नारी अधिकार, स्वतन्त्रता र पूर्वीय दर्शन

मोहनप्रसाद सापकोटा

आइमाई, महिला, स्त्री, नारी, स्वास्नीमान्छे वा अरू कुनै सम्बोधनका शब्दलाई लिएर समाजमा बेलाबेलामा अनावश्यक बहस चल्ने गर्दछन् । कतै कुनै कालखण्डमा कुनै शब्दले सम्बोधन गरिएकी पात्राले नराम्रो काम गरिदिन्छिन् अनि एकल नाताको अर्थमा संकुचित बनाएर हामी सम्बोधनका शब्दलाई लिएर अनावश्यक बहस गर्न थाल्दछौँ । महिला भन्नुहुन्न, आइमाई भन्नुहुन्न, स्वास्नीमान्छे भन्नुहुन्न, होच्याएको हुन्छ भनेर तर्कवितर्क गर्न थाल्दछौँ । पुरुष शब्दमा यस्तोे विवाद त्यति सुनिन्न ।

नजिकै मरेको मान्छे पनि गनाएपछि मात्र थाहा पाउने खालको अव्यवस्थित सहरीकरण, गलत कुरा मनमा खेल्न पाउने खालका पारिवारिक वातावरण, हामीले आँखा चिम्लेर खाइपिइरहेका कृत्रिम कुराहरू, कर्तव्य बोध नभएको समाजमा अन्धाधुन्ध तरिकाले हुलिएका बोकाको मुखमा कुभिण्डो जस्ता अधिकार र स्वतन्त्रता, हाम्रो शिक्षा प्रणाली, हाम्रो विवेकशून्य अन्धभक्ति, अर्थप्रधान सोच आदिलाई एकै ठाउँमा राखेर विश्लेषण नगरी यौनजन्य विकृतिको निराकरण गर्न खोजेर केही उपलब्धी पाइन्न भन्ने मलाई लाग्दछ । नारीहरूले पनि पति, पिता र पुत्रबाट स्वतन्त्र भई राज्यबाट मात्र संरक्षण खोज्न हुन्न, पाउन सकिन्न भन्ने मेरो धारणा छ ।

अब यी शब्दका नालीबेली केलाउँ । आइमाई शब्द संस्कृत शब्द आर्यमाताबाट नेपालीमा प्रवेश भई अपभ्रंश भएको शब्द हो । माताको अर्थ लेखिरहन परेन । आर्यको अर्थ पूज्य, श्रेष्ठ, बुद्ध, भनी शब्लकल्पद्रूमले र स्वामी, गुरु, सुहृद्, श्रेष्ठकुलमा उत्पन्न, पूज्य, श्रेष्ठ, मान्य, उदारचरित्रको, शान्तचित्तको भनेर वाचस्पत्यंले अर्थ दिएका छन् । यस्ता सन्तान जन्माउने वर्गलाई आर्यमाता भनी सम्बोधन गरिन्थ्यो । नेपालीमा आइपुग्दा आर्यमाता शब्द आइमाई बन्न पुग्यो । आइमाईको अर्थ स्वास्नीमान्छे, नारीजाति, महिला भनेर नेपाली शब्दकोशले लेखेको छ । नारी शब्दको मुख्य अर्थ ‘नरधर्म आचरणले युक्त भएकी’ भन्ने हुन्छ । यसका पर्यायवाची शब्दमा स्त्री, योषित्, अबला, योषा, सीमन्तिनी, वधू, प्रदीपदर्शिनी, वामा, वनिता, महिला, प्रिया, रामा, जनि÷नी, योषिता, जोषित्, जोषा, जोषिता, धनिका, महेलिका, महेला, शव्र्वरी, सिन्दूरतिलका र सुभ्रू भनेर दिइएको छ । अब सम्बोधनका शब्दलाई धेर केलाउनतिर नलागी मूल विषयतिर प्रवेश गर्न चाहेँ । स्वास्नीमान्छे र महिला शब्दले अलि संकृचित खालका र अनेकार्थीसमेत भएका हुनाले विवादमा परेका हुन सक्छन् । प्रयोगकर्ताको ध्येयमा देखिने खोटले पनि यि शब्दहरू विवादमा परेका हुन सक्छन् ।

नजिकिँदै गरेको नारी दिवसको अवसरमा पूर्वीय दर्शनका केही कुरा राख्न अनुमति चाहन्छु । नारीको सृष्टि सृष्टिकै लागि भएको हो भन्ने कुरामा सम्पूर्ण पूर्वीय दर्शन एकमत छ । पुरुषबाट मात्र सबै युगमा सृष्टिको क्रम बढाउन नसकेपछि प्रकृतिको सृष्टि भएको हो । प्रकृति शब्दले यो ब्रह्माण्डमा भएका सबै चलअचल स्त्रीभावलाई बुझाउँछ । प्रकृति शब्दको एउटा प्रमुख अर्थ दुर्गा हो र दुर्गा शब्दले चराचर जगतको स्त्रीभावको प्रतिनिधित्व गर्दछ । प्रकृतिको स्त्रीभावमा माया, मोह, शक्ति, सहनशीलता, धैर्यता, भ्रम आदि समावेश भएका हुन्छन् । त्यसैले प्रकृतिकै एक अंग भएका कारण नारीहरूमा स्वभावतः यी गुण हुने गर्दछन् ।

नारी अर्थात् प्रकृति अर्थात् पृथ्वी अब यसरी बुझौँ । यही पृथ्वीबाट अणुबम जन्मिए, जीवनका लागि अनिवार्य जल र अन्न पनि यही पृथ्वीले दिइरहेकी छिन् । बेलाबेलामा अतिक्रमणका कारण सन्तुलन बिग्रन्छ अनि पृथ्वी आफैँले त्यो सन्तुलन मिलाउँछिन् । जसरी शुद्ध जल, पौष्टिक अन्न, फलफूल आदिका लागि जमिनको शुद्धता (उर्वरता) अनीवार्य सर्त हुने गर्दछ त्यसरी नै सृष्टिको शुद्धताका लागि नारीमा शुद्धता (उर्वरता) अनिवार्य सर्त हुने गर्दछ । यसैले नारीलाई कतै फुक्र्याइएको छ, कतै फकाइएको छ, कतै घुक्र्याइएको छ त कतै दण्डित गरिएको छ । लथालिंग छोड्दा जमिनले गुणस्तरीय उब्जनी दिन छोड्दछ । त्यसबेला हामीसँग तीन वटा मात्र विकल्प बाँकी रहन्छन् । कि रोपेको जे जस्तो फल्छ वा नाभो उम्रन्छ त्यही खाएर बाँच्न अभ्यस्त हुनु प¥यो कि अरूलाई मारेर त्यसको मासु खाएर बाँच्नु प¥यो ।

तेस्रो विकल्प भनेको भोकभोकै मर्नु मात्र बाँकी रहन्छ । प्रकृतिको एउटा गुण जड पनि भएकोले यसलाई चलायमान बनाउन जीवहरूले खनीखोस्री गरिरहेका हुन्छन् । प्रकृतिकै एक अंश भएका कारण नारीहरूलाई पनि खनीखोस्री गरिरहनु पर्दछ, यो तीतो सत्य हो । जसरी पृथ्वीले धर्म छाड्दा जीवको अस्तित्व समाप्त हुन्छ त्यसरी नै नारीले धर्म छाड्दा सृष्टिको अस्तित्व समाप्त हुन्छ । जसरी प्रकृति स्वनियन्त्रणमा हुन्छिन्, अतिक्रमण सहन नसके विरोधमा उत्रिन्छन् र अतिक्रमणकारीको सर्वनाश गर्दछिन् त्यसरी नै नारीहरूले पनि स्वनियन्त्रण (सेल्फ रेगुलेसन, सेल्फ कन्ट्रोल) मा बस्नु पर्दछ । अधिकार र स्वतन्त्रतामा रमाउन खोज्दा नारीहरूले म प्रकृति पनि हुँ, मेरो पूरै सृष्टिप्रति पनि जवाफदेहिता छ भन्ने कुरा भुल्नु हुँदैन । चाहे पुरुष होस् वा प्रकृति (नारी) मर्यादामा बसेन भने आफैँ दण्डित हुन्छन् । पृथ्वीभर घटिरहेका घटनाहरूले यसलाई प्रमाणित गरिरहेका छन् ।

नारी स्वतन्त्रता

कोही प्राचीन कालमा अथवा भनौँ पुराण लेखिएको समयमा नारीहरू स्वतन्त्र थिएनन् भन्छन्, हामी तिनले दिएका केही उदाहरण जो सर्वसुलभ हुन्छन् र हामी आफैँले पनि पढेका सुनेका हुन्छौँ, हो त्यसैका आधारमा तिनका कुरा पत्याइदिन्छौँ । तर साँच्चिकै भनौँ म जबजब पुराणहरू गहिरोसँग पढ्दै जान्छु यी आरोप सही भएको पाउँदिनँ । देवी भागवतकै एउटा पात्रको संक्षेपमा चर्चा गर्न चाहन्छु ।
हालको श्रीलंकामा कुनै बेला चन्द्रसेन नाम गरेका राजा राज्य गर्दा रहेछन् । उनकी मन्दोदरी नामकी अती सुन्दरी छोरी रहिछन् । तत्कालीन समयअनुसार उमेर भएपछि राजाले एक जना योग्य राजकुमारलाई आफ्नी छोरी बिहे गरेर दिन खोजेछन् । राजाले यो कुरा रानीलाई भनेका थिए । रानीले छोरीलाई सुनाइछिन् । छोरी मन्दोदरीले भनिछन् ‘म कसैलाई पति बनाउन चाहन्न । मलाई बिहे गर्न इच्छा छैन । म आजीवन स्वतन्त्ररूपमा कुमारी भएर बस्छु । म परतन्त्र स्वीकार्दिनँ । आमा संसारमा स्वतन्त्रता सुखदायक र परतन्त्रता दुःखदायक हुन्छ । स्वतन्त्र हुनु भनेकै मोक्ष हुनु हो भनेर मुनिजनले भनेका पनि छन् । विवाहमा अग्निलाई साछी राखी ‘म सधैँ तिम्रो अधिनमा हुन्छु’ भन्नुपर्दछ, म यो चाहन्नँ । बिहे गरेर पतिका घरमा गयो ससुरादेखि देवर लगायतको दास भएर बस्नुपर्दछ । पतिको मनको कुरा बुझी त्यसलाई पछ्याउनुजस्तो दुःख अरू केही हुनै सक्दैन । यति गर्दा पनि पतिको माया पाइन्छ नै भन्ने प्रत्याभूति हुन्न । छिसिक्क केही भए उसले सौता लेराइ दिन सक्छ । त्यसपछि त झन् दुःखको कुरै नगरौँ । बच्चा जन्माउन दुःख, तिनलाई पाल्न हुर्काउन दुःख, लोग्ने बिते अर्को दुःख, बच्चा नभए लोकको टोकसोको दुःख, जतिखेर पनि दुःखैदुःख । त्यसैले आमा म बिहे गर्दिनँ ।’

छोरीको कुरा रानीले राजालाई सुनाए । राजाले छोरीको विवाहप्रतिको उदासीनता देखी उनको बलजफ्ती बिहे नगरीदिने निर्णय गरे । पुराणमा महिषासुर दानवले देवीलाई देवीले सोधेपछि यो कथा सुनाएको छ ।

नारद संहितामा एउटा फरक प्रसंग आउँछ । त्यहाँ भनिएको छ प्रकृतिप्रदत्त कर्म गर्दिनँ भन्नु स्वतन्त्रता होइन । सूर्यले म तातो फाल्दिनँ भन्दा दण्डित भएका छन् । पृथ्वीले म अन्न उब्जाउन्न खनिज दिन्नभन्दा दण्डित हुनु परेको छ । स्वगुण त्याग्नुलाई स्वतन्त्रता मानि दिने हो भने संसारको गति तुरुन्त बन्द हुन्छ । राजा बेनबाट क्लोनिङ गरेर पृथुलाई जन्माउँदा पनि यही विवाद भएको थियो । पुरुषबाट सोझै सन्तान जन्माउन हुने वा नहुने भनेर लामो बहस भएको थियो । यसबाट नारीको अधिकार हनन् हुन्छ भनेर विवाद भएको थियो । अन्तमा यो एकपटकलाई जन्माउने र भविष्यमा यो कर्मलाई नजीरकारूपमा लिन नपाउने गरी पृथुलाई जन्माउने सहमति भएको थियो । त्यसबेला पनि सह क्लोनिङबाट अनेक थरी विकृति सहितका मानिसहरू जन्मिएका थिए । पुराणहरूमा यो प्रसंगलाई अर्कै किसिमले व्याख्या गरिएको छ ।

विभिन्न स्मृति र पुराणमा भगवानको मुखबाट निस्केका वचनहरूको सार यस्तो छ । वंशमा कुनै दाग वा खोट हुनु हुन्न यो पहिलो सर्त हो । दाग वा खोट भए त्यसको विधिपूर्वक सबैलाई बताएर नै प्रायश्चित गरिएको हुनुपर्दछ, गुपचुप राख्नु हुन्न, यो दोस्रो सर्त हो । परिवारका हरेक सदस्य नियममा बसेकै हुनुपर्दछ यो तेस्रो सर्त हो । यसरी वंशानुगत शुद्धता कायम रहेको स्थितिमा बाउले, पतिले र पुत्रले गर्ने नारीप्रतिको मायामा कुनै पनि स्वार्थको घुलन भएको हुँदैन । त्यो सम्बन्ध यति पवित्र र शक्तिशाली हुन्छ कि हस्तक्षेप गरेँ भने मैले पनि दण्डित हुनै पर्दछ । त्यसैले हरेक स्त्रीले कन्या हुँदासम्म पिताको, विवाहपछि पतिको र पति नभएको अवस्थामा पुत्रको विश्वास जितेर बस्नु । पिताको अवज्ञा गर्ने कन्या, पतिको अवज्ञा गर्ने स्त्री र पुत्रको अवज्ञा गर्ने एकल महिलाले कहिल्यै दीगो सुख प्राप्त गर्न सक्ने छैनन् । जबसम्म यी तीनको विश्वास कायम रहन्छ तबसम्म दुनियाँले जतिसुकै अविश्वास गरे पनि केही लछारपाटो लाउन सक्दैनन् । जबसम्म नारी यी तीनको संरक्षणमा रहन्छे तबसम्म संरक्षणका लागि कसैको मुख ताक्नु पर्दैन, मेरो पनि पर्दैन । जब यी तीन अवस्थामा तीन जनाको नजरमा कुनै नारी अविश्वसनीय हुन्छे तब स्वयं ईश्वरले पनि तिनलाई विश्वास गर्ने छैनन् । द्रौपदीलाई मैले यसकारण संरक्षण गर्नुपरेको थियो कि कुलतमा (जुवा) फसेका कारण उनका पतिहरूले उनको संरक्षण गर्न सकेनन् । नातामा वा सम्बन्धमा खोट छ तर भक्तको मनमा पाप छैन भने जसले जतिखेर जसरी सम्झे पनि म हाजिर हुने गर्दछु । अन्यथा यी सबै नातामा अदृश्यरूपले मै उपस्थित रहिरहेको हुन्छु भनेर सम्झनु ।
शिक्षाको विभेद
अथर्व वेदको एउटा मन्त्रांशमा भनिएको छ ‘पुरन्धिर्योषा’ । मन्त्रमा राजाबाट देवतासँग विभिन्न कुराको माग गरिएको छ । ‘मेरा राज्यमा विद्वान स्त्री होउन्’ भन्ने अर्थ उल्लिखित मन्त्रांशको देखिन्छ । हुन त आधुनिक समयमा विद्वान शब्द सहिदजस्तै लावारिश भएको छ, जसले लगेर पाले पनि हुने भएको छ । तै पनि नारी शिक्षालाई लिएर अनेक थरी बहस चल्छन् र सनातन धर्मलाई पक्षपात गरेको आरोप लगाउँछन् । वेदको उपरोक्त वचनले पढ्दै नपढी स्त्रीजति त्यत्तिकै विद्वान होउन् भनेर माग गरेको होला र ?

