काठमाडौं उपत्यका जलमग्न तथा प्रभावती र पद्युम्नको विवाह प्रसग

नेपाल महात्म्य–५

‘हे प्रिये ! तिम्रो अनुहार जस्तै चहकिला, आँखालाई आनन्द दिने र लोकलाई मोहित बनाउने पूर्ण चन्द्रमालाई हेर त । कुनै एउटा भ्रमरा ओइलाएको कमलको फूललाई छाडी फुलिरहेको अर्को कमलको फूलतिर आइरहेको छ । हे प्रिये ! भ्रमराको बोझले पीडित केशरयुक्त त्यो कमल, रतिसंयोगपछि म्वाइ खाइएका स्त्रीका ओठझैं शोभायमान भइरहेको छ । हे प्रिये ! मन्द पवनबाट हल्लाइँदा कोमल तरिकाले हलचल गरी वृक्षहरू पालुवारूपी अँजुलीले फूलहरू फालिरहेका छन् । तिम्रो फूलेको फुलझैँ देखिने मुस्कान, सुन्दर पालुवाजस्ता देखिने ओठ र लहराजस्तै नाचिरहेका आँखीभौंले युक्त अनुहार बगैँचाजस्तै शोभायमान भइरहेको छ ।

मोहनप्रसाद सापकोटा

मार्कण्डेय भन्नुहुन्छ, ‘यसपछि महेन्द्रदमन नाम गरेको दैत्य शिव भगवान्को आराधना गरी तपस्याको बलमा तीनै लोकमा अपराजित हुन पुग्यो । लडेर जित्न नसकिने त्यो दैत्यले इन्द्रसमेत सबै देवतालाई जिती ‘चन्दनपर्वत’ को फेदी (थानकोट वा फर्पिङको आसपास ?) को उत्तरतिर ‘सुप्रभा’ नामको अनेक रत्नले सुसज्जित एउटा सुन्दर सहर बनायो ।

महेन्द्रदमनकी मृगका जस्ता सुन्दर आँखा भएकी एउटी बहिनी थिइन् । प्रभावती नामकी ती कन्याको सुन्दरताको तुलना कसैसँग हुन सक्दैनथ्यो । ती कन्याले देवताबाट पूजित वत्सला देवीको आराधना गरिन् । हिमालय पुत्रीले प्रसन्न भई प्रभावतीलाई भन्नुभयो, ‘हे सुन्दर कम्मर भएकी (कन्या) तिम्रो मनले सोचेको वरदान माग ।’
पार्वतीको वचन सुनी प्रभावतीले भनिन, ‘हे देवी ! हजुर नै सबै प्राणीको मनमा रहेको कुरा जान्नु हुन्छ, म के भनौ ?’ प्रभावतीका कुरा सुनी पार्वतीले भन्नुभयो, ‘हे मृगका जस्ता आँखा भएकी ! तिम्रो मनमा रहेका पुरुषको बारेमा मैले जाने । श्रीकृष्णका छोरा प्रद्युम्न तिम्रा पति हुनेछन् ।’

यस्तो वरदान दिएर देवी तुरुन्त अन्तध्र्यान हुनुभयो । प्रभावती वरदान पाएर सुप्रभा शहरमा गइन् । दानवले चन्दन पर्वतको थाप्लोमा बगैँचा बनाएको थियो । प्रभावतीलाई मनोरञ्जन दिन बनाइएको त्यो बगैंचा स्वर्गको नन्दन वनझैँ सुन्दर थियो । रमणीय मृगेन्द्रशिखर(शिवपुरी)बाट निस्की बहने बाग्मती नदीलाई पर्वत समान त्यो दैत्यले अभिमानपूर्वक रोकिदियो ।

वागमती अवरुद्ध भएपछि विशाल श्लेष्मान्तक वन दहमा परिणत भयो । सुप्रभा सहरको दैत्य यो देखेर अति खुसी भयो । सुप्रभा सहरमा महेन्द्रदमन नामको त्यो दैत्य आफैँ बस्दथ्यो । मृगेन्द्रशिखरमा भने राजा सूर्यकेतु बस्ने गर्दथे । यी दुईको बीचमा पानी र कमलका फूलले भरिएको ठूलो श्लेष्मान्तक वन तालझैँ प्रतित हुन्थ्यो । जित्न नसकिने महेन्द्रदमन दैत्यलाई देखेर राजा सूर्यकेतुले अनेक दिव्य रत्न आफैंले जोहो गरी भेटी चढाउन पठाए र आफूलाई सुरक्षित र त्रासरहित सम्झिए ।

