तीर्थ प्रदक्षिणा विधि तथा भृंगीश्वर स्थापनाको प्रसंग

नेपाल महात्म्य–(अन्तिम भाग)

लेलेको लिच्छवीकालीन नाउँ ‘लेम्बटी’ हो । त्यसभन्दा पहिले के भनिन्थ्यो थाहा भएन । यो मनशिला भनेर कुन तीर्थलाई बताइएको हो स्पष्ट आधार पाउन सकिएन । फुल्चोकीबाट मातातीर्थ जाँदा बाटोमा पर्ने र जुन बाटो गएको त्यही बाटो फर्कर्नुपर्ने स्थान ललितपुरको लेले मात्र हो । जहाँ भैरव (टीकाभैरव) त अहिले पनि छन् तर नारायण र विष्णुको प्राचीन मूर्ति भएको जानकारी पाउन सकिएन । लिच्छकी कालको शिलालेख त बारीमा मिल्काउने हामीलाई अरू कुराको चासो हुन सक्ने कुरा पनि भएन । अभैm बेच्न सकिने मूर्तिहरू नै बाँकी भएकोले त्यो र त्यस्ता शिलापत्र बारी भए पनि बचेको हुनुपर्दछ

मोहनप्रसाद सापकोटा

जैमिनि भन्नुहुन्छ, ‘हे महाभाग्यशाली ! नेपाल क्षेत्रमा पुगेर महात्मा गुणाढ्यले के गरे ? त्यो कुरा सबै मलाई बताउनु होस् ।’
सूत भन्नुहुन्छ, ‘हे शौनक ! जैमिनिका कुरा सुनेपछि तपस्याका खानी मार्कण्डेयले गुणाढ्यका सबै चरित्र जैमिनिलाई बताउन लाग्नुभयो ।
नेपालक्षेत्र पुगेर द्विजश्रेष्ठ गुणाढ्यले वाग्वती नदीमा नुहाई पशुपतिनाथको दर्शन गरे । त्यसपछि तीर्थ परिक्रमा गरी प्रयत्नपूर्वक लिंग स्थापना गरे अनि भृंगि बनेर पुनः कैलास उक्लिए (मोक्ष भए) ।

जैमिनि भन्नुहुन्छ, ‘हे मुनिश्रेष्ठ ! भृंगिले तीर्थपरिक्रमा कसरी गरे त्यसको र लिंग स्थापना गर्ने विधिको बारेमा बताउनुहोस् ।
मार्कण्डेय भन्नुहुन्छ, हे मुनिश्रेष्ठ ! तीर्थ घुम्ने विधिका बारेमा सुन्नुहोस् । यो विधिले तीर्थ घुम्नाले मानिस पापबाट मुक्त हुन्छ । तीर्थ यात्रा सुरु गर्ने अघिल्लो दिन मानिसले फलपूmल मात्र खाएर बस्नू । जितेन्द्रिय भई भुइँमा सुत्नू । मनले शिवको नाम जपिरहनू । भोलिपल्ट बिहान गएर वाग्वतीमा विधिपूर्वक नुहाउनू । त्यसपछि पशुपतिनाथको दर्शन गरी विधिपूर्वक संकल्प गर्नू । संकल्पमा पहिला महिना, पक्ष, तिथि, प्रयोजन आदि सबै कुरा खुलाउनू र संकल्प गर्नू । यसपछि ‘हे देव ! म विधिपूर्वक तीर्थयात्रा गर्दैछु, हे महेश्वर ! हजुरको आशीर्वादले मेरो संकल्प सफल होस् । हे देवताका पनि देवता ! हे परमेश्वर ! मलाई आज्ञा दिनुहवस्’ भनी आज्ञा लिँदै प्रार्थना गर्नू र तीनपटक प्रदक्षिणा गर्नू ।

त्यसपछि दक्षिणतिरको ढोकाबाट गई राजराजेश्वरीको दर्शन गर्नू । पुनः फर्की भैरवको दर्शन गर्नू । अनि वत्सलादेवीको दर्शन गर्नू । त्यसपछि वाग्वती नदी तरेर गुह्वेश्वरी जानू । गुह्येश्वरीको दर्शन गरेपछि चैलगंगा जानू । चैलगंगामा नुहाएपछि प्रयत्नपूर्वक पितृहरूलाई तर्पण दिनू । त्यसपछि महापाप नाश गर्ने गोकर्णेश्वर जानू ।

(नोट ः चैलगंगाका बारेमा केही मतमतान्तर छन् । अहिलेको तिलगंगा नै चैलगंगा हो भन्ने विद्वानहरू पनि छन् । तर परिक्रमापथको वर्णनक्रमलाई हेर्दा गुह्येश्वरीभन्दा केही पूर्व सैनिक ब्यारेकको उत्तरतिर चैलगंगा रहेको छ भनी बाल्मीकि विद्यापीठका प्राचार्य श्री माधवप्रसाद लामिछानेले दिनुभएको जानकारी नै सही हो जस्तो देखिन्छ । जंगलको बीचबाट खोलिएको बाटोको उत्तरी मुखमा नै चैलगंगा रहेको हुनुपर्दछ ।)

आफ्नो क्षमताअनुसार अत्यन्त भक्तिपूर्वक उहाँको पूजाआजा गरेपछि प्रार्थना गर्दै उहाँको आज्ञा लिएर कारुणिकेश्वर (शंखमूल) जानू । यसपछि सुन्दरी (सुन्दरीजल ?) माताको दर्शन गरी वज्रयोगिनी (साँखु) जानू । यसपछि पहिले गरुड र त्यसपछि नारायणको (चाँगु, भक्तपुर) दर्शन गर्नू । नारायणको यथाशक्ति भक्तिपूर्वक पूजा गरेपछि कीलेश्वरको (चाँगुका) दर्शन गर्नू । त्यसपछि अद्भूत बोल्ने शक्ति प्रदान गर्ने वागीश्वर (भक्तपुर बागेश्वरी) को दर्शन गर्नू । त्यसपछि त्यहाँ रहेको कुण्डमा नुहाई बाल्मीकेश्वरको पूजा गर्नू ।

त्यसपछि त्यहीँ बसेर ब्राह्मणहरूलाई भोजन गराउनू । नाच, गान र उत्सव गरी रात कटाउनू, नसुत्नु । त्यसपछि बिहान कञ्चन र सुन्दर कुण्डमा नुहाउनू । अनि अँजुली बाँधेर बुद्धिमानले ‘हे प्रभु वागीश्वर हजुरको जय होस् ! हे तीन आँखा भएका महेश्वर हजुरको जय होस् ! हाम्रो तीर्थयात्रा कुनै बाधा नभइकन सम्पन्न होस् प्रभु !’ भनी आज्ञा लिँदै प्रार्थना गर्नू र त्रिचम्पक तलाउ (?) मा जानू । त्यो तीर्थको पवित्र जलले देवता र पितृहरूलाई तर्पण दिएपछि जलमा शेषनागमाथि सुतेका माधव नारायणलाई पूजा गर्नू ।

त्यसपछि ठूलठूला संकट नाश गर्ने भएकी चण्डेश्वरी (बनेपा) समक्ष जानू । चण्डेश्वरसहित चण्डेश्वरीलाई पूजा गरेपछि धन बढाउने भएका धनेश्वर (बनेपा) लिंगको दर्शन गर्न जानू । त्यसपछि बुद्धिमानले त्यहाँदेखि केही नबोली गोखुरेश्वर (धुलिखेल) को दर्शन गर्न जानू ।
हे मुनि ! अहिले पनि त्यहाँ गाईको खुर आकारको शिवलिंग देख्न पाइन्छ । तिनलाई पूजा आराधना गरेपछि इन्द्रेश्वर (पनौती) को दर्शन गर्न जानू । त्यहाँ लीलावती र रुद्रमतीको सुन्दर दोभानमा नुहाएर पितृहरूलाई तर्पण दिनू अनि यथाशक्ति दान दिनू । त्यहाँ रहेको महादेवलाई पूजा गरेर आशापुरेश्वर (सूर्यविनायक, भक्तपुर) दर्शन गर्न जानू । उनको राम्ररी पूजा गरेपछि डोलेश्वर (भक्तपुर) जानू । त्यहाँ रहेको अति नै पूण्यशाली धारातीर्थमा तीन दिन विश्राम गर्नू । मानिसले तीन रात नै नाच, गान र पुराण श्रवण गरेर बिताउनू । त्यसपछि बिहान उठी नुहाएर डोलेश्वरको विधिपूर्वक पूजा गरी भक्तिपूर्वक आज्ञा लिँदै प्रार्थना गर्नू र भन्नू ‘हे डोलेश्वर ! हे प्रभु ! हजुरको जय होस् । तीर्थयात्री प्रिय मलाई (वा हामीलाई) हे देवेश ! तीर्थयात्रा गर्ने आज्ञा दिनुहोस्’ भन्नू ।

