पञ्चमहाभूत र आयुर्वेद

मोहनप्रसाद सापकोटा

अहिलेको जस्तो अन्न जाँच्ने प्रविधि प्राचीनकालमा थिएन तर, अहिले जसरी अन्धाधुन्ध तरिकाले जहिले जे पनि आँखा चिम्लेर हसुर्ने समाज त्यतिखेर कमै थियो । प्रविधि भए पनि व्यवहारमा पाँच प्रतिशत पनि लागू छैन । प्राचीनकालमा न्वागी होम पनि अरू होमजस्तै नवान्न खान योग्य छ छैन भनीे गुणस्तर परीक्षण गर्ने एक माध्यम थियो । अन्न होम गर्दा आउने बास्ना र त्यो बल्दा निस्कने ज्वालाको आकार एवं रंग हेरेर होम गर्न बसेका ऋषिमुनिहरूले नयाँ अन्न खान योग्य भए नभएको निर्णय दिने गर्दथे

मानिसको शरीर मात्र होइन सबै चल, अचल जीव र वनस्पति आदिको निर्माण पञ्चमहाभूतबाट भएको हुन्छ । रहस्यमय तरिकाले बनेको यो संरचना जीर्ण भएपछि फेरी त्यो पञ्चमहाभूतमै गएर मिल्दछ । मानव शरीरमा पञ्चमहाभूतको प्राकृतिक मात्रामा तल माथि हुनु भनेकै रोगी हुनु हो । मानिसको आफ्नै आदत र बाहिरी प्रभावले उसका शरीरमा रहेका पञ्चमहाभूतको मात्रामा तलमाथि हुने गर्दछ । आयुर्वेदका तलका वचन गम्भीर भएर अध्ययन गरौँ ।

पृथ्वी र जलको सम्मिश्रणबाट गुलियो रस, पृथ्वी र अग्निको सम्मिश्रणबाट अमिलो रस, जल र अग्निको सम्मिश्रणबाट नुनिलो रस, आकाश र वायुको सम्मिश्रणबाट पिरो रस, वायु र अग्निको सम्मिश्रणबाट तितो रस र पृथ्वी र वायुको सम्मिश्रणबाट टर्रो रस उत्पन्न हुन्छ । यसरी दुई÷दुई महाभूतको सम्मिश्रणबाट एक÷एक वटा रस उत्पन्न हुन्छ ।

विशेषतः पृथ्वीको गह्रौँ, जलको चिल्लो, अग्निको तिखो, वायुको रुखो र आकाशको हलुका गुण हुन्छ । यिनै प्रमुख गुणभित्र अन्य सहायक गुण पनि समाहित भएका हुन्छन् । खाएको पिएको कुरा शरीरभित्र गएर त्यसको मुख्य गुणलाई समाहित गरी अन्य रस बन्ने गर्दछ ।

गुलियो रसले कफ, अमिलोले पित्त र पिरोले वायु बढाउँदछ । आफूलाई स्वस्थ राख्न चाहने मानिसले नियमित मात्रामा सबै रसको सेवन गर्नुपर्दछ । प्रकृति प्रदत्त विभिन्न फलफूल, सागसब्जी र अनाजमार्फत शरीरको पञ्चमहाभूतको उपस्थितिलाई सन्तुलनमा राख्नुपर्दछ । जानी वा नजानी असन्तुलित हुँदा रोग लाग्दछ र रोग लागेपछि पनि त्यसको प्रकृति प्रदत्त कुराले नै उपचार गरिनु पर्दछ । हरेक रोग र त्यसको उपचार प्रकृतिसँग नै छ ।

