थ्री स्टार तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा

बुटवल । बुटवलमा जारी २२ औं तिलोत्तमा गोल्डकप प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा थ्री स्टार क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार देबिनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा हिमालयन शेर्पालाई १–० गोल अन्तरले पराजित गर्दै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

थ्री स्टारको जितका लागि दोस्रो हाफको ३७ मिनेटमा दिपेश गुरुङले निर्णायक गोल गरे । खेलमा थ्री स्टारका लोकेन लिम्बुले म्यान अफ द म्याच घोषित हुँदै ११ हजार १११ रुपैयाँ र एउटा हेल्मेट पुरस्कार पाए । आइतबारको खेलमा हिमालयन शेर्पाका भीषण लिम्बु र थ्री स्टारका पिटर सेगुनले पहेंलो कार्ड पाए । रुपन्देही जिल्ला फुटबल संघ रुपन्देहीको आयोजनामा चैत ११ गतेसम्म चल्ने प्रतियोगिता अन्तर्गत सोमबार एपीएफ क्लब र फ्रेण्ड्स क्लब बीच खेल हुने आयोजक रुपन्देही जिल्ला फुटबल संघका महासचिव हिमाल गौचनले जानकारी दिए ।

प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैया र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । बुटवल उपमहानगरपालिकाको संरक्षक रहेको प्रतियोगितामा दुई विभागीयसहित ८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिताको विजेता टिमले सर्वोत्कृष्ट खेलाडीले नगद एक लाख रुपैयाँ वा एक थान मोटरसाइकल, विधागत रुपमा उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिड फिल्डर, डिफेन्स र कोचले जनही ३० हजारका दरले नगद पुरस्कार प्राप्त गर्ने छन ।

प्रतिक्रिया