माछापुच्छ्रे बैंकले बोलायो साधारण सभा

काठमाडौं । वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला माछापुच्छ्रे बैंक लिमिटेडले वार्षिक साधारण सभा आव्हान गरेको छ । भदौ २६ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते २५औं वार्षिक साधारण सभा गर्ने निर्णय गरेको हो । सभा होटल पोखरा ग्राण्ड, पोखरा, कास्कीमा विहान ११ बजे सुरू हुनेछ ।

सभाले गत आर्थिक वर्ष ०७९/८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक समेत निर्धारण गर्नेछ ।

सभाले प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ । बैंकको भदौ १३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०७९/८० को मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेका हो । हाल बैंकको चुक्तापूँजी १० अर्ब २५ करोड ७१ लाख ५५ हजार रूपैयाँ रहेको छ ।

सोही पूँजीको आधारमा १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव बैंकले गरेको हो । गत वर्ष भने बैंकले लाभांश वितरण गरेको थिएन । अघिल्लो आर्थिक वर्ष ०७७/७८ को मुनाफबाट भने बैंकले कुल १४ प्रतिशतनै लाभांश वितरण गरेको थियो । उक्त वर्ष बैंकले १३ दशमलव ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ७० प्रतिशत प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

उल्लेखित प्रस्तावहरूसँगै अन्य उपयुक्त बैंक तथा वित्ती संस्थाहरूसँग आगामी दिनमा मर्जर तथा प्राप्ति गर्न आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि बैंकले असोज ८ गते एक दिन बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा असोज ७ गतेसम्म कायम शेयरधनीहरू मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।

प्रतिक्रिया