सारसंक्षेप खानेकुराका सम्बन्धमा

(क) हिउँ पर्नाले, असिना पर्नाले, चर्को घाम लाग्नाले, आगोले पोल्नाले, प्रदूषित हावाको स्पर्शले, सर्प आदि विषालु जीवको थुक पर्नाले, कीरा पर्नाले, आफ्नो प्रतिकूल जमिनमा उत्पन्न हुनाले, विपरीत ऋतुमा उत्पन्न हुनाले, विपरीत गुण भएका अनाजसँग मिसाउनाले र शक्तिहीन हुनाले वा धेरै बासी वा पुरानो हुनाले अनाज गुणहीन हुन पुग्दछ । यस्तो अनाज नखानु ।

(ख) घिउ, तेल नहाली त्यत्तिकै (नपकाई काँचै सलादकारूपमा) खाइने र नरम नहुने सागपात पनि त्याज्य हुन्छन् । जुन सागपातमा विकसित हुनुपर्ने रस र गुण विकसित भएको हुन्न तथा जुन सागपात सुकेको छ त्यो पनि खान योग्य हुन्न । यसपूर्व सुकाएर खान हुन्छ भनी बताइएका मूला आदि सागपात भने सुकाएर खान हुन्छ ।

(ग) फलफूलमा पनि यही विधि जान्नु तर सुकाइएको काँचो बेलको फल खान हुन्छ । अरू फलफूल काँचो नखानु ।

माथिका कुरामा विचार गर्ने हो भने उपरोक्त भनाइले आधुनिक गुणस्तरहीन विकासे खेतीको समर्थन गर्दैन । न त भूगोल, हावा विपरीत अन्धाधुन्धसँग बिउवीजन लेराएर गरिने खेतीको नै समर्थन गर्दछ । हामीले स्वस्थताको प्रत्याभूति पाउन नसक्ने खालका सलाद भोजभतेरमा नखान पनि आयुर्वेदले सल्लाह दिएको छ । सबैले मनमनै ‘किनबेच गर्न र पेट भर्नका लागि मात्र उपयुक्त हुने कुराले शरीरका लागि फाइदा भने नगर्दो रहेछ’ भनिरहेका हुन्छन् । तर व्यवहार सोचे जसरी नचल्दो रहेछ । माथि उल्लिखित सबै कुरा त्यति व्यावहारिक नलाग्न सक्दछ, यी कुराको पालना गरेर बाँच्न नसकिने हुन सक्दछ । तर रोगसँग लड्ने क्षमताका गफ चुटेर नथाक्ने बानी लगाइएका हामीले सम्भव भएसम्म माथिका कुरा व्यवहारमा लागू गर्दा मात्र अनाज, सागपात र फलफूलले दिने फाइदा लिन सक्छौँ । बुद्धि (वा प्रविधि) आयात गर्दा शरीरलाई र उत्पादनको परिमाण वृद्धि सँगसँगै गुणस्तरलाई पनि प्राथमिकता दिइए हाम्रै लागि राम्रो हुन्थ्यो, हामी नजानिदोसँग विश्वका लागि प्रयोग गरिने गिनीपिग हुन वा भइरहनबाट जोगिन सक्दथ्यौँ ।

(घ) पहिले खाएको कुरा नपची फेरी खाइएको भोजन विष हुन्छ । जिभ्रो लोभी हुन्छ उसलाई पेटको वा शरीरका अरू अंगको औकात के छ भन्ने कुरा मतलब हुँदैन । मानिस समयमा खानै पर्दछ भन्दछन्, गलत भन्दछन् । ढिला पच्ने कुरा खाएको छ भने वा पहिले खाएका कुरा पचेका छैनन् भने फेरी थप खानपिन गर्न हुँदैन । यी त कुनै कुरा नमिसाइएका प्राकृतिकपन जीवित रहेका खानपिनका विषयमा बताइएका कुरा हुन् । लेस, चाउचाउ, मःमः, बिस्कुट, कुरकुरे, फन्टा, कोक, आदि नक्कली खानेपिउने, नचाखी निद्रा नलाग्ने समाजका लागि त केही भन्ने ठाउँ नै छैन ।

