शुुद्धीकरण अभियान र खाडीमा पत्रकार महासंघ

भरतराज पोखरेल

पत्रकार महासंघको सदस्यता लिएर निष्क्रिय बस्नेभन्दा प्रेसपासको दुरुपयोग गर्नेेले पत्रकारिताको हुर्मत लिएका छन् । पत्रकारको प्रेस पास दुरुपयोग गरेर भन्सार नाकाबाट सामान छिराउँदा पक्राउ परेकालाई छुटाउन जाने कि नजाने ? प्रेसपास बोकेर ठगी मुद्दामा परेकालाई छुटाउन प्रहरीलाई फोन गर्ने कि नगर्ने ? युट्युबर र पत्रकारको सीमारेखा कोरेर पत्रकारभन्दा बित्तिकै सबै गाली खान पर्ने अहिलेको गाजेमाजे अवस्थालाई अलि सङ्लो बनाउनतिर लाग्ने हो कि शुद्धीकरण । अनि नेपालीहरूको श्रम गन्तव्य खाडीमा समेत शाखा बनाउनुको औचित्य पुष्टि गर्नतिर पो लाग्ने हो कि ?

नेपाली पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघ अहिले आफ्ना सदस्य पत्रकारहरूको शुद्धीकरणमा लागेको छ । पार्टीका जिम्मेवारीमा बसेका र मूल पेसा पत्रकारिता नबनाई अन्य पेसामा लागेका, पत्रकारितामा सक्रिय नभएका जस्ता विभिन्न ‘क्याटगोरी’ बनाएर पत्रकारको शुद्धीकरण थालेको हो । स्वदेशमा शुद्धीकरण थालेको महासंघले विदेशमा कोरिया, जापानमा मात्रै होइन नेपालीहरूको श्रम गन्तव्य मुलुक खाडीमा समेत आफ्ना शाखा बनाउने विरोधाभासमा महासंघ उभिएको छ । आफैँले बनाएका सदस्यहरूमाथि शंका लागेर शुद्धीकरण अभियान नै चलाउने सायद एक मात्र व्यावसायिक संगठनमा नेपाल पत्रकार महासंघ पर्छ होला ।

पत्रकार महासंघको सदस्यता लिएर निष्क्रिय बस्नेभन्दा प्रेसपासको दुरुपयोग गर्नेेले पत्रकारिताको हुर्मत लिएका छन् । तर पत्रकार महासंघको ध्यान शुद्धीकरणतिर मात्रै छ । पत्रकारको प्रेस पास दुरुपयोग गरेर भन्सार नाकाबाट सामान छिराउँदा पक्राउ परेकालाई छुटाउन जाने कि नजाने ? प्रेसपास बोकेर ठगी मुद्दामा परेकालाई छुटाउन प्रहरीलाई फोन गर्ने गर्ने कि नगर्ने ? युट्युबर र पत्रकारको सीमारेखा कोरेर पत्रकारभन्दा बित्तिकै सबै गाली खान पर्ने अहिलेको गाजेमाजे अवस्थालाई अलि सङ्लो बनाउनतिर लाग्ने हो कि शुद्धीकरण । अनि नेपालीहरूको श्रम गन्तव्य खाडीमा समेत पत्रकार महासंघको शाखा बनाउनुको औचित्य पुष्टि गर्नतिर पो लाग्ने हो कि शुद्धीकरण ।

नेपाल पत्रकार महासंघका नेपालका जिल्ला शाखाहरूमा पत्रकारिताको स्तरवृद्धि र पत्रकारका हक हित तथा समस्याका बारेमा कति गहन छलफल हुन्छन् त्यो आफ्नो ठाउँमा छ तर नेपाल बाहिरका शाखा भने विभिन्न कारणले चर्चामा आउने गरेका छन् । केही समय पहिला नेपाल पत्रकार महासंघ कोरिया शाखाको अधिवेशन उद्घाटनका क्रममा मर्यादाक्रम तलबितल परेको भन्दै जंगिएपछि कोरियाका लागि तत्कालीन नेपाली राजदूत अर्जुन जंगबहादुर सिंह चर्चामा आएका थिए । पत्रकारजस्तो जान्ने सुन्ने हौँ भन्नेहरूको संस्थागत कार्यक्रम अनुकरणीय नै होला भन्ने राजदूतको अपेक्षालाई खेदै खन्न पर्ने विषय भने होइन ।