एकपटक एउटा सेवक दैत्य मृगेन्द्रशिखर घुम्दै पुग्यो र राजा सूर्यकेतुकी छोरीलाई देख्यो । बगैंचामा खेलिरहेकी ती कन्या रम्भाभन्दा पनि धेरै सुन्दर थिइन् । राजाकी यस्ती कन्या देखेर त्या दानव तुरुन्त फर्कियो र महेन्द्रदमनका अगाडि गई भन्यो, ‘दैत्यपति ! मेरा कुरा सुन्नुहोस, मृगेन्द्रशिखरमा घुम्नजाँदा राजा सूर्यकेतुकी सुन्दर कन्या देखिइन् । मानिसको जातमा यस्ती राम्री केटी कहीँ पनि छैन । राजा सूर्यकेतुकी कन्या अमूल्य स्त्रीरत्न छिन् । हजुर संसारमा रत्नभोक्ता हुनुहुन्छ र उनी पनि एक उत्तम स्त्रीरत्न छिन् । पृथ्वीमा हजुरजति योग्य पति तिनका लागि कोही छैन ।’

उसका कुरा सुनी महेन्द्रदमन अति खुसी हुँदै बलशाली त्यो दैत्यलाई भन्नलाग्यो, ‘हे दानवोत्तम ! तिमी धन्य छौ, राम्रो (सही) कुरा भन्यौ । हे उत्तम दानव ! जे जसो गर्नाले सूर्यकेतु मलाई छोरी दिन्छन् तिमी त्यो उपाय गर । हे श्रेष्ठ दानव ! मृगेन्द्रशिखरमा गएर तिमी मेरा लागि राजा सूर्यकेतुकी छोरी माग ।’

उसको आदेश पाई त्यो दैत्य मृगेन्द्रशिखरतिर गयो । त्यहाँ उसले मन्त्रीहरू सहितको सभामा राजालाई देख्यो । मन्त्रीहरूले पनि दानवलाई देखी ‘बस’ भने । ‘दैत्य ! के प्रयोजनका लागि आयौ ? त्यो तिमीबाट यहाँ बताइयोस्’ भनी राजाले भने ।

राजाको कुरा सुनी दानवले यो कुरा भन्यो, ‘वाणासुरका पुत्र दैत्यराज महेन्द्रदमन हजुरकी कन्यालाई चाहन्छन् । हजुर उनलाई कन्या दिनुहोस् । शिवको वरदानका कारण महेन्द्रदमन रत्नभोगी छन् । चन्द्रावती पनि स्त्रीरत्न हुन् त्यसैले हजुरबाट दिन योग्य छिन् ।’
दूतको यस्तो सन्देश सुनी

सूर्यकेतु डराउँदै मनले सोचविचार गरी दूतलाई भन्न लागे ।
‘हजुरले जे भन्नुभयो त्यो सत्य नै हो, यसमा कुनै शंकै छैन । राजा महेन्द्रदमन तीनै लोकका स्वामी हुन् । उनले मेरी कन्या माग्दछन् भने, मभन्दा भाग्यमानी को हुन सक्ला र ? तर, मेरी छोरी चन्द्रावती अहिले सानी छिन्, जब मेरी छोरीको बिहे गर्ने बेला हुनेछ तब म महेन्द्रदमनको आदेश निःसन्देह मान्ने नै छु ।’

राजाको यस्तो वचन सुनी दूत खुसी हुँदै महेन्द्रदमन भएका ठाउँमा गयो र सबै कुरा निवेदन ग¥यो । यता राजा सूर्यकेतु भने दुःखी हुँदै चिन्ता गर्न लागे । उनलाई दुःखमाथि दुःख थपियो । ‘अब यसपछि के गर्ने होला ? आफ्नो देश श्वेतका सहर गुमाएपछि अब दैत्य मेरी छोरी माग्न थालेको छ । अब फेरी मृगेन्द्रशिखरमा पनि म टिक्नबस्न नसक्ने हुन्छु क्यारे !’

राजा सूर्यकेतु यस्तै चिन्ता गर्दै थिए कि त्यहाँ श्रेष्ठमुनि नारद टुप्लुक्क आइपुगे । उनी आएको देखी राजा सूर्यकेतुले शास्त्रअनुसार भक्तिपूर्वक उनको पूजा गरे । नारद आसनमा बसिसकेपछि राजा नारदलाई भन्न लागे, ‘महेन्द्रदमन दैत्य मेरी कन्या माग्दछ, मृगेन्द्रशिखरमा बसेर ऊसँग विद्रोह पनि कसरी गर्नु ? हे नारद ! मबाट उसको प्रतिकार (अवज्ञा) कसरी होला ?’

राजाका यस्ता कुरा सुनी नारद भन्दछन, ‘हे नृपश्रेष्ठ सूर्यकेतु ! तिमीले फेरी डराउनु पर्दैन । तिम्री छोरी चन्द्रावती प्रद्युम्नलाई देउ । म द्वारका गई मधुसूदनको दर्शन गरी रुक्मिणीपुत्र प्रद्युम्नलाई यहाँ लेराउँदछु, तिमी भय त्याग ।

नारदका कुरा सुनी नृपश्रेष्ठ सूर्यकेतुले ती नारद मुनिलाई ‘हजुरले सधैँ मेरो रक्षा गर्नुहुन्छ’ भने । राजासँगको कुराकानी सकी ती मुनि हिँडे । आकाशमार्गबाट जाँदै गर्दा ती मुनिले चन्दनगिरीको थाप्लोमा रहेको बगैँचामा दैत्यकन्या प्रभावतीलाई देखे । ती नारद (त्यसपछि) प्रभावतीका नगिचै आइपुगे । सुन्दरी प्रभावतीले नारदलाई नमस्कार गरी भन्न लागिन, ‘हे तपोधन ! हजुरको आगमनको कारण के हो ? मलाई बताउनुहोस् ।’

नारद भन्नुहुन्छ, ‘हे प्रभावती ! पहिले देवीले तिमीलाई प्रद्युम्न पति हुनेछन् भनी वरदान दिएकी थिइन् । तरm अहिलेसम्म पनि श्रीकृष्णका पुत्र तिमीलाई लिन आएनन् । सूर्यकेतुकी छोरी चन्द्रावती अती सुन्दरी छिन् । उनले आफ्नी छोरी प्रद्युम्नलाई दिने निधो गरेका छन् भने उता चन्द्रावतीलाई तिम्रो दाजू चाहन्छन् । म प्रद्युम्नलाई लिन द्वारका जान लागेको छु । प्रद्युम्न आइपुगेपछि तिम्रो समागम होला ।’

नारदका कुरा सुनी प्रभावती नारदलाई भन्दछिन्, ‘हे त्रिकालज्ञ मुनीश्वर ! हजुर नै सबै कुरा जान्नुहुन्छ । विलद्वार (नाका ?) मा शंख नामको अति बलियो महाअसुर पहरा दिइरहेको छ । वागमती थुनिएको ठाउँमा कच्छपासुर पहरा दिइरहेको छ । मेरा दाई पनि अति बलिया छन्, यस्तो स्थितिमा प्रद्युम्न कसरी यहाँ आउलान् खोई ?’

प्रभावतीका कुरा सुनी नारदले उनलाई फेरी भन्न लागे, ‘हे मृगका वच्चाका जस्ता आँखा भएकी ! तिमीले भनेको कुरा सही हो, यसमा शंकै छैन । हे कन्या ! तिमी यहीँ बस, सुप्रभा नगरमा नजाउ । तिम्रो दाजुको प्रभावले यहाँ कुनै डर पनि छैन ।’ यति भनेर बुद्धिमान् नारद द्वारकातिर प्रस्थान गरे । प्रभावती चन्दनगिरीको थाप्लोमै बसिरहिन् ।

चाँडै द्वारका पुगेका बुद्धिमान् नारदले यदुहरूको सभामा बसिरहेका श्रीकृष्णको दर्शन गरे । नारद आएको देखी शास्त्रअनुसार श्रीकृष्णले उनको पूजा गर्नुभयो । पूजा सकी गोविन्दले मुस्कुराउँदै सोध्नुभयो, ‘हे ब्रह्मन् ! कहाँबाट आउनुभयो ? अचम्मका कुरा के देख्नुभयो ? हे मुनिश्रेष्ठ ! हजुरले हाम्रो घर पवित्र पारिदिनुभयो । कुल सबै पनि पवित्र पारिदिनुभयो । आउनुको कारण बताउनुहोस् ।’

श्रीकृष्णका कुरा सुनी खुसीले गद्गद हुँदै नारद अँजुली बाँधेर भन्न लागे । ‘हे श्रीकृष्ण ! म यहाँ आउनुको कारण बताउँदछु सुन्नुहोस् । हंसध्वजको डरले राजा सूर्यकेतु आफ्नो श्वेतका नगरी छाडी तुरुन्त मृगेन्द्रशिखरतिर गए । तिनकी चन्द्रावती नामकी छोरी प्रद्युम्नका लागि भनी निश्चय गरिएकी छिन् । अति बलशाली महेन्द्रदमन नामको असुर उनलाई मागिरहेको छ ।