यसरी आज्ञा लिएर वाधा नाश गर्ने तथा भक्तप्रति दया गर्ने सूर्यविनायक गणेशको दर्शन गर्न जानू । ‘मेरो तीर्थयात्रा कुनै बाधा नभई सम्पन्न गराइदिनुहोस् प्रभु’ भन्दै गणेशलाई भक्तिपूर्वक वन्दना गरेपछि धर्म, अर्थ र काम दिने अनन्तलिंगेश्वरको दर्शन गर्न जानू । त्यहाँ मन्दिर अगाडि रहेको निर्मल तलाउमा विधिपूर्वक नुहाएर प्रयत्नपूर्वक पितृलाई तर्पण दिनू । त्यसपछि त्यो शिवलिंगलाई यथाशक्ति पूजा गर्नू । भगवान् शिवलाई खुसी पार्न उदार, सात्विक र संयमित मनले ब्राह्मणहरूलाई गच्छेअनुसार दान दिनू ।

यसपछि सबै देवताहरूबाट नमस्कार गरिएकी वज्रवाराहीको दर्शन गर्न जानू । भक्तिपूर्वक देवीको पूजाआजा र नमस्कार गरेपछि भारभूतेश्वर (गुप्तेश्वर, फुल्चोकी) को दर्शन गर्न जानू । भुजंग पर्वत चढेर सुन्दर गुफामा पुगेपछि तीर्थको सीमा रक्षार्थ ढोकामा बसेका गणेशलाई पूजा गर्नू । योनि आकारको मुख भएको गुफाभित्र छिरी भारभूतेश्वरको दर्शन गर्ने बुद्धिमान मानिस सबै पापबाट मुक्त हुन्छ । योनि आकारको मुख भएको गुफाभित्र छिरी भारभूतेश्वरको दर्शन गर्ने बुद्धिमान मानिसले पुनः गर्भमा वास गर्नु पर्दैन (मोक्ष हुन्छ) ।

यसपछि मनशिला (टीकाभैरव, लेले ?) नामको महान् तीर्थमा गई नारायण र शिवको दर्शन गर्नू । त्यहाँ रहेका भैरवको दर्शन गर्नाले मानिस सबै पापबाट मुक्त हुन्छ । त्यसपछि त्यही बाटोबाट फर्केर मातातीर्थ जानू । हे मुनिश्रेष्ठ जैमिनि ! अहिले पनि त्यस सुन्दर मातातीर्थमा सुनका टीका भएका माछाहरू छन् । मातातीर्थमा नुहाई नारायण र शिव दुबैको दर्शन गर्नाले मानिस चाहे पुरुष होस् या स्त्री उसले पुनः गर्भवास गर्नु पर्दैन, यसमा शंका नै गर्नु पर्दैन ।

यसपछि हरिसिद्धको दर्शन गरेर अनि गोपालेश्वर दर्शन गर्न जानू । गोपालेश्वरको पूजा गरेपछि भगवान् नारायणको दर्शन गर्नू । फलपूmल खाई जितेन्द्रिय भएर त्यो रात त्यहीँ बस्नू । रातभर मंगलदायी नाचगान गरेर बिताउनू । बिहान भएपछि विधिपूर्वक नुहाउनू । अनि गोपालेश्वरसँग ‘हे गोपालेश्वर महादेव ! हे तीर्थवाधा नाशक ! हजुरको आशीर्वादले तीर्थयात्रा सफल होस्’ भनी प्रार्थना गर्दै बिदा हुनू । यसरी आज्ञा लिएपछि पाण्डुकेश्वर (पालुङ, मकवानपुर) जानू ।

