‘म्याच फिक्सिङ’ मा यस्ता छन् सीआईबीका दाबी

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले नेपाल टी–२० लिगमा फिक्सिङमा संलग्न देखिएका पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय क्रिकेट टिममा अलराउन्डर मोहम्मद आदील आलमलाई सार्वजनिक गरेको छ ।

सीआईबीले महाराजगञ्जस्थित केन्द्रीय कार्यालयमा महबुब र आदीललाई सार्वजनिक गरेको हो ।
पुस ९ गतेदेखि २७ गतेसम्म नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा भएको प्रतियोगितामा फिक्सिङ र स्पट फिक्सिङसँगै अन्य अवैध कार्य भएको भन्दै सीआईबीले अनुसन्धान सुरु गरेको थियो । करिब दुई हप्ताको अनुसन्धानपछि सीआईबीले सोमबार आदील र महबुबको संलग्नता पुष्टि भएको भन्दै यी दुईलाई पक्राउ गरेको थियो ।

सीआईबीले घटनाको थप अनुसन्धान लागि हिजो नै काठमाडौं जिल्ला अदालतले पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले स्वीकृति दिएको जनाएको छ ।
सीआईबीले फिक्सिङका लागि पाँच नेपाली खेलाडीलाई प्रस्ताव आएको र त्यसमध्ये तीन खेलाडीले एन्टी करप्सन युनिट (एसीयू) मा उजुरी गर्दा बाँकी दुई खेलाडीले भने उजुरी नगरेको खुलाएको छ ।

उजुरी नगर्ने दुई खेलाडीमध्ये पनि खेलका दौरान आदीलको कार्य फिक्सिङका लागि प्रस्ताव गरेकोजस्तै रहेकाले पक्राउ गरिएको सीआईबीले बतायो । उजुरी गरेका अर्का एक खेलाडीको संलग्नतामा भने अनुसन्धान क्रममै रहेको सीआईबीले जानकारी दिए । सीआईबीले प्रतियोगितामा पाँच खेलाडी र पाँच व्यवस्थापनका व्यक्तिहरुको संलग्नता रहेको खुलाएको छ । पाँच खेलाडीमध्ये दुई नेपाली र तीन विदेशी खेलाडी भएको सीआईबीको दाबी छ ।

सीआईबीको दाबी

– पूर्व राष्ट्रिय क्रिकेट खेलाडी समेत रहेका महबुब आलमले कम्तीमा दुई जना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाई स्पट फिक्सिङ गर्ने प्रयास गरेको,

– नेपाली खेलाडी मोहमद आदिल आलमलाई एउटा नो बल र एउटा वाईड बल फाल्नको लागि एप्रोच आएको, उनले खेलेका कम्तीमा दुई वटा खेलमा सोही प्रकृतिको खेल खेलेको देखिएको,

– एक नेपाली खेलाडीलाई नेपाली व्यक्तिले एप्रोच गरेको,

– एक विदेशी खेलाडीलाई खेलको व्यवस्थापन टिमका सदस्यबाट एप्रोच भएको,

– टिम म्यानेजरको निर्देशनमा एक विदेशी खेलाडीले एक सेशनमा निर्धारित रनमात्र बनाई स्पट फिक्सिङ गरेको,

– मुख्य प्रायोजकको रूपमा रहेको वानएक्सब्याटले खेलकुदसँग सम्बन्धित समाचारको लागि तथा पूर्वानुमान गर्नको लागि भरपर्दो श्रोत भन्ने दावी गर्ने गरेको । निकट भविष्यमा क्रिकेट खेलसँग सम्बन्धित पोशाक तथा सामग्रीहरू बजारमा उपलब्ध हुने दाबी गरेको तर हालसम्म बजारमा बिक्री वितरणको लागि कुनै पनि सामाग्री उपलब्ध नभएको,

– केही फ्रेन्चाईज टिमहरूको आर्थिक श्रोत, खेलाडीहरूलाई दिने पारिश्रमिकको श्रोत नखुलेको,

– विभिन्न व्यवस्थापकको भूमिकामा रहेका केही व्यक्ति, खेलाडीसँग सम्पर्कमा भएका व्यक्ति र खेलमा सहभागी खेलाडीहरू समेत स्पट फिक्सिङमा संलग्न भएको तथ्य र आधार फेला परेको,

– नेपाल क्रिकेट संघ नै आयोजक भई सञ्चालन गर्ने नेपाल टी–२० क्रिकेट लिगले नेपालको प्रतिनिधित्व गर्ने, राष्ट्रिय क्रिकेट तथा राष्ट्रको छवीमा समेत प्रभाव पार्न सक्ने महत्व बोकेको खेलको रणनीतिक तथा व्यवसायिक साझेदार र प्रयान्चाईज टिमहरूको आर्थिक श्रोत, विगतमा क्रिकेट खेलसँगको आवद्धता, पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने क्षमता लगायतका विषयमा उचित ध्यान दिन नसकेको ।

प्रतिक्रिया