चाँगुनारायण र हनुमानघाटको उत्पत्ती

नेपाल महात्म्य–२

मोहनप्रसाद सापकोटा

जैमिनि भन्नु हुन्छ, ‘श्लेष्मान्तक वनका कुन ठाउँमा कुन देवता बसे ? हे महाभाग ! सबै बताउनु होस् । मलाई सुन्न मन लागिरहेको छ ।’ मार्कण्डेय भन्नुहुन्छ, ‘श्लेष्मान्तक नामक शुभ वनमा अनेक तीर्थ छन् । त्यहाँ भक्तलाई वर दिने भएका सबै देवता बस्न गएका थिए । म तीमध्ये केही प्रमुख तीर्थ वर्णन गर्दछु ।’

दोलागिरी पर्वत (चाँगु) मा चाँप वृक्षबाट उत्पन्न भई भक्तलाई अनुकम्पा गर्नु हुने, गरुडध्वज हरि रहनुभयो । जसको नाम जप्नाले महाविषधारी सर्प पनि विषलाई त्यागिदिन्छ र विषहीन हुन्छ । जैमिनि भन्नु हुन्छ, ‘चाँपको रुखबाट भगवान् गरुडध्वज कसरी प्रकट हुनुभयो ? हे महाभाग ! हे तपोधन ! त्यो वृत्तान्त हजुर भन्नुहोस् म सुन्न चाहन्छु ।

मार्कण्डेय भन्नु हुन्छ, ‘हे तपोधन ! यो कथा मबाट सावधान भई सुन्नुहोस् । प्राचीनकालमा सुदर्शन नामका एक रिसाहा तपस्वी थिए । श्रेष्ठ दोलागिरी पर्वतको तपोवनमा उनी तपस्या गर्दथे । उसकी कामधेनु समान एउटी कैली गाई थिइन् । तिनै गाईको दूधले उनी होम आदि कर्म, प्रसन्नतापूर्वकको जीवन गुजारा र अतिथि पूजासमेत गर्दथे । एक दिन उनकी गाई चर्दै एउटा चाँपको रुख भएतिर गइन् । त्यहाँ त्यो रुखबाट कुनै एउटा सुन्दर पुरुष बाहिर आई उनको दूध पियो र पिइसकी फेरी ऊ चाँपको रुखमा गयो । यसपछि यज्ञ गर्ने ती मुनिले ती गाईबाट दूध पाएनन् । यसरी ती गाई चाँपको रुखसम्म जान्थिन् र त्यो पुरुष पनि चाँपको रुखबाट निस्केर दूध पिउने गर्दथ्यो । एवं रीतले सात दिनसम्म ती तपस्वीले कैली गाईको दूध पाएनन् ।

ठोस प्रमाणका अभावमा मानिसले पौराणिक इतिहाससँगसम्बन्धी स्थलहरू आपूm अनुकूल हुनेगरी बनाउने वा व्याख्या गर्ने गरेको पाइन्छ । वाल्मीकि आश्रम पनि धेरै ठाउँमा छन् । नेपालमै पनि झापा र चितवन गरी दुई ठाउँमा भएका वाल्मीकि आश्रम बढी प्रचलित छन् । ऋषिहरूको मूल स्थानबाहेक अन्यत्र स्थिर बासस्थान हुँदैनथ्यो । विभिन्न प्रयोजनका लागि देशदेशावर घुमिरहन्थे र प्रयोजन सिद्ध नहुँदासम्म त्यतै नजिक आश्रम बनाएर बस्दथे । यस्ता अस्थायी आश्रमलाई पनि तिनै ऋषिको नामले नामाकरण गरिन्थ्यो । अति प्रसिद्ध ऋषिहरूको आश्रम प्रायः अत्यन्त एकान्तस्थलमा हुने गर्दथ्यो । हालैका दिनमा चितवनको वाल्मीकि आश्रमलाई लिएर एउटा तरंग उत्पन्न भएको छ । त्यहाँ रहेका तमसा नदी, नारायणी गंगा, अश्वमेध गरी छाडिएको घोडा लवकुशबाट समाती बाँधिएको स्तम्भ, सीता पाताल प्रवेश गरेको स्थान आदिले यही नै वास्तविक वाल्मीकि आश्रम हुनुपर्दछ भन्ने मत प्रवल हँुदै गएको छ

अनि ती तपस्वीले रिसले मुरमुरिएर भने, ‘जसले यी मेरी कामधेनु समानकी गाईको मैले होमगर्ने गरेको दूध पिउने गर्दछ, यदि म तपस्वी हुँ भने म त्यसको टाउको छिनाल्दछु÷छिनाल्न सकूँ ।’ यति भन्दै ती तपस्वी गाईको पछिपछि गए । जरा नदेखिने चाँपको रुखसम्म ती गाई गइन्, अनि चाँपको रुखबाट बाहिर आई एउटा पुरुषले ती कैली गाईको दूध पियो । जब त्यो जरा नदेखिने रुखमुनि आई पुरुषले कपिला गाईको दूध पिइसकेको थियो तब ती तपस्वीले रिसाई धारिलो तरबारले उसको टाउको काटिदिए । टाउको काटिएको त्यो पुरुषका शरीरबाट (अकस्मात् शंख, चक्र, गदा र पद्म प्रकट भए । त्यसबेला ती तपस्वीले शिररहित त्यो पुरुषलाई गरुडमा चढिरहेको देखे र अत्यन्त दुःखी हुँदै भने, ‘यो मैले कस्तो गलत काम गरेँ ।’ ती तपस्वीले बारंबार आपूmलाई धिक्कारे र डरलाग्दो गरी मूर्छा परे । होस आएपछि ‘यसैबाट मेरो मुक्ति हुन्छ’ भन्ने सोची आपैmँले आपूmलाई मार्न तयार भए ।

यस्तो प्रयास गरिरहेका ती तपस्वीलाई विष्णु भगवान्ले भन्नुभयो, ‘हे मुनिश्रेष्ठ ! नडराउ, पश्चात्ताप नगर, तिमीले राम्रै ग¥यौ । हे तपोधन ! म तिमीसँग प्रसन्न छु । हे मुनिश्रेष्ठ ! नडराउ, हे सुव्रत ! वरदान माग ।’ विष्णु भगवान््का उत्तम वचन सुनी तपस्वीले डर नमानी हात जोडेर भने, ‘हे भगवान् ! मजस्तो ठूलो अपराधीलाई पनि हजुर वरदान दिनुहुन्छ, यो त अत्यन्त अचम्मको कुरा भयो । हे मधुसूदन ! मजस्तो दुरात्मा, अधम र चाण्डाल कर्म गर्ने व्यक्तिलाई सुदर्शन चक्रले मारिदिनुहोस् । जुन भगवानको देवता, गन्धर्व, असुर र मानव युद्धमा रौँसमेत उखेल्न सक्दैनन्, त्यस्ता भगवान्को मैले शिरनै काटिदिएँ ।’

सुदर्शनका कुरा सुनेर भगवान् नारायणले भन्नुभयो, ‘हे मुनिश्रेष्ठ ! मेरो टाउको काटिनु पछाडिको कारण सुन ।’ प्राचीनकालमा एउटा चण्ड नाम गरेको अति पराक्रमी दानव थियो । उसले वाराणसीमा शिवको ध्यान गर्दै कठोर तपस्या गरेको थियो । त्यो दानवेन्द्रको तपस्याबाट उमापति भगवान् शिव पार्वतीसहित प्रसन्न हुनु भई भन्नुभयो । ‘हे दैत्येन्द्र ! तिम्रो मनले चाहेको वरदान माग ।’ हे तपोधन ! महादेवका वचन सुनी त्यो दानवराजले ‘स्त्रीबाहेक अरू कुनै प्राणीबाट मेरो मरण नहोस्’ भनी वरदान माग्यो ।

शुक्राचार्यका शिष्य, धर्मात्मा, परशुरामका पनि शिष्य धनुर्विद्यामा निपुण सुमति नामका सुन्दर ब्राह्मण त्यो दानवपतिका मित्र थिए । सवारी चढ्न, पिउन र खानमा ती ब्राह्मण चण्ड दानवजस्तै थिए । चण्ड नामक त्यो दानवले शिवको वरदान तथा सुमतिको सहयोगले तीन वटै लोकको राज्य प्राप्त गरेको थियो । त्यो दानवबाट पीडित भएका देवताहरू इन्द्रको अगुवाइमा क्षीरसागरमा सुतिरहनुभएका कमलनेत्र विष्णु कहाँ गई उनलाई प्रसन्न पारे ।

जगन्नाथ प्रसन्न भई इन्द्रलाई त्यहाँ आउनुको कारण सोध्नुभयो र आपूmले त्यसको समाधान चाँडै गरिदिने वचन दिनुभयो । विष्णुको वचन सुनी इन्द्रले ‘हजुरले देवताका लागि चण्ड दानवसँय युद्ध गरिदिनु प¥यो’ भने । विष्णुले ‘हुन्छ’ भनी देवतासँगै बलवान दैत्येन्द्रसँग युद्ध गर्न भनी चण्डपुर (बनेपा आसपासको कुनै प्राचीन सहर)

तिर लाग्नुभयो । देवसेना आपूmसँग लड्न आइरहेको सुनेर चण्ड पनि रिसाउँदै असंख्य दैत्यसेना लिई आफ्नो सहरबाट बाहिर निस्कियो । त्यसपछि देवता र दानवका बीचमा अनेक हातहतियार प्रहार भई रौँ ठाडा हुने खालको डरलाग्दो युद्ध भयो ।

त्यहाँ रगतको डरलाग्दो खोलो बग्यो, रथका पांग्रा आदि त्यो रगतको नदीमा गोहीजस्तै र मृतकका मांस आदि हिलो जस्तै देखिन्थ्यो । त्यो रगतको नदीमा तैरिरहेका युद्धमा काटिएका देवदानवका शिरका रौँ पानीमा तैरिरहेका झ्याउ जस्तै देखिन्थे । शूरहरू त्यो रक्तनदी तर्दथे भने डरछेरुवाहरू त्यसैमा डुब्दथे । त्यो युद्धमा दानवको वीरताका अगाडि देवताहरू पराजित भइरहेका थिए ।

त्यसपछि अति बलिया दानवहरूसँग मेरो युद्ध भयो । हे मुनि ! मेरो शारंग धनुषबाट निस्केका वाणले अनेक दैत्यहरू (त्यो युद्धमा) मारिए । आफ्ना सेना नास भइरहेको देखी बलिया दैत्य लिई चण्ड मसँग युद्ध गर्न आयो । रथका भयंकर आवाजले पृथ्वीलाई शब्दमय बनाउँदै, बाणको वर्षाले ढाक्दै अनि हातको कौसल मलाई देखाउँदै त्यो चण्ड दानव युद्धमैदानमा आएको थियो ।

त्यसपछि बर्सिरहेको बादल जसरी भीषण युद्ध भयो । त्यो दैत्यले तीन वाण मेरा निधारमा, सात बाण मेरा छातीमा र त्रिसष्ठी बाण गरुडलाई हान्यो । मैले पनि पाँच बाण हानेर उसको छातीमा प्वाल पारेँ । उसका निधारमा मर्मभेदी दश वाण हानेँ । अनि रिसाएर त्यो दैत्यले मलाई तीन वाण हान्यो । उसले गरुडलाई डरलाग्दा आठ वाण हान्यो, त्यो वाण लागी गरुडका शरीरबाट धेरै रगत बग्यो । गरुड घाइते भएको देखी मलाई पनि रिस उठ्यो । मैले ‘नतपर्व’ बाण हानी उसको झण्डा खसालिदिएँ । एउटा बाणले उसको सारथीको टाउको छिनालेँ अनि त्यो दुरात्माका चार घोडा चार बाण हानी ढालिदिएँ । एक बाणले उसको फलामको कवच खसालिदिएँ र तुरुन्तै पाँच बाण उसका छातीमा हानेँ ।

कवचहीन, रथहीन, सारथी र घोडा मारिएको अवस्थामा त्यो दानव पैदल र आकुलब्याकुल हुनपुग्यो । मेरा वाणबाट अत्यन्त घायल त्यो दानवलाई देखी ब्राह्मणश्रेष्ठ सुमति उसलाई बचाउन ठूलो रथमा चढी त्यहाँ आए । चण्डलाई छेक्दै, उसका मायाले व्याकुल भई अति रिसाउँदै ती सुमति मेरा अगिल्तिर आएका थिए । ती श्रेष्ठ ब्राह्मण परशुरामका शिष्य, धनुर्विद्यामा निपुण, शुक्राचार्यका शिष्य र मन्त्रशास्त्रमा पोख्त थिए ।

उनीसँग मेरो भयंकर युद्ध भयो, यस्तो युद्ध कि मानौँ जंगलमा दुई वटा सिंह जुधिरहेका छन् । मेरो र ती द्विजका बीचको युद्ध देवलोकलाई नै भयदायक थियो । मैले आग्नेयास्त्र हानँे, उनले वर्षणशस्त्र हाने । मैले वायव्यास्त्र हानेँ, उनले पर्वतास्त्र हाने । मैले सर्पास्त्र हानेँ, उनले गरुडास्त्र हाने । म जे शस्त्र प्रयोग गर्दथेँ, उनी त्यसको प्रतिरोधी शस्त्र प्रयोग गरिहाल्दथे ।

शूरश्रेष्ठ सुमतिले मेरा छातीमा सात वटा डरलाग्दा बाण हाने । नब्बे बाणले गरुडलाई घायल बनाई ती ब्राह्मण गर्जन लागे । मर्माहत भएका गरुड मुखबाट रगत बहाउन लागे । जसरी सुकेको रुख पृथ्वीमा ढल्दछ त्यसरी नै गरुड जमिनमा ढले । गरुड ढलेपछि म पैदल हुन पुगेँ । हे मुनि ! यसपछि देवताहरूमा अति दयनीय देखिने हाहाकार भयो । म जस्तो क्षमाशीलका मनमा पनि त्यतिखेर लाज र रिस दुबै एकैपटक उत्पन्न भए । भविष्यको प्रयोजन विशेषका लागि गौरव गर्दै देवताले हेर्दाहेर्दै त्यहाँ मैले अति तेजस्वी सुदर्शन चक्रलाई छाडिदिएँ । जब मबाट छाडिएको त्यो चक्रले ती ब्राह्मणको टाउको काटिदियो । हे द्विजोत्तम ! तब भयानक ब्रह्महत्या मलाई लाग्न पुग्यो ।

यति नै बेला रिसले भुनभुनिँदै युद्धमैदानमा आएर शुक्राचार्यले मलाई श्राप दिए, ‘हे अच्युत ! मेरो शिष्यको टाउको तिमीले काटेका छौ, त्यसैले हे हरे ! तिम्रो टाउको पनि यसैको वंशजले काट्नेछन् ।’ हे मुनि ! त्यसपछि ब्रह्महत्याको पाप बोकी मैले अनेक देश घुमेँ । तर, हे द्विजश्रेष्ठ ! यसरी घुम्दा पनि मैले कतै शान्ति पाउन सकिनँ । हे विप्र ! यही पापका कारण म यस दोलागिरी पर्वतको चाँपको रुखमा बसिरहेको थिएँ । शुक्राचार्यका श्रापका कारण तिमीले मेरो टाउको काट्यौ, यसमा तिम्रो कुनै दोष छैन ।

हे द्विजोत्तम ! म यो दोलागिरी पर्वतमा रहनेछु । हे सुदर्शन ! तिमी पनि यहीँ बस र मेरो पूजा गर । द्वादशी, पूर्णिमा र बुधबार जो मानिस श्रद्धाभक्तिपूर्वक मेरो दर्शन गर्दछन् ती बैकुण्ठ जान्छन् । यसरी रमणीय दोलागिरी (चाँगु) मा चाँपका पातले सुरक्षित, छिन्नशीर्ष भएका, सुदर्शनबाट पूजिएका हरि रहने गर्नुहुन्छ । हे जैमिनि ! हे मुनिश्रेष्ठ ! यसरी दोलागिरि पर्वतमा मलाई देखी गरुडका प्रसादले सर्प पनि विषहीन हुने गर्दछन्, त्यहाँ सर्प भय हँुदैन ।

मार्कण्डेय भन्नुहुन्छ, वेदवेदांगमा निपुण, तपस्या तथा वेद आदि अध्ययनमा लागि पर्ने मुनिश्रेष्ठ वाल्मीकि मुनि तमसा नदी (चितवनमा पर्ने एक नदी) को किनारामा बस्ने गर्नुहुन्थ्यो । एक दिन उनका मुखबाट अचानक एउटा श्लोक (वचन) निस्कियो । तब नारदको उपदेश अनुसार तथा ब्रह्माको आदेशमा रामायणको कथा लेख्ने निश्चय गरी मुनिश्रेष्ठ वाल्मीकिले नारदसँग सोध्नुभयो ।

हे मुनिश्रेष्ठ नारद ! कहाँ बसेर म यो उत्तम महाकाव्यको रचना गरौँ ? कुन ठाउँमा वाणी खुल्दछ ? कुन ठाउँ नित्य वाधा व्यवधान रहीत छ ? कुन ठाउँले मनमा धैर्य दिन्छ ? हे मुनिश्रेष्ठ ! ता कि म त्यहाँ गएर रामायणको रचना गर्न सकूँ ।

नोट : वाल्मीकिका मुखबाट निस्किएको उक्त श्लोक थियो, ‘मा निषाद प्रतिष्ठां त्वमगमः शाश्वतीः समाः । यत्क्रौञ्चमिथुनादेकमवधीः काममोहितम् ।’ हे निषाद ! (आर्यभन्दा प्राचीन एक अनार्य जाति) तिमीले मैथुनमा संलग्न भएको भाले कर्याङकुरुङ चरालाई मारेका छौ, यसैले अनेकौँ वर्षसम्म तिमी यस वनमा नआउनु वा तिमीलाई सुखशान्ति नमिलोस् ।

वाल्मीकिका कुरा सुनी नारदले यस्तो सुन्दर वचन भन्नुभयो, ‘मुनि ! अति शोभाले युक्त यो जुन् रामायण नामको महाकाव्य हो त्यो दोलागिरी चाँगुको आघ्नेय (पूर्व र दक्षिणको बीच) दिशामा वीरभद्रा (हनुमानघाट) नामक दोभान छ । त्यो दोभान अनेक थरी सुन्दर वृक्षले शोभायमान छ । त्यहाँ नरिवल, ज्यामिर र खयरले शोभित तथा आँप, कटहर र बिमिरो चारैतिर छन् । कोइरालो, मौलसरी र ठूलोकुरोका रुख पनि छन् । अनेक थरीका पूmलले ढाकेको त्यो उपवन दोश्रो स्वर्गको नन्दन वगैँचा नै हो कि जस्तो देखिन्छ । हे मुनिश्रेष्ठ ! कुनै पनि उपद्रो नहुने त्यो ठाउँमा गएर मानिसलाई भुक्तिमुक्ति प्रदान गर्ने रामायण महाकाव्य लेख्नुहोस् ।’

मुनिश्रेष्ठ वाल्मीकिले नारदको कुरा सुनेपछि यो वीरभद्रा नदीको दोभानमा आई अती शोभनीय भावी महाकाव्य रामायण लेख्नुभयो । मुनिले फेरी त्यो स्थानको केही भलो काम पनि गर्नुभयो । उहाँले तमसा नदीलाई बोलाई ‘हे नदीमा श्रेष्ठ तमसा ! हे मोक्षदायिनी ! तिमी पनि मेरो प्रीतिले गुप्त भई यही दोभानमा पनि बग’ भन्नुभयो । मुनिको कुरो सुनी तमसा नदी त्यहाँ आई गुप्तरूपले बहन लागिन् ।

नोट : ठोस प्रमाणका अभावमा मानिसले पौराणिक इतिहाससँगसम्बन्धी स्थलहरू आपूm अनुकूल हुनेगरी बनाउने वा व्याख्या गर्ने गरेको पाइन्छ । वाल्मीकि आश्रम पनि धेरै ठाउँमा छन् । नेपालमै पनि झापा र चितवन गरी दुई ठाउँमा भएका वाल्मीकि आश्रम बढी प्रचलित छन् । ऋषिहरूको मूल स्थानबाहेक अन्यत्र स्थिर बासस्थान हुँदैनथ्यो । विभिन्न प्रयोजनका लागि देशदेशावर घुमिरहन्थे र प्रयोजन सिद्ध नहुँदासम्म त्यतै नजिक आश्रम बनाएर बस्दथे । यस्ता अस्थायी आश्रमलाई पनि तिनै ऋषिको नामले नामाकरण गरिन्थ्यो । अति प्रसिद्ध ऋषिहरूको आश्रम प्रायः अत्यन्त एकान्तस्थलमा हुने गर्दथ्यो । हालैका दिनमा चितवनको वाल्मीकि आश्रमलाई लिएर एउटा तरंग उत्पन्न भएको छ । त्यहाँ रहेका तमसा नदी, नारायणी गंगा, अश्वमेध गरी छाडिएको घोडा लवकुशबाट समाती बाँधिएको स्तम्भ, सीता पाताल प्रवेश गरेको स्थान आदिले यही नै वास्तविक वाल्मीकि आश्रम हुनुपर्दछ भन्ने मत प्रवल हँुदै गएको छ ।

मानिसहरू अयोध्यासँग तुलना गर्दै दुरीलाई आधार बनाएर यति टाढा वाल्मीकि आश्रम हुन नसक्ने तर्क पनि दिन्छन् । तर ती अर्जुनले हिमालमा आएर शिवसँग बरदान लिएको तथा श्रीलंकादेखि आएर नेपालमा तपस्या गरेका रावण आदिका बारेमा भने दुरीका कुरा किन गर्दैनन् थाहा छैन । प्राचीन कालको इतिहास संस्कृत भाषामा लेखिएको, संस्कृत पढ्न काशीतिर नै जानुपर्ने, पुस्तक छपाउन वाराणसी नै धाउनुपर्ने आदि जस्ता बाध्यताले अनि अत्यन्त विकट नेपालको भूबनोटका कारणले पनि सत्यतथ्यप्रति नेपाल र भारत दुबैतिरका विद्वान अलमलिएका हुन सक्दछन् । सत्यतथ्य पत्ता लागे दुबै देश लाभान्वित हुने थिए । वर्तमान भारतका प्रायः सबै प्रसिद्ध पौराणिक व्यक्तित्वले हिमालतिर आई शक्ति आर्जन गरेको सत्यतथ्यलाई जति जति अस्वीकार गर्दै गयो उति उति भारत स्वयंको इतिहास पनि अधुरो र विलयशील हुँदै जानेछ । रोडा र सिमेन्टका नक्कली संरचनाले आत्मरती मात्र हुन्छ, टिकाउ हुँदैन । पेसा भने चल्दछ । यसरी नै हामीले धर्मलाई पेसा बनाउन बढी जोड दियौँ भने हाम्रो धर्म चाँडै लोप हुनेछ । हरेक पुराणका प्रायः हरेक प्रसंग हिमालतिर नै आएर ठोक्किएका छन् । विश्वभरका हिन्दूले यो कुरा गम्भीर ढंगले मनन गरौँ ।

जब भगवान् रामचन्द्रले (समुद्रमा) पुल बाँध्न सुरु गर्नुभयो तब पवनपुत्र हनुमान हिमालयमा आए र हिमालयको टाकुरो उखेलेर दुबै हातले बोकी लैजाँदा थकित भई यही वीरभद्रा संगममा त्यसलाई बिसाई थकाइ मेट्न लागे । त्यसबेला उनले एउटा विशाल शिवलिंग स्थापना गरे, जसको नाम हनुमदीश्वर शिवलिंग भयो । त्यसपछि आराम गरी जल पिएर पुनः त्यो पहाड बोकी चराको गतिमा चाँडै हनुमान हिँडे । त्यो बेलादेखि त्यो उत्तम तीर्थ हनुमत्तीर्थ हुन पुग्यो ।

नोट : हनुमानले पर्वत बिसाएको स्थललाई आजकल हनुमानघाट भनिन्छ र यो भक्तपुर जिल्लामा रहेको छ । त्यहाँ बहने वीरभद्रा नदी अहिले ‘हनुमन्ते खोला’ का नामले चिनिन्छ । हनुमदीश्वर लिंग हालको हनुमन्ते घाटमै कतै स्थापना गरिएको विश्वास गरिन्छ । जो यो अति दुर्लभ संगममा नुहाउँदछन्, ती मानिसले सूर्यको अनुहार हेर्नु पर्दैन, मोक्ष हुन्छन् । भक्तिपूर्वक जो मानिस बिहान यहाँ नुहाउँदछन् ती धनी एवं कृतार्थ भएर स्वर्ग जान्छन् ।

यहाँभन्दा केही पर मनोहर यज्ञभूमि बनाई वाल्मीकिले त्यहाँ अरू मुनिहरूसँग मिलेर वाजपेय यज्ञ गर्नुभयो । हे द्विजश्रेष्ठ ! यज्ञ समाप्त गरी ती श्रेष्ठ मुनि वाल्मीकि अरू मुनिसँगै नवनाडी भएको पर्वत वागेश्वरी गए । उक्त पर्वतको केही माथि (नितम्ब भाग) झरनाले शोभायमान स्थानमा उनले एक लिंग स्थापना गरे, जसलाई वाल्मीकीश्वर लिंग भनेर चिनिन्छ । मुनिश्रेष्ठ वाल्मीकिले लिंग स्थापना गरी मुनिहरूसँगै आफ्नो तमसा नदीको किनारमा रहेको आश्रममा आए । वाल्मीकिश्वर महादेवको दर्शन गर्नाले वाणीको प्रभाव बढ्दछ । त्यसैले यो लिंगलाई विद्वानहरू वागीश्वर लिंग पनि भन्ने गर्दछन् । असार पूर्णिमामा यो लिंगको दर्शन गर्नाले हे जैमिनि ! अक्षय स्वर्गको वास पाइन्छ ।

नोट : भद्रानदी र वीरानदी संगम, वीरभद्रतीर्थ, श्री वाल्मीकेश्वर, भक्तपुरमा पर्दछ भनेर राजभोगमाला वंशावलीले ३८औँ शिवलिंगका रूपमा यसको गणना गरेको छ । वागीश्वर शिवलिंग पनि भक्तपुरकै वागेश्वरीमा पर्दछ । हे विप्र ! यी कुरा बताएँ, अरू के सुन्ने इच्छा छ ? मेरा लागि केही कुरा पनि तिमीलाई बताउन नसक्ने वा नमिल्ने छैन, त्यसैले सबै बताउने छु ।

जैमिनि भन्नुहुन्छ, ‘हे मार्कण्डेय मुनि ! विष्णुले सुमतिलाई मारेर ब्रह्महत्या लागेपछि अनेक देश घुम्नुभयो, त्यतिखेर देवताले के गरे ?’ मार्कण्डेय भन्नुहुन्छ, नारायण ब्रम्हहत्या लागेर पीडित भएपछि रिसले चूर भएको चण्डले तीनै लोकलाई सताउन थाल्यो । आफ्नो घनिष्ठ मित्र सुमति मारिएकोमा पिरोलिएको त्यो चण्डले दिनहुँ सबै देवतालाई लखेट्न थाल्यो । देवता सबै भागे र बेसहारा भई ब्रह्मा भएका ठाउँमा गए । इन्द्रको अगुवाईमा देवताहरूले उत्कृष्ट वचनले ब्रह्माको स्तुति गरे । प्रसन्न भई ब्रह्माले सबै देवतालाई सोध्नुभयो, ‘हजुरहरू के कामले आउनुभयो, मलाई बताउनुहोस् ।’

देवताहरू भन्दछन्, ‘हे ब्रह्मा ! चण्डबाट अपदस्थ भएका हामी हजुरका शरणमा आएका छौँ, अब हाम्रो परमरक्षक र बाटो दिने हजुर नै हुनुहुन्छ ।’ ब्रह्मा भन्नुहुन्छ, ‘हे देवश्रेष्ठ ! हजुरको मनको पीडा मलाई थाहा छ । श्लेष्मान्तक वनको पूर्वतिर रक्तचन्दनको वन छ । त्यहाँ एउटा वृक्षमा रहेकी देवीको शरणमा हजुरहरू जानुहोस् ।’

मार्कण्डेय भन्नुहुन्छ, ब्रह्माको जवाफ सुनी देवता ब्रह्मालाई नमस्कार गरी त्यो रक्तचन्दनको वनतर्पm गए । जब देवगण उता लागे तब नारद सबै देवतालाई छोडेर चण्डासुरको सहरतिर लागे । नारदमुनि आएको सुनेर दैत्येन्द्रले आसनबाट उठी पूजासामग्रीले नारदको पूजा गरे र आसनमा राखी स्वागतसत्कार गरे । अनि नम्र भई दानवेन्द्रले नारदलाई सोधे । हे नारद ! हजुर कहाँबाट आउनुभयो ? बाटोमा अचम्मको के कुरा देख्नुभयो ? हे मुनि ! हजुरले मेरो आश्रम पवित्र बनाइदिनुभएको छ । आज हजुरको दर्शन पाएर म कृतार्थ भएको छु । हजुर यहाँ आउनुको प्रयोजन बताउनुहोस्, म सबै काम गरिदिनेछु ।

चण्डासुरका कुरा सुनी नारद भन्नुहुन्छ, हे दानव ! तिमी शूर छौ, विद्वान छौ, शिवभक्त छौ । तिमीले देवता र तीनै लोकलाई आफ्ना वशमा पारेका छौ । विष्णुले पनि युद्धमा तिमीसँग मुख लुकाए । हे दानव ! कुबुद्धि भएका देवताहरूले तिमीलाई मार्न भनी ब्रह्मासमक्ष गई गम्भीर छलफल गरेका छन् । हे दानवश्रेष्ठ ! तिमी शूर र शिवभक्त हौ भन्ने जानी मनमा दया आयो । यसैले म यो कुरा बताउन भनी यहाँ आएको छु ।


मार्कण्डेय भन्नुहुन्छ, नारदका कुरा सुनेर हे जैमिनि ! हे मुनिश्रेष्ठ ! चण्डलाई तत्क्षण ठूलो भय भयो । अनि धैर्यधारण गर्दै भन्न लाग्यो, ‘म धन्य छु । कृतकृत्य छु । मेरो जीवन सफल भएको छ ।’ हे मुनि ! मलाई देखेर हजुरलाई दया आएछ । अब चाँडै देवताका गतिविधि बताउनुहोस् । हे मुनि ! हजुरका कुरा सुनि सकेपछि मात्र म यसको प्रतिक्रिया दिउँला ।

दानवका कुरा सुनेपछि नारदले दैत्यसँग भन्नुभयो । हे दानव ! म देवताका सोच (योजना) बताउँदछु, तिमी सुन । तिमीले सताएका देवता ब्रह्माका शरणमा गए । देवतासँग प्रसन्न भएका ब्रह्माले भने, ‘हे देवता हो ! मेरा कुरा सुन । चण्ड असुरलाई मार्ने कुरा प्रयत्नपूर्वक गोप्य राख्नुपर्दछ । श्लेष्मान्तक वनको पूर्वी भागमा रक्तचन्दनको वन छ, त्यहाँ ठूलो चाँपको रुख भएको एउटा दिव्य ठाउँ छ । त्यो चाँपको रुख वनको बीचमा छ । त्यो रुखको मध्यभागमा जगदम्बिका निवास गर्दछिन् । तिमीहरू उनकै शरणमा जाउ । उनले तिमीहरूको काम गरि दिनेछिन् ।’ सबै देवतालाई यति भनेपछि ब्रह्मा अन्तध्र्यान हुनुभयो । सबै देवता त्यो वनमा गए, म भने तिमीसमक्ष आएको छु । हे दैत्यपति ! अब यसपछि आइपरेको काम गर । यति भनेर नारद देवता भएका ठाउँमा गए ।

नारद गएपछि चण्ड दुःखी हुँदै मन्त्रीहरूसँग छलफल गर्न लाग्यो । उता सबै देवता तुरुन्त श्लेष्मान्तक वनमा गए । त्यहाँ पुगेर उनीहरुले बागमतीमा नुहाई पशुपतिको दर्शन गरे । गुह्येश्वरीको दर्शन गरी गोकर्णेश्वरको दर्शन गरे । अनि वज्रजोगिनीको दर्शन गरी चाँगुको डाँडो उक्ले । त्यहाँ नारायणको दर्शन गरी वागीश्वरको दर्शन गर्दै ती गरुड उड्ने बाटो हुँदै त्यो वनमा गए । त्यहाँ रक्तचन्दनको वनमा गई उनीहरूले भक्तिपूर्वक देवी भगवतीको आराधना गरे ।

हे नारायणी ! हे जगन्माता ! हे शिवे ! हे सर्वार्थसाधिके ! हे देवी ! हामी हजुरका शरणमा आएका छौँ । शरण परेका हामीलाई रक्षा गर्नुहोस् । हे हिमामलयकी पुत्री ! हे शिवका छातीमा रहने भएकी ! हे दानवनाशिनी ! भवसागरमा डुब्नलागेका हाम्रो रक्षा गर्नुहोस् । हे माहेश्वरी ! हे जगद्धात्री ! हे सृष्टि–पालन–नाशिनी ! हे भक्तानुकम्पिनी ! हे शिवे ! हामी शरणमा आएकाको रक्षा गर्नुहोस् । हे चण्डिके ! ब्रह्मा, विष्णु र शिव पनि हजुरको अन्त जान्न सक्दैनन् भने हे देवी ! जाबा हामी हजुरको स्तुति कसरी गर्न सक्दछौँ र ? चण्डासुरबाट पीडित हामी सबैको हे देवी ! कल्याण गर्नुहोस्, चण्डलाई मार्नुहोस् ।

यसरी देवताबाट स्तुति गरिएकी देवी अकस्मात चाँपको रुखबाट बाहिर प्रकट हुनुभयो र देवताका अगाडि देखिनुभयो । देवीको दर्शन पाएपछि सबै देवताले श्रद्धाभक्तिपूर्वक उहाँलाई प्रणाम गरे, धूप बालियो, अनेक थरी पूmलहरू चढाइए । ठूलो स्वरमा मन्त्रहरू पाठ गरिए । अनेक पदार्थले बनेका नैवेद्य चढाइए ।

अनि प्रसन्न भई देवीले सोध्नुभयो, ‘हजुरहरू आउनुको कारण के हो ?’ हे पुत्रहरू ! तिमीहरू जस्ता देवतालाई पनि कहाँबाट कसरी आपत् आइलाग्यो ? यस्तो प्रश्न देवताहरूलाई देवी सोधिरहनुभएको थियो कि त्यत्तिखेरै देवताले ठूलो कोलाहल सुने । देवगण त्यो के को कोलाहल भनेर पत्ता लगाउन खोज्दै नै थिए, देवताका डरको कारण रहेको दैत्यपतिको विशाल सेना देखियो । इन्द्र आदि प्रमुख देवता चराको रूप लिँदै दश दिशातिर भाग्न थाले । इन्द्रले सुन्दर मुजुरको रूप लिई सबै देवतालाई त्यहीँ छाडी भागे । चण्डका सेनादेखि डराएका यमराजले कागको रूप लिई तुरुन्त त्यहाँबाट सुइँकुच्चा ठोके । चन्द्रमा पनि च्याँखुराको रूप लिएर भागे ।

सूर्य पनि एक थरी मयूर विशेष (जीवञ्जीवक) को रूप लिई भागे । हाँसको रूप लिएर वरुण र क¥याङकुरुङको रूप लिएर वायु दश दिशातिर भागे । हे तपोधन ! बकुल्लाको रूप लिएर शिव भागे । यसरी अनेक देवता अनेक रूप लिई त्यहाँबाट भागे । हे मुनि ! भगवती देवी (पनि) तुरुन्त चाँपको रुखभित्र छिर्नुभयो । क्रमशः …

प्रतिक्रिया