राजनीति र लाजनीति

विवेक अन्त राख्ने अनि पद भने आफूले ओगटी राजनीति गर्ने वर्तमान राजनीतिक संस्कारबाट देशका लागि योग्य नेताको जन्म हुँदैन, विवेक आफैंसँग राख्ने वातावरण बनाइनु पर्दछ । मानसिक दासतामा प्रतिभा प्रष्फुटन हुँदैन, खुराफाती र तस्करी गर्ने खालका विदेशी दलालहरू मात्र जन्मन पुग्दछन् । नेपालको राजनीति अत्यन्त गोप्य त्रासबाट चलिरहेछ । यो दक्षिणतिरको तीन थरीको दबाब (राजनीतिक, प्रशासन र गुप्तचर), उत्तरतिरको दबाब अनि समुद्रपारीको तीन किसिमको दबाब (राजनैतिक, आर्थिक र धार्मिक) बाट पूरा नेपालीलाई उल्लू बनाउँदै चलिरहेछ । यहाँ तल्लोस्तरका कार्यकर्ताबाहेक अरू कसैमा पनि व्यवस्था, दल, सिद्धान्त र देशप्रति इमानदारीपन छैन । यसैले म मेरो देशको राजनीतिलाई राजनीति होइन तस्करतन्त्र भन्न रुचाउँदछु । तस्करतन्त्रमा अदृश्य डनले जे भन्यो त्यही हुन्छ ।

मोहनप्रसाद सापकोटा

राजनीतिमा यो गर्नु हुन्न, यो गर्न नैतिकताले दिँदैन र यो असम्भव छ भन्न हुँदैन । यसै भएर होला पूर्वीय एवं पश्चिमका धेरै विद्वानहरूले राजनीतिलाई फोहोरी घर उपनाम दिएको पाइन्छ ।

अहिले विश्वभर मतदानमा आधारित राजनीति चलेको छ । मतदानका तरिका र विधि फरक छन् र सबै खाले राजनीति आआफ्ना मतदानका तरिकालाई उत्कृष्ट बताउने गर्दछन् । मतदानमा जनमतको सम्मान हुन्छ भनिन्छ । जित्ने राजनीतिज्ञ आफ्ना मतदाताप्रति उत्तरदाई हुन्छ भनिन्छ । विश्वका धेरै देशका उदाहरणले यो भनाइको पुष्टि पनि गर्दछन् । तर नेपाल र छिमेकी भारतको इतिहास यो भनाइलाई सही सावित गर्न चुक्ने गरेको पाइन्छ ।

पञ्चायत कालदेखिकै नेपालको राजनीतिक इतिहास केलाउने हो भने पनि यसमा आंशिक सत्यता छ भन्ने आधार देखिन्छ । आआफ्ना मतदातालाई छानीछानी त्यो पनि चुनावका बेलामा केही दिएर मत किन्ने परिपाटी हामीलाई नौलो लाग्दैन । पशुपति शमशेरले सिन्धुपाल्चोकबाट, सूर्य बहादुर थापाले धनकुटाबाट, लोकेन्द्र बहादुर चन्दले बैतडीबाट, डा.प्रकाशचन्द्र लोहनीले नुवाकोटबाट हेमबहादुर मल्ल (शेरे धनुषा) ले धनुषाबाट झण्डै सधैँ नै जितिरहे । यस्ता अरू पनि थुप्रै थुप्रै थिए । कोही दसैँ खर्च बाँड्थे, कोही घुम्न काठमाडौं आउँदाजाँदाको भाडा दिन्थे, कसैले कसैका बच्चाबच्चीलाई कतैकतै जागिर खुवाउँथे । राज्यको ढुकुटी (बजेट) विकासका नाममा आआफ्ना क्षेत्रमा लैजान्थे र १० प्रतिशत काम गरेर ९० प्रतिशत खान्थे । पञ्चायत कालभरी तत्तत् जिल्लामा गएका बजेट रकम हेर्दा हुन्छ मलाई कसैप्रति पूर्वाग्रह राखेर केही लेख्नु छैन । कोही चुनावताका पैसा बाँड्थे त कोही खसी राँगा काटेर रातारात मत आफूतिर सोहोर्थे, यो अनुभवको कुरा हो, धेरैलाई थाहा छ, झूट बोल्यो भन्ने हुती यो इतिहास भोग्नेजति कसैसँग पनि छैन । नयाँ पुस्तालाई कथाजस्तो लाग्न सक्छ ।

