मनकामना इन्जिनियरिङको आईपीओ खुला

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडले आजदेखि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बाँडफाँट गरी सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले स्थानीय बासिन्दाका लागि निष्कासन गरिएको सेयरमा पूर्ण आवेदन नपरेका कारण बाँकी रहेको ६ लाख १६ हजार ६२० कित्तासहित गरी कुल २२ लाख ७६ हजार ६२० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारीपुँजी ८० करोड रुपैयाँको १० प्रतिशत अर्थात आठ करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका आठ लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको थियो ।

दुई करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दुई लाख कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि निष्कासन गरेको थियो । त्यसैगरी, कम्पनीले ४० हजार कित्ता सेयर कर्मचारीहरूका लागि र एक लाख कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिसकेको छ ।

आईपीओमा साउन ३१ गतेसम्म आवेदन दिन सकिनेछ । तर, सो अवधिसम्म माग अनुसार आवेदन नपरेमा भदौ १० गतेसम्म आवेदन खुला रहने कम्पनीले जानकारी दिएको छ । सो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा एक लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसहित नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ लिमिटेडले निर्माण गरेको ‘मेरो सेयर’ वेबसाइटबाट पनि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रटिङ नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ ।

कम्पनीले दोलाखाको गौरिशंकर गाउपालिकामा पाँच मेगावाटको घट्टेखोला जलविद्युत् आयोजनाको निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यो आयोजनाको कुल अनुमानित लागत एक अर्ब ३९ करोड ३५ लाख ७५ हजार रुपैयाँ रहेको छ । प्रतिमेगावाट कुल अनुमानित लागत २७ करोड ८७ लाख १५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको वास्तविक प्रतिसेयर आम्दानी आठ रुपैयाँ ३७ पैसा ऋणत्मक रहेको छ । त्यस्तै वास्तविक प्रतिसेयर नेटवर्थ २०७८/७९ सम्म ७४ रुपैयाँ रहेको छ । यसैका आधारमा नेप्सेले पहिलो कारोबार रेन्च तोक्ने गरेको छ । कम्पनी उक्त अवधिसम्म १३ करोड ४१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा रहेको छ ।

प्रतिक्रिया