गौतम बुद्ध बारे अझै भ्रम

वैशाख शुक्ल पूर्णिमालाई वैदिक सनातनीहरूले धुमधामका साथ मनाउनुमा दुई वटा कारण छन् । पहिलो कुरा त देवी दुर्गाले बलत्कारजन्य अपराधका लागि दुर्नाम चण्डासुर नाम गरेको दैत्यलाई यसै तिथिमा बध गरेकी थिइन् । जसका कारण देवी दुर्गालाई चण्डेश्वरी वा चण्डी पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । यो दिन नेपालको खस आर्य समुदायले आफ्ना कुलदेवता तथा देवीको पूजा आराधना गर्छन् भने किराँत समुदायले उँभौली पर्वका रूपमा मनाउँछन् । कामोत्तेजक भई बलत्कारमा संलग्न भएको चण्डासुर दैत्यको प्रतिक मानेर वैशाख शुक्ल पूर्णिमाका दिन बोको, राँगो तथा कुखुराका भालेको वध गरी बलि चढाउने प्रचलन छ । यसै दिन जन्मेका सिद्धार्थ गौतम पनि भगवान् गौतम बुद्ध का नामले प्रख्यात छन् । उनको नाम तथा यशकै कारण वैशाख शुक्ल पूर्णिमालाई बुद्ध पूर्णिमा पनि भन्ने गरिएको छ । गौतम बुद्ध भनेका शान्ति तथा अहिंसाका पर्याय हुन् । बौद्ध धर्मको प्रतिपादन उनैले गरेका हुन् । विश्वमा विविध धर्म सम्प्रदायहरू छन् । यी धर्म सम्प्रदायबीच एकअर्कामा आलोचना पनि हुने गरेको पाइन्छ । तर वौद्ध धर्म तथा गौतम बुद्धको विषयमा अन्य धर्म सम्प्रदायीहरूले पनि खासै आलोचना गरेको पाइँदैन । हिन्दू धर्मावलम्वीहरूले त गौतम बुद्ध लाई भगवान् विष्णुको अवतार मान्दै आएका छन् ।

बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलंका, बर्मा, थाइल्यान्ड, लाओस्, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मंगोलिया, कोरिया लगायतका देशमा फैलिएका छन् । विश्वमा बुद्ध धर्म मान्नेहरूको संख्या ४० करोडको हाराहारीमा रहेको अनुमान गरिएको छ । तर गौतम बुद्ध लाई आदर्श मान्नेहरूको संख्या भने निकै ठूलो छ । उनलाई शान्तिका अग्रदूतका रूपमा विश्वका सबै देशले मान्यता दिएका छन् । गौतम बुद्ध कुनै निश्चित धर्मसम्प्रदाय भन्दा माथि उठेका र सर्व स्वीकार्य महापुरुष हुन् । शान्ति तथा अमनचयन, अहिंसा, सम्पूर्ण प्राणीहरूको अधिकार रक्षा, पृथ्वीको संरक्षण लगायतका मुद्दा विश्वका साझा सरोकारका विषय हुन् । जसको सम्बोधन गर्दै दर्शनको पादुर्भाव गर्ने व्यक्ति गौतम बुद्ध हुन् । त्यसैले गौतम बुद्ध लाई बिर्संदा संसार अधुरो हुन्छ । गौतम बुद्धका उपदेशलाई व्यापक प्रचारप्रसार गर्ने हो भने विश्वमा शान्ति स्थापनाका लागि ठूलो मद्दत पुग्छ ।

गौतम बुद्धलाई सारा विश्वले चिन्छ, तर गौतम बुद्ध जन्मेको देश नेपालको नाम विश्वका थोरै देशका थोरै जनताले चिनेका छन् । नेपाल र नेपालीका लागि यहाँभन्दा ठूलो दुर्भाग्यको कुरा अरू के हुन सक्ला ? अहिले पनि विश्वका धेरै देशहरूका पाठ्यपुस्कतमा गौतम बुद्ध भारतमा जन्मेको कुरा उल्लेख छ । नेपालसँग दौत्य संबन्ध नभएका तथा नेपालको राजदूतावास नभएका एवं नेपालमा राजदूतावास नभएका देशहरूमा यस्ता खलका भ्रम बाँकी नै रहनु अन्यथा नहोला । तर, नेपालकै सीमा जोडिएको देश चीनमा समेत विद्यार्थीहरूलाई गौतम बुद्ध भारतमै जन्मेको भनेर शिक्षा दिने गरिएका समाचार आएका छन् । जापान, कोरिया, श्रीलंका, लगायतका धेरै देशहरूमा यस्ता भ्रम यथावत छन् । नेपाली राजदूतावास भएका र नेपालमा राजदूतावास खोलेका देशहरूमा गौतम बुद्ध भारतमा जन्मेको भ्रम बाँकी नै रहनु भनेको नेपालकै कमजोरी हो । यो कमजोरी सामान्य होइन । नेपालको कूटनीतिक पहल नपुगेको हो ।

छिमेकी देश भारतले गौतम बुद्धको जन्मस्थलका सन्दर्भमा धेरै नै दुष्प्रचार गरेको छ । तर दुर्भाग्यको कुरा के छ भने यो दुष्प्रचारमा जुन जुन भारतीयहरूले अग्रणी भूमिका निर्वाह गरेका छन्, तिनैका चेला तथा भक्तहरूको संख्या नेपालमा अत्यधिक छ । नेपालको मुख्य पहिचान भनेकै गौतम बुद्ध जन्मेको देश र विश्वको सर्वोच्च शिखर सगरमाथाको देशका रूपमा हो । भोलि सगरमाथाको पहिचान नरहन पनि सक्छ । ठूलो भूकम्प आएर पहिरो गयो भने सगरमाथाको उचाइ घट्न सक्छ । तर गौतम बुद्ध जन्मेको देशका रूपमा नेपालको पहिचान मानव सभ्यता रहेसम्म जीवित रहन्छ । त्यसैले गौतम बुद्धको जन्मस्थलका रूपमा भारतले सिर्जना गर्ने गरेको भ्रम चिर्नु आवश्यक छन् । यति गरियो भने मात्रै सच्चा रूपमा बुद्ध जयन्ती मनाइएको ठहर्छ ।

प्रतिक्रिया