त्यहाँ पाण्डु नदीमा नुहाएर पाण्डुकेश्वरको दर्शन गर्नू । यसो गर्नाले गलत काम गर्ने पनि सबै पापबाट मुक्त हुन्छ । त्यसपछि डाँडो नाघेर चतुर्वक्त्रेश्वर (?) जानू । चतुर्वक्त्रेश्वरलाई विधिपूर्वक श्रद्धाले पूजा गरी सबै सिद्धि प्रदान गर्ने इन्द्रेश्वर (इन्द्रदह ?) जानू । तिनलाई धूमधामसँग विधिपूर्वक पूजा गरेपछि डाँडो नाघी पश्चिम नारायण जानू । नारायणको पूजा गरी त्यहीँ बस्नू । विष्णुधर्मका कथा आदि सुन्दै रातभर जागराम बस्नू । बिहान उठी विधिपूर्वक नुहाएर नारायणसँग ‘हे तीनै लोकबाट पूजित विष्णु ! मलाई जाने आज्ञा दिनु हवस् । हजुरका कृपाले तीर्थयात्रा पूर्ण भएको छ’ भन्दै प्रार्थना गर्दै आज्ञा लिनू । यसरी आज्ञा लिएपछि बुद्धस्थान (स्वयम्भू) जानू ।

त्यहाँ अति नै आनन्दमय कमलको धर्मधातुरूपी जलमा गयातीर्थबाट आएर बुद्ध भगवान् आपैmँ बस्नुभएको छ । जहाँ बुद्धको दर्शन पाउने चाहनाले छोरा आफन्त आदि त्यागी ज्ञानमा मग्न भएर भिक्षुहरू बस्ने गर्दछन् । स्वयम्भूको परिक्रमा गरेपछि विष्णुमती जानू । त्यहाँ विष्णुमतीमा नुहाई पितृलाई तर्पण दिएपछि लुण्ठिकेश (?) जानू । अनन्त नागमाथि सुतिरहनुभएका भगवान् विष्णुको दर्शन गरेपछि मानिस (यात्रु) विष्णुको नाम जप्दै उत्तरतिर जानू । त्यहाँ पर्वतको फेदमा नागको ओछ्यानमा सुतिरहेका नारायण (बुढानीलकण्ठ) को दर्शन गर्नाले मानिस पापबाट मुक्त हुन्छ ।

त्यसपछि दक्षिणतिरको बाटो हुँदै देवी जयवागीश्वरीको दर्शन गर्न आउनू । उहाँलाई शक्तिअनुसार पूजाआजा गरी दण्डवत् प्रणाम गर्नू । यसपछि मनले विष्णुलाई सम्झँदै पशुपतिनाथ जानू । यसरी पशुपतिनाथको दर्शन गरेपछि सबै पाप नाश हुन्छ । पशुपतिनाथलाई पञ्चामृत र पञ्चगव्यले नुहाइदिनू । यथाशक्ति अनेक प्रकारका सुगन्ध, पूmल, धूप, दीप, नैवेद्य आदि चढाएर पशुपतिनाथको पूजा गर्नू । ब्राह्मणहरूलाई यथाशक्ति भोजन गराउनू र दक्षिणा दिनू ।

अनि अँजुली बाँधेर मन्त्र पाठ गर्नू । ‘हे देवताका पनि देवता महादेव ! हे पार्वतीका प्राणप्यारा ! हजुरको आशीर्वादले (प्रदक्षिणा विधि) तीर्थयात्रा समाप्त भएको छ’ यो मन्त्र पढेपछि वाग्मती नदीमा जानू र नुहाई पितृहरूलाई तर्पण दिनू । अनि वत्सलादेवीको दर्शन गरी दक्षिणढोकाबाट भित्र पसी पशुपतिनाथलाई घुम्दै वासुकीको दर्शन गर्नू । अनि पूर्वतिर रहेका द्वारपाल गणेश भगवान्को दर्शन गर्नू । यसपछि उत्तम मानिस सन्तुष्ट एवं प्रसन्न भई आफ्नो घर जानू । त्यसपछि पापरहित भएको श्रेष्ठ मानिसले शुभचिन्तक आफन्तसँग बसी
भोज (तीर्थेभोज) खानू ।