नयाँ अन्न र आयुर्वेद

कात्तिक वा मंसिरमा होम हाल्ने चलन थियो, छ पनि भनौ । कसैले तुलसीको होम त कसैले न्वागी होम भनेर यो कर्म गरिरहेका हुन्छन् । मैले यो लेखमा यो होमको धार्मिक पक्षलाई भन्दा पनि आयुर्वेदिक पक्षलाई थोरै उठाउन खोजेँ ।
अहिलेको जस्तो अन्न जाँच्ने प्रविधि प्राचीनकालमा थिएन तर, अहिले जसरी अन्धाधुन्ध तरिकाले जहिले जे पनि आँखा चिम्लेर हसुर्ने समाज त्यतिखेर कमै थियो । प्रविधि भए पनि व्यवहारमा पाँच प्रतिशत पनि लागू छैन । प्राचीनकालमा न्वागी होम पनि अरू होमजस्तै नवान्न खान योग्य छ छैन भनीे गुणस्तर परीक्षण गर्ने एक माध्यम थियो । अन्न होम गर्दा आउने बास्ना र त्यो बल्दा निस्कने ज्वालाको आकार एवं रंग हेरेर होम गर्न बसेका ऋषिमुनिहरूले नयाँ अन्न खान योग्य भए नभएको निर्णय दिने गर्दथे । प्रायः हरेक ऋतुपछि हुने होम र सामुहिक विवाह, व्रतबन्ध आदिजस्ता भोजमा पनि पहिले अन्नको गुणस्तरको होम गरेरै परीक्षण गर्ने प्रचलन थियो ।

नयाँ अन्न खानुपूर्व आयुर्वेदले केही सर्तसमेत राखेको रहेछ । अरू, मौसमी फलफूल, तरकारी पनि पहिलोपटक खाँदा यो नियम लागू गर्नु उपयुक्त हुन्छ भन्ने मेरो विचार छ ।

कात्तिक महिनाका अन्तिम आठ दिन पुरानो अन्न क्रमशः कम खाँदै जानु र मंसिर महिनाको सुरुका आठ दिन नयाँ अन्न क्रमशः बढाउँदै खान सुरु गर्नु, एकैपटक ह्वात्त पुरानो अन्न छाडी उत्ति नै मात्रामा नयाँ अन्न नखानु शरीरमा असर गर्दछ भनिएको रहेछ ।

आजकल पेट भर्न पाए पुग्छ, आफ्नै शरीर पनि तपसिलमा पर्दछ । खानपिनमा मात्र मानिसले अलिकति ज्ञान लिएर होस गर्ने हो भने औषधि खान आवश्यक नै पर्दैनथ्यो होला । पुस्तौँदेखि बानी बिगार्दै आयौँ, हामी पनि बिग्रियौँ र हामीभन्दा पछिका पुस्तालाई पनि बिगारिरहेका छौँ । यस्ता एकादेशका कथा जति लेखे पनि बेकार हुँदो रहेछ ।

मांस भक्षण र शास्त्र

–जीव हिंसाको यज्ञमा बाहेक अन्य सबै प्रयोजनका लागि निषेध गरिएको छ ।

–यज्ञ त्यसबेलाको एक किसिमको ल्याब टेस्ट हो, यसको प्रमाण आयुर्वेदमा भेटिन्छ ।

–कुनै पनि पोथी जीवको मासु खान निषेध गरिएको छ ।

–निरोगी, पूर्ण अंग भएको, वयस्क उमेरको, सफा हतियार सफा ठाउँमा काटेर सफासँग सफा भाँडामा पकाइएको, ताजा र सम्बन्धित सबै देवीदेवतालाई चढाइए पछिको मासु मात्र खान सल्लाह दिइएको छ ।

–एक्लै खान वा आफ्नो मासु बढाउन अरूको मासु प्रयोग गर्नुलाई अत्यन्त निकृष्ट कार्य भनिएको छ ।

–यी सबै कुरा हुँदाहुँदै पनि वैदिक कालदेखि नै मासु खाने र नखाने वर्ग समाजमा थिए ।

–पितृकर्ममा पनि मासु चल्दथ्यो तर कलियुगमा चलाउन निषेध गरिएको छ ।

–स्मृतिकालपछि मात्र खान हुने र नहुने जलचर, स्थलचर, गगनचर, उभयचर पशुपंक्षीको नाम उल्लेख भएको छ त्यसअघि विस्तृत चर्चा भएको भेटिन्न ।

वसन्त एवं ग्रीष्म ऋतु र अष्टांग हृदय :

वसन्त ऋतु (चैत र वैशाख) मा गरिष्ठ (पचाउन कठिन हुने माछा, मासु आदि सबै कुरा) भोजन, शीतल पदार्थ (कफ बढाउने बरफ, फ्रुटी, लस्सी आदि जस्ता पदार्थ) खान वा पिउन, दिनमा सुत्न तथा गुलियो, अमिलो र नुनिलो रसको सेवन गर्न निषेध गरिएको छ । गुलियो र अमिलो हेमन्त र शिशिर ऋतुमा खान सल्लाह दिइएको छ । यी रसले कफलाई बढाउँदछ । वसन्त ऋतुमा हेमन्त र शिशिर ऋतुमा जम्मा भएको कफलाई शरीरबाट बाहिर निकाल्नु पर्दछ त्यसैले सम्भव भएसम्म कफ बढाउने कुरा नखानु नै भनिएको छ । हेमन्त र शिशिर ऋतुमा चिसोका कारण बाहिर निस्कन नसकी शरीरभित्र गुम्सिएर बसेको कफ वसन्त ऋतमा निकाल्ने प्रयत्न गरिएन भने मानिसलाई अवश्य नै कफजन्य रोगहरू हुन्छ हुन्छ हुन्छ । नुनिलो रसले गुलियो र अमिलोले जसरी कफ त बढाउँदैन तर पसिनामार्फत शरीरबाट बाहिर जाने नुनको मात्रा अनुसार नै नुनिलो रसको सेवन गर्न सल्लाह दिइएको छ, अत्यधिक होइन ।

शरीरमा जम्मा भएका कफ वसन्त ऋतुमा बाहिर निकालिसकेपछि बरफ आदि शीतल पेय पदार्थको प्रयोग ग्रीष्म ऋतुमा गर्न सल्लाह दिइएको छ । तर कफ बढाउने यी र यस्तै खाद्य वा पेय पदार्थको प्रयोग गर्दा खाने कपुरको प्रयोग गर्न सल्लाह दिइएको छ । खाने कपुरले चिसोलाई अझ चिसो बनाउँदछ र कफ जम्न दिँदैन ।

ग्रीष्म ऋतुमा तेजिलो किरणको सूर्यले संसारकै चीसोपनलाई शोषिरहेको हुन्छ । यसले मानिसको पनि कफ लाई घटाइरहेको हुन्छ एकातिर भने अर्कोतिर मानिसको शरीरमा वायु भने बढिरहेको हुन्छ । यसैले यो ऋतुमा नुनिलो, पिरो र अमिलो रस धेरै नखानु । व्यायाम नगर्नु । घाम नताप्नु । विशेष गरी मीठा अन्न खानु (तर दिनहुँ अलिअलि ६ वटै रसको सेवन गर्नु) । हलुका, रसिला, शीतलता दिने र झोल पदार्थ बढी खानु । अती चिसोले नुहाई सखर मिसाइएको जौको सातु खाने गर्नु । चिसोको स्नान र जौको सातुले थकाई मेटाउँदछ । अघिपछि मदिरा पिउने बानी लागेकाहरूले पनि यो (ग्रीष्म) ऋतुमा मदिरा नपिउनु । पिउनै परे वा पिउने लत बसेको भए थोरै पिउनु । यसो गरिएन भने पूरै शरीर अझ त्यसमा पनि विशेषतः पेटका आन्द्रा सुनिन्छ । शरीर शिथिल हुन्छ र भतभती पोल्न थाल्दछ । मद्य–मोहले पीडित हुन्छ ।

हाम्रा हरेक प्राचीन धर्मग्रन्धमा तत्कालीन समयमा घरघरमा पालिने र जंगलमा पाइने पशुपंक्षीको नामहरू दिइएको छ । त्यतिखेर मुद्राको जन्म भएकै थिएन वा भए पनि समाजमा वस्तु विनिमय बढी प्रचलित थियो । अनाज वा पशुपंक्षीको संग्रहलाई योग्यता वा उत्कृष्टताको आधार मानिन्थ्यो । दान दिनु वा लिनु पर्दा यिनै दुई कुरालाई विशेष महत्व दिइन्थ्यो । त्यतिखेर लेखियो ‘विशेष विशेष खानेकुरा वा मासु विषेश विशेष अवसरमा मात्र खाउ, सधैँ नखाउ ।’ अहिले हामी महापण्डित भयौँ । खेती गर्न पनि विस्तारै विस्तारै छाड्दै गयौँ । पशुपक्षी पाल्न पनि जाँगर मर्दै जान थाल्यो । ठाउँ पनि त दिनानुदिन कम कम हुँदै गइरहेछ । खाने मुख बढेको बढ्यै छ । अनि भन्न थाल्यौँ, ‘त्यतिखेर थिएन त्यसैले कम खान्थे’ । यो हाम्रो गलत बुझाइ हो ।

त्यतिखेर उपलब्ध हुने चिजहरू पनि गलगिद्ध हुने गरी घिचिन्नथ्यो । मात्रा मिलाएर र मौसमअनुसार अड्कलेर मात्र खाइन्थ्यो । तत्कालीन समाजका लामो आयु हुने वैद्यहरू र शर्मशास्त्रीहरूले सैयौँ वर्ष लगाएर अनुसन्धान गरी मानव कल्याणका लागि खानपिनका नियम बनाए र त्यसलाई धर्मसँग लगेर जोडी समाजको अभिन्न अंग बनाइदिए । अहिले दुई दिन अनुसन्धान गरेर नतिजा निकालिन्छन् र तेस्रो दिन फेरी फेरिन्छन् ।

यसै प्रसंगमा वैशाखमा खाइने जौको सातु एवं शुद्ध र ताजा शखरको सर्वतको विषयमा धेरैतिर धेरै कुरा लेखिएको प्रसंग उठाउन चाहेँ । बाहिरी हावापानी अनुसार मानिसका शरीरभित्र विभिन्न रोगहरू उब्जने गर्दछन् । त्यसको प्राकृतिकरूपमै उपचार गरिनु पर्दछ । यसका लागि प्रकतिले नै उपचारमा प्रयोग हुने अन्न आदि कुरा दिएकी हुन्छिन् । वसन्त ऋतु अत्यन्त सुक्खा ऋतु हो ।

हावाहुरी र चर्को घामले पृथ्वीको चिसोपन सुकाए जसरी मानिसको शरीर भित्रको चिसोपन पनि सुकाइरहेको हुन्छ । गर्मी महसुस गरी मानिसहरू यस्तो बेलामा चिसो खानेकुरा खान रुचाउँछन् । तर हिँउदमा शरीरभित्र गढेर बसेको चियो गर्मी याममा चिसो खानेकुरा खानाले बाहिर आउन पाउँदैन र विभिन्न रोग लाग्न पुग्दछ । त्यसैले वसन्त ऋतुमा सुक्खा खानेकुरा बढी खानु । सुक्खा खानेकुराले शरीरभित्र गढेको चिसो नष्ट हुन्छ तर चाहनिे जति पनि नराखी पूरै सुकाउँदैन । यसरी लेख्दै लेख्दै जौको सातु र शर्वतका फाइदा र बेफाइदाका विषयमा लेखिएको पाइन्छ ।