नारी अस्मिता र पूर्वीय दर्शन

कानुन बनाउने निकायमा बालिका बलात्कारमा र अन्य नारी हिंसामा संलग्न हुने पुरुषलाई कठोरतम सजायँ दिनुपर्दछ भनेर छलफल भएको जानकारीमा आयो एकातिर भने अर्कातिर अरू कुराको विकास सँगसँगै यौन अपराधको विकास हुन अझै धेरै बाँकी छ भन्ने किसिमका आधिकारिक धारणाहरू पनि सँगसँगै बाहिरिए ।

विश्वभरका महिला यौनजन्य अपराधबाट पीडित छन् । यो विश्वव्यापी समस्या बनिरहेको छ । के भनिएको छ त पुराण, स्मृति आदि पूर्वीय दर्शनमा यस सम्बन्धमा केही सार संक्षेप केलाउन चाहेँ ।

आत्मसंयमता नभएको समाजमा स्वतन्त्रता अभिशाप हुन्छ । मैले गरेको क्रियाकलापले अरूलाई असर गर्दछ कि गर्दैन भनेर ख्याल नगर्ने समाजमा गरिएको विकास स्थिर हुँदैन । नारी माथि भइरहेको अन्यायका कुरा गर्दा यी मूल कुरालाई सबभन्दा पहिला ध्यान दिन जरुरी हुन्छ ।
मानिस आफैँ मानव पनि हो दानव पनि हो । आफू बसेको भूगोलको संस्कार, संस्कृति, परम्परा र शास्त्रीय ज्ञानले मानवको दानवीय भावलाई दबाएर मानवीय भावलाई सतहमा लेराउने काम गरिरहेको हुन्छ । धर्म, पाप, लोकलज्जा, इज्जत, कुल र कानुनको डरले दानवीय भावना दबिरहेको हुन्छ । जब स्वतन्त्रता र अधिकारको यी कुरालाई प्रतिस्थापन गर्ने किसिमले व्याख्या हुन थाल्दछ तब समाजमा दानवीय भाव उजागर हुन थाल्दछ नै । धर्मान्तरण समस्या हुँदैन तर धर्म र अर्थलाई पर्यायवाची बनाइए पछि समस्या हुन्छ । धर्म मान्नु समस्या होइन धर्म मानी दिनु समस्या हो ।

नारीलाई कतै अग्नि त कतै भूमिकारूपमा व्याख्या गरिएको छ । अग्निमा आफू नजिक जे आउँदछ वा पर्दछ त्यसलाई डढाउने वा पगाल्ने गुण हुन्छ । यसैगरी भूमिमा जेजसरी जेको बिउ परे पनि त्यसलाई उमार्ने गुण हुन्छ । आफूमा भएका यी ईश्वरप्रदत्त प्राकृतिक गुणलाई नारीले कहिल्यै भुल्नु हुन्न ।
मानिसलाई असल कुरा सिक्न विशेष प्रयास गर्नुपर्दछ भने खराब कुरा सिक्न सहज हुन्छ । म सामाजिक सञ्जालबाट हामीले लिइरहेका ज्ञानबाट पटकपटक विचलित हुने गर्दछु । हामी विश्वले जेजति प्रगति गरिरहेको छ त्यसको कारण अमुक जनावरको मासुमा, अमुक शैलीको जीवनस्तरमा र अमुक शैलीको स्वतन्त्रतामा देखिरहेका हुन्छौँ । विकसित देशमा त यस्ता गतिविधि हरेक परिवार र समाजमा व्यापकरूपमा हुन्छन्, त्यसैले पो ती विकसित छन् नि भन्ने भ्रमले हामीलाई गाँजेको हुन्छ । यसमा पाँच प्रतिशत पनि सत्यता छैन त्यसैले म यसलाई दिमागको तस्करी भन्न रुचाउँदछु ।
प्रायः सबै ग्रन्थमा स्त्रीलाई बाल्यकालमा पिताले, युवावस्थामा पतिले र वृद्धावस्थामा छोराले हेरचाह र संरक्षण गर्नु भनेर आदेश दिएको पाइन्छ । जीवनका सबै अवस्थामा ढुक्क हुने यस्तो व्यवस्थामा नारीले स्वतन्त्र हुन आवश्यकता नै पर्दैन । मन लागे उत्पादन गर्नु र मन नलागे उत्पादन नगर्नु भूमिको स्वतन्त्रता हो । मन लागे जलाउनु र मन नलागे नजलाउनु अग्निको स्वतन्त्रता हो । भूमि र अग्निले साँच्चिकै स्वतन्त्र हुन खोजे के हुन्छ होला ? हामी स्वतन्त्रता र अधिकारलाई गलत ढंगले व्याख्या गरिरहेका छौँ । जब बाल्यकालमा बाबाट, तरुनो हुँदा पतिबाट र बूढी हुँदा छोराछोरीबाट संरक्षित हुन पर्दैन नारीले भनिन्छ र यसलाई स्वतन्त्रता हननल भएको रुपमा अर्थ लगाइन्छ तब बाउ, पति र छोराहरू पनि नारीको संरक्षण गर्ने जिम्मेवारीबाट पन्छिन थाल्दछन् ।

स्त्री र पुरुष दुबैलाई शास्त्रमा लक्ष्मण रेखा कोरिएका छन् । लक्ष्मण रेखाको महत्व महाभारतका अम्बा, अम्बिका, अम्बालिका, कुन्ती र द्रौपदी तथा रामायणका कैकेयी, मन्थरा, शुर्पणखा र सीताबाट बुझ्न आवश्यक हुन्छ । सृष्टिको आदिकालदेखि नै मानिसमा यौनजन्य विकृति र अपराध हुने गरेको पाइन्छ । उपनिषदकालसम्म छिटपुट घटना बाहेक स्त्रीपुरुषको सम्बन्धमा त्यति विकृति विस्तारित भएको देखिन्न । तर जब स्मृति र पौराणिक काल प्रारम्भ भयो तब विविध कारणले यौन अपराध बढेको देखिन्छ । त्यसैले प्रायः सबै स्मृति र पुराणहरूमा यस विषयले स्थान पाएका छन् । मैले यसका विभिन्न कारण देखेको छु ।

पहिलो कारण लवाइखवाईमा आएको परिवर्तन देखिएको छ । पहिले अल्प मांशाहारी भएका मानिस यस युगमा आएपछि बढी मांसाहारी हुन थाले । जमिनबाट वा अन्य तरिकाले जानीनजानी उत्तेजक पदार्थहरू बढी उत्पादन गरी अन्धाधुन्ध खानपिउन थालिए । अनेकथरी वस्त्र र आभूषण लगाई अरूलाई आकर्षित गर्न गराउन थालियो । यसले यौन उत्तेजना बढायो र यौन अपराध बढे । पछि खानेपिउने र लगाउने सम्बन्धमा अनेकौँ नियमहरू बनाइए ।

संकलनका विवरण अध्ययन गर्दा दोस्रो कारण जीविकोपार्जनका लागि लामो समय पतिपत्नी छुट्टिएर बस्नुपर्ने बाध्यता बढ्दै जानु देखिएको छ । आवश्यकता बढ्दै गएपछि स्थानीय स्रोतसाधनले त्यसको पूर्ति गर्न सम्भव हुँदैनथ्यो त्यसैले प्रायः पुरुषहरू लामो समयसम्म देशदेशान्तर गएर धन कमाउन थाले । लामोसमयसम्म पतिपत्नी सँगै नबस्दा यौन अपराध बढ्न थाले । यसपछि जातभातको आधुनिक रूप, वर्णसंकरका नियम, पतिपत्नि छुट्टिने समय, सम्बन्धविच्छेद आदिजस्ता अनेक नियमहरू बनाइए ।

तेस्रोे कारणमा त्यतिखेर बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई देखेको छु । यस सम्बन्धमा मेरो अध्ययनले तत्कालीन समाजका दुइटा अहं कुरा पहिल्याएको छ । पहिलो कुरा यस्तो छ, यौनसम्बन्धी सामाजिक मर्यादाको उल्लंघन गरेपछि मानिसलाई त्यो ठाउँ छोड्न बाध्य बनाइन्थ्यो । ऊ यही मानसिक रोग नै लिएर अर्को समाजमा पुग्दथ्यो र त्यहाँ फेरी रोग फैलाउँदथ्यो । फेरी त्यस समाजबाट निष्काशित हुन्थ्यो र अर्को समाजमा पुग्दथ्यो । समान औकात वा विरादरीको खुल्ला समाजमा अपराध गर्ने वातावरण कम हुन्छ । वरिपरि दाजुभाई वा आफन्त भए स्वस्फूर्तरूपमा एकअर्काको निगरानी र नियन्त्रण भइरहेको हुन्छ । तर जब एकअर्कालाई कुनै कुरामा पनि वास्ता नगर्ने सहर बन्दछ तब अपराधी मनोवृत्तिलाई चल्नेखेल्ने वातावरण सहज हुन्छ । किनकी व्यक्तिको दैनिक तालिकाको अनुगमन गर्ने कोही पनि हुँदैन ।

चौथो कारण त्यतिखेर हुने पुरुषहरूको अत्यधिक मृत्युदर थियो । ससाना राज्य भएकाले पुरुषहरूको अधिकांश समय युद्धमा वित्दथ्यो । युद्धमा धेरै पुरुष मारिन्थे र तिनका पत्नी विधवा हुन पुग्दथे । यसबाट यौनजन्य दुराचारमा वृद्धि हुन्थ्यो । पुरुषले महिलालाई जिभ्रोको स्वाद जसरी प्रयोग गर्ने प्रचलन त्यसबेला यौन अपराध बढ्नुको अर्को कारण देखिन्छ । महाभारतकालमा समेत यसको दृष्टान्त पाइन्छ । वाणासुरले हरण गरेर थुपारेका हजारौँ स्त्री बन्दीलाई कृष्णले छुटाई समाज तहसनहस नहोस् भनी आफैँले बिहे गरेको प्रसंग भेटिन्छ ।

यसपछि समाजमा बढ्दै गएको यौन अपराध नियन्त्रण गर्न अपराधको प्रकृति हेरी कठोर दण्डका व्यवस्था गरिए । तातो फलामलाई अँगालो हाल्न लगाउने, गुप्तांग काटी दिने, मृत्युदण्ड दिने, डामेर देश निकाला गर्ने आदि जस्ता अनेकौँ सजायका प्रावधानका व्यवस्था गरिए ।

यी प्रावधानले पनि यौन अपराधमा कमी आए । तर पनि शास्त्रले निचोडमा भन्दछ कि इन्द्रियनिग्रह नै सबै समस्याको निराकरण हो । मानिसले सानै उमेरदेखि इन्द्रियलाई वशमा पार्न सिक्नु सिकाउनु । सोच्ने शैलीमा अपराधले प्रवेश गर्न नपाओस् भन्नेतर्फ सबै सचेत हुनु ।

यौनमा चर्ने बानी खराब हो । पति होस् वा पत्नी स्वेच्छाले एकबाट दुई हुनासाथ त्यो सकियो । बाध्यात्मक यौन सम्पर्कलाई शास्त्रले छुट दिएको छ । जसरी आहार र निद्रा मानिसका लागि स्वाभाविक हुन् त्यसैगरी मैथुन पनि स्वाभाविक हो । जसरी आहार र निद्रालाई व्यवस्थित गरी उपभोग गर्नु पर्दछ त्यसैगरी मैथुनलाई पनि उपभोग गर्नु पर्दछ ।

