वीर अस्पतालकी लक्ष्मी जोशीलाई नर्सिङ अवार्ड

काठमाडौँ । ‘नाईटेङ्गल नर्सिङ अवार्ड–२०२३’ बाट वीर अस्पताल अन्कोलोजी वार्डकी प्रमुख नर्स लक्ष्मी जोशी सम्मानित भएकी छन् । जोशीले नेपालको नर्सिङ पेशामा गरेको योगदानको मूल्यांकन गर्दै हेल्थ एट होम, नेपाल क्रिटिकल केयर डेभलपमेन्ट फाउन्डेसन, नेपाल भेन्टिलेटर्स सर्भिस, सघन क्रिटिकल केयर एसोसिएट्स र मेड प्रो इन्टरनेशनलले संयुक्त रुपमा ‘नाइटिंगेल नर्सिङ अवार्ड २०२३’ बाट सम्मान गरेको हो ।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथी रहेकी सामाजिक अभियन्ता अनुराधा कोइराला र हेल्थ एट होम मेडप्रो इन्टरनेशनलका संस्थापक डा.विशाल ढकालले जोशीलाई अवार्ड तथा नगद पुरस्कार प्रदान गरे । अवार्ड प्राप्त गरेपछि खुसी व्यक्त गर्दै जोशीले अवार्ड पाएसँगै आफूले थप जिम्मेवारी बोध गरेको बताइन् । उनी विगत २९ वर्षदेखि नर्सिङ पेशामा कार्यरत छिन् ।

फ्लोरेन्स नाइटिंगेलको नामबाट अन्तर्राष्ट्रिय नर्सिङ दिवस पारेर हेल्थ एट होमले हरेक वर्ष नर्सहरुलाई सम्मान गर्दै यस्तो खालको अवार्ड प्रदान गर्दै आएको छ । कार्यक्रममा प्रमुख अतिथि रहेक सामाजिक अभियन्ता अनुराधा कोइरालाले दिनरात नभनी बिरामीको सेवामा लाग्ने नर्सहरुलाई प्रोत्साहन गर्न हेल्थ एट होमले गरेको सम्मान प्रति खुशी व्यक्त गरिन् ।

यसैगरी कार्यक्रममा हेल्थ एट होमका संस्थापक डा.विशाल ढकालले नर्सहरुको सम्मानमा सञ्चालन गरिएकोे अवार्ड कार्यक्रमले धेरै नर्सहरुलाई आफनो पेशामा टिकिरहन र सेवामा लाग्न प्रेरणा मिल्नेमा विश्वास व्यक्त गरे ।

हेल्थ एट होमले घरघरमा पुगेर स्वास्थ्य सेवा दिँदै आएको छ । कम्पनीले स्वास्थ्य सेवाका साथै घरमै पुगेर रेडियोलोजी सेवा समेत प्रदान गर्दै आएको छ । हेल्थ एट होमले घरमै पुगेर बिरामीको उपचार गर्ने, ल्याब टेस्ट तथा रिपोर्ट लिने, विभिन्न किसिमका थेरापी दिने लगायतका अन्य सेवा प्रदान गर्दै आएको छ । हाल हेल्थ एट होममार्फत करिब एकलाख भन्दा बढी घरले स्वास्थ्य सेवा लिइसकेका छन् । देशव्यापी सञ्जाल बनाउने उद्देश्य राखेको हेल्थ एट होमले उपत्यकाबाहिर तीनवटा शाखामार्फत आफ्नो सेवा दिँदै आएको छ ।

प्रतिक्रिया