थ्री नेसन्स कप फुटबल : लाओसमाथि नेपालको जित

काठमाडौं । डिफेन्डर अनन्त तामाङ र फरवार्ड नवयुग श्रेष्ठको गोलमा नेपालले प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसलाई हराएको छ । दशरथ रंगशालामा बुधबार नेपालले २–० को सहज जित दर्ता गरेको हो ।
नेपालले पहिलो हाफमा अनन्त तामाङको गोलमा सुरुवाती अग्रता लिएको थियो ।

दोस्रो हाफमा नेपालका लागि नवयुग श्रेष्ठले लामो दुरीबाट सुन्दर गोल गर्दै अग्रता दोब्बर पारे । प्रशिक्षक भिन्सेन्जो अल्बर्टो अनेसेले विजयी सुरुवात गर्दा सनिश श्रेष्ठलाई सुरुवाती रोजाइमा डेब्यु दिएका थिए । त्यस्तै दोस्रो हाफमा मणि लामा, सुमित श्रेष्ठ र दीपक राज सिंह ठकुरीले पनि डेब्यु गरे ।

१८औँ मिनेटमा पुजन उपरकोटीले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिरियो । २५ औं मिनेटमा एट भिंगखामले २५ यार्ड टाढाबाट गरेको प्रहारले पनि पोस्टको दिशा लिन सकेन ।
खेलको २९ औं मिनेटमा अनन्तले गोल गरे ।

एरिक विष्टको कर्नरमा अनन्तले हेडरमार्फत गोल गरे । एक गोलले पछि परेको लाओसले त्यसपछि आक्रमण बुनेपनि गोलरक्षक किरणलाई समस्या दिन सकेको छैन । दोस्रो हाफको सुरुवातमै नवयुगले दर्शनीय गोल गर्दै नेपालको अग्रता दोब्बर पारे ।

नवयुगले ५६औँ मिनेटमा झन्डै ३५ यार्ड टाढाबाट गरेको भली सिधै गोल भएको थियो । लाओसको हाफको मध्यभागमा प्राप्त खुला बललाई नवयुगले पहिलो टचमा नै गोल गरेका थिए । गोलरक्षक सेसाभाथ सौभान्शोकले नवयुगको प्रहार ठम्याउन नसक्दा गोल भएको थियो । ६७औँ मिनेटमा अनन्तले गोललाइनबाट बल क्लियर गर्दै नेपालको २–० को अग्रता कायम राखे ।

बोउनपचान बोउनकोंगले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहारमा गोलरक्षक किरण बिट भएपनि अनन्तले क्लियर गर्दै निश्चित गोल टारेका थिए । लगत्तै रोहित चन्दले पनि किरण बिट भएको अवस्थामा ६ यार्ड बक्स भित्रबाट हेडर क्लिअरेन्स गरे ।

७१औँ मिनेटमा नवयुगले ६ यार्ड बक्सभित्र दिएको पासमा आयुष घलानले सुवर्ण अवसर खेर फाले । नवयुगको पासमा अन्तिम डिफेन्स पनि बिट भएको अवस्थामा आयुषले वन भर्सेस वनमा बललाई पोस्टको दिशा दिन सकेनन् । नेपालले अब प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानको सामना गर्नेछ ।

मंगलबार नेपालसँग खेल्नुअघि भुटानले शनिबार लाओसको सामना गर्नेछ । शीर्ष २ टोलीले अर्को शुक्रबार फाइनल खेल्नेछन् । विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने एन्फाले जनाएको छ ।


उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर र खेलको म्यान अफ दि म्याचले २ सय ५० डलर पाउने छन् । एन्फाले सामान्य प्यारापिटतर्फ ५ सय र भीभीआईपीतर्फ १ हजार टिकट दर राखिएको छ । प्रतियोगिताको प्रत्यक्ष प्रसारण एनटिभी प्लसबाट हुनेछ ।

प्रतिक्रिया