त्यो दैत्यकी प्रभावती नाम गरेकी परम सुन्दरी बहिनी छिन् । पार्वतीले प्रद्युम्न तिम्रा पति हुनेछन् भनी उनलाई पहिले नै वरदान दिइसकेकी छन् । त्यहाँ प्रद्युम्नलाई पठाउनुहोस् र महेन्द्रदमन असुरलाई हजुरको पुत्रका हातबाट मार्न लगाउनुहोस्, यसमा सोचविचार नगर्नुहोस् । हे देवेश्वर ! मसँग प्रद्युम्नलाई पठाइयोस् । त्यहाँ हजुरको पुत्रले महेन्द्रदमनलाई मारुन् र प्रभावती तथा चन्द्रावतीसँग बिहे गरुन् ।

यसपछि श्रीकृष्ण सोध्नुहुन्छ, ‘हे तपोधन ! जित्न मुस्किल (त्यो दैत्यलाई नमारी चन्द्रावतीसँग मेरो छोरो प्रद्युम्नको विवाह कसरी हुन्छ ? हे मुनीश्वर ! हजुरसँगै गएर मैले त्यसलाई मार्नु पर्दछ ।’
नारद भन्नुहुन्छ, ‘हे माधव ! महेन्द्रदमन दैत्य हजुरबाट मारिन्न । ऊ प्रद्युम्नका हातबाटै मारिन सक्दछ भनेर मैले ब्रह्माका मुखबाट सुनेको छु ।

श्रीकृष्ण भन्नुहुन्छ, ‘हे विप्र ! हजुरले ब्रह्माका मुखबाट कसरी सुन्नुभयो ? मलाई भन्नुहोस् । महेन्द्रदमन दैत्य कसको छोरो हो ? कस्तो छ ? कसरी इन्द्रलाई जित्यो ? त्यो सबै मलाई बताउनुहोस् ।’

नारद भन्नुहुन्छ, शोणितपुर नामक सहरमा वाणासुर नामको दैत्यराज बस्दथ्यो । उसकी पतिभक्ता रोहिणी नामकी पत्नी थिइन् । उसको सबै देवतालाई तर्साउने छोरो भयो । ऊ जन्मदै खेरी पृथ्वीमा ठूलो भूकम्प गयो । त्यसबेला इन्द्रको देब्रे आँखो फरफराएको थियो । यो महाबलशालीले इन्द्रलाई दमन गर्नेछ भनेर शुक्राचार्यले उसको नाम महेन्द्रदमन राखे ।

जवान भएपछि दैत्यले भक्तिपूर्वक शुक्राचार्यलाई सोध्यो, ‘हे गुरू ! म इन्द्रलाई कसरी जित्न सक्दछु, मलाई बताउनुहोस् ।’ उसका कुरा सुनी शुक्राचार्यले दानवश्रेष्ठलाई भने, ‘हे दानव ! तपस्याबाट सिद्धि प्राप्त हुन्छ, अतः तपस्या गर । तपस्याबाट तिमी जित्न नसकिने इन्द्रलाई पनि जित्नेछौ ।’

गुरूको उपदेश मानी महेन्द्रदमन दैत्यले रुद्रधारोदय तीर्थ (शंखमूल) मा गई दोषहीन तपस्या ग¥यो । जितेन्द्रिय भई हजार वर्षसम्म वायु मात्र पिएर त्यहाँ कठोर तपस्या गर्दा ब्रह्मा प्रसन्न हुनुभयो र सूर्यवर्णको विमानमा चढी चतुर्मुख ब्रह्मा प्रकट हुनुभयो । ब्रहलाई देखी दण्डवत् प्रणाम गरी महेन्द्रदमन दैत्यले भन्यो । यदि हजुर मसँग प्रसन्न हुनुहुन्छ भने मलाई मनले चिताएको वरदान दिनुहोस् । म युद्धमा सबै देवताबाट जित्न नसकिने होउँ । दैत्यका कुरा सुनी ब्रह्माले भन्नुभयो, ‘हे दानव ! तिम्रो मनमा जे चाहना छ त्यो सफल होस् ।’

यसरी उसलाई मनले चाहेको वरदान दिई ब्रह्मा सूर्यवर्णको विमान चढी ब्रह्मलोक जानुभयो । त्यसपछि बरदान पाएको त्यो दैत्य वीर दैत्यहरूका साथ शुक्राचार्यबाट राज्याभिषेक गरिई दैत्यराज भई गद्दीमा बस्यो ।