(नोट ः लेलेको लिच्छवीकालीन नाउँ ‘लेम्बटी’ हो । त्यसभन्दा पहिले के भनिन्थ्यो थाहा भएन । यो मनशिला भनेर कुन तीर्थलाई बताइएको हो स्पष्ट आधार पाउन सकिएन । फुल्चोकीबाट मातातीर्थ जाँदा बाटोमा पर्ने र जुन बाटो गएको त्यही बाटो फर्कर्नुपर्ने स्थान ललितपुरको लेले मात्र हो । जहाँ भैरव (टीकाभैरव) त अहिले पनि छन् तर नारायण र विष्णुको प्राचीन मूर्ति भएको जानकारी पाउन सकिएन । लिच्छकी कालको शिलालेख त बारीमा मिल्काउने हामीलाई अरू कुराको चासो हुन सक्ने कुरा पनि भएन । अभैm बेच्न सकिने मूर्तिहरू नै बाँकी भएकोले त्यो र त्यस्ता शिलापत्र बारी भए पनि बचेको हुनुपर्दछ ।)

जैमिनि भन्नुहुन्छ, ‘हजुरले बताएको विधिले क्षेत्रप्रदक्षिणा (तीर्थयात्रा) गरेपछि भृंगिले शिवलिंग कसरी स्थापना गरे ?’ त्यो कुरा मलाई बताउनुहोस् । मार्कण्डेय भन्नुहुन्छ, गुणश्रेष्ठ महात्मा गुणाढ्यले तीर्थयात्रा गरेपछि नेपालक्षेत्रका गुह्वेश्वरी, वत्सला, शंखमूल, कुम्भेश्वर, पशुपति, चाँगु, हनुमानघाट, वागेश्वर, चण्डेश्वरी, वज्रवाराही, शिवपुरी, चक्रतीर्थ, आशापुरेश्वर, डोलेश्वर, भारभूतेश्वर, गोपालेश्वर, आदि अनेक तीर्थका वरिपरि बस्ने तपस्वी एवं जितेन्द्रिय सबै मुनिहरूलाई निमन्त्रणा गरेर तिनको सहमतीमा वेदले बताएको विधिअनुसार पहिला होम गरी लिंग स्थापनाको लागि यज्ञ गर्न सुरु गरे ।

त्यसबेला ‘दिनुहोस्’ ‘खानुहोस्’ को ठूलो आवाज आइरहेको थियो । महात्मा गुणाढ्यको त्यो यज्ञ राजा मरुतको वा रामचन्द्रको यज्ञ जस्तै वृद्धि भइरहेको थियो । हे द्विजश्रेष्ठ ! यज्ञको अन्त्यमा उनले शिवलिंगको स्थापना गरे । त्यसपछि गुणश्रेष्ठ गुणाढ्यले हात जोडेर नम्र भई निहुरेर सबै मुनिहरूलाई भन्न लागे । ‘हे ब्राह्मण हो ! हे मुनि हो ! सबै जना सुन्नुहोस् त ! यो शिवलिंगको नाम के राखौँ मलाई बताइदिनुहोस् ।’ गुणाढ्यका कुरा सुनेपछि मुनिमध्येका श्रेष्ठ ब्राह्मणकुलमा जन्मिएका हारीत मुनिले धार्मिक गुणाढ्यलाई यसो भने, ‘हे गुणाढ्य ! सुन्नुहोस्, हजुर सामान्य पुरुष हुँदै होइन । कुनै कारणले पूर्वजन्ममा शिव भगवान्ले हजुरलाई श्राप दिनुभएकोले अहिले यो रूपमा हुनुहुन्छ । हजुरको नाम भृंगी हो । हजुर शिव भगवान्का द्वारपाल हुनुहुन्छ । यसकारण यो लिंगको नाम भृंगीश्वर राख्नुहोस् ।’

हारीतका कुरा सेनेपछि वेदशिरा नामका मुनिले भन्न थाले, ‘हे मुनिजन ! द्वापरयुगमा (अहिले) एक भक्त भ्रमराले ढुंगालाई छुनाले भृंगीश्वर नामको लिंग उत्पन्न भएको थियो । यसैले त्यसलाई मानिसहरू भृंगीश्वर भन्दछन् । कलियुगमा यसलाई मानिसहरू सुवर्णेश्वर भन्नेछन् । यो लिंगले सधैँ सबै चाहना पूरा गर्दछ भनी मुनिश्रेष्ठहरू भन्दछन् ।’

