साउदी एनआरएनएद्वारा उद्धारमा आर्थिक सहयोग


दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) साउदी अरब दुर्गाबहादुर सुनारको उद्धारका लागि सहयोग रकम नेपाली महावाणिज्यदूतावास जेद्धालाई हस्तान्तरण गरेको छ ।

दूतावास जेद्धाले गत १९ जुन मा सुनारलाई उद्दारार्थ गरिएको अपिल अनुसार एनआरएनए साउदी अरबले आफ्नो मातहतका क्षेत्रिय समन्वय समितिहरु र नेपाली जनसमुदाय संगको समन्वयमा उनको उद्धारका लागि सहयोग रकम संकलन अभियान चलाएर संकलित पन्ध्र हजार आठ सय सत्र साउदी रियाल दूतावास जेद्धालाई हस्तान्तरण गरेको एनआरएनए साउदीकी अध्यक्ष रबिना अर्यालले जानकारी दिइन् ।

जरिवानाको ठूलो रकम तिर्न नसक्दा लामो समयदेखि साउदी अरबमै रहन वाध्य भएका सुनारको उद्धारको लागि दोस्रो पक्षसंगको निरन्तर संवाद र साउदीस्थित क्रियाशील विभिन्न नेपाली संघ संस्थासँगको समन्वयमा उद्धारको प्रक्रिया अगाडी बढाइएको कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेलले बताए ।

सुनारको उद्धार अभियान रोकिएको र अब उनको जरिवाना बापतको ४५ हजार रियाल तिर्ने रकम जम्मा हुने क्रममा रहेकाले उनी चाँडै नेपाल फर्किने दूतावासले जनाएको छ । यस्तो थियो घटनाः वैदेशिक रोजगारीको सिलसिलामा सन् २०१६ देखि साउदी पुगेका नेपाली नागरिक दुर्गाबहादुर सुनार सोही वर्ष सवारी दुर्घटनामा परेका र ट्राफिक विवरण अनुसार साउदी निकायले निजको गल्ती रहेको ठहराउँदै प्राईभेट राईट अन्तर्गत साउदी रियाल ६५ हजारको जरिवाना दोस्रो पक्षलाई तिर्नुपर्ने गरी फैसला सुनाइएको थियो ।

फैसलापछि महावाणिज्यदूतावासले रोजगारदातालाई भेटी पटक पटक जरिवाना रकम तिरिदिन अनुरोध गरेकोमा रोजगारदाताले आफू रकम तिर्न सक्ने आर्थिक हैसियतमा नरहेको बताएका थिए । यस सम्बन्धमा महावाणिज्यदूतावासले पटक पटक साउदी सरकारका विभिन्न निकायहरुमा लेखापढी तथा बैंठकहरु मार्फत् प्रयास गरेतापनि उनको गल्ती रहेका कारण देखाउँदै जरिवाना मिनाहा हुन नसक्ने जानकारी दिएका थिए ।

महावाणिज्य दूतावासले दोस्रो पक्षसँग जरिवाना मिनाहाका लागि अनुरोध गरेकोमा दोस्रो पक्षले साउदी रियाल ४५ हजार जरिवाना तिरे बाँकी साउदी रियाल २० हजार मिनाहा गरिदिने प्रतिवद्धता जनाएको छ । सो घटनामा तीनवटा सवारी साधन एक आपसमा ठोक्किँदा दोस्रो पक्षहरुलाई चोटपटक र सवारी साधनमा क्षति भएको थियो । सुनार विगत डेढ वर्षदेखि महावाणिज्यदूतावासको सेल्टरमा बस्दै आएका छन् ।

उनले चालक अनुमतिपत्र विना सवारी साधन चलाएको तथा सो बखत सवारी साधनको इन्सुरेन्स (बिमा) पनि नरहेको एवम् उनले आफ्नै इच्छाले रोजगारदाताको अनुमतिविना सवारी साधन चलाएकोले रोजगारदातालाई कानूनीरुपमा जरिवाना तिर्नका लागि हकदार बनाउन मिल्ने अवस्था नरहेको फैसलामा उल्लेख भएको थियो ।

यस्तै साउदी अरेबिया लगायत खाडी मुलुकहरुमा नेपाली कुटनीतिक नियोगकम्जोर हुँदा हजारौं नेपाली कामदार मर्कामा पर्ने गरेका छन् । त्यहाँ स्थित नेपाली दूतावासहरु भए पनि नेपाली कामदारहरुलाई आभाष हुने गरी काम नगरेको कारण दूतावास प्रति नेपालीहरुले हेर्ने दृष्टिकोण फरक रहेको पाइन्छ । कतिपय समस्या परेका नेपाली कामदारहरुले सम्पर्क गर्दा फोन नउठउने तथा दूतावासमै पुगेर समस्या राख्दा पनि सुनुवाई नहुने गरेको उनीहरु बताउँछन् ।

प्रतिक्रिया