एकदिन मन्त्रिहरूसँग सल्लाह गरी महेन्द्रदमन दैत्यले कूष्माण्ड नामक दैत्यलाई दूत बनाएर इन्द्रलोकमा पठायो । त्यसपछि इन्द्रसभामा गएर अति पराक्रमी कूष्माण्डले सबै देवताका सामु इन्द्रलाई भन्यो, ‘हे इन्द्र ! स्वामी इन्द्रदमनलाई ब्रह्माले राज्य वरदान दिनुभएको छ । अतः वीरले भोग्नयोग्य यो स्वर्गको राज्य हजुर छाड्नुहोस् ।’

कूष्माण्डका कुरा सुनी रिसले व्याकुल हुँदै इन्द्रले देवसभामा उसलाई यस्तो उत्तर दिए, ‘राज्यहरू वीरहरूबाटै भोगिन्छन्, साँचो हो, कुनै शंकै छैन । परन्तु हे दानव ! वीरहरू नलडी राज्य छाड्दैनन् । हे कूष्माण्ड ! मेरा कुरा वाणासुरका पुत्रलाई लगेर सुनाउ । उसको जुन तेज पराक्रम छ, त्यो मेरा अगिल्तिर देखाउ भन ।
इन्द्रको यस्तो कुरा सुनी दूत अति रिसाउँदै दैत्यका अगाडि आएर इन्द्रले भनेका सबै कुरा सुनायो । दूतका कुरा सुनी महेन्द्रदमन दैत्यले भाइ शंखासुर, दाई कच्छपासुर र दैत्येसेनालाई समेत अगाडि लगाएर इन्द्रपुरतिर प्रस्थान ग¥यो । त्यहाँ पुगी युद्धप्रेमी महेन्द्रदमनले इन्द्रको सहरलाई घे¥यो र नन्दनवनमा छाउनी बसायो ।

नारद भन्नुहुन्छ, महेन्द्रदमन नन्दनवनमा डेरा जमाएर बसेको देखी इन्द्र युद्ध गर्न देवसेना अगाडि लगाएर निस्किए । त्यसबेला रथ र दुन्दुभि (एक थरी बाजा, ठूलो दमाहा) का आवाजले, घोडा हिनहिनाएका शब्दले तथा हात्ती कराएका आवाजले अरू केही सुनिदैनथ्यो । त्यसपछि शंख दैत्य खुब गर्जियो (?) शंख बजेको ठूलो स्वर सुनियो । दुबै सेनामाथि वाणको वर्षा हुन लाग्यो । अनि दुष्ट दैत्यका सेनाले देवसेनालाई भगाए ।

देवसेना भागेको देखी युद्ध मैदानमा इन्द्र आए । उनले तीव्ररूपमा वाणहरू वर्षाएर दानवहरूलाई ढाकिदिए तथा कुनै कुनै दानवको दुबै गोडा काटिदिए त कसैका टाउको काटेर खसाले । आफ्ना सेना छिन्नभिन्न भएको देखी ठूलो स्वरले चिच्याउँदै अति रिसाउँदै दानवश्रेष्ठ शंख रणमैदानमा आयो । त्यसपछि इन्द्रको शंखसँग अत्यन्त व्रूmर युद्ध सुरु भयो ।

प्रतिकार गर्दै शंकले निर्ममतापूर्वक सात वाण हानी इन्द्रको छाती दृढतापूर्वक भेदन गरे । घाइते भएर पनि इन्द्रले आफ्नो हस्तकौशल देखाउँदै चार वाणले चार घोडा र एक वाणले सारथि तथा १० मर्मभेदी वाणले उसको छाती भेदन गरे । शंखासुर व्याकुल भएको देखी महेन्द्रदमन रिसाएर आई युद्धभूमिमा इन्द्रको सुन्दर रथलाई ध्वस्त पारि दियो । रथबाट खसेका इन्द्र, दानवले समात्नुभन्दा अघि नै ऊसँग डराएका एवं खुला कपाल भएका स्वर्गपति युद्धमैदान छोडी झटपट आकाशमा उडेर गए ।

