नयाँ प्रतिभालाई साथ दिँदै शंकर

काठमाडौं । ‘सधै सधै’, ‘सेल्फी हानौंला’, ‘मंगली’, ‘निरमाया’, ‘क्यालेण्डर’, ‘शख्खर चिनी’, ‘फनफनी’ जस्ता गीतका सर्जक हुन् संगीतकार शंकर थापा ‘स्माइल’ । पछिल्लो समय सांगीतिक बजारमा निकै चर्चित गीत दिएका संगीतकारको नाम लिँदा शंकरको नाम अग्रपंक्तिमा आउँछ ।

आधुनिक, पप, लोकपप, लोक, रकपप, चलचित्रका गीतलगायत जुनसुकै विधाका गीतमा पनि शंकरले संगीत भरेका छन् । लामो समयदेखि संगीत क्षेत्रमा होमिएका कारण उनले जुन कुनै विधाको संगीतलाई न्याय दिन सक्छन् ।

गीतको लय र प्रयोग गरिने बाजा फरक भए पनि संगीत आखिरमा उही सात सुरमा घुम्ने भएकाले सुर र रागको ज्ञान भएमा जस्तोसुकै मेलोडी तयार गर्न सकिने शंकरको भनाइ छ । त्यसैले त संगीतकार दीपक जंगम शंकर नेपाली संगीतमा नयाँ आयाम थप्ने संगीतकार भएको बताउँछन् । जुन विधाको संगीत सिर्जना गरे पनि शंकरका हरेक गीतमा मौलिकता भेटिने जंगमको भनाइ छ ।

संगीत सिर्जनाको यात्रामा शंकरले स्थापितदेखि नवप्रवेशी गायक गायिका, गीतकार तथा संगीत संयोजकसँग काम गरिसकेका छन् । स्थापित संगीतकर्मीसँग काम गर्दा आफूले पनि केही सिक्ने गरेको उनको भनाइ छ । यद्यपि, पछिल्लो समय शंकर यस्ता संगीतकारका रुपमा चिनिन्छन् जसले गायनमा नयाँ प्रतिभालाई अवसर दिने गर्छन् ।

संगीत सिर्जना गरेर आफू पनि लोकप्रिय भएका छन् भने आफूले अवसर दिएका कयौँ प्रतिभालाई सांगीतिक बजारमा स्थापित गरेका छन् । शंकरले संगीत सिर्जनामा देखाएको जादुमय कलाका कारण पछिल्लो समय उनीसँग काम गर्न धेरै संगीतकर्मी लालायित देखिन्छन् ।

सायद यसैले होला उनको व्यस्तता निकै बाक्लिएको छ । एउटा संगीतकारले शब्दको छनोट, संगीत सिर्जना, संगीत संयोजन, गायक÷गायिकाको छनोट, रेकर्डिङ, मिक्सिङजस्ता विभिन्न विषयमा समय दिनुपर्छ । शंकर यी सबै कामलाई समानान्तर रुपमा गरिरहेका भेटिन्छन् ।

संगीतको रियाजबाट दैनिकी सुरु गर्ने शंकर त्यसपछि भने दिनभर संगीत सिर्जनामै व्यस्त हुन्छन् । कतिसम्म भने एकैदिन एउटा गीतको रेकर्डिङ, अर्को गीतको मिक्सिङ, अर्को गीतको म्युजिक एरेन्जमेण्ट, अर्को गीतको संगीत सिर्जनाजस्ता काम गरिरहेका हुन्छन् । यसरी एकैदिन विभिन्न सिफ्टमा विविध काम गरे पनि उनका सिर्जनामा नवीनता पाइन्छ ।

टिभी रियालिटी सो नेपाल आइडलमा प्रि–जज तथा म्युजिक टिचरका रुपमा काम गरिसकेका शंकर यतिबेला अर्को टेलिभिजन रियालिटी सो ‘मेरो भ्वाइस कप युनिभर्स’ को प्रि–जज छन् । यतिबेला शंकरसहितको टिम देशका विभिन्न सहरका साथै विदेशमा समेत पुगेर अडिसनमार्फत नयाँ प्रतिभाको छनोट गरिरहेको छ ।

यसरी अडिसनबाट छनोट भएका प्रतिभालाई कोच गर्ने जिम्मा पनि शंकरकै काँधमा सुम्पिएको छ आयोजकले । उनकोे संगीतप्रतिको अथाह ज्ञान तथा आफूले जाने बुझेको संगीत नयाँ प्रतिभालाई सिकाउन सक्ने क्षमताजस्ता कुराले उनलाई महत्वपूर्ण जिम्मेवारी दिइएको सोका आयोजक इन्ट्रा फाउण्डेसनले जनाएको छ ।

सोको सबैभन्दा महत्वपूर्ण काम भनेको अडिसनबाट छनोट भएका प्रतिभालाई संगीत सिकाएर अब्बल बनाउनु नै हो । जब यस्ता प्रतिभा अब्बल हुन्छन् तब मात्र रियालिटी सोको चाम बढ्ने गर्छ । आयोजक आफ्नो टिमले दिएको जिम्मेवारीमा शंकर खरो उत्रिएको जनाउँछ ।

यता शंकर आफूले विगतमा पनि लुकेर रहेका प्रतिभालाई स्थान दिँदै आएको स्मरण गर्दै यसलाई त्यसकै निरन्तरता भन्न रुचाउँछन् । देशका विभिन्न स्थानमा जाँदा उत्कृष्ट गायन क्षमताका प्रतिभा भेटिएको भन्दै उनले उनीहरुमा संगीतको औपचारिक ज्ञान भने नभएको बताए ।

त्यस्ता प्रतिभालाई संगीतको ज्ञान दिएर अब्बल बनाउन आफू निरन्तर लाग्ने उनको भनाइ छ । उनी आफूले भेटेका अब्ब्ल प्रतिभालाई आफ्नै संगीतमा गीत गाउने अवसर प्रदान गर्न पनि जुटिसकेका छन् ।

जे होस् नयाँ प्रतिभालाई हात र साथ दिएरसँगै हिड्न सिकाउने उनको कामलाई यस्ता रियालिटी सोले थप बल पुर्याएकै देखिन्छ । त्यसो त शंकरले विभिन्न म्युजिक स्कुलमा संगीतको नियमित प्रशिक्षण पनि प्रदान गर्दै आएका छन् ।

सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले संगीतमा अब्बल मानिने शंकर त्यही उत्कृष्टताका कारण रेडियो नेपालको वर्गीकरणमा ‘ए’ श्रेणीको संगीतकारका रुपमा रहेका छन् । नेपालमा संगीतकार तथा गायक गायिकाको वर्गीकरण रेडियो नेपालले गर्ने गर्छ । ‘ए’ श्रेणीको संगीतकार हुनेले पनि शंकर उत्कृष्ट हुन् प्रमाण पेश गर्छ ।

राष्ट्रव्यापी खुल्ला आधुनिक संगीत प्रतियोगिता २०७७ मा प्रथम भएका शंकरले राप्ती नेसनल म्युजिक अवार्ड, जिनियस म्युजिक अवार्ड, ओएस नेपाल म्युजिक अवार्ड, कालिका एफएम म्युजिक अवार्ड, नेसनल बक्सअफिस म्युजिक अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, नीम अवार्डलगायतका थुप्रै अवार्ड तथा सम्मान प्राप्त गरिसकेका छन् ।

शंकरले सगरमाथा म्युजिक अवार्ड २०७९, म्युजिक एण्ड फेसन अवार्ड २०२२, एनिवडी क्यान सिङ जस्ता विभिन्न संगीत प्रतियोगितामा निर्णायकको रुपमा समेत काम गरिसकेका छन् ।

यतिबेला शंकर संगीत सिर्जना, गीत रेकर्डिङ, संगीत प्रशिक्षण, रियालिटी सोको कोचका रुपमा ब्यस्त रहेका छन् । यसअघि झण्डै एक दर्जन गीति एल्वममा काम गरिसकेका शंकरले यही बिचमा थप दुई गीति एल्बमको तयारीमा पनि जुटिरहेको बताए ।

प्रतिक्रिया