पाथीभरा मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष दिलीपकुमार राईले जानकारी दिए ।

समितिका अनुसार फागुनमा १६ लाख ६८ हजार ६ सय ६२ नगद र २ लाख २५ हजार बराबरको जिन्सी, चैतमा २० लाख २१ हजार ७ सय ६१ नगद र ८४ हजार ६ सय ६० बराबरको जिन्सी, वैशाखमा २० लाख ८० हजार ५ सय नगद र एक लाख बराबरको जिन्सी, जेठमा १७ लाख ६ हजार २ सय ९९ नगद र २ लाख ७० हजार ७ सय बराबरको जिन्सी संकलन भएको छ ।

त्यस्तै असारमा १० लाख २७ हजार ७ सय २६ नगद र ८४ हजार बराबरको जिन्सी, साउनमा ४ लाख ४२ हजार ५ सय २८ नगद र २१ हजार जिन्सी, भदौमा ७ लाख ५५ हजार ८ सय ७४ नगद र ६९ हजार ४ सय जिन्सी र असोज ३ गतेससम्म ५३ हजार १ सय २० रुपैयाँ रकम संकलन भएको हो ।

पाथीभरा मन्दिरमा संकलन भएको रकम त्यही ठाउँको विकासमा खर्च गरिने गाउँपालिका अध्यक्ष स्याङ्बोले बताए । ‘भक्तजनहरूको सहयोग सही ढंगले सदुपयोग हुनुपर्छ भन्नेमा पालिका सधैँ दृढ छ’, अध्यक्ष स्याङ्बोले भने, ‘हामी सधैँ पारदर्शीता र सुशासनको पक्षमा छौँ, हिजोको जस्तो हुनुहुँदैन ।’ पाथीभरा मन्दिर गाउँपालिकाले स्वामित्वमा लिएपछि नियमित रूपमा आम्दानी सार्वजनिक गर्न थालेको छ ।

यता स्थानीय सरोकारवालाहरूले सात महिनामा एक करोड बढी भेटी संकलन भएको पाथीभरामा करोडौँ भ्रष्टाचार भएको हुनसक्ने आशंका व्यक्त गरेका छन् । गाउँपालिकाको अध्ययन प्रतिवेदनअनुसार पुरानो समितिले पाँच वर्षमा तीन करोड मात्र भेटी संकलन गरेको देखिएको छ । पुरानो समिति र नयाँ समितिले संकलन गरेको रकममा अन्तर धेरै देखिएकाले पुरानो समितिबाट करोडौँ रकम हिनामिना भएको आशंका स्थानीय सरोकारवालाहरूको छ ।

प्रतिक्रिया