नेपालको शिक्षा र मानार्थ विद्यावारिधि

मोहनप्रसाद सापकोटा

सानै थिएँ, रत्नपार्क, असन आदिको एक छेउमा जनकल्याण चिