लापाज । विश्वकप विजेता अर्जेन्टिना र ब्राजिलले सन् २०२६ मा हुने फिफा विश्वकपको छनोटमा जित हासिल गरेका छन् । अर्जेन्टिनाले बोलिभियालाई ३–० ले हरायो भने ब्राजिलले खेलको अन्तिमतिर गोल गर्दै पेरुलाई १–० ले हराएको हो ।
समुन्द्र सतह भन्दा ३ हजार ६ सय मिटर माथि रहेको बोलिभियाको राजधानी लापाजमा भएको खेल अर्जेन्टिनाको लागि सधैं चुनौतीपूर्ण हुने गर्थ्यो । तर कप्तान लियोनेल मेस्सी बिना नै मैदान उत्रिएको अर्जेन्टिनालाई यो पटक भने जित निकाल्न सहजै रह्यो ।
३१औं मिनेटमा अर्जेन्टिनाले एन्जो फर्नान्डेजको गोलमा अग्रता बनाएको थियो । उनले यस खेलमा कप्तान डी मारियाको पासमा गोल गरेका थिए । त्यसपछि बोलिभियाका रोबर्टो फर्नान्डेजले पहिलो हाफमा रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडीमा सिमित भएको थियो ।
४२औं मिनेटमा निको टाग्लियाफिकोले आफ्नो अन्तराष्ट्रिय क्यारियरको पहिलो गोल गर्दा अर्जेन्टिनाले अग्रता दोब्बर बनायो । उनले पनि डी मारियाकै पासमा गोल गरेका थिए । यस्तै दोस्रो हाफमा पनि अर्जेन्टिनाले खेलमा आफ्नो प्रभुत्व जनाइरह्यो । खेलको ८३औं मिनेट निको गोन्जालेजले गोल गर्दै अर्जेन्टिनाको जित सुनिश्चित गरे ।
यस्तै पेरुमा भएको खेलमा ब्राजिलले घरेलु टोलीलाई हराउँदा मार्किन्हसले ९०औं मिनेटमा गोल गरे । ब्राजिलले धेरै नै संघर्ष गर्नु परेको खेलमा मार्किन्हसले नेयमारको कर्नरमा हेडमार्फत गोल गर्दै जित दिलाएका थिए ।
उता उरुग्वे भने इक्वेडर सँग २–१ ले पराजित हुन पुग्यो । इक्वेडरलाई जिताउन फेलिक्स टोरसले दुवै गोल गरे ।
छनोटको दुई चरणको खेल सकिँदा ब्राजिल ६ अंक सहित शीर्षस्थानमा छ। अर्जेन्टिनाको समान ६ अंक भएपनि गोल अन्तरको आधारमा दोस्रो स्थानमा छ । कोलम्बियाको ४ अंक छ भने उरुग्वे र भेनेजुयलाको समान ३–३ अंक छ ।
प्रतिक्रिया