नयाँ परिवर्तन भए, तर यो गलत राजनीतिक संस्कारको अन्त भएन । चुनाव क्षेत्रमा खर्च गर्न भनी रकम छुट्याउने चलनले अहिलेसम्म पनि निरन्तरता पाउनु यसैको गतिलो प्रमाण हो । यसबाट के प्रष्ट हुन्छ भने केही गरेर होइन जनतालाई लोभ्याएर वा भुलाएर चुनाव जित्ने परिपाटीले निरन्तरता पाएको छ ।

पञ्चायतकालीन राजनीतिक गलत संस्कारमा बहुदल आएपछि थप विकृतिहरू भित्रिए । दलभित्रको अन्तरकलह, तस्करहरूको अभिच्छा, विदेशीहरूको स्वार्थ त्यसमा सामेल हुन थाल्यो र गलत संस्कार झन् संस्थागत नै बन्न पुग्यो । जनताप्रति उत्तरदायी नहुने जितेका राजनीतिज्ञलाई अर्को पटकको चुनाबमा जनताले हराए पनि सम्बन्धित दलले फेरी कतै कसैलाई बलिको बोको बनाएर वा केही घाँस खुवाएर राजिनामा गर्न लगाई हार्ने राजनीतिज्ञलाई फेरी राजनीतिमा लेराउने चलन चल्यो । यसो गर्नुमा दुई÷तीनवटा कारण देखिएका छन् । पहिलो कारण दलभित्रको अन्तरकलहलाई मत्थर पार्नु रहेको देखिन्छ भने अन्य कारणहरू सतहमा देखिन्नन् । बाहिरभन्दा उसका योग्यताका चर्चा गरिन्छ र ऊ नभए देश डुब्नेसम्मका तर्कहरू बजारमा फिँजाइन्छ । राजा मरेर राज्य अड्किन्न, अड्किएन सबैलाई थाहा छ । तै पनि हामी पत्याइदिन्छौँ । यस भित्रको वास्तविकता तीतो छ । खाने दाउ मिलाउन जान्नेको खोजी भएको हुन्छ र त्यसमा अनुभवीहरू हारे पनि कि फेरी चुनाव गराएर कि मनोनयन गरेर भए पनि माथि तानिन्छन् ।
‘माग्ने हुन राजनीति कसैले गर्दैन’ नेपाली राजनीतिमा अनेकपटक यस्तो सुनिन्छ । सही हो राजनीति गरेर माग्ने हुनु पर्दछ कसले पो भन्दछ र ! तर, माग्ने करोडपति हुन राजनीतिलाई प्रयोग गर्ने देश भने विश्वमा विरलै छन् र त्यसभित्र नेपाल पनि पर्दछ । ककसको औकात के थियो र अहिले कस्तो छ कसैले बताउन पर्दैन, देखिरहेका छौँ । जनतालाई भेडा भन्ठान्छ, हामी छौँ पनि भेडै, जब चुनाव आउँछ ऊ गोठालो बनेर हामीलाई चराउन लैजान्छ, हामी घाँस खान पाएपछि मक्ख पर्ने गर्दछौँ ।

परिवर्तनका संवाहकहरू वेदागी हुनै सक्दैनन् । त्यसैले विश्वमा जहाँजहाँ जहिले जहिले परिवर्तनहरू भए त्यहाँत्यहाँका परिवर्तनका संवाहकहरूले नयाँ पुस्तालाई परिवर्तन बोकेर लैजाने जिम्मा दिए । यसले परिवर्तन दागलाग्नबाट जोगियो, संवाहकहरूको मानमर्यादामा पनि कमी आएन । हामी कहाँ भने ४०÷५० वर्षअगाडि जो जो व्यक्ति पदका लागि मरिहत्ते गरिरहेका देखिन्थे ती व्यक्ति अहिले पनि पदकै लागि मरिहत्ते गरिरहेका छन् । सिसी फेरियो रक्सी फेरिएन । त्यसैले त देश तल तल र व्यक्तिहरू माथि माथि गइरहेका छन् । भान्छामा बस्ने र त्यहाँ पाकेको खान पाउने बाहेक अरूलाई परिवर्तनको स्वाद ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात’ जस्तो हुने गरेको छ ।

जब परिवर्तन हुन्छ तब त्यसलाई संहाल्ने खुबी परिवर्तनका लागि नेतृत्व गर्नेसँग हुँदैन, नहुन सक्छ । हाम्रा नेताहरू भने सबै खुबी मसँग मात्रै छ भन्ठान्दछन् । त्यसैले त ती मारुनी जसरी नचाइन्छन् । कहिले नौनीमा त कहिले चियामा परेको झिंगाजस्तो बनाइन्छन् । नौनीमा झिंगा परे झिंगा फालिन्छ, चियामा झिंगा परे चिया फालिन्छ । सबै तह र तप्काका राजनीतिज्ञले यो कुरा मनन गरिदिए हुने । तर राजनीतिमा पनि लत र कुलत दुबै हुँदो रहेछ । लत लाग्दासम्म त उपचारका लागि ‘सुधार गृह’ हुन्छ, तर कुलत लागेपछि ‘घाट’ मात्र उपचारको उपाय हुँदो रहेछ । हे देवी (ओ गडेस) यिनलाई एक चञ्चा सद्बुद्धि देऊ ।

राजनीतिक विश्लेषक

अमुक दल वा वादको पृष्ठपोषण मात्र हुने गरी विश्लेषण गर्नेलाई यहाँ राजनीतिक विश्लेषक भन्ने गरिन्छ । ऊ यस्तो तर्क गर्दछ कि उसको आस्थाले मात्र राजनीति गर्दछ । अहिले बजारमा भेटिएका प्रायः सबै तथाकथित विद्वानहरूको कुरा सुन्दा त्यस्तै देखिन्छ । तर मेरा विचारमा राजनीति शास्त्र कुनै वाद विशेषमा बाँधिने शास्त्र नै होइन । यसरी अमुक दलको विषयमा मात्र सोच्ने व्यक्ति अमुक दलको राजनीतिक विश्लेषक हुन सक्दछ समग्र देशको राजनीतिक विश्लेषक हुन सक्दैन ।

मेरो अनुभवमा हामी राजनीतिको सुरुआत गर्दा नै आत्मपरक राजनीतिबाट राजनीति गर्न सुरु गरेका छौँ । अरूका कमजोरी खुइल्याउनुलाई मात्र यहाँ राजनीति गर्नु भन्ने गरिन्छ । फलानो यस्तो यस्तो उस्तो भन्दै उसका गल्ती औँल्याउँदै कुनै व्यवस्था, दल वा व्यक्तिलाई पन्छाएपछि आरोपित भएका व्यक्तिहरू दण्डित हुनुपर्दछ । तब त्यसलाई राजनीति भनिन्छ । तर हाम्रो देशमा विगत ७० वर्षको राजनीति केलाउने हो भने अपवादमा बाहेक मूल आरोपित व्यक्ति दण्डित भएको पाइँदैन ।

यस्तो किन हुन्छ त ? जब हटाइएका र नयाँ दुबैमा इमानदारी र सच्चरित्र हुँदैन तब जनतालाई उल्लू बनाएर यी पालैपालो खाने गर्दछन् । यदि यसो भएन पनि यी कुनै न कुनै विदेशीका दलाल हुन्छन् । त्यसैले यस्ता नाटकहरू बारम्बार दोहोरिने गर्दछन् । विश्वको कुनै यस्तो उदाहरण दिनुहोस् जसमा कसैलाई गम्भीर आरोप लगाएर फालिन्छ र दण्ड नदिई छाडिन्छ । त्यसैले हाम्रो मूल राजनीति कि शतप्रतिशत खराब छ कि शतप्रतिशत विदेशीबाट सञ्चालित छ । यो मेरो राजनीतिक बुझाइ हो ।

अहिले कसैले पनि मूतको न्यानोमा रमाउन वा अरण्यरोदन गर्न जरुरी छैन । अझ गम्भीर खालका समस्या आउनेवाला छन् । अहिले सबैभन्दा विवादमा सबभन्दा सम्माननीय पद परेको छ । यसको सुरुआत कांग्रेसकै पालामा भएको हो । दललाई वा व्यक्तिलाई गुण तिर्न वा अड्कोपड्कोमा तेलको धूप हालेजसरी धूप हाल्न देशको सर्वोच्च पदलाई लिनु हुँदैनथ्यो । श्रद्धाले निहुरिनुपर्ने शिर बाध्यतावश निहुराउन खोजियो, गलत गरियो । यसबाट हाम्रो राजनीतिले आजका मितिसम्म यो पदका लागि योग्य व्यक्ति जन्माउन सकेको रहेनछ भन्ने कुरा प्रष्ट हुँदैन र ?