मार्कण्डेय भन्नुहुन्छ, त्यसपछि गुणवान् एवं गुणश्रेष्ठ गुणाढ्यले आपैmँ अघिसरी रत्न, गाई, वस्त्र र सुन दान दिएर ब्राह्मणहरूलाई सन्तुष्ट पारे । त्यसपछि आकाशबाट सुन्दर किसिमले देवताले पूmलको वर्षा गरे । दुन्दुभि बाजा बजाए, अप्सराहरू नाच्न लागे । आनन्द दिने गरी हावा चल्न थाल्यो । गन्धर्वहरू सुन्दर तरिकाले नाच्न लागे । यसपछि मुनिहरूले हेर्दाहेर्दै त्यहाँ साँढे जोतिएको (नारिएको) आश्चर्ययुक्त विमान आयो ।
त्यो विमानमा रुद्ररूपका श्रेष्ठ गणहरू बसेका थिए । यस्तो अति आश्चर्यजनक कुरा देखेर सबैजना टवाल्ल परे । यस्तो आश्चर्य देखेर वेद एवं वेदांगका पण्डित मुनिजन पनि सबै एकैपटक जुरुक्क उठे । अनि खरानी घसेका, रुद्राक्षको माला लगाएका, त्रिशूल हातमा लिएका, गोरा, जटाको मुकुट बनाएका, तीन आँखा भएका, दिव्य स्वरूपका र हातमा डमरु लिएका रुद्रगण विमानबाट ओर्लिएर खुसी हुँदै मुनिहरूलाई भन्न लागे, ‘हजुरहरू सबै मुनिजन वेद एवं वेदांगका विद्वान हुनुहुन्छ । सबैजना आआफ्ना आसनमा बसेर मेरा (हाम्रा) कुरा सुन्नुहोस् ।’
रुद्रगणका कुरा सुनी हारीत मुनिले ती गणलाई भने, ‘हजुरहरू सबै जनाले रुद्रको रूप लिनुभएको छ । तेजमा सूर्यसमान हुनुहुन्छ । हजुरहरू पनि आसन ग्रहण गर्नुहोस् । बसेरै कुराकानी गरौँ (कथा भनौ) ।’

त्यसपछि सबै रुद्रगण बसेर मनोहर कथा भन्न लागे । रुद्रका गणहरू भन्दछन, जसलाई देवताहरूमा सबै देवताका देवता भनी चिनिनुहुन्छ, जसले सारा संसारको सृष्टि गर्नुभयो, जसले पूरा संसारलाई पालन गर्नुहुन्छ, अनि जसले सारा प्राणीलाई नाश पनि गर्नुहुन्छ, ती देवता परमेश्वर शिव हुनुहुन्छ । जुन् रुद्रलाई ठिक तरिकाले वेदहरू पनि जान्दैनन् । यहाँ एउटाले सबैको आत्मामा वास गर्ने त्यस्ता प्रभुका गुणहरू बताउन सकिन्न । जो परमात्मा स्वरूपले सवै जीवमा बस्नुहुन्छ, ती अरू कोही नभएर सदा आनन्दित हुने साक्षात् प्रभु शिव नै हुनुहुन्छ । जो सत्व, रज र तम गुणभन्दा परको हुनुहुन्छ, शरीर भएर तथा सबैमा रहेर पनि जसलाई देख्न सकिन्न, जसको अन्त स्वयं ब्रह्मा र विष्णुले पनि जान्नुहुन्न, यस्ता ती देवतालाई सबै देवताहरू साक्षात् एवं सर्वव्यापी महेश्वर भनी चिन्तन गर्दछन् ।

