संखुवासभाका सिताराम निःशुल्क पढाउँदै

साउदी कतार र दुबईमा रोजगारी गरेर फर्किएका संखुवासभाका सिताराम निःशुल्क पढाउँदै !

दोहा । संखुवासभाको धर्मदेवी–५ का सीताराम नेपाल अर्थात् ’सिताराम सर’ २०५६ सालदेखि शिक्षण पेसामा आबद्ध भए । झापा काँकडभिट्टा, बनियानी, मोरङको बिराटनगर, नवलपरासीको बर्दघाट अनि काठमाडांैका विभिन्न स्कुल पढाइसकेका एक अब्बल शिक्षक हुन्, नेपाल ।
शिक्षण पेसालाई थाती राखेर २०११ डिसेम्बर २० देखि २०१५ जुन १५ सम्म रोजगारीको राम्रो अवस्था खोज्दै साउदी अरब पुगेर एचआरको रूपमा काम गर्न थाले ।

साउदीमा रहदा पनि विभिन्न सामाजिक सेवा गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए)को वरिष्ठ उपाध्यक्ष भूमिका पनि निभाए उनले । साउदीबाट नेपाली फर्किएपछि उनी फेरि कतार गएर त्यहाँ पनि तीन वर्ष आइटीको क्षेत्रमा काम गर्दागर्दै कतारबाट त्यही कम्पनीमा दुबई पुगे ।

दुबईमा पनि केही समय काम गरे त्यसपछि नेपाल फर्किएर पुनः शिक्षण पेसामा नै आबद्ध भए । यसअघि संखुवासभा जिल्ला बाहिरका विद्यालयमा पढाएका उनले यसपटक भने आफ्नै जिल्लामा अध्यापन गराउँदै आएका छन् । खाँदबारी नगरपालिका–७ नयाँ बजारमा रहेको अरुण भ्याल्ली पब्लिक स्कुलमा चार वर्षदेखि अध्यापन गराउँदै आइरहेका छन् उनी ।

तीन वर्ष, साउदी तीन वर्ष कतार र एक वर्ष दुबईमा रोजगारी गरेर फर्किएका उनले भने, ‘अहिले म निःशुल्क विज्ञान र गणित ट्युसन पढाउँदै छु भरसक सय जनासम्मलाई पास गराउन सकौँ भन्ने उद्देश्यले निःशुल्क ट्युसन क्लास सुरु गरेको छु ।’ बिहानको खाली समयको सदुपयोग गर्दै अहिले यो निःशुल्क कक्षाको लक्ष्य बिग्रिएको शैक्षिक गुणस्तर उकास्ने अभियान र गणितमा अधिकांश विद्यार्थी फेल हुने गरेकोले यसलाइ सुधार्ने अभियानमा आफू लागेको उनले बताए ।

अहिले कक्षा १० मा अध्यानरत ६५ जना बिद्यार्थीहरूलाई निःशुल्क रूपमा पढाइरहेको उनले बताए । ‘अब चाहिँ नयाँ विद्यार्थी लिन बन्द गरेको छु, कोही अर्को एक शिक्षक दिनको मात्र एकघण्टा सुत्ने समयमा पढाउन सक्छु निःशुल्क भन्ने भेटे भने अरू नयाँ विद्यार्थी थप्नेछु,’ उनले भने ।
अहिले खाँदबारीको मंगलादेवी मावि. तिनपोखरी, बागेश्वरी मावि, ढुंगेधारा, हिमालय मावि, सरस्वती मावि माल्टाका लगायतका विद्यार्थीहरू निःशुल्क ट्युसन पढ्न आउने गरेको उनले बताए ।

‘विद्यार्थीलाई गणित र विज्ञानमा अब्बल बनाउन कक्षा सञ्चालन गरिएको हो, यसबाट बालबालिकाको शिक्षामा सुधार हुने आपेक्षा गरेको छु’, उनले भने । दैनिक ज्यालदारी गरेर जीविकोपार्जन गर्दैआएका स्थानीयले छोराछोरीलाई अतिरिक्त शुल्क तिरेर पढाउने अवस्था छैन । दैनिक ज्यालाले गर्जो टार्ने हुँदा अधिकांश बालबालिका राम्रो अंक ल्याउनबाट वञ्चित नहुन् भन्ने उनको उद्देश्य हो ।

शिक्षाबिना जीवन परिवर्तन गर्न असम्भब रहेको बताउँदै उनले विद्यार्थीहरू मिहिनेत गरेर पढ्न अनुरोध गरेका छन् । उत्कृष्ट ग्रेड ल्याए मात्र विद्यार्थीले आफ्नो भावी लक्ष्य हासिल गर्नसक्ने उनको भनाइ छ । तर विडम्बना यस्ता विद्यार्थीको योजना नै १२ कक्षापछि बिदेसिने रहने गरेको पाइन्छ । देश, समाज र परिवारका लागि उपयोगी हुने शिक्षा आर्जन गरेर देशभित्रै अब्बल हुने चाहना अधिकांशमा कम पाइनु दुःखदु हो । सामाजिक सञ्जालमा पनि निकै सक्रिय रहेका उनी अहिले पनि विदेशमा समस्यामा परेका नेपालीहरूलाई सहयोग तथा उद्धार गर्न विदेशस्थित नेपाली दूतावास, एनआरएनएसँग सहकार्य गरेर समस्या परेकाहरूलाई सहयोग गर्ने गरेका छन् ।

प्रतिक्रिया