खानेकुरा, फलफूलका रस लामो समयसम्म टिकाउन त्यतिखेर पनि प्रविधि थियो । वैद्य औषधि आसव, निघण्टु आदि त्यही प्रविधिमा बनेका हुन्छन् । आधुनिक मदिराको मूल सूत्र तिनै वैद्यग्रन्थहरू हुन् ।

जौको प्रयोग कुनै विशेष रोगमा र वैशाख महिनामा गर्ने प्रावधान पाइन्छ । मानव मात्रको हित गर्ने कुराको दानको महिमा पनि अलि बढी नै लेखिएका छन् । यी कुरा ऋतु विशेषलाई प्राथमिकतामा राखेर गरिएको छ । चैत र वैशाखमा सातु र सर्वतको प्रयोग र दानलाई प्राथमिकतामा राखिएको देखिन्छ । बाहिरी गर्मीलाई कम गर्ने र भित्र गर्मी बढाउने यी खानेकुरा लोकले प्रत्येकवर्ष खाइरहुन् भनेर चाडपर्व विशेषसँग लगेर अनुसन्धानको नतिजालाई जोड्न थालियो । अक्षय तृतीयाका दिन जौको सातु र शखरको सर्वत खाने संस्कृतिको भित्री रहस्य यही पाइएको छ ।

रौं र शास्त्र

कुनै भोजमा जाँदा वा कतै गतिला होटल वा रेस्टुराँमा जाँदा खाना बनाउने, पस्कने र दिनेले टाउकामा विशेष किसिमको टोपी लगाइरहेको देखिन्छ । रौंमा शरीरका अरू अंगमा भन्दा किटाणु बस्न सक्दछन् बसेको हुन्छन् । त्यसैले खाने कुरामा रौं नपरोस् भनेर यसो गरिएको हो । यो आधुनिक संस्कृति हो ।

शास्त्रमा कुनै पनि प्रयोजनका लागि रौं मिश्रित काँचो वा पाकेको खाद्यान्न प्रयोग गर्न र खान निषेध गरिएको छ । देवकर्म वा पितृकर्म गर्दा रौं मिश्रित वस्तु प्रयोग गरे कुनै फल नपाइने कुरा लेखिएको छ भने त्यस्तो खाना खाँदा राक्षसको भाग खाएको मानिनेछ भनिएको छ । आयुर्वेदीय ग्रन्थमा राक्षस भनेको भयंकर शक्तिशाली तर नांगा आँखाले देख्न नसकिने शरीरलाई नोक्सान गर्ने ब्रह्माको सृष्टि भनेरसमेत व्याख्या गरिएको छ ।

हााम्रा भान्छामा बस्ने प्रायः स्त्री हुन्छन् । केही वर्ष अघिसम्म टाउकामा नातो बाँधेर पकाउने चलन थियो, राती सुत्दा वा अघिल्लो दिन लगाएर नधोइएका लुगा लगाएर पकाउने चलन थिएन । यहाँसम्मकी चोलोसमेत लगाउन पाइन्नथ्यो ।
आजभोलि भोजभतेरमा अति व्यस्त भइरहेका टाउकामा विशेष किसिमका टोपी लगाएका खाना वा अरू कुरा लिएर यताउता गरिरहेका व्यक्तिहरू देखेर म मेरी हजूरआमा एवं आमाले चुलामा नातो बाँधेर फुई फुई गरेर आगो फुकिरहेको पुराना दिनहरू झलझली सम्झिरहने गर्दछु । सबै प्रचलन र संस्कार गलत नहुँदा रहेछन्, बुझ्ने क्षमता (वा गिदी) चाहिँदो रहेछ ।