त्यसपछि महेन्द्रदमन स्वर्गमा प्रवेश ग¥यो । त्यसैबेला विमान चढेर ब्रह्मा त्यहाँ आइपुग्नुभयो र युद्ध विजयी दैत्यपतिलाई देखी भन्न लाग्नुभयो, ‘हे धैर्यशाली (दानव) ! मेरो आदेश मानी (तिमी) स्वर्गमा नबस । तिमीले ठूलो यश कमायौ, सत्यकर्म ग¥यौ । तिमीले युद्धरत दानवसहित सुप्रभा नगरीमा नै बस्नु । हे दानव ! तीनलोकमा जेजति वीरले भोग गर्ने रत्न छन्, ती सबै मेरो आदेशमा सुप्रभा नगरमै जानेछन् ।’

ब्रह्माको वचन सुनी महेन्द्रदमन दानव त्यसपछि आफ्ना सेना अघिपछि लगाई सुन्दर सुप्रभा सहरतिर लाग्यो । अनि युद्धत्रस्त इन्द्रलाई ब्रह्माले भन्नुभयो, ‘हे शचीका पति ! मथुरामा श्रीकृष्णको जन्म भएपछि भगवान् शिवबाट भष्म गरिएका कामदेव महेन्द्रमनलाई मार्ने भई ती श्रीकृष्णका पुत्रकारूपमा जन्म लिनेछन् । हे इन्द्र ! तिमीले कपटी रूप लिएर गौतमकी पत्नीलाई भोगेका थियौ, त्यसैले पहिले गरेको कु कर्मको फल भोग । शत्रुका हातबाट हार्नु मृत्युभन्दा पनि कष्टकारी हुन्छ, अतः हे इन्द्र ! मेरो आज्ञाले तिमी वैराग्य छाड ।’ त्यसपछि ब्रह्माबाट आश्वासन पाएका इन्द्र स्वर्गमा छिरे ।

नारद भन्नुहुन्छ, ‘यसैले हे गोविन्द ! महेन्द्रदमन दैत्य बलियो भए पनि निश्चय नै प्रद्युम्नबाट नै मारिनेछ । अतः प्रद्युम्न पनि मसँगै सुप्रभा नगरमा जाउन् । बिहान हजुर पनि त्यहाँ आउनुहोला नै ।’
मार्कण्डेय भननुहुन्छ, नारदका यी कुरा सुनेपछि श्रीकृष्णले प्रद्युम्नलाई नारदसँग सुप्रभा नगरीमा पठाउनुभयो । गरुडमाथि चढेर प्रद्युम्न तुरुन्त त्यहाँ पुगे जहाँ सबै ऋतुमा फुल्ने फूल फुलिरहेका र अनेक थरी रूखले भरिएको मनोरम चन्दनपर्वतको शिखरमा प्रभावती थिइन् । त्यहाँ अद्भूत मण्डपमा सुत्दै देवी प्रभावती शरदकालीन जूनलाई हेर्दै खिन्न मनले पार्वतीका वरदानबाट ढुक्क भई प्रद्युम्नलाई सम्झँदै कामवाणले पीडित हुँदा चन्द्रमालाई गाली गर्न लागिन् ।

प्रभावती भन्दछिन्, क्षीरसागरमा जन्मिएर सधैँ शिवका टाउकामा बस्दछौ, अमृत पानगरी देवतुल्य भएका तिम्रो स्वभाव शीतल छ, तै पनि तिमी रिसाउँदै (आफ्ना) तिखा किरणले म जस्ती अनाथ बालिकालाई सताउँदछौ, किन यसो गर्दछौ ? मलाई कारण भन । च्याखुरा (चन्द्रकिरण हेरेर वा पिएर बाँच्ने किंवदन्ती रहेको एक चरा) का आँखालाई आनन्द दिने चन्दनभैmँ शीतल एवं संसारलाई मोहित बनाउने तिमी, म अवलालाई चाहीँ किन यसरी मार्दछौ ? । मेरा प्रेमी (प्रद्युम्न)को (अती सुन्दर) मुखसँग तिमी डाह गर्दछौ, त्यसैले उनकी प्रेमिका (म) लाई (तिमी) कठोर एवं असहनीय किरणले सताइरहेका छौ ।

