गोरु पर्वले पायो अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । पुरु लम्साल निर्देशित वृत्तचित्र ‘गोरु पर्व’ ले उत्कृष्ट वृत्तचित्रको अवार्ड प्राप्त गरेको छ । बंगलादेशको बोगुरामा आयोजित ‘तेस्रो बोगुरा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२३’ उक्त अवार्ड पाउन सफल भएको हो । आयोजकका अनुसार जनवरी २६ देखि २८ सम्म आयोजना भएको अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा भारत, बंगलादेश, नेपाल, फ्रान्स, इजिप्ट, ट्युनिसिया लगायतका विभिन्न देशका ४७ चलचित्र प्रदर्शन गरिएको छ ।

नुवाकोटको तारुकामा हरेक वर्ष माघेसक्रान्तिको अवसरमा आयोजना हुने गोरु जुधाउने परम्परामाथि निर्मित वृत्तचित्र सिने मेकर्स नेपालको प्रस्तुतिमा केपी पाठक र निराजन सिग्देलले निर्माण गरेका हुन् । रमेशकुमार धमला र ज्योति सिंहले खिचेको वृत्तचित्रको सम्पादन लव प्याकुरेलले गरेका हुन् । वृत्तचित्रमा सुशीलसिंह ठकुरीको पाश्र्वगायन राजेन्द्र बजगाईंको पाश्र्वसंगीत रहेको छ ।

निर्देशक लम्सालले गोरु पर्व नेपालको मौलिक संस्कृति भएको बताए । उनले भने, ‘यसलाई अन्तर्राष्ट्रियकरण गर्ने एउटा प्रयास मात्रै हामीले गरेका हौँ । हाम्रा हरेक पर्व र संस्कृतिहरुको अन्तर्राष्ट्रिय प्रचार गर्न सके यसबाट पनि हामीले देशलाई चिनाउन सक्छौं ।’

प्रतिक्रिया