विवेक अन्त राख्ने अनि पद भने आफूले ओगटी राजनीति गर्ने वर्तमान राजनीतिक संस्कारबाट देशका लागि योग्य नेताको जन्म हुँदैन, विवेक आपैmँसँग राख्ने वातावरण बनाइनु पर्दछ । मानसिक दासतामा प्रतिभा प्रष्फुटन हुँदैन, खुराफाती र तस्करी गर्ने खालका विदेशी दलालहरू मात्र जन्मन पुग्दछन् । नेपालको राजनीति अत्यन्त गोप्य त्रासबाट चलिरहेछ । यो दक्षिणतिरको तीन थरीको दबाब (राजनीतिक, प्रशासन र गुप्तचर), उत्तरतिरको दबाब अनि समुद्रपारीको तीन किसिमको दबाब (राजनैतिक, आर्थिक र धार्मिक) बाट पूरा नेपालीलाई उल्लू बनाउँदै चलिरहेछ । यहाँ तल्लोस्तरका कार्यकर्ताबाहेक अरू कसैमा पनि व्यवस्था, दल, सिद्धान्त र देशप्रति इमानदारीपन छैन । यसैले म मेरो देशको राजनीतिलाई राजनीति होइन तस्करतन्त्र भन्न रुचाउँदछु । तस्करतन्त्रमा अदृश्य डनले जे भन्यो त्यही हुन्छ ।

राजनीतिमा ‘पुच्छर’

‘क’ले ‘ख’लाई भन्यो ‘ऊ पुच्छर हो’ । त्यही भएर होला लाउकेहरू कुरा मिलाउने बहानामा यताको पुच्छर लगेर उता र उताको पुच्छर लेराएर यता जोड्न मरिहत्ते गरिरहेछन् । राजनीतिमा ‘पुच्छर’ को भूमिका अचम्मको हुँदो रहेछ । पहिचानका अरू आधार फिका भए अब पुच्छरकै हैकम चलिरहेछ । स्यालका बथानमा पुच्छर हालेर पुगेपछि स्याल हुन्छन् त बाघमा बथानमा पुगेपछि बाघ हुन्छन् । तर, स्वभाव र बोलीले भने थाहा पाउने हुनाले ‘पुच्छर’ जस्तो गरिमामय पद पाएपछि बोल्न र जे पायो त्यही गर्न स्वतन्त्र भने नहुँदो रहेछ । वर्तमान परिप्रेक्ष्यमा यस्तै यस्तै नाटक क्लिवहरूलाई ठिक र मिठो लाग्दो रहेछ । ‘भाग खानेलाई भन्दा पनि पुरा खानेलाई बढी चिन्ता हुन्छ’ भन्थे, हो रहेछ ।

प्रतिशोध वा डाहको राजनीति

राजनीतिक संस्कारका कुरा गर्नुहुन्छ भने हामी यो देशमा प्रतिशोध वा डाहको राजनीति गर्दछौँ । हामीले जेजति राजनीति सिक्यौँ त्यसले अरूको विरोध गर्न मात्र सिकाउँदै आएको छ । राजनीतिक कुर्सी मोह र डाह अचम्मको रोग हो । राजनीति व्यवसाय बनिरहेछ, लगानी गर्नै पर्ने र गरेपछि उठाउनै पर्ने । जहाँबाट सापट लिइएको भए पनि यस्तो कार्यलाई राजनीति भनिँदैन । हाम्रो राजनीति पूर्णरूपमा व्यवसायमा परिणत भएको छ ।
मेरो देशमा तीन करोड जनता छन् भनिन्छ । तर यहाँ देवता करोडौँ, मन्दिर हजारौँ, धर्म र उसका बच्चा सैयौँ, तीन लाखभन्दा बढी नेता, नेताका सल्लाहकार ३० लाख, विदेश भास्सिन बाध्य हुने ५० लाख र विदेशीका दलाल ५० हजारको हाराहारीमा छन् । जब राजनीति पेसा हुन्छ तब आस्था, सिद्धान्त आदि सबै पोलेर खाइन्छन् । जब कुनै नेता कुनै विवादमा मुछिन्छ तब उसलाई प्रश्न गर्नुको साटो हामी सम्मान गर्न आतुर हुन्छौँ किनकि ऊमार्फत हामीले पनि कुनै न कुनै लाभ लिएका हुन्छौँ, व्यवसाय चलाएका हुन्छौँ ।