जसका कृपाले इन्द्र आदि देवताले पनि लोकपाल हुन पाए ती देवता पार्वतीपति शिव हुनुहुन्छ । जसको वासस्थान मसान छ, जसका शिरमा चन्द्रमा छन् र जसका देबे्रतिर पार्वती हुनुहुन्छ यस्ता प्रभुले भनेका कुरा सुन्नुहोस् । ‘पाप गर्ने मानिस भए पनि जसले शिवलिंग स्थापना गर्दछ ऊ सबै पापबाट मुक्त हुन्छ । यसमा सोचविचार गर्नु नै पर्दैन । जो उत्तम मानिस ख्यालख्यालमा, कपटले वा सजाउन मात्रै भए पनि रुद्राक्ष लगाउँदछ, तिनका पाप नाश हुन्छन् । जसले विभूति अथवा रुद्राक्ष लगाउँदछन् अथवा जसले लिंग स्थापना गर्दछन् ती सबै कैलास जान्छन् । मेरो लिंगको पूजा गर्ने, मेरो नाम जपिरहने र मेरो लागि बगैँचा बनाउनेहरू कैलास जान्छन् । आँक, धतुरो र बेलको पूmलले तथा जलले मलाई पूजा गर्ने मानिस कैलास गएर बस्न पाउँदछ । पापी होस् वा महापापी ऊ लिंग स्थापना गर्नाले नै मुक्त हुन्छ, शंका गर्नै पर्दैन ।

ख्यालख्यालमा, हँसिमजाकमा वा ईशारामा नै भए पनि मेरो नाम जप्ने मानिस महापापबाट पनि मुक्त हुन्छ । यी गुणशाली एवं लोकले पूजित, सदाचारी, योगी, वेद एवं वेदांगमा निपुण, विद्वान्, नम्र, वेद आदि शास्त्र पढिरहने तथा देवताका पूजक गुणाढ्य मेरो नाम जपिरहने मेरा विशेष भक्त हुन् । हे मुनगण ! यिनको पूर्वजन्मको सत्य कथा सुन्नुहोस् ।

‘यी पहिले नन्दिसमान महाबलिया भृंगी थिए । सधैँ मेरो रूप लिएर मेरो ढोकामा पहरा दिन्थे । एकदिन मेरो र पार्वतीका बीच गोप्य स्थानमा भनी रहिएको अनेक रसले भरिपूर्ण कथालाई यिनले कुबुद्धि लागेर भ्रमराको रूप लिई सुने । मैले भनेको सबै रसिलो कथा सुनेर घर आई त्यो कथा आफ्नी पत्नीलाई भने । यो थाहा पाएपछि मैले दिएको श्रापका कारण यी कैलाशबाट पतन भएका हुन् ।

उसको चरित्र (कर्तुत) का बारेमा सबैथोक जानेका अन्तर्यामी देवताका पनि देवता प्रभुले यसरी श्राप दिएपछि यी मानिस भएर एउटा ब्राह्मणको कुलमा गुणवान् गुणाढ्य भई जन्मिए । अनि रसिला नौ लाख गाथा लेखेर देवताका लागि पनि दुर्लभ मानिने उत्तम तीर्थ नेपालमा आई शिवलिंगको स्थापना गरेपछि यी (अहिले) शिवको आशीर्वाद पाउन सफल भए । देवाधिदेव भगवान् शिवले विमान पठाउनुभएको छ । यही हो । हे ब्राह्मण गुणाढ्य ! तिमी विमानमा चढ । हामीसँगै हिँड । कैलासमा आजै तिमीले शिवको दर्शन पाउनेछौ ।’

मार्कण्डेय भन्नुहुन्छ, रुद्रगणका यस्ता कुरासुनेपछि गुणशाली गुणाढ्यले मुनिहरूको अती तेजश्वी अनुहारतिर आनन्द मान्दै हेरे । त्यसपछि आपूmतिर प्रसन्न भई हेरिरहेका गुणाढ्यलाई चण्डतपा नाम गरेको मुनिले भने, ‘सुन्नुहोस् त, यहाँ तपस्वी हारीतले अघि नै हजुरलाई भनी सक्नुभयो कि हजुर देवाधिदेवका सेवक हुनुहुन्छ, साधारण मानिस हुनुहुन्न । हजुरले उत्तम तीर्थ नेपालमा उत्तम लिंगको स्थापना गर्नुभयो । यसले हजुरको श्राप समाप्त भयो र भगवान् शिव प्रसन्न हुनुभयो । जानुहोस् विमानमा चढ्नुहोस् र गई भगवान् शिवको दर्शन गर्नुहोस् । द्विजगणको आशीर्वाद लिई चाँडै गएर शिव भगवान्को दर्शन गर्नुहोस् ।’

