प्रधानमन्त्री कप थ्री नेशन्स फुटबल : किरणको कप्तानीमा राष्ट्रिय टिम

काठमाडौं । प्रधानमन्त्री कप थ्री नेशन्स फुटबलको लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा गरिएको छ । किरण चेम्जोङको कप्तानीमा मंगलबार घोषणा गरिएको २३ सदस्यीय टोलीमा ७ जना नयाँ अनुहारलाई पनि समेटिएको छ । प्रतियोगिताअघि प्रिम्याच कन्फ्रेन्समा लाओस र नेपाल दुबैले राम्रो खेल्दै नतिजा आफ्नो पक्षमा पार्न प्रयास गर्ने बताएका छन् । प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले पहिलो पटक राष्ट्रिय टिम सम्हाल्न लागेका छन् । नेपालसहित भुटान र लाओसबीच हुने प्रतियोगिताको विजेताले ५ हजार डलर प्राप्त गर्नेछ । प्रतियोगिताका लागि भुटान र लाओसको टिम काठमाडौँ आइसकेका छन् । नेपालसहित तीनै टोली एभरेष्ट होटलमा रहेका छन्। दशरथ रंगशालामा नेपाल र लाओसबीचको उद्घाटन खेल बुधबार साँझ ६ बजे सुरु हुने अखिल नेपाल फुटबल संघले जनाएको छ । प्रतियोगिताको लाइभ नेपाल टेलिभिजनबाट गरिने छ । पहिलो पटक राष्ट्रिय टिममा बोलाइएका खेलाडीमा अभिषेक बराल, सनिश श्रेष्ठ, पदम भट्टराई, मणिकुमार लामा, सुमित श्रेष्ठ, नवीन लामा र दीपकराज सिंह ठकुरी रहेका छन् ।

नेपाली टिमः

गोलरक्षक – किरण चेम्जोङ, दीप कार्की, अभिषेक बराल


डिफेन्डर– रोहित चन्द, अनन्त तामाङ, आदित्य चौधरी, विकास खवास, सनिश श्रेष्ठ, निशान खड्का, पदम भट्टराई


मिडफिल्डर– मणि लामा, नविन लामा, पुजन उपरकोटी, एरिक विष्ट, कमल थापा, आशिष चौधरी, आयुष घलान र सुमित श्रेष्ठ


फरवार्ड– दीपकराज सिंह ठकुरी, मनिष डाँगी, नवयुग श्रेष्ठ, भरत खवास र अन्जन विष्ट

छोटो समयको तयारीका बीच हामी जित्छौँ : कप्तान चेम्जोङ


नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले छोटो समयको तयारी चुनौतीपूर्ण भएको र त्यसलाई स्वीकार गरेर घरेलु मैदानमा आयोजना हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता खेल्ने बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलवार आयोजना गरेको खेल अघिको पत्रकार सम्मेलनमा कप्तान किरणले तयारी छोटो समय भएको र चुनौतीपूर्ण रहेको बताएका हुन् । भर्खरै मात्र घोषणा भएको टोलीमा खेलाडीहरु सबै फिट रहेको र बुधबार लाओससँग हुने खेलका लागि टोली तयार भएको प्रतिक्रिया दिए । कप्तान किरणले प्रशिक्षक र टिम नयाँ भएको भए पनि एक अर्कालाई विश्वास गरेर अगाडि बढ्ने बताए ।

यस्तै यसै प्रतियोगिताबाट डेब्यु गर्न लागेका नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले आपूmले राम्रो टोली निमार्ण गरेको बताए । तीन दिनको तयारी गर्दा टोलीमा अधिकांश युवा खेलाडी समेटिएको उनले बताए । लिगको दौरानमा खेलाडीको प्रदर्शनलाई नियाल्दै टोली निर्माण गरेको र यो टोलीले राम्रो नतिजा दिलाउने उनले बताए ।

एनिसले विपक्षी टिमको गुण आफूले देखेको र आफ्नो टिमको गुण समेत जानकारी भएको बताउँदै सुखद् नतिजाका लागि खेल्ने बताए । लाओसका कप्तान सौकाफोन भोङ्चियाङखामले प्रतियोगिताका लागि पहिलो पटक नेपाल आउँदा खुशी लागेको बताउँदै प्रतियोगिताका लागि उत्साहित रहेको बताए । उनले प्रतियोगितामा लाओसको फुटबल देखाउने बताए ।

यता पछिल्लो संस्करणको एसियाली खेलकुद पछि पहिलो पटक अन्तर्राष्ट्रिय भ्रमण गरेको भुटानका प्रशिक्षक पेमाले टोली प्रतियोगिताको तयारी राम्रो गरेको बताए । दुई महिनादेखि युवा खेलाडीलाई समेट्दै उपाधि उचाल्ने रणनीतिका साथ तयारी गरेको बताए । सिंगल राउण्ड रोविन पद्धतीमा हुने प्रतियोगितामा शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन् । नेपालले चैत आठमा लाओस तथा चैत १४ मा भुटानको सामना गर्नेछ । चैत ११ गते भुटान र लाओस भिड्ने छन् । नेपालले नवनियुक्त मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बार्टो एनासीको प्रशिक्षणमा पहिलो प्रतियोगिता खेल्न लागेको हो । प्रतियोगिताका लागि टिकट दर सामान्य प्यारापिटतर्फ पाँच सय र भिआइपीतर्फ एक हजार राखिएको छ । यसअघि नेपालले २०७७ सालमा बंगालादेश र किर्गिस्तानलाई समेट्दै थ्री नेसन्स कपको आयोजना गरेको थियो । फाइनलमा बंगलादेशलाई हराउँदै नेपाल च्याम्पियन बनेको थियो ।

प्रतिक्रिया