टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफलाई

काठमाडौं । टाइगर कप भलिबलमा महिलातर्फको उपाधि एपीएफले जितेको छ । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबले तेस्रो संस्करणको टाइगर कप भलिबलको महिलातर्फको उपाधि जितेक‍ो हो ।

पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै एपीएफ च्याम्पियन बन्न सफल भयो ।

साविकको विजेता एपीएफले पहिलो सेट २५–२० ले जितेको थियो भने दोस्रो सेटमा आर्मीले २५–२२ जितेको थियो । तेस्रो सेट र चौथो सेटमा एपीएफ २५(८ र २५–२२ को जित निकाल्न सफल भयो ।

उपाधि विजेता एपीएफले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेतामा चित्त बुझाएको आर्मीले भने २ लाख ५० हजार नगद प्राप्त गरेको छ।

यस्तै, अर्को विभागीय टिम नेपाल पुलिस क्लबले टाइगर कप भलिबलको पुरुषतर्फ तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि आजै भएको खेलमा साविक विजेता त्रिभुवन आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिस तेस्रो भएको छ ।

पहिलो सेट २५– २२ ले जितेको आर्मी बाँकी तीन सेटमा लगातार पराजित भयो । दोस्रो सेटमा आर्मी १८–२५ ले हारेको थियो । तेस्रो र चौथो सेटमा पुलिसलाई चुनौती दिए पनि आर्मी २१–२५ र २०–२५ ले पराजित भयो ।

समूह चरणमा भने आर्मीले पुलिसलाई ३–० को सेटमा हराएको थियो । आमीले यसअघिका दुवै संस्करणमा फाइनल खेलेको थियो भने दोस्रो संस्करणमा उपाधि जितेको थियो ।

प्रतिक्रिया