अभागी जनताका भाग्यमानी नेता

मोहनप्रसाद सापकोटा

जसलाई विश्वास गर्न खोज्यो त्यही धरमराउने भएर निस्कन्छ । कति कमजोर रहेछन् हाम्रा राष्ट्रिय परिचयपत्रका आधारहरू । अनि कति कमजोर रहेछन् हाम्रा कसैलाई विश्वास गर्ने आधारहरू । देश बेचिएपछि वा व्यक्ति बेचिएपछि मात्र कानुन सक्रिय हुँदो रहेछ । यस्तो सुन्न नपरोस् र सत्य पनि नहोस् । तर साँच्चिकै कोही विदेशीका एजेन्टले माथिल्लो पद हत्याई भएभरका गोप्य सूचना लिएपछि ऊ नेपाली नागरिक नभएको प्रमाणित हुन आए त्यतिखेर व्यक्ति दोषी हुन्छ कि राज्य व्यवस्था ?

सबै यही शैलीले संसद्मा पसी सर्वसम्मतरूपमा देश विलय गर्ने निर्णय गरिदिए भने, सर्वोच्चले कसका लागि फैसला गर्दो होला ? उनी त भइहाले, अनि अरू पूरै चोखा छन् भनेर आमनागरिकलाई विश्वस्त पार्ने आधारचाहिँ अब राज्यसँग के छ ? राजनीतिमा मात्र होइन कर्मचारी संयन्त्रमा पनि धेरैको दोहोरो नागरिकता अवश्य छ । लुट्नलाई नेपालको र लुटिसकेपछि अरू देशको नागरिकता सक्रिय हुने प्रचलन धेरै पहिलेदेखि चलेको हो ।

म तेन्जिङ नोर्गेको नेपालले गरेका अभिनन्दनका ऐतिहासिक तस्बिरहरू सम्झन पुग्दछु अनि डा. तुलसी गिरीलाई श्रीलंकाबाट बोलाएर प्रधानमन्त्री बनाएका दिन पनि सम्झन पुग्दछु । रणबहादुर शाहका हुन् वा राजा त्रिभुवनका देशबाट भएका बहिर्गमन स्वेच्छाले वा नेपाली जनताका लागि भएका थिएनन् । अब म यस कुरामा विश्वस्त हुन थालेको छु ।

विदेश जानु अपराध होइन, तर विदेशी मन लिएर नेपाललाई बढी माया गरेको नाटक देखाउनु अक्षम्य अपराध हो । भूकम्प, नाकाबन्दी र महामारीले विक्षिप्त भएको नागरिकको मनले आक्रोशको राँको नसमाओस् । कुवाका ब्याङजस्ता अभिमानी सबै दलका मन नेपाली भएका सबै नेताहरूलाई बेलैमा सचेत हुन आग्रह गर्दछु ।

भक्ति थापा, बलभद्र कुँवर जस्ताले बिदेसिनुपर्ने, पृथ्वी नारायण शाहले थुकिनुपर्ने, अनि देशको झण्डाले जल्नुपर्ने खालको छ मेरो देशको इतिहास । देशलाई पुनः बाइसे, चौबीसे राज्यमा विभाजन गर्न प्रमाणपत्र एक विषयको र जिम्मेवारी अर्कै विषयको लिएर विदेशबाट आएका तथाकथित विद्वानहरूको संख्या दिन दुई गुना र रात चौगुनाका दरले बढिरहेछ ।

सिङान पुछ्न पहिला सिकेर अनि देश सफा गर्नतिर लाग्ने जमात यो देशमा कहिले जन्मन्छ होला ? फलानो व्यक्ति नेपाली नागरिक होइन भनेर पनि सामान्य नागरिकले पत्ता लगाएर उजुरी दिनुपर्ने देशमा के के न सुधार ग¥र्यौं भन्दै कुर्लेर राजनीति गर्नेजति सबैले डाडुमा पानी तताएर पालैसँग डुबी मर्दा हुँदैन र ?

रबिले गरेका कुरा

हुन त बाबुरामले फलानाले यति रकम यो आयोजनामा यसरी फलानाले घुस खाएको छ वा कमिसन खाएको छ भन्दा पनि यहाँ कसैले मतलब गरेनन् । सबै अन्धभक्तहरू मूतको न्यानोमा रमाएर बसे । पद्धति बस्यो भने रबि हुन् कि चन्द्र हुन् गलत गर्ने सबै दण्डित हुने गर्दछन् । यहाँ त सबैतिर तस्करी छ । माफिया छ ।

पत्रकार ? (!) इमान्दार भए जागिर चट् हुन्छ वा दुई छाक खान पुग्ने गरी तिनलाई तलब पनि दिइन्न । के मात्रै हुने गरेको छैन मेरो देशमा ? जन सरोकारका काम गर्ने प्रायः सबै कार्यालयले आफ्नो बचाउका लागि मासिक वा वार्षिक तलब दिएर पत्रकारलाई पालेका हुन्छन् । हामी उल्लू जनताहरू यस्ता पत्रकारबाट आउने म्यानुपुलेसन गरिएका (सच्याइएका) तथ्यांक र समाचारमा विश्वास गरेर बसिरहेका हुन्छौँ ।
हाम्रा आस्था आआफ्ना छन् र ती सबै स्वस्थ आस्था सम्माननीय हुन्छन् । तर मेरो देश तस्कर र माफियाको कब्जामा छ । जतिसुकै परिवर्तन भए पनि वा जसको सरकार बने पनि त्यो यिनै तस्कर र माफियाको कब्जामा पुग्दछ । यी असफल हुनुमा वा परिवर्तन पछि विकासले सोचेजसरी गति नलिनुमा मूल कारण नै यही हो । हाम्रा राजनीतिक दल यसरी यिनका कब्जामा परेका छन् कि न यी जनतालाई सत्यतथ्य बताउन सक्दछन् न देशका लागि केही गर्न ।

कुनै एक व्यक्ति वा दलले पचासौँ वर्षदेखि झांगिएको तस्कर र माफियाको जालो तोड्न सक्दैन । सक्ने भए कांग्रेस, एमाले, माओवादी, राजा आदि यसरी अलोकप्रिय बनाइँदै बनाइँदैनथे । सबैलाई किन यसरी असफल बनाइएको छ ? भनेर अब पनि गम्भीर भएनौ भने, हामीलाई हाम्रा सन्तानले धिक्कार्नेछन् । प्रचण्ड, शेरबहादुर, ओली, रबि, ज्ञानेन्द्र आदि जोसुकै भए पनि व्यक्तिलाई ईश्वर बनाउन थाल्यौँ भने फेरी पनि यो देशमा पद्धति बसाउन सकिँदैन । पहिले पद्धति बसाउन क्रान्ति गर्नुहोस् अनि आस्थामा विभाजित हुनुहोस् । देशको माया भए कुकुरले जसरी पुच्छर हल्लाउन बन्द गरौँ । बाच्छा उफ्रनु कता हो कता गुइँठा बनेर उफ्रन छाडौँ । विवेक छ भने एकपटक सोच्नुहोस्, डा.सन्दुक रुइतका लागि राष्ट्रपतिजस्तो पद किन योग्य भएन ?

पहिले सबै युवाहरूले तस्करतन्त्र र माफियातन्त्रका विरुद्ध एक भएर लड्नु पर्दछ । त्यसपछि आआफ्ना आस्थामा विवेकपूर्ण तरिकाले संलग्न हुनु पर्दछ ।

रविजीलाई सल्लाह

‘सिआइए’को वा ‘र’को एजेन्ट भइदिएको भए वा अमेरिकाकै नागरिकता नत्यागेको भए पनि तिमीलाई हटाउन कसैको बाउको तागत पनि चल्दैनथ्यो । अरूहरूलाई हेरेर यी कुरा सिकेको भए पनि हुन्थ्यो । जनताको एजेण्ट मात्र बन्न खोज्यौ, गल्ती भयो । तस्करतन्त्रका दम्भासुरहरू ‘जित्दैन जमानत जफत हुन्छ’ भन्थे, भन्ठान्थे, जित्यौ, जितेपछि पनि तुरुन्त कुनै देशको एजेन्ट बनिहालेको भए पनि हुन्थ्यो, बनेनौ । पुनः अर्को गल्ती भयो ।

मान्छे नमारिकन, ज्यानमाराको मुद्दामा जेल नपसिकन, अरूलाई चन्दा नदिइकन, कुनै अदृश्य प्रभूको आशीर्वाद नथापिकन अनि बैंक आदि नलुटिकन नेता बन्न खोजेर हुन्छ त ? देशका लागि यस्तै त्याग गरेर पो मूल्य खोज्नु पर्दछ, कि होइन ? अरूले जनतालाई विदेशतिर लखेट्छौँ भनेर जिते तिमीले बाहिर गएका नागरिकलाई लेराउँदछु भनेर जित्यौ । यस्तो उल्टो कुरा गर्न कसले सिकायो तिमीलाई ? यो देशमा राजनीति गर्न चाहिने योग्यता के हो भन्ने नै तिमीलाई थाहा रहेनछ । त्यत्तिकै राजनीति गर्न खोजेर हुन्छ त ? तस्करतन्त्रमा शुद्ध राजनीति गर्न कठिन हुन्छ ।

अमेरिकाको नागरिक हुन आफ्नो देशको नागरिकता त्याग्नु पर्दैन भन्ने कुरासमेत यहाँका न्यायक्षेत्रका तथाकथित ठेकेदारहरूलाई थाहा रहेनछ । होइन विदेशको नागरिकता लिनासाथ यो देशको नागरिकता समाप्त हुने भए लाखौँ नेपाली अनागरिक हुने छन् । इतिहास केलाउँदै यथास्थिति जाँच्न लगाऊ ।

खैर नजिर बस्यो, फेरी जितेर आउ र यो देशलाई खोक्रो बनाउने जति सबै धमिराहरूको मात्र नागरिकता छानबिन गर । यो देशलाई असफल बनाउन बैना लिएका जति सबैलाई यही देशमा गाड, बाहिर जान नदेउ ता कि त्यसको पनि नजिर बसोस् ।

आशा छ पहिले तिम्रा मतदाताले र त्यसपछि सबै देशविदेशमा रहेका नेपाली जनताले तिमीलाई साथ दिने छन् । याद राख हरेक पटक तस्करहरू एक भएर तिमी माथि खनिने छन् । तस्करको कुनै जात, आस्था, धर्म हुँदैन, नझुक्किनू ।

राम बहादुर थापा गृहमन्त्री भएपछि दिएको अन्तर्वाता खोजेर हेर । भूतपूर्व प्रधानन्यायाधीश सुशीला कार्की वा वरिष्ठ कानुनविद शम्भु दाहाल अनि मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको रुँदै दिएको अन्तर्वार्ता खोजेर हेर । नभए लालबाबु पण्डित र गोकर्ण विष्टलाई गएर ‘हजुरहरू किन बोको बनाइनु भयो ?’ भनेर सोध । धेरै प्रश्नको जवाफ आफैँ पाउनेछौ ।

फुर्सद पाउँदा दासढुंगा, नारायणहिटी, प्रधानमन्त्री निवास र प्रचण्ड निवास पनि जाउ अनि एक एक मिनेट मदन–आश्रित, वीरेन्द्रको परिवार, सुशील कोइराला र प्रकाश दाहालका नाममा मौन धारण गर । नेपालको राजनीतिक इतिहासका धेरै कुराहरू तिम्रो अन्तस्करणमा पस्नेछन् ।
अदालतले तिमीलाई गलत गरेको प्रमाणित गरिदियो, तर तिमीले तिमीभन्दा बढी गल्ती गर्नेलाई सजायँ दिनु पर्दैन र ? जनताको नैराश्यताले सीमा नाघी देश नै तहसनहस हुन खोजिरहेछ, सक्छौ भने जोगाऊ । जे कुराको बहस वा समस्या बढी हुन्छ त्यसैको विज्ञ हुने नेपालीहरूको बानी छ, ममा पनि त्यो दुर्गुण हुन सक्दछ, माफ गर्नू । फेरी पनि भन्न चाहेँ, समस्या कुनै तन्त्रमा होइन तस्करतन्त्रमा ट । तस्कर तन्त्रलाई निमिट्यान्न नपार्ने हो भने यो देशमा जुनसुकै तन्त्र आए पनि त्यो असफल हुन्छ । विगतबाट यति पनि नसिके राजनीतिबाट सन्यास लिए हुन्छ ।


देशको दुरावस्था हुनुमा पत्रकारको दोष !

पत्रकारिता आधुनिक कालमा सुरु भएको नौलो पेसा होइन । पौराणिक कालमा पनि पत्रकारहरू थिए । वायु, अग्नि आदिलाई पनि समाचार सम्प्रेषणका लागि प्रयोग गरिएका अनेकौँ कथाहरू पाइन्छन् । तर विशेषतः समाचार सम्प्रेषण गर्ने नै जिम्मा पाउने दैवी व्यक्ति भने नारद मात्र रहेको देखिन्छ । उनी जहाँ जे हुन्छ वा हुने वाला छ वा भयो त्यसको समाचार अन्त लगेर सुनाउने गर्दथे । महाभारतकालसम्म पनि उनको यो जिम्मेवारी वा पेसाका बारेमा रमाइला प्रसंगहरू पाइन्छन् ।

आफूलाई राज्यको चौथो अंग भन्न रुचाउनेहरूले राज्यव्यवस्था वा राज्य नै असफलतातिर जान लाग्दा त्यसको पनि जिम्मा लिन सक्नु पर्दछ । कसैको छिद्र (गल्ती वा कमजोरी) खोतल्दै हिँड्ने र छिद्र पाएपछि मोलतोल गर्न थाल्ने पेसालाई पत्रकारिता भनिँदैन । यो पनि तस्करी नै हो ।
दिक्क लाग्ने गरी अनेकौँ व्यक्तिलाई अनेक थरी आरोप र प्रत्यारोप लागिरहेका हुन्छन् । तथ्यको गहिराईसम्म पुगी निष्पक्ष किसिमले सप्रमाण समाचार सम्प्रेषण गर्ने परम्परा नै हामीसँग छैन । यहाँका पत्रकार भनाउँदाहरूले कुनै प्रमाण पाइहाले भने पनि त्यसलाई बेचेर कमाउने माध्यम बनाउँदछन् । एकदमै तल्लोस्तरका व्यक्तिलाई पैसा लिएर समाचारको मुख्य विषयवस्तु बनाउँदछन् र पैसा दिएनन् भने देश र समाजका लागि योगदान दिइरहेका वा दिनसक्ने मानिसलाई उपेक्षा गरिरहेका हुन्छन् ।

यिनले पैसाका लागि जीवनको अन्तिम अवस्थामा पुगेका मानिसहरूलाई पनि माध्यम बनाइरहेको देखिएको छ । के के र कहिले कहिलेको मात्र प्रमाण दिनु ? हालै आत्मदाह गरेका व्यक्तिको अन्तिम अवस्थाको समाचारलाई पनि पैसा कमाउने माध्यम बनाइएको छ । विगत लामो समयदेखि प्रायः सबै सञ्चार क्षेत्रमा काम गर्नेहरू मानव कम र व्यवसायिक बढी हुँदै गएका छन् । प्राथमिकता दिन नपर्ने वा दिनै नहुने विषयवस्तुलाई अतिरञ्जित तरिकाले बाहिर लेराउने काम पत्रकारिता क्षेत्रले गरिरहेको छ । जसको अन्तर्वार्ताले समाजमा वितृष्णा, द्वेष र अराजकताबाहेक केही फैलाउँदैन त्यस्तालाई गुरु थाप्नेहरू प्रकारान्तरले तस्कर नै हुन् । अवैध ओसारपसार तस्करी हो त्यसैले अवैध वा गलत ज्ञान ओसारपसार गर्ने पत्रकारहरू पनि तस्कर नै हुन् ।

समाज हुँदै देश सुध्रनका लागि गलत कुराहरू निरुत्साहित र दण्डित हुनुपर्दछ । तर दुर्भाग्य सबै चोरेरै उन्नति गर्ने भएपछि सज्जन पनि चोर्न थाल्दो रहेछ । अब त बच्चा जन्माउन ठिक्क परेकी स्त्रीलाई ‘नानी तिमी आफ्नो बच्चालाई देश भित्रै राख्न चाहन्छ्यौ कि विदेश पठाउन ?’ भनेर सोधेपछि उनले दिने जवाफ अनुसार मात्र आशीर्वाद वा शुभकामना दिनुपर्ने अवस्था लेराइएको छ । आफ्ना सन्तान देश भित्रै बसोस् भन्ने चाहन्छु भनी जवाफ दिने स्त्रीलाई तिम्रो सन्तान कि तस्कर नभए बेइमान राजनीतिज्ञ होस् भनेर आशीर्वाद दिनुपर्ने अवस्था आयो । किनकि तस्करतन्त्रले नगाँजेको कुनै क्षेत्र नै छैन । अनि यस्ता तस्करप्रधान क्षेत्रमा लगानी नगर्ने कुनै नेता नै छैन । यो घेराभन्दा बाहिर बसेर केही गर्दछु भन्नेहरूका लागि यो देश घाँडो बनाइएको छ ।

चौथो अंगमा राज्यको यो भयावह दुरावस्थाप्रतिको सामूहिक जिम्मेवारी खोई ? हातमा एउटा मोबाइल वा एउटा क्यामेरा बोकेर हिँड्दैमा पत्रकार जगतलाई राज्यको चौथो अंग भन्न मिल्दछ र ?

राजनीतिका कुरा छाडौँ सुकुम्बासीका कुरा गरौँ । तथाकथित आन्दोलनहरूमा गाउँगाउँबाट मान्छेलाई भेडाबाख्रा खेदे जसरी खेद्दै सहर छिराइयो । खेद्नेहरू जग्गा किन्दै आलिसान महल बनाएर बसे, बसिरहेछन् । खेदिनेहरूलाई सुकुम्बासी बनाएर खोलाका बगरतिर लगी थुपारियो । आफू महलमा बसेर भोटका लागि राजनीति गर्ने जति सबैलाई सुकुम्बासी वस्तीमै लगेर बसाउने गरी पत्रकारिता जगत किन अघि सर्दैन ?
विदेश पठाइदिन्छु भन्दै जगा बेच्न लगाएर राहदानी र टिकट बोरामा थुपार्दै कमिसन लिनेहरू अरबपति भए जग्गा बेच्नेहरू हरपल रोएर बसिरहेका छन् ।

कृषक, जो कहिल्यै सुखसन्तोषसँग एक गाँस खान पाइरहेका छैनन् । बल्लबल्ल सबै कुराबाट जोगाएर गरिएका उत्पादनले उचित मूल्य कहिल्यै पाउँदैन । १० रुपैयाँ प्रतिकिलोमा कृषकले बेचेका कुरा ५० रुपियाँ प्रतिकिलोको दरले उपभोक्ता किन्न बाध्य छन् । बीचमा बसेर बिनालगानी ४० रुपैयाँ खाने पेसालाई तस्करी पेसा नभनेर के भनौँ ?

हरेक क्षेत्रमा यस्ता विकृति छन् तर हाम्रा पत्रकारहरू यी कुरामा ध्यान दिँदा रोजीरोटी नचल्ने वा रातारात धनी हुन नपाइने हुँदा हात हाल्न नै चाहँदैनन् ।

त्यसैले पत्रकार बन्धुहरू ! म आजसम्म नेपालमा क्रान्ति नै भएको छैन भन्दछु । जे जति परिवर्तन भए ती सबै विदेशीका लागि गरिएका हुन्, नेपाली जनताका लागि गरिएका होइनन् । इतिहासले भन्दछ कोसी बेच्नका लागि नेपालमा प्रजातन्त्र लेराइएको थियो । यसैगरी हरेक परिवर्तनका प्रतिफलको स्थलगत, सूक्ष्म अध्ययन र विश्लेषण गर्नुहोस् । सायद तपाईंहरूको पनि मन पग्लन्छ कि, स्रोतग्रन्थी नसुकेको भए तपाइँहरूका आँखाबाछ पनि आँशु झर्दछ कि ?

गधाहरूलाई नुहाउने जागिरभन्दा गाईको भकारो सोर्ने जागिर सबै मानेमा उत्तम हुन्छ ।

कृषक र उत्पादन

वेदहरूले प्राण नै अन्न र अन्न नै प्राण हो भनिरहेका छन् । तर हामीलाई अन्न होइन खाने मुख ठूलो भन्नेहरू आधुनिक लागे । वस्तुगत तथ्य र वस्तुगत धरातलभन्दा पर रहेका अरूहरूलाई फसाउने र सिध्याउने खालका प्रगतिका माध्यमहरूलाई हामीले आफ्नो प्रगतिका लागि प्रेरणाका स्रोत बनाउँदै आयौँ । कराउनेको कुहिएको पिठो पनि बिक्दछ नकराउनेको चामल पनि बिक्दैन । फलानोले मूला खेती गरेर लाखौँ कमायो भनेर भाइरल भएको समाचारमा विश्वास गरी बारीमा फल्ने अत्यन्त मौलिक गुणस्तरको रैथाने मूला र त्यसको बीउ फालेर लाख कमाउने खालको मूलाको बीउ खोज्न खाईनखाई भौँतारिने बानी बसायौँ । एउटाले ठेलामा तरकारी बेचेर प्रगती गरेको असत्य एवं अवास्तविक कुरा देखेर वा सुनेर सबैजना गाउँछाडी ठेला गुडाउन अभ्यस्त बनाइयौँ ।

सबभन्दा पहिले यो देशको पाकृतिक मलिलो माटोलाई विदेशीको प्रयोगस्थल बनाई यहाँकै तस्करहरूले बिगारे । विश्वमा कतै प्रयोग गर्न नपाइने मल र विषादी यहाँको माटोलाई नभई नै नहुने गरी ध्वस्त बनाइयो । मानिसलाई लागूऔषधको लत लागेजसरी माटोलाई गलत लत लगाइयो । यसपछि तिनले नै भनेको मल, तिनले नै भनेको बिउवीजन, तिनले नै भनेको औषधि आदि किन्न कृषकहरू बाध्य बनाइए । तर, उत्पादनपछिको प्रत्याभूति यहाँ कुनै पनि व्यवस्था र सरकारले दिन चाहेनन् न त लिनुपर्दछ भनेर कृषकहरूले नै सोचे । कृषक र उपभोक्तामा बीचमा बसेर जुका हुन पाउँदासम्म खेतबारीमै गएर पहिले नै मोलतोल गर्ने बिचौलियाहरू देखेर हामी हाम्रो उत्पादन खेतबारीबाटै बिक्री भइहाल्ने रहेछ भनी ढुक्क हुन थाल्यौँ । अनि तस्करले जे जे भन्दछन् त्यसैमा विश्वास गरी बजारमा मागको अध्ययन नै नगरी समान किसिमका कुरा अत्यधिक मात्रामा उत्पादन गर्न थाल्यौँ ।

हाम्रा भनिने प्रायः सबै उत्पादनहरूको बिउ, मल, औषधि विदेशीले भिडाएका हुन्छन् । यसैले कृषकले जतिसुकै हाम्रो भने पनि त्यो यथार्थतः हाम्रो उत्पादन हुन सक्दैन । सबै सामान बाहिरबाट लेराई यहाँ जोडजाड पारेर बनाइएको कुनै सामानलाई ‘नेपालमा बनेको’ भन्नु र यस्ता उत्पादनलाई नेपालको उत्पादन भन्नु एउटै हो । यहाँका विशेषज्ञ भनाउँदाहरू अस्पतालका डाक्टर जस्तै औषधि कम्पनीको दलाललाई बिरामीलाईभन्दा बढी प्राथमिकतामा राख्ने गर्दछन् ।

अन्य क्षेत्रलाई जस्तै कृषक क्षेत्रमा पनि राजनीतिक भाइरस छिरेर कृषकलाई एक हुनै नसक्ने गरी रोगी बनाइदिएको छ । ती कृषक कृषक नभई अमुक दलको दास बन्न अभ्यस्त बनाइएका छन् । तस्करतन्त्रले जर्जर बनाएको देशमा आफ्नो उत्पादनले बजार नपाएमा वा उचित मूल्य नपाएमा के गर्न सकिन्छ भनेर कृषकले सोच्ने बानी नै बसाल्न दिइएन । त्यसैले उत्पादनले बचार नपाउँदा वा उचित मूल्य नपाउँदा कृषकहरू सडकमा फाल्नुलाई विकल्पका रूपमा लिन बाध्य हुँदै आए । उत्पादनको वैकल्पिक प्रयोग जाने भने देश आत्मनिर्भरतातिर अग्रसर हुन्छ त्यसैले तस्करहरू यतातिर देशलाई लैजान नै चाहँदैनन् । कृषकलाई चुस्न पाइने कुराहरू सर्वत्र उपलब्ध हुन्छन् तर तिनलाई आत्मनिर्भर बनाउने कुराहरू खोज्न विकसित देशतिर पुग्नु पर्दछ । विदेशबाट केही सीप सिकेर केही गर्दछु बनेर आउने नागरिकलाई पनि यहाँका तस्करहरू आत्महत्या गर्न बाध्य बनाउँदछन् ।

मैले एउटा पुस्तक पढेको थिएँ । १२ जना जापानी वैज्ञानिकहरूको टोलीले सात साल अघि नै नेपालको पूरै भाग घुमी यहाँको माटो, उत्पादन, पशुपालन आदिका बारेमा अनुसन्धान गरेका रहेछन् । त्यो पुस्तकमा ‘यस्ता अमूल्य कुरा नेपालीले जोगाउँदैनन्, हामीले जोगाउन वातावरणले साथ दिँदैन’ भनेर चिन्ता व्यक्त गरेका थिए । कटुसत्य लेखेका रहेछन् ।

समस्या समाधानका यथेष्ट उपायहरू छन् । गोलभेँडाबाट मात्र ११ थरी उत्पादन हुँदा रहेछन् । पद्धतिले चलेका देशमा बजारको मागभन्दा बढी भएका कुरा यसरी नै अन्य उत्पादनमा प्रयोग हुने गर्दछन् । तर यहाँ तस्करहरू देशलाई असफल बनाउन बैना लिएर बसेका छन् । तस्करहरूको मनमा हरि हुँदैन, न यिनलाई देशको माया हुन्छ न त कृषक आदि जनताकै । हामी जानी नजानी तस्करीलाई नै मलजल गरिरहेका हुन्छौँ । तिनैलाई भगवान् मानिरहेका हुन्छौँ । पहिला हामी आफैँले उचित बजार नपाउँदा हाम्रो उत्पादन के गर्ने भनेर सोच्ने र व्यवस्थापन गर्ने सोच विकसित गरौँ । मल, बिउ, औषधि आदि भिडाउनेहरूलाई यसको व्यवस्थापनका लागि बाध्यात्मक सहमति गर्न बाध्य बनाउँ । पहिला नेपाली, त्यसपछि कृषक र त्यसपछि मात्र आस्था अनुसारका पहिचान बनाउन सकिए कृषकका पनि धेरै समस्या समाधान हुँदै जाने थिए । अरूले कृषकलाई पनि युज एन्ड थ्रो गर्न सक्दैनथे, गर्न आँट गर्दैनथे ।

मुरीकामुरी धान फल्ने खेतमा आलिसान महल बनाएर घरको कौसीमा खेती गर्दै विश्व जितेँ भने जसरी रमाउनेहरू फेरी नाकाबन्दी हुँदा सबभन्दा पहिला अरूलाई सराप्न थाल्दछन्, हामीले गल्ती गरिरहेका छौँ भनेर सोच्ने कहिले ? तस्करतन्त्रमा चलेका हाम्राजस्ता देश र मलिलो माटो नै नहुने देशबाहेक यस्ता तोरिलाहुरे आत्मरती विश्वमा कतै पनि देख्न र सुन्न पाइँदैन ।

प्रतिक्रिया