मान्न मन लागे मानौ क्यारे । नत्र यावत् जीवेत् सुखं जीवेत्, ऋणं कृत्वा…पिबेत् ।

खाना खानमा विचार–विष्णुस्मृति

अजीर्ण हुँदा, आधारातमा, दिउँस मध्याह्नमा, साँझमा, भिजेका कपडा लगाएर, एउटा मात्र वस्त्र लगाएर, नांगै भित्र बसेर, घुँडा टेकेर, बिग्रेको आसनमा बसेर, सुत्ने ओछ्यानमा बसेर, टुटेफुटेका भाँडामा, काखमा राखेर, खाली भुइँमा बसेर वा राखेर र हत्केलामा थापेर खाने कुरा नखानु ।

पकाएर फेरी नुन हालिएका कुरा नखानु । खाना खानसँगै बसेका बालबच्चालाई नहियाउनु । मिठो खानेकुरा लुकीलुकी एक्लै नखानु । चिल्लो निकालेर बचेको निधार नखानु । तारिएका वा भुटिएका कुरा दिउँस नखानु । तिल हालिएका कुरा, दही र जौका परिकार रातमा नखानु । कोइरालो, वर र पीपलका मुना र भाङको साग नखानु । अरूलाई नखुवाई वा होम नगरी नखानु । सुक्खा हात, गोडा र मुख लिएर नखानु ।

खाएको जुठो अवस्थामा–घिउ नखानु, चन्द्रतारा नहेर्नु, टाउको नछुनु, शास्त्र नपढ्नु । पूर्व वा दक्षिण फर्केर खानु । अन्नलाई सम्मान गरेर खानु । फूलको माला वा चन्दनादि लगाएर दाना खानु । दही, मह, घिउ, दूध, सातु, मासु र मिठाइबाहेक अरू कुरा चाटीचुटी पारेर नखानु केही अंश छोड्नु । पत्नीसँगै, खुल्ला आकाशमुनि, उभिएर, भोकाएका धेरै व्यक्तिले देखिँदा र धेरैले खाएको एउटा भोकोले हेरिरहँदा नखानु । कोही नभएको सुनसान घरमा, पवित्र अग्निलाई संरक्षण गरिएको घरमा र मठमन्दिरमा बसेर नखानु । अँजुलीमा थापेर वा अँजुलीले उभाएर नपिउनु ।

उकुसमुकुस हुने गरी नखानु । नित्य खाइने दुईपटकको खानाभन्दा बढी तेस्रोपटक कुनै पनि अवस्थामा खाना नखानु । नपच्ने वा पचाउन कठिन हुने खानेकुरा नखानु । अति सबेरै र अति अबेर नखानु । बिहान खाएको खानाले अघाएको महसुस भए बेलुकीको खाना नखानु ।

अशुद्ध भाव (खराब नियत) ले दिइएको र खराब भाँडाको प्रयोग भएको खाना नखानु । सुतीसुती, जमिनमा खुट्टा नराखी वा उचाली र कसिएको लुगा लगाएर खाना नखानु ।

बच्चाको पेट फुल्ने समस्याका बारेमा

रोगको पहिचान नभए वा अरू कुनै रोगका कारण यस्तो भएको हो भन्ने थाहा नपाइए जान्ने वैद्यको सल्लाह लिनु । म भावप्रकाशमा लेखिएका केही कुरा सेयर गर्न लागिरहेको छु । हुन त त्रिफला चूर्ण नै खुवाउँदा वेश हुन्छ किनकि यी तीनवटा (हर्रो, बर्रो अमलाको मिश्रण) मै समान खालका गुण हुने कुरा लेखिएको छ । तर यो ताजा हुनुपर्दछ । नभए तीनै थोक आफैँले जम्मा गरी समान मात्रामा सुकाएर पिसी तयार गर्न पनि सकिन्छ । होइन भने हर्रोलाई मात्र पनि प्रयोग गर्न सकिन्छ ।