हे चन्द्र ! बिछोडिनेहरूलाई पीडा दिनाका कारण तिमी खिइने गर्दछौ, तै पनि तिम्रो चित्तमा म जस्ती वियोगिनीलाई पीडा दिँदा (अलिकति पनि) घृणा छैन हैन ? । हे चन्द्र ! तिमी यमराज जस्तै छौ, म मेरा पति (प्रेमी) सँग छैन, के गरौँ ? प्राणहारी कामदेवले चाँडै नै साँच्चै मेरो पनि प्राण हरण गर्नेछन् । लौन अब त यी फूलले पनि मेरो मन पोल्न थालेको छ, मन्द पवन पनि विपरीत भई दक्षिणतिर बहन थालेको छ, घुमिरहेका यी भमराका आवाजले पनि मेरा दुबै कान बहिरा हुन आँटिसके । मेरो मन कोइलीको
मीठो आवाजले व्याकुल भइरहेको छ, श्रीकृष्णका पुत्र प्रद्युम्न मेरा छेउमा छैनन्, हरे ! कामदेव (पनि) कति निष्ठूर भएका होलान् ? म के गरौँ ? चाण्डालले (बोक्ने दण्ड) भन्दा पनि कठोर धनुष हातमा लिएर कामदेव यहाँ उपस्थित भएका छन् । म शिरिषको फूलजस्ती कोमल अबला के गरौँ ? यो कामपीडा कसरी सहुँ ? ।

पार्वतीबाट ‘प्रद्युम्न तेरो पति हुनेछ’ वरदान पाएकी थिएँ, उनी अहिलेसम्म आउँदैनन्, अब यसपछि म के गरौँ ? । यसरी उनी अनेक कुराले चन्द्रमालाई गाली गरिरहेकी थिइन्, त्यसैबेला आकाशको बाटो हुँदै मुनिसँगै प्रद्युम्नलाई हे मुनिश्रेष्ठ ! तिनले देखिन् र अती डराउँदै ‘यो के हो ? सूर्य हुन् कि अग्नि नै आएका हुन् ?’

यसरी प्रभावती के हो भनी खुट्याउन खोज्दै थिइन् कि तुरुन्त प्रद्युम्नसँगै नारद अगाडि देखिए । त्यसपछि हातमा वीणा लिएका नारदलाई प्रद्युम्नसहित देखेर देवी प्रभावतीले उठेर नमस्कार गरिन् । अनि मुनिश्रेष्ठ नारदले प्रभावतीलाई भन्नुभयो ।

यी तिम्रा पति श्रीकृष्णका पुत्र (प्रद्युम्न) आएका छन् । पार्वतीले निश्चित गरिदिएअनुसार श्रीकृष्णका पुत्रसँग गान्धर्व विवाह गरी सौन्दर्यगृहमा गई यिनको सेवा गर । हे हरिणका जस्ता आँखा भएकी ! अब तिम्रो मनको चाहना पूरा होस् भलो होस् ।
मार्कण्डेय भन्नहुन्छ, हे जैमिनि ! नारदका कुरा सुनी देवी प्रभावतीले अँजुली जोरेर नारदलाई भनिन्, हे मुनि ! म केही कुरा अनुरोध गर्दछु, मुनिश्रेष्ठ ! सुन्ने कृपा गर्नुहोस् । हे प्रभू ! मेरा दाई महेन्द्रदमन बलशाली छन् जसले युद्धमा आफ्नो तेजोबलले इन्द्रलाई समेत जितेका छन् । यी (प्रद्युम्न) कोमल अंगका र राम्ररी जवान पनि भइसकेका छैनन् । यो कुरा दैत्येन्द्रले थाहा पाए भने कसरी भलो हुन्छ ?’

प्रभावतीका कुरा सुनी नारद उनलाई फेरी भन्न लाग्नुभयो, हे मृगनयगनी ! म तिम्रो भलोका लागि भन्दैछु, सुन । हे भामिनी (रिसाउने स्त्री) ! दाइ महेन्द्रदमनसँग नडराउ । यिनले जित्न कठिन कालशम्बरलाई मारेर आएका छन् । महेन्द्रदमन दैत्यलाई पनि यिनले नै मार्नेछन् । हे देवी ! भोलि बिहान ठूलो युद्ध हुनेछ । हे देवी ! तिम्रा ससुरा श्रीकृष्ण प्रद्युम्नको सहायता गर्न बिहान आफैँ आउनुहुनेछ, यसमा शंका नमान । हे भामिनी ! देवताको काँडो अविजित महेन्द्रदमनलाई मारी चन्द्रावतीसँग यिनले विवाह पनि गर्नेछन् । हे मृगनयनी ! यी पतिसँगै तिमी द्वारका गई देवतालाई पनि दुर्लभ मानिएका अनेक थरी भोग् भोग ।