त्यस्तै अलि पहिला कुवेतमा भएको घटना अझ लाजमर्दो छ । नेपाल पत्रकार महासंघ कुवेत शाखाका तत्कालीन अध्यक्ष हरिकृष्ण न्यौपानेमाथि सांघातिक आक्रमण गर्ने एनआरएन राष्ट्रिय समन्वय समिति कुवेतका अध्यक्ष अर्जुन तामाङलाई कडा कारबाही गर्न नेपाल पत्रकार महासंघका महासचिवले बक्तव्य नै निकालेर माग गरे । वक्तव्यमा हमालाका सिकार भएका भनिएका शाखा अध्यक्षमाथि कुन पत्रिकामा प्रकाशित कुन समाचारका कारण हातपात भयो भन्ने उल्लेख नगरी कारबाहीको माग गरिएको थियो । यो प्रकरणपछि एनआरएन नेताले राजीनामा नै दिए ।

अलि पहिला हो, आफ्नो कतार शाखाको सम्मेलनमा भाग लिन काठमाडौंबाट गएको बेला नेपाल पत्रकार महासंघका नेताहरूलाई कतार प्रहरीले पक्राउ ग¥यो भन्ने समाचार छ्याप्छ्याप्ती भयो । पत्रकार महासंघका तत्कालीन सभापति, महासचिव र पूर्व उपाध्यक्षजस्तो जिम्मेवार नेतृत्व पक्राउ परेको खबरले नेपाली सञ्चार जगत केही समय तरंगित भयो । पत्रकारका नेताहरूले आधुनिक सञ्चारको सदुपयोग गर्दै पक्राउ नपरेको तर सोधपुछ मात्रै गरेको कुरा सार्वजनिक गरेपछि यो विषय मत्थर भयो । अझ यसलाई पुष्टि गर्न सपिङमलतिर घुमेका तस्बिर सार्वजनिक गरेपछि ढुक्क हुने अवस्था आयो ।

सामान्यतः खाडी मुलुक नेपाली श्रमिकहरूको शारीरिक श्रम बेच्ने स्थलका रूपमा चिनिन्छन् । हाम्रा प्रायः सबैजसो नेपाली युवाले यहाँ आफ्नो पसिना बेच्छन् सपना किन्नका लागि । अधिकांशले बेच्ने भनेको अफ्ठ्यारो ठाउँमा शारीरिक श्रम नै हो । यस्तो ठाउँमा पनि पत्रकार महासंघको कतार शाखामा ३६ जना सदस्य छन् । पहिला ७२ जना सदस्य भएको रेकर्ड छ । महासंघको पछिल्लो तथ्यांक अनुसार कतारका अतिरिक्त कुवेत, युएई, कोरिया, जापान, युरोप, युके, बेल्जियम र भारत गरी नेपाल बाहिरका नौ देशमा २ सय ९२ जना पत्रकार महासंघका आधिकारिक सदस्य छन् । वैदेशिक शाखा मध्ये युरोप शाखामा सबैभन्दा बढी ४९ जना अनि त्यसपछि जापानमा ४६ जना र कोरियामा ४५ जना र सबैभन्दा कम भारत शाखामा १६ जना सदस्य छन् । अमेरिका लगायतका देशमा रहेका पत्रकारमहासंघका शुभेच्छुक संगठनको संख्या यसमा समावेश छैन ।

पत्रकार महासंघको शाखा कतारमा किन चाहिन्छ ? मैले बुझेको छैन । अनि अमेरिका र युकेमा पनि यसको खाँचो किन प¥यो । त्यहाँ, आप्का हाउस, चलाउन सके त राम्रै हो तर त्यस्तो अवस्था छैन । रोजीरोटीको लागि कतारको ५० डिग्री तापक्रममा धक्ने नेपाली कामदारलाई पत्रकारिताको लेठो किन भिराइएको हो बुझ्न सकिएको छैन । बरु त्यहाँको नियम कानुनले अनुमति दिन्छ भने टे«ड युनियन गठन गर्नसके श्रमिकका समस्याका बारेमा संवाद स्थापित हुन सक्थ्यो ।

सामान्य हिसाबले हेर्दा कतार शाखा वा खाडीका अझ भनौँ नेपाल बाहिरका पत्रकार महासंघका शाखाले नेपाली पत्रकारिताको श्रीवृद्धि र पत्रकार स्तरवृद्धिको लागि के काम गर्न सक्छन् ? त्यहाँको सरकारले आफ्नै भूमिको नेपाली पत्रकारितालाई चिन्छ कि चिन्दैन ? यदि त्यसले चिन्दैन र नेपालको सरकारलाई नै चिनाउने हो भने यतै छन् त १३ हजारभन्दा बढी पत्रकार ।

पत्रकारले मात्रै होइन आफ्ना संगठनलाई अन्तर्राष्ट्रिय बनाएर नेपालका राजनीतिक पार्टीले सोझै विदेशी हस्तक्षेप निम्ताएका छन् पार्टीभित्र । कतार वा अमेरिकामा एमाले, कांग्रेस वा माओवादीको संगठन विस्तारले नेपालको राजनीतिलाई के फाइदा हुन्छ ? हो, आर्थिक फाइदा अवश्य होला अनि केही नेताहरूलाई विदेश सयरको अवसर मिल्ला तर त्यो भन्दा बढी यही बाटोबाट पार्टीमा विकृति भित्रिएको छ । पत्रकार महासंघका शाखाहरू पनि केही केन्द्रीय नेतालाई घुमाउने माध्यमबाहेक अन्य काममा प्रभावकारिता देखिएको छैन ।

हिजो मुलुकमा खुला राजनीति गर्ने अवस्था नहुँदा भारत लगायतका मुलुका संगठन बनाएर काम गनुपर्ने वाध्यता पनि थियो होला । तर अब मुलकमा प्रजातन्त्रले पनि नपुगेर गणतन्त्र नै भित्रिइसक्यो भने पछि देश बाहिर पार्टी संगठनको के औचित्य छ ?

कतार होस् कि मलेसिया, अनि युके होस कि अमेरिका वा अस्टे«लिया र क्यानडा किन नहोस विदेशमा रहेका नेपालीहरूको अभिभावक तत् तत् मुलुकमा रहेको नेपाली दूतावास हो । उनीहरूको सम्पर्क समन्वयको लागि कुनै संगठनको जरुरी छैन । विदेशस्थित नेपाली दूतावासमा अभिभावकत्व ग्रहण गर्ने क्षमता छैन भने त्यसलाई व्यवस्थित गर्नुप¥यो तर ऊ आफ्नो जिम्मेवारीबाट भाग्न मिल्दैन, सक्दैन ।

नेपालमा पनि विभिन्न देशका मानिसहरू बस्छन् आआफ्नो काम विशेषले । तर यहाँ कहीँकतै राजनीतिक संगठन बनाएको पाइँदैन । विदेशी पत्रकार पनि छन् हामीकहाँ तर उनीहरूले आफ्नो देशको पत्रकार संघको शाखा खोलेको जानकारीमा छैन । टाढा किन जानु विदेशी नागरिक मध्ये सबैभन्दा बढी विभिन्न पेसा व्यवसाय गरेर बसेको भारतीय नागरिक छन् हामीकहाँ । तर यहाँ भाजपा वा कांग्रेस आईको या अन्य राजनीतिक दलको संगठन बनाएका छैनन् । केही परे भारतीय दूतावास नै अघि सरेर आफ्ना नागरिकको समस्याको बारेमा पहल गर्छ ।

कर्पोरेट व्यापारी घरनाले विदेशमा शाखा खोलेजस्तै अब राजनीतिक पार्टीले विदेशमा शाखा खोल्न जरुरी छैन । अझ पत्रकार महासंघले किन खोल्न प¥यो शाखा ।

प्रतिक्रिया