«जुन हर्रो नयाँ, चिल्लो, पुष्ट (घना), गोलो र गह्रौं हुन्छ अनि पानीमा हाल्दा डुब्दछ त्यही हर्रो नै उत्तम र गुणी हर्रो हुन्छ । यी गुण भएको र जोख्दा दुई तोला हुने हर्रो नै उत्तम हर्रो हुन्छ भनी बताइएको छ । चुसेर खाए पाचन शक्ति बढाउँछ । लेदो (पेस्ट) बनाएर खाए आन्द्रामा भएको मल सफा गर्दछ वा दिशा खुलाउँदछ । उमालेर वा बफ्याएर खाए यसले खाएको कुराबाट पौष्टिकतत्व लिने शरीरको क्षमता बढाउँछ वा दिशा बन्द गराउँदछ । भुटेर खाए यसले त्रिदोष (कफ, वात र पित्त) लाई सन्तुलित बनाउँदछ । खानासँगै हर्रो खाँदा बुद्धि, बल र इन्द्रियलाई लाभ गर्दछ, वात–पित्त–कफ नष्ट गर्दछ, मत्रमूत्रसम्बन्धी विकारलाई शरीरबाट बाहिर निकाल्दछ । खाना खाएपछि खाइएको हर्रोले गलत खानपिनका कारण हुने त्रिदोषका, विकारलाई तुरुन्त हटाउँछ । खानपिन गरेपछि (नियमितरूपमा) हर्रो खाए खानपिनका कारण हुने वात, पित्त र कफका दोष वा खाद्य कैफियत (फुड प्वाइजनिङ) लाई निर्मूल गर्दछ ।


हर्रोलाई नुनसँग मिसाएर खाए कफ (खोकी) ठीक गर्दछ । चिनीसँग मिसाएर खाए पित्त (मुखबाट अमिलो पानी आउने, पेट पोल्ने आदि पित्तजन्य रोगहरू) ठीक गर्दछ । घिउसँग मिसाएर खाए वात (अमिलो डकार आउने, हावा भरिएर पेटफुल्ने आदि) ठीक गर्दछ । सखरसँग खाए सबै रोग नष्ट गर्दछ । जो रस प्रयोजनका लागि हर्रो खान चाहन्छन् तिनले हर्रोलाई वर्षा ऋतुमा सिधेनुनसँग, शरदऋतुमा चिनीसँग, हेमन्तऋतुमा सुठोसँग, शिशिर ऋतुमा पिप्लासँग, वसन्तऋतुमा महसँग र ग्रिष्मऋतुमा सखरसँग खानु पर्दछ ।

हिँडेर वा परिश्रमले थाकेको बेलामा, कमजोर अवस्थामा, शरीर सुक्खा भएको बेलामा, लामो समय उपवास बसेको बेलामा, पित्त धेरै बढेको अवस्थामा (कमलपित्त आदि भएको अवस्थामा), गर्भिणी अवस्थामा तथा रगत बहाएर उपचार गरिरहिएको अवस्थामा वा यस्तो उपचारपछि वा शरीरबाट रगत भिकिएपछि तुरुन्त हर्रो नखानु ।

यी कुरा आयुर्वेदलाई पृथ्वीमा लेराउने क्रममा विभिन्न पुस्तकमा बताइएका कुराबाट अलिकति निचोरेर पस्केको हुँ । त्यतिबेला पृथ्वीभर अनेक महामारी फैलिई पशु, मानिस र चरा मरिरहेको कुरा उल्लेख गरिएको छ । भगवान् शिवबाट इन्द्रले, इन्द्रबाट अश्विनी कुमार, भरद्वाज आदिले र तिनबाट चरक, सुश्रुत, बाग्भट आदिले आयुर्वेदलाई पृथ्वीमा फिँजाएका विवरण छन् ।

प्रतिक्रिया