मार्कण्डेय भन्नुहुन्छ, मुनिका यस्ता कुरा सुनेपछि उत्तम द्विज गुणाढ्य द्विजश्रेष्ठसँग आशीर्वाद लिई बिदावारी हुँदै त्यो अति नै सुन्दर विमानमा चढे । त्यसपछि मुनिहरूका मुखबाट जय जयको ध्वनी गुञ्जियो । विद्याधरहरूका हातमार्पmत आकाशबाट पूmलको वर्षा भयो । देवताहरूले दुन्दुभि बजाए । अप्सराहरू नाच्न लागे । आनन्द लाग्ने गरी हावा चल्न थाल्यो । गन्धर्वहरूले कर्णप्रिय गीत गाए । गुणशाली गुणाढ्यले विमानलाई छुनासाथ शिवगण भई कैलासतिर लागे ।

हे विप्र ! मैले हजुरलाई भृंगीश्वर उत्पत्तिको यस्तो कथा बताएँ । भृंगीश्वर सरहको लिंग न कहिल्यै बनाइयो न त भविष्यमा नै बन्नेछ । उत्तमतीर्थ नेपालमा रहेको यो भृंगीश्वर शिवलिंगलाई जसले दर्शन गर्दछ उसका सबै चाहना पूरा हुन्छन्, कुनै शंका छैन । जसले श्रद्धा एवं भक्तिपूर्वक भृंगीश्वरको दर्शन गर्दछ, त्यसलाई भगवान् शिव कैलासमा बस्न दिनुहुन्छ ।

अष्टमी, चतुर्दशी र संक्रान्तिका दिन जसले भृंगीश्वरको दर्शन गर्दछन् ती मोक्ष हुन्छन् । ६ महिनासम्म प्रसन्न मनले निरन्तर भगवान् भृंगीश्वरको दर्शन गर्नाले ब्राह्मण विद्यावान् र महाकवि हुन्छ, बाँझी स्त्रीले सधैँ दर्शन गरे चाँडै गर्भवती हुन्छे । भृंगीश्वरको सेवा गर्नाले दरिद्रले धन प्राप्त गर्दछ । अहिले पनि त्यहाँ पर्वपर्वमा भृंगी भृंगीश्वरको दर्शनका लागि आउने गर्दछन् । भृंगीश्वर उत्पत्तिसम्बन्धी पूण्यदायी यो शम्भुविजयको अध्याय श्रद्धापूर्वक शुद्ध भई सुन्ने मानिस सबै पापबाट मुक्त हुन्छ ।

मन शुद्ध छैन भने गरिएका सबै कर्म फलहीन हुन्छन् । यसैले श्रद्धापूर्वक वस्त्र, आभूषण आदिले ब्राह्मणको पूजा गरी शिवको आशीर्वादले चाहेको कुरा चाँडै प्राप्त गर्न सफल हुन्छ । द्विजले एक वर्षभित्रै विद्या आर्जन गर्न सक्दछ यसमा कुनै शंका छैन । यो कथा सुन्नाले मात्रै पनि क्षत्रिय विजयी हुन्छ । राजाले पाउन कठिन लक्ष्मी प्राद्म गर्दछ । यो महापाप नाशक पूण्यदायी अध्याय सुनेर वैश्य धनी हुन्छ र ठूलो पूण्य कमाउँदछ ।
सूत भन्नुहुन्छ, यो पूण्यदायी अध्याय सुन्नाले शूद्र मोक्ष हुन्छ । तपस्याका धनी मार्कण्डेय मुनि द्विजहरूलाई यो नेपालमाहात्म्य भनी सकेर साँझको सन्ध्याकर्म गर्न भनी शिष्यसहित सूर्य भगवान् देवतासँग गए जसरी जानुभयो । अरू मुनिहरू पनि साँझको सन्ध्याकर्म गर्न भनी गए । यो गोप्य एवं दुर्लभ नेपालमाहात्म्यलाई प्रयत्नपूर्वक गोप्य राख्नू र धर्मप्रति आस्था हुनेहरूलाई मात्र बताउनू ।
ॐ शिवार्पणमस्तु । ॐ नमः शिवाय । (समाप्त)

प्रतिक्रिया