यही सोचले मैथुनमा पति र पत्नी बीचमा अधिकतम सन्तुष्टि नहुनु नै अनेक थरी रोग र सामाजिक विकृतिका कारण हुन् भन्ने सोची तत्कालीन समाजका अगुवाहरूले त्यसपछि वेद एवं उपनिषदमै भएका यौनसन्तुष्टिका उपायहरूलाई जनस्तरमा बुझिने गरी व्याख्या गर्दै कामशास्त्रहरू लेखी दिए, अनि मर्यादित रूपले वेश्यालयहरू पनि खोलिए ।

अहिले भइरहेका यौन अपराधहरूलाई यी सबै कुरासँग भिडाइ समाधान खोज्नु उपयुक्त हुन्छ भन्ने मलाई लाग्दछ । हामीले बालविवाहको विरोध गरिरहेका छौँ तर त्यो विरोध एकांकी छ । शास्त्रमा विवाह सानै उमेरमा गरिए पनि सन्तान जन्माउने उमेर वैज्ञानिक ढंगले नै तोकिएको पाइन्छ । कुनै दिन बालविवाह पनि वैज्ञानिक रहेछ भन्ने समय आउला । मैले बालविवाहको समर्थन गर्न खोजेको होइन किन कि यसको जवाफ मैले चित्तबुझ्दो पाइसकेको छैन । तर मैले जेजति अध्ययन गर्न सकिरहेको छु त्यसका आधारमा बिनाकारण कुनै पनि प्रचलन चलाइएको छैन भन्ने कुरामा भने म विश्वस्त छु ।

अहिले पनि,

नजिकै मरेको मान्छे पनि गनाएपछि मात्र थाहा पाउने खालको अव्यवस्थित सहरीकरण, गलत कुरा मनमा खेल्न पाउने खालका पारिवारिक वातावरण, हामीले आँखा चिम्लेर खाइपिइरहेका कृत्रिम कुराहरू, कर्तव्य बोध नभएको समाजमा अन्धाधुन्ध तरिकाले हुलिएका बोकाको मुखमा कुभिण्डो जस्ता अधिकार र स्वतन्त्रता, हाम्रो शिक्षा प्रणाली, हाम्रो विवेकशून्य अन्धभक्ति, अर्थप्रधान सोच आदिलाई एकै ठाउँमा राखेर विश्लेषण नगरी यौनजन्य विकृतिको निराकरण गर्न खोजेर केही उपलब्धी पाइन्न भन्ने मलाई लाग्दछ । नारीहरूले पनि पति, पिता र पुत्रबाट स्वतन्त्र भई राज्यबाट मात्र संरक्षण खोज्न हुन्न, पाउन सकिन्न भन्ने मेरो धारणा छ ।

अन्तमा,

तरकारी काट्दाकाट्दै चुलेसीले औँला काटेर दुख्ने दुःखाइ र अकस्मात् कसैले धारिलो हतियारले हिर्काएर औँला काट्दा दुख्ने दुःखाइमा नजानिँदो किसिमको अन्तर हुन्छ । यस्ता कुरा शब्दमा बताएर सकिन्न अनुभवले प्रमाणित गर्ने कुरा हुन् । हामीले नारी दिवस मनाइरहँदा आधा आकाश ओगटेको प्रकृति (नारी) प्रति लोलोपोतो घस्ने खालका परम्परागत वा आधुनिक शब्द खर्च गर्न चाहन्न । सामाजिक मर्यादा, परिवारप्रतिको उत्तरदायित्व र सृष्टिप्रतिको जिम्मेवारीमा कसैले औँला ठड्याउन नपाउने र नसक्ने गरी समाजलाई डो¥याउन नारीहरू नचुकुन् सबैलाई नजिकै आउँदै गरेको नारी दिवसको उपलक्ष्यमा यही शुभकामना दिन चाहेँ ।

प्रतिक्रिया