मार्कण्डेय भन्नुहुन्छ, नारदको यो कुरा सुनी प्रभावती फेरी भन्दछिन् । हे नारद ! यी पतिले मेरो दाईलाई मार्दछन् भने त मेरो यो सुखी जीवनबाट मलाई के फाइदा ? निःसन्देह सबै लोकमा यसबाट मेरो अबजस फैलिनेछ । ‘लोग्नेका लागि प्रभावतीले आफ्नै दाजुलाई पनि मार्न लगाई’ भन्नेछन् । यसैले, हे नारद ! यस स्थितिमा म प्रद्युम्नलाई उत्तम पतिका रूपमा पाउन चाहन्न । हे मुनि ! मैले यस्तो अबजस खप्नुभन्दा त बरु यी आफ्नै घर फर्कियुन् ।

मार्कण्डेय भन्नुहुन्छ, ‘त्यसपछि यस्तो कुरा सुनी नारद फेरी भन्नलाग्नुभयो । हे वरवर्णिनी ! यस सम्बन्धमा तिम्रो चिन्ता व्यर्थ छ । स्त्रीहरू पिताको कुलभन्दा पनि उत्तम कुलको केटो बिहे गर्न चाहन्छन् । हे मृगनयनी ! हुने कुरो भएरै छाड्दछ टारेर टर्दैन, प्रयास गर्नु व्यर्थ हुन्छ । त्यसैले पण्डितजन यस विषयमा चिन्ता गर्दैनन् । हे वरवर्णिनी ! विधाताले यही कुरा लेखेका छन् कि ‘हे वरवर्णिनी ! प्रद्युम्न नै तिम्रा पति हुनेछन्’, यो सत्य हो । यिनले महेन्द्रदमन दानवलाई अवश्य नै मार्नेछन् । यो कुरा जानी हे वरारोहे ! हे भामिनी ! तिमी पीर नगर । अहिले म मृगेन्द्रशिखर जान्छु, तिम्रा सामु भोलि बिहान आउँला ।

मार्कण्डेय भन्नुहुन्छ, ‘यति भनी नारद मुनि मृगेन्द्रशिखरतिर जानुभयो । त्यहाँ पुगी सूर्यकेतुलाई नारदले भएभरको कुरा सुनाउनुभयो । उता नारद हिँडेपछि प्रभावतीले प्रद्युम्नलाई आफ्नो आसन दिइन् र लाजले भुतुक्क हुँदै केही पनि नबोली बसिरहिन् ।
लाजले नतमस्तक भएकी देवीलाई आदरपूर्वक प्रद्युम्न भन्न लागे, ‘हे प्रिये ! नारदका मुखबाट तिम्रो रूपसौन्दर्यको बखान सुनेपछि मेरो मन सधैँ तिमीमा लागिरह्यो, मलाई रातभर निद्रा पनि लागेन ।’ आदि इत्यादि अनेक कुरा गर्दै प्रद्युम्नले प्रभावतीसँग गान्धर्व विधिले विवाह गरे ।

त्यसपछि रूपमा श्रेष्ठ प्रद्युम्नले राजकुमारी प्रभावतीलाई काखमा राखेर यी कुरा भन्न लागे । ‘हे प्रिये ! तिम्रो अनुहार जस्तै चहकिला, आँखालाई आनन्द दिने र लोकलाई मोहित बनाउने पूर्ण चन्द्रमालाई हेर त । कुनै एउटा भ्रमरा ओइलाएको कमलको फूललाई छाडी फुलिरहेको अर्को कमलको फूलतिर आइरहेको छ । हे प्रिये ! भ्रमराको बोझले पीडित केशरयुक्त त्यो कमल, रतिसंयोगपछि म्वाइ खाइएका स्त्रीका ओठभैmँ शोभायमान भइरहेको छ ।

हे प्रिये ! मन्द पवनबाट हल्लाइँदा कोमल तरिकाले हलचल गरी वृक्षहरू पालुवारूपी अँजुलीले फूलहरू फालिरहेका छन् । तिम्रो फूलेको फुलझैँ देखिने मुस्कान, सुन्दर पालुवाजस्ता देखिने ओठ र लहराजस्तै नाचिरहेका आँखीभौंले युक्त अनुहार बगैँचाजस्तै शोभायमान भइरहेको छ । यस्ता प्रेमयुक्त कुरा गर्दै प्रेमप्रवर्तक रुक्मिणी पुत्र (प्रद्युम्न) प्रियाका साथ त्यो शिखरको बगैंचामा रमण गर्न लागे ।

त्यसबेला ती प्रभावती, फुलेको कमलको परागझैं पहेँली, जलतरंग पानीको छाल झैं तरंगित, हाँसजस्तै मसिनो र मिठो बोली बोल्ने, कमलिनीजस्तै देखिइन् । क्रमश ….

प्रतिक्रिया