महावीरपुनको स्वागतयोग्य माग

सरकारले खोज अनुसन्धान र आविष्कारमा बेवास्ता गरेको भन्दै बैज्ञानिक महावीर पुन आन्दोलनमा उत्रेका छन् । शुक्रबारबाट सुरु भएको धर्ना आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्नेहरुको भीड लाग्न थालेको छ । राष्ट्रिय आविश्कार केन्द्र स्थापना गरेर मुलुकलाई निकै ठूलो योगदान पु¥याइरहेका पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’को कार्य अघि बढाउनु पर्ने माग राखेका छन् । आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले अनिवार्य रकम छुट्याउनुपर्ने लगायतका माग पनि उनले अघि सारेका छन् । नेपालका लागि आवश्यक बस्तु सकेसम्म नेपालमै उत्पादन गर्नु पर्ने विषयमा बैज्ञानिक पुनले जोड दिँदै आएका छन् । यसका लागि सरकारले ठोस कदम चालोस भन्ने उनको माग हो ।

सरकारले पटक पटक झुक्याउँदै आएका कारण आन्दोलनमै उत्रनु उनको वाध्यता हो । पुनले नै दिएको सुझाव अनुसार २०७६ सालमा सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन कोष स्थापना गर्ने कार्यक्रम ल्याएको थियो ।कोषमा एक अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सरकारले कुनै काम कारबाही अघि नबढाएपछि आन्दोलनमा उत्रन पुन वाध्य भएका हुन् । महावीरसँगै धर्नामा बसेकाहरूले स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर, अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागितालगायत नारा लेखिएका प्लेकार्ड बोकेका छन् । माग पुरा नभएसम्म धर्ना कार्यक्रमलाई रातको समयमा पनि अविच्छिन्न रुपमा अघि बढाउने उद्घोष बैज्ञानिक पुनले गरेका छन् ।

बैज्ञानिक पुनले अघि सारेका मागहरु अत्यान्तै सरल र सहज छन् । यसका लागि तत्काल धेरै ठूलो बजेटको आवश्यकता पनि पर्दैन । सुरुवाती चरणमा बार्षिक डेढ– दुई अर्ब रुपैंया बजेट छुट्याउँदा काफी हुन्छ । त्यस पछि प्रतिफल अनुसार बजेट उपलव्ध गराउँदा हुन्छ । महावीरले माग पुरा हुँदा स्वदेशमा रोजगारी बढ्छ । विदेशबाट तयारी बस्तु आयत हुनेक्रम घट्छ । नेपाल आत्मानिर्र्भर बन्ने दिशा तर्फ अघि जान्छ । महावीर पुन आँफैमा संस्था हुन् ।

उनी जत्तिको व्याक्तिले दिएको यो सामान्य सुझावलाई सरकारले अबशरका रुपमा लिएर कार्यान्वयनमा ल्याउनु पर्ने थियो । तर आन्दोलनमै उत्रन बाध्य पारियो । सरकारले माग पुरा गर्न जति घण्टा ढिलाई गर्दै जान्छ त्यति नै यो आन्दोलनको आकार निकै ठूलो हुँदै जाने निश्चित छ । पुनले आफ्नो व्याक्तिगत स्वार्थका लागि नभएर तीन करोड नेपालीको हितका लागि यो अभियान सुरु गरेका हुनु भन्ने कुरा जन–जनलाई थाह छ । आखिर माग संवोधन नगरी धरै छैन ।

विगतमा डा. गोविन्द केसीले गरेको आन्दोलनका कारण स्वास्थ्य क्षेत्रका धेरै विकृति अन्त्य भएका छन् । धनी मान्छेका लद्दु छोराछोरी डाक्टर बनेर जनताको स्वास्थ्य माथि खेलवाड गर्ने विकृतिलाई डा. केसीको आन्दोलनले किनारा लगाई सकेको छ । नेपालको आयत निर्यात तथा व्यापार घाटाको अवस्थालाई विश्लेषण गर्नेहरुले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा अर्को गोविन्द केसीको आवश्यकता औंल्याएका थिए । जसको नेतृत्व पुनले गरेका छन् । उदाहरणका लागि कोरोनाकालमा सरकारले प्रति गोटा ४ हजार रुपैंयाँ खर्च गरेर विदेशबाट पिपिइ आयत गरिरहँदा पुनले स्वदेशमै ७ सय रुपैंयामा पिपिई निर्माण गरिदिए ।

जुन पिपिई भारतमा समेत निर्यात भयो । पिपिई त उदाहरण मात्रै हो , यस्ता धेरै उत्पादन नेपालमै संभव छ भन्ने कुरा पुनले प्रमाणित गरेर देखाई सकेका छन् । एकातिर देशको श्रम शक्ति खेर गइरहेको छ , अर्को तर्फ विदेशबाट तयारी बस्तु आयतमा निकै नै ठूलो धनराशी खर्च भइरहेको छ । विदेशबाट तयारी बस्तुको सट्टा कच्चा पदार्थ तथा पाटपुर्जा मात्रै आयत गर्ने हो भने मात्रै नेपालको बेरोजगारी समस्या समाधान हुन्छ ।

यसैगरी स्वदेशबाट अप्रसोधित कच्चा पदार्थ निर्यात गर्नुको सट्टा प्रसोधित तथा तयारी बस्तु निर्यात गर्दा रोजगारी तथा आम्दानी बढ्छ । नेपालले अब गर्नुपर्ने भनेको त्यही हो । हुन त एकथरी अर्थशास्त्रीहरुले खुला बजार र उदार अर्थनीतिमा जोड दिने गरेको पाइन्छ । तर यस्तो अर्थनीति भनेको श्रमशक्तिको अभाव भएका देशका लागि हो । श्रम शक्ति खेर गएको नेपाल जस्तो देशका लागि युरोप अमेरिकामा पढेका अर्थशास्त्रीहरुले भन्दा अभियान्ता महावीर पुनले अघि सारेको नीति नै उपयुक्त हुन्छ । थोरै महंगो भए पनि स्वदेशी उत्पादन नै प्रयोग गर्ने गरी सामाजिक जागरण ल्याउन आजको आवश्यकता हो ।

प्रतिक्रिया