भारतसँग नेपालको हार

काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको पहिलो खेलमा नेपाली युवा टोली बलियो भारतसँग पराजित भएको छ । बंगलादेशको ढाकामा सोमबारदेखि शुरु भएको च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा नै भारतसँग ४–१ ले पराजित भएको हो । बिएसएसएस मोस्ताफा कमल स्टेडियममा भारतको जितमा शिलजी शाहजीले ह्याट्रिक तथा पुजाले एक गोल गरिन् । नेपालकी वर्षा ओलीले एक गोल फर्काइन् ।

खेलको १०औं मिनेटमा शिलजी शाहजीले गोल गर्दै भारतलाई १–० को अग्रता दिलाइन् । गोलरक्षक खुशी कुमारीले फालेको लामो पासलाई शिलजीले दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिदै गरेको प्रहार गोलरक्षक सुजाता तामाङले रोक्ने प्रयास गरेपनि सफल हुन सकेनन् ।

४०औं मिनेटमा शिलजीले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर पारिन् । थोइविसाना चानु तोइजामले फालेको लामो पासलाई पुनः नियन्त्रणमा लिदै शिलजीले वान भर्सेस वानको अवस्थामा सहजै फिनिस गरिन् ।
४१औं मिनेटमा पुजाले गोल गर्दै भारतलाई पहिलो हाफमा ३–० को अग्रता दिलाइन् । शिलजीले दिएको पासमा गोलरक्षक अघि बढेको अवस्थामा पुजाले कुनै गल्ती गरिनन् ।

५४औं मिनेटमा वर्षा ओलीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याइन् । सुक्रिया मियाको क्रसलाई थोइविसानाले हेडरमार्फत क्लियर गर्ने प्रयास गरेपनि राम्रोसँग क्लियर नभएको बललाई अनमार्क रहेकी वर्षाले सहजै गोल गर्न सफल भइन् ।

८१औं मिनेटमा शिलजीले ह्याट्रिक पूरा गर्दै भारतलाई सहज जित दिलाइन् । मैदानको मध्यभागबाट बल अघि बढाउँदै दुई डिफेन्डरलाई बिट गर्दै वान भर्सेस वानको अवस्थामा उनले सहजै गोल गर्न सफल भइन् ।

यस जितसँगै भारतले ३ अंक बटुलेको छ । नेपाल अंक विहीन बनेको छ । आज नै दोस्रो खेलमा भुटान र आयोजक बंगलादेशबीच खेल हुन्दैछ ।
यू–१७ च्याम्पियनसिपमा नेपाल, बंगलादेश, भुटान, भारत र रुसको सहभागिता रहेको छ । नेपालले मार्च २२ मा भुटान, २६ मार्चमा रसिया र २८ मार्चमा आयोजक बंगलादेशसँग खेल्नेछ । सिंगल राउण्ड रोबिनपछि शीर्षस्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

प्रतिक्रिया