उदाहरण दिन मन छैन किनकि राजनीतिलाई पेसा बनाउनेहरूकै बोलवाला छ, बाहुल्यता छ । कुनै पनि तन्त्रमा दोष थिएन र छैन । दोष प्रवृत्ति र सोचमा छ, शिक्षा र लिने गरिएको बैनामा अनि खाने गरिएको हण्डीमा छ । हात्तीको देखाउने दाँत र चपाउने दाँत बेग्लै भएजस्तै हुने गरेका छन् यहाँ विकास निर्माणका कुरा । पैत्रिक सम्पत्ति धितो राखेर एक करोड सापट लिइन्छ, गर्ने भनिएको उद्योगमा २५ लाख लगानी गरिन्छ, परिवारलाई एक÷एक लाख बाँडिन्छ र पनि परिवारका सबै सदस्य खुसीले नाचिरहेका हुन्छन् । यस्तो गएगुज्रेको यहाँको राजनीति कहिल्यै सुध्रँदैन ।

जानी जानी नराम्रो हुन्छ, गरिन्छ र भनिन्छ फलानाले पनि गरेको थियो नि । आफ्नो कुकृत्य जोगाउन देशभित्र उदाहरण नपाए विदेशी उदाहरण खोजिन्छ । जस्तै ः नारी बलात्कारमा अरू देशका दाँजोमा हामी कम पीडित छौँ रे ! त्यसैले, जसले जहिले जे सक्छ त्यो भाँच, जे सकिन्छ त्यो भत्काउ, जे भेटिन्छ त्यो बेच, गर्न हुने नहुने जे सकिन्छ त्यो गर, नाम र दाम कमाउ, सबै राजनीतिक पेसाकर्मी र तिनको पुरा खानेहरूलाई मेरो सदा शुभकामना ।

प्रभुको सल्लाह

यति लामो समय भो, ढलेका मठमन्दिर उठेनन् । उताका प्रभू र यताका प्रभू, को सुत्ने को उठ्ने भनेर माथि सल्लाह गरिरहेका रहेछन् । आफू जाबो तुच्छ मानव पृथ्वीमा बसेर यस्ता कुरा कसरी थाहा पाउनु ? धर्मका नाममा चलेका वा चलाइएका विभिन्न प्रचलन सुधार्नु पर्दछ भन्थे, कहिले ठिकै त कहिले अचाक्ली उत्ताउलो हुन्थे, ठिकै भने सुधार्दा समाजलाई असर नपर्ने कुरा सुधार्नु पर्दछ भन्ठान्थें । गलत भन्ठानेछु । पोखरी नै बेचेर पो पोखरी सफा गर्ने सल्लाह दिइरहेका रहेछन् ।

मर्ने बेला भएका हवल्दारदेखि डाक्टरसम्म किन सनातन धर्मलाई देश विकास नहुनुको प्रमुख कारण हो भनेर प्रमाणित गर्न सरकारी स्रोत र साधनको दुरुपयोग गरिरहेका छन्, पाइलापाइलामा कोसिरहेका छन् भन्ठान्थे जनताहरू, अब बुद्धि बाँकी भए ती जनताले केही पक्कै बुझे होलान् । हामी गनाएको रोक्न रुमाल बदल्दै गयौं, नाक नै कुहिइसकेछ , थाहा नै भएन ।

उसो त ०१९ सालतिर उत्तर भारतबाट नेपाल छिरेका दुई दर्जन हात्तीका दाँतजस्ता संस्थाहरूको प्रतिनिधिहरूको भेला ०२० सालमा कोलकातामा हुँदा नै ‘अब सगरमाथामा प्रभूको जन्म भइसकेको छ, अब प्रभू यहाँबाटै वाधालाई हटाउँदै दानवको संहार गर्दै ‘विश्व हाँक्नु हुनेछ भनिसकिएको थियो’ । दानवको परिभाषा भित्र को को परे र को को भविष्यमा पर्दछन्, समयले केलाउला नै । तर नेपालको सम्पूर्ण राजनीति र नीतिनिर्माताहरू आफू प्रभूको दानव बनिएला भनेर थरथरी काँपिरहेका छन् ।

शब्दको जन्म भएको धेरै नभए पनि अब धर्ममा पनि भिजिलान्तेको वर्चस्व भइसकेछ । एउटै व्यक्ति सोमबार पशुपति गएर चन्दन लगाउँछ, शुक्रबार जामे मस्जिदमा गएर नमाज पढ्दछ, बिहीबार स्वयम्भू उक्लेर माने घुमाउँछ अनि आइतबार चर्चमा पुगेर आशीर्वाद थाप्छ । पृथ्वीमा भएका सबै धर्म समान हुन् भन्ने सोच नराम्रो त होइन तर असम्भव हो । बेलाबेलामा देखिन्छ यस्तो धारणा, नदेखिने होइन, प्रथम र दोश्रो विश्व युद्धताका पनि देखिएको थियो । तर ती जासुस (एजेन्ट) हरू हुन्थे ।

विश्वका कुनै पनि धर्म मानव समाजको अहितका लागि भनेर जन्मिएका होइनन् । तर जब जब यसभित्र स्वार्थको घुलन हुन्छ तबतब ती धर्महरू उग्लिन थाल्दछन् । ठसठसती गनाउने गरी जाँड पनि खानै परेको छ, अनी के के न इज्जत बाँकी भए जसरी घरसमाजभित्र छिर्नु पर्दा गन्ध छोप्न पान पनि चापाउनु नै परेको छ । यही सामाजिक विकृतिको असर अब धर्ममा सरेको छ । हाम्रा नेताहरूले वा विभिन्न उच्च ओहदामा पुग्नेहरूले धर्म त परिवर्तन गरे तर नेपाली जनतालाई त्यो कुरा स्पष्टरुपमा बताउन सकिरहेका छैनन् । यस्ता द्वैध चरित्रका शिखण्डीहरू जो जो छन् ती हिन्दूले म हिन्दू, किराँतले म किराँत, मुस्लिमले म मुस्लिम र क्रिस्चियनले म क्रिस्चियन भनि दिए, देशलाई हलुका हुन्थ्यो । दोहोरो चरित्रका कारण उत्पन्न हुने ताई न तुइका कुराको समर्थन र विरोधमा नेपालीका गिदिहरू खर्च हुँदैनथे ।

मैले विश्वका धेरै क्रिस्चियन समाजका विषयमा पढिरहेछु । केही समय अगाडि फिलिपिन्सका सडकसडक पनि चहारेको छु । जहाँ धनी हुन्छन् त्यहाँ गरिब पनि हुन्छन् । जहाँ पेसा हुन्छ, त्यहाँ माग्ने पनि माग्नु पनि एउटा पेसा हुन्छ हुन्छ । कुवेत होस् वा कतार, अमेरिका होस् वा बेलायत, नर्वे होस् वा जापान, जहाँ पनि विविधता छ । साम्यवादी जडौरी भिरिरहेका देशमा पनि विविधता छ, माग्नेहरू छन्, हुन्छन् तर तिनको माग्ने शैली फरक हुन्छ । मोदी आउँदा फोहोर उठाउन नसकी पालले फोहोर छोपेजस्तै विकृति र विविधता छोपेर समानताको प्रदर्शन गरिन्छ यहाँ, यस्ता देशमा । जसको मस्तिष्क नै अरू कसैको नियन्त्रणमा हुन्छ, त्यसलाई रक्तदान दिन बोलाउन पर्दैन । यस्ता मस्तिष्क बेचिसकेका देशमा भएका विकासको वास्तविक प्रतिफल कसले र कहाँ ओसारिरहेको हुन्छ भनेर देशविदेश घुम्नेहरूले चासो लिने गरुन् ।

कोही हात थापेर, कोही गीत गाएर, कोही धर्म बेचेर त कोही आस्था बेचेर मागिरहेका देखिन्छन् । माग्ने शैली परिवर्तन हुनुलाई हामी परिवर्तन वा देश विकास ठानिरहेका छौं । यो भ्रम हो । दक्षिण कोरियासँग भएको श्रम सम्झौताका भित्री बुँदाहरू काठमाडौंमा छरिइसके । जनकपुरदेखि मुक्तिनाथसम्मका दृश्यहरू अहिले छायांकन भइसके ।

कुनै धर्म मान्नु वा धर्मै नमान्नु व्यक्तिगत स्वतन्त्रता हो । नेपालका हरेक राजनीतिक दलका केही प्रमुख हस्तिहरूले धर्म परिवर्तन गरिसकेका छन् । यसलाई आकाश खसेको जसरी बहसमा लेराउन आवश्यक छैन । तर तिनको दोहोरो चरित्र नेपाल र नेपाली जनताका लागि घातक हुनेछ । आत्माले धर्म परिवर्तन गर्नेहरू शिलान्यासमा शिला पूजेर हिँड्दैनन् । साँच्चिकै धर्म मान्नेहरू एक अर्काको धर्मका विरोधी कहिल्यै हुँदैनन् । धर्मका नाममा कमाउन पल्केकाहरू एवं राजनीतिक वा भौगोलिक अभीप्सा पूरा गर्न चाहनेहरू साँच्चिकै धर्म मान्नेहरूको यही कमजोरीलाई भजाएर र भिडाएर बाँचिरहेका हुन्छन् ।

महेन्द्रदेखि सुशीलसम्मको मृत्युलाई लिएर इतिहासले मृत्युको स्वभावप्रति शंका गरिरहेछ । भोलि मर्ने अरू नेता पनि यो लाममा छिर्लान् नै । सिद्धान्ततः साम्यवादी नेताहरू धर्म मान्दैनन्, मानेको देखाउन चाहँदैनन् । आफ्नो मुद्राको अवमूल्यन गराउँदै विदेशी मुद्राको वखान गर्ने, हिन्दू र बौद्ध धर्मको विरोध गर्दै क्रिश्चियन धर्मको मुक्त कण्ठले प्रशंसा गर्ने, घोर दक्षिणपन्थी पुँजीवादी साम्यवादीहरू सच्चा साम्यवादीलाई पाखा लाउँदै नेपालमा हाबी भइरहेछन् । यस्तो कुनै राजनीतिक सिद्धान्त हुँदैन, न त कुनै धर्मिक आस्था नै । यस्ता नीति र सिद्धात तस्कर नीति र तस्कर सिद्धान्त हुन् । पंचायत, राजतन्त्र र कांग्रेस यही नीतिका कारण पतन भए । अब अरूको पालो आउनेवाला छ । छोराछोरीलाई तर्साएर त्यतिन्जेलसम्म मात्र घर चल्छ जबसम्म आफू बूढो भइन्न ।

अन्त्यमा,

कुनै पनि तन्त्र आफैँमा सही र गलत हुँदैन न त कुनै एक व्यक्तिले नै कुनै तन्त्र चलाउन सक्दछ । तन्त्र सञ्चालनका प्रक्रिया जति सर्वमान्य हुन्छन् त्यसैसँग त्यो तन्त्रको आयु गाँसिएको हुन्छ । हामी परिवर्तन, आन्दोलन, क्रान्तिका कुरा गरेर कहिल्यै नथाक्ने बनाइएका छौँ । सबैलाई आफूले समर्थन गरेको तन्त्रले स्थिरता पाएको देख्न मन हुन्छ । यहाँ सात सालदेखि एउटै खालका व्यक्ति र तन्त्रले परिवर्तन गरेको भनिरहेका छन्, जुन् कुरा विश्वका कुनै पनि देशको इतिहासमा पाइन्न ।

अघिल्लो गलत र यो ठिक भन्नलाई पहिलेकाले गरेका गल्ती प्रमाणित भई दण्ड पाएको देखिनु पर्दछ । तर यहाँ सात सालदेखि आजका मितिसम्म पहिलेकाले गल्ती गरे मात्रै भनिन्छ तर गल्तीगर्नेहरू कहिल्यै प्रमाणित र दण्डित हुने गरेनन् । यसबाट हामीले दुइटा कुरा बुझ्नुपर्ने हुन्छ । पहिलो सबैले गल्ती गरिरहेका छन्, दोस्रो यहाँका हरेक खाले परिवर्तनको साँचो अन्तै छ । कुन चाहीँ सही होला जस्तो लाग्छ हजुरहरूलाई पहिलो कि दोश्रो ? कि दुबै सही हुन् ?

प्रतिक्रिया