लगातार तेस्रो जित निकाल्दै एपीएफ फाइनलमा

काठमाडौं । कोसी प्रदेशलाई सात विकेटले पराजित गर्दै विभागीय टोली एपीएफ राजधानीमा जारी तेस्रो संस्करणको ललितपुर मेयर्स कप टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा एपीएफले कोसी प्रदेशमाथि जित निकालेसँगै लगातार तेस्रो खेलमा जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । जितसँगै एपीएफ एक खेलअगावै फाइनलमा प्रवेश गरेको हो ।

कोसीले दिएको ८८ रनको लक्ष्य एपीएफले १८ ओभर एक बलमा तीन विकेट गुमाएर पूरा गर्दै उपाधि नजिक पुगेको हो । एपीएफका लागि ममता चौधरीले अविजित २१ रन बनाइन् । कप्तान सीता राना मगरले १९ रन बनाउँदा इन्दु बर्माले १८ रनको पारी खेलिन् । यस्तै, ओपनर ज्योति पाण्डेले ११ र रोमा थापाले अविजित ११ रनको पारी खेलिन् । कोसी प्रदेशका लागि अलिशा खडिया, कप्तान रुबिना क्षेत्री, निशा साहले समान एक÷एक विकेट लिइन् ।
त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको कोसीले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ८७ रन बनायो । कोसीका लागि काजल श्रेष्ठले २९ तथा कप्तान रुविना क्षेत्री २४ रन बनाउँदा अप्सरी बेगमले २२ रन बनाइन् । यस्तै, स्मृति कटुवाल आठ रनमा रनआउट भइन् । एपीएफका लागि कप्तान सीता राना मगरले तीन तथा इन्दु बर्माले एक विकेट लिइन् ।

जितसँगै एपीएफले तीन खेलमा तीन जितसहित ६ अंक बनाएर अंक तालिकाको शीर्ष स्थानमा कायमै रहेको छ । एपीएफको समूह चरणको एक खेल बाँकी रहेको छ । यता कोसी प्रदेशले दुई खेलमा एक जित निकालेर दुई अंक जोडेको छ । कोसीको समूह चरणमा दुई खेल बाँकी रहेको छ ।
प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न दिनको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई पनि सात विकेटले पराजित गरेको छ । यससँगै मधेस प्रदेशले जारी प्रतियोगितामा लागातार दोस्रो हार भोगेको छ ।
यस्तै, सुदूरपश्चिमले भने तेस्रो खेलमा दोस्रो जित निकालेको छ । तेस्रो खेलबाट दोस्रो जित निकाल्ने क्रममा सुदूरले मधेसबाट पाएको ६५ रनको लक्ष्य १० ओभरमा तीन विकेट गुमाएर पूरा गरेको हो ।

सुदूरका लागि रितु कनौजियाले २१ तथा रुबी पोदारले अविजित १४ रनको पारी खेले । कप्तान विन्दु रावलले १० रन जोड्दै पवेलियन फर्किंदा सम्झना खड्का नौ तथा कविता कुँवर एक रनमा आउट भएका थिए । मधेसका लागि सरस्वती चौधरी, सन्तोषी चौथरी र अनुराधा चौधरीले समान एक÷एक विकेट लिए ।


त्यसअघि, टस जितेर पहिले ब्याटिङ रोजेको मधेसले १९ ओभरमा सबै विकेट गुमाएर ६४ रन बनाउन सक्यो । मधेसका लागि अलिसा यादव र सरस्वती कुमारीले समान १५÷१५ रन बनाउँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । मधेसलाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिमका लागि लक्ष्मी साउदले तीन तथा सम्झना खड्का र रितु कनौजियाले समान दुई/दुई विकेट निकाले ।
जितसँगै सुदूरले तीन खेलमा चार अंक जोडेको छ । सुदूर दोस्रो स्थानमा उक्लिएको छ । मधेस भने तालिकाको पुछारमा अंकविहीन छ । प्रतियोगितामा अब खेल सोमबार हुनेछन् । सोमबार पहिलो खेल ललितपुर मेयर्स–११ र मधेस प्रदेश तथा दोस्रो खेल कोसी र सुदूरपश्चिम प्रदेशबीच हुनेछ ।

प्रतिक्रिया