भारतलाई हराउँदै नेपाल महिला च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपको फुटबलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ।

मंगलबार बंगलादेशको राजधानी ढाकामा भएको लिगको आफ्नो अन्तिम खेलमा नेपालले भारतमाथि ३–१ गोलको जित निकाल्दै फाइनलमा स्थान बनाएको हो ।

नेपालले खेलमा १–० गोलले पछि परेको अवस्था उल्टाउँदै पुनरागमन जित निकाल्यो । भारतले पहिलो हाफमा २१औँ मिनेटमा गोल गर्दै अग्रता लियो । भारतका लागि अपूर्णाले गोल गरेकी थिइन् ।

नेपालले दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमा बराबरी गोल फर्काउन सफल भयो । भारतकी गोलकिपरले राम्रोसँग क्लियर गर्न नसकेको बल पाएकी अन्जली चन्दले खाली पोस्टमा गोल गरिन् ।

नेपालले ६९औँ मिनेटमा अग्रता लियो । कप्तान प्रिति राईले पेनाल्टीमा गोल गर्दै नेपाललाई २–१ गोलले अघि बढाएकी थिइन् । त्यसअघि दिपा शाहीमाथि भारतीय डिफेन्डरले फल गरेपछि नेपालले पेनाल्टी पाएको थियो ।

नेपालका लागि तेस्रो गोल अमिसा कार्कीले गरिन्। उनले खेल सकिन एक मिनेट बाँकी छँदा उत्कृष्ट फिनिसिङ गरेकी थिइन् ।

जितसँगै नेपालले लिग चरणमा ६ अंक जोडेको छ । अब नेपालले फाइनलमा भारत वा बंगलादेशसँग बिहीबार प्रतिस्पर्धा गर्नेछ । आजै बंगलादेश र भुटानको खेलपछि फाइनलमा पुग्ने अर्को टिमको टुंगो लाग्नेछ ।

प्रतिक्रिया