शिक्षण पेसा छाडेर पशुपालनमा रमाइरहेका गोपाल

घोराही । दाङको घोराही उपमहानगरपालिका–२ रामपुर निवासी ३४ वर्षीय गोपाल खनाल २०७३ सालअगाडि शिक्षण पेसामा आवद्ध थिए । गाउँमै एक बोर्डिङ स्कुलमा पढाउँदै आएका उनी पछिल्लो ८ वर्षदेखि भने शिक्षण छोडेर कृषि पेसामा लागेका छन् ।

‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फर्म’ स्थापना गरेदेखि उनी अरू सबै काम छोडेर यही पेसामा रमाइरहेका छन् । ‘शिक्षण पेसा अथवा अन्य कुनै जागीर गर्नुभन्दा आफ्नै व्यवसाय गर्दा आत्मसन्तुष्टि र आम्दानी पनि हुने बुझाइसहित फर्म स्थापना गरेको थिए । अहिले यसमै रमाइरहेको छु’, खनालले भने, ‘कोरोनाको समयमा केही समस्या भए पनि अहिले सहज हुँदै गएको छ । अब त यसैमा अभ्यस्त भइसकेँ ।’

सुरुआती दिनमा ४ लिटरबाट दूध बेच्न सुरु गरेका उनले हाल १२० लिटर दूध उत्पादन गरेर बिक्री गरिरहेका छन् । त्योमध्ये अधिकांश दूध डेरीलाई बिक्रीवितरण गर्दै आएको बताउने उनले अहिले बिहान उठेदेखि बेलुकासम्म गाईभैँसीको स्याहारसुसार र दूधको चाँजोपाँजो मिलाउन भ्याइनभ्याइ छ । परिवारको सहयोग र आफ्नो मिहिनेतले ४० हजारबाट सुरू गरिएको व्यवसायमा अहिले ६० लाख लगानी पुगेको खनालको भनाइ छ । ‘सुरुआती दिनमा व्यवसाय कसरी अगाडि बढ्ला भनेर चिन्ता लाग्ने गथ्र्यो तर निरन्तर मिहिनेत गरेमा सफलता मिल्दो रहेछ ।

अहिले मासिक १ लाखको कारोबार गरिरहेको छु भने वार्षिकरूपमा करिब ७ लाखसम्म वचत हुने गरेको छ’, खनालले भने । उनले गाईभैँसीका लागि आवश्यक दाना बजारबाट किन्ने गरे पनि घाँस भने आफैँ उत्पादन गर्न थालेदेखि आम्दानीको केही रकम जोगाउन सकिएको बताए । स्थानीय सरकारले किसानको समस्या बुझ्न र व्यवसायवृद्धिका लागि प्रोत्साहन गर्नसके थप सहज हुने उनको बुझाइ छ ।

उनी व्यावसायिक पशुपालन र कृषि उद्यम गर्न चाहनेहरूलाई सरकारले सहुलियतका कार्यक्रम ल्याए बिदेसिन चाहने युवालाई पनि स्वदेशमै रोक्न सकिने धारणा राख्छन् । किसानका लागि सहुलियतका कार्यक्रम ल्याउनसके धेरै जना उद्यमशीलतातर्फ आकर्षित हुन्छन् भन्ने उनको विश्वास छ । त्यसो गर्न नसके पनि भएका नीतिनियमको कार्यान्वयन र किसानमैत्री ऐन कानुन बनाउन सकेमा पनि उद्यमशीलता विकासमा टेवा पुग्नसक्ने उनले बताए ।

‘मजस्ता उद्यमशील युवाले स्थानीय सरकारलाई आग्रह नगरेका पनि होइनौँ तर विविध कारणले जिल्लामा विभिन्न पेसा–व्यवसायमा जोडिएका युवासमेत पछिल्लो समय व्यवसाय नै बन्दगरेर बिदेसिन थालेका छन् । यसलाई रोक्न जरूरी छ’, उनले भने ।
डेरीलाई प्रतिलिटर ७० रुपैयाँमा बिक्री गर्ने उनको सबैभन्दा ठूलो चित्त दुखाइ आफैँले उत्पादन गरेको दूधको मूल्य निर्धारण प्रक्रियामा संलग्न हुन नपाउनुमा छ । ‘हामीले नाफाघाटा, दुःखकष्ट सहेर उत्पादन गर्छौं तर न सरकारले दूधको उचित मूल्य निर्धारण गर्छ न त मूल्य निर्धारण प्रक्रियामा कृषकलाई सहभागी गराउँछ । यसले हामीलाई निराश बनाएको छ’, खनालले गुनासो गरे ।

खनालको फर्ममा अहिले २८ वटा गाईभैँसी छन् । उनीलगायत घोराही उपमहानगरपालिका–२ रामपुर क्षेत्रका किसानबाट दैनिक १ हजार लिटरभन्दा बढी दूध उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया