मनाङ खप्तड गोल्डकपको फाइनलमा

धनगढी । मनाङ मस्र्याङ्दी क्लब मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकपको छैटौँ संस्करणको फाइनलमा प्रवेश गरेको छ । धनगढी रंगशालामा बुधबार क्यामरुनको एभिनर फुटबल क्लबलाई ६–०ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो ।

कागजात पूरा नभएर एभिनरका दुई खेलाडीले खेल्न नपाएपछि ९ जनाको टोली मनाङविरुद्ध मैदानमा उत्रिएको थिए । मनाङलाई जित दिलाउन सायीजमलले ह्याट्रिक गोल गरे । मनाङका लागि खेलको १२औँ मिनेटमा जीवन गुरुङले गोल गरेका थिए । पहिलो हाफमा १–० को अग्रता लिएको मनाङले सात खेलाडीमा सीमित हुन पुगेको एभिनरमाथि दोस्रो हाफमा फाइदा उठायो ।

पहिलो हाफमा फाउल गरेका जोर्डन जुनियरले पहेलो कार्ड पाए । उनले त्यसको विरोधमा विपक्षी टोली र रेफ्रीसँग गरेको व्यवहारका कारण दोहोरो पहेलो कार्डपछि रातो कार्ड पाएर बाहिरिनु पर्यो । त्यसको केहि मिनेट पछि गोलकिपर विल्सनले पनि रातो कार्ड पाएपछि एभिनर सातजनामा सीमित भएको थियो ।

खेलको ५४औँ मिनेटमा प्रसन्न श्रेष्ठले गोल गरे । यस्तै ५९औँ, ६७औँं र ७७औँ मिनेटमा सायीजमलले गोल गर्दै ह्याट्रिक गरे । खेलको ८१औँ मिनेटमा अनिल गुरुङले मनाङका लागि छैठौँ गोल गरे । मनाङका सायीजमलले खेलको ‘एसपीए म्यान अफ दि म्याच’ चुनिए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए ।
जितसँगै मनाङ अब बिहीबार हुने आयोजक सुदूरपश्चिम–११ र थ्री स्टार क्लबबीचको विजेतासँग १८ गते उपाधिका लागि खेल्ने छ ।

मोफसलको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन् । सुदूरपश्चिम प्रदेश सरकार मुख्य प्रवर्द्धक रहेको प्रतियोगितालाई सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आयोजना गरेको हो ।

प्रतिक्रिया