७ हजारबढी नेपालीलाई स्वदेश फर्कने तयारी गर्न आदेश

अमेरिकाद्वारा टिपिएस सुविधा खारेज

अमेरिकाले २०१५ को जुनमा नेपालीलाई दिएको टिपिएस सुविधा २०२५ जुनदेखि खारेज गर्ने भएकाले त्यसपछिको २ महिनाभित्र अन्य प्रकारको भिसा नपाए स्वदेश फर्कनुको विकल्प छैन ।

काठमाडौँ । अमेरिकाले नेपालीलाई दिएको अस्थायी बसोबाससम्बन्धी अनुमति (टेम्पोररी प्रोटेक्टेड स्टाटस–टिपिएस) खारेज गरेको छ । अमेरिकी गृह सुरक्षा मन्त्रालय (डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी)ले बिहिबार सूचना जारी गर्दै ५ अगस्टको राती ११ः५९ बजेसम्म मात्र यो सुविधामा अमेरिका बस्ने पाउने गरी टिपिएस सुबिधाको खारेजीको निर्णय गरेको हो । यो सुविधाअन्तर्गत रहनेहरूले उक्त समयभित्र अमेरिका छाडिसक्नुपर्नेछ ।

अमेरिकी काउन्सिल फर फरेन रिलेसनको सन् २०२३ को तथ्यांकअनुसार टिपिएस सुविधा लिएर साढे ७ हजारदेखि ८ हजारको हाराहारीमा नेपालीहरू अमेरिकामा बसिरहेका छन् ।

अमेरिकी गृह मन्त्री क्रिस्टी नोयमले नेपालको अवस्थाको समीक्षा र एजेन्सीहरूसँगको परामर्शपछि यो निर्णय लिएको बताएकी छन् । यद्यपि अमेरिकामा टिपिएस सुविधा लिएकाहरूका लागि पनि थप २ महिना अन्य बाटो अपनाउने विकल्प भने अझै बाँकी छ । अमेरिकाको प्रचलित काननु उल्लंघन नगरी बसेकाका लागि टिपिएसभन्दा अघिकै अवस्थामा पुग्न सक्ने अवस्था अझ कायम छ ।

१२ वैशाख २०७२ मा नेपालमा भएको विनाशकारी भूकम्पका कारण ठुलो क्षति भएको भन्दै अमेरिकामा रहेका नेपालीलाई अमेरिकाले टिपिएस सुविधा दिएको थियो । भूकम्प गएको दिन या त्यसभन्दाअघि अमेरिका पुगेकाहरूलाई सो सुविधा दिइएको थियो । अमेरिकाले २०१५ को जुनमा नेपालीलाई टिपिएस सुविधा दिएको हो । सुरूमा १८ महिनाको लागि दिइएको यो सुविधा समय थपिँदै थपिँदै अहिलेसम्म लागू थियो । अब भने पूर्ण रूपमा खारेज हुने भएको छ ।

भूकम्पपछि नेपालको अवस्था सुध्रिएको र अमेरिकामा रहेका भूकम्प पीडितहरूको अवस्थामा पनि सुधार भएको रिपोर्टका कारण यो खारेज भएको हो । नेपालको राजनीतिक अवस्था पनि हिंसात्मक नभएकाले समेत सोे खारेज भएको उनको भनाइ छ ।

के हो टिपिएस

सन् १९९० देखि अमेरिकाले टिपिएसको सुरुआत गरेको हो । सम्बन्धित देशको अवस्था खराब (सशस्त्र द्वन्द्व, प्राकृतिक विपत्ती र अन्य गम्भीर संकट) भएको अवस्था नसुध्रिएसम्मका लागि कानुनी रूपमा अमेरिकाले अस्थायी रूपमा बसोबास गर्न र काम गर्न दिने सुविधा हो । अमेरिकी काउन्सिल फर फरेन रिलेसन (सिएफआर) ले २०२३ को सेप्टम्बरमा प्रकाशित गरेको तथ्यांकअनुसार १६ देशका ६ लाख १० हजारभन्दा बढी टिपिएस सुविधामा अमेरिकामा बसोबास गरेका छन् । यसमा भूकम्पका कारण टिपिएस सुविधा पाउने नेपाली पनि छन् । सुरुमा १५ हजारभन्दा बढी नेपालीले यो सुविधा पाए पनि अहिले धेरै नेपालीले आफ्नो भिसा स्टाटस परिवर्तन गरिसकेका छन् ।

बारम्बार थपिएको थियो नेपालीका लागि यो सुविधा

२४ जुन २०१५ मा पहिलोपटक अमेरिकाले भूकम्पपीडित नेपालीलाई टिपिएस सुविधा प्रदान गरेको थियो । सुरुमा यो सुविधा १८ महिनाका लागि दिइएको थियो । २६ अक्टोबर २०१६ मा अमेरिकाले यो सुविधा अर्को १८ महिनाका लागि थप गरेको थियो । २२ मे २०१८ मा फेरी अर्कोपटक थप गरिएको हो । बारम्बार समय थप गरिने क्रममा ९ जुन २०२३ मा अमेरिकी गृह मन्त्रालयले अन्तिमपटक समय थप गरेको थियो । २५ डिसेम्बर २०२३ देखि लागू हुने गरी अन्तिमपटक १८ महिनाको समय थप गरिएको थियो । सो समय २४ जुन २०२५ मा सकिने छ ।

यो निर्णयअघि सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा नेपालसहित एल साल्भाडोर, हाइटी, होन्डुरस, निकारागुवा र सुडानका आप्रवासीको टिपिएस सुविधा खारेज गर्ने निर्णय गरेपछि यो मुद्दा अदालतसम्म पुगेको थियो । सो समयमा अदालतले ट्रम्पको निर्णयमा बन्देज लगाएको थियो । यो कानुनी लडाइँले ५ वर्ष यो सुविधालाई निरन्तरता दिएको थियो । सन् २०२३ मा अदालती निर्णय फेरिए पनि तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासन टिपिएस सुविधा लिनेहरूप्रति लचिलो भएका कारण सुविधा अवधि थपिएको थियो ।

थप २ महिनाको मौका

५ जुन २०२५ मा यो सुविधा थप नगर्ने निर्णय भएपछि गृह मन्त्रालयले आफ्नो भिसा स्थिति परिवर्तन गर्नका लागि अर्को ६० दिनको समय दिँदै ५ अगस्टको रातीसम्म अमेरिकामा रहने अवसर प्रदान गरेको हो । त्यो अवधिमा अन्य प्रकारका भिसा प्राप्त गर्न नसके उनीहरू आफ्नो देश फर्कनुको विकल्प हुने छैन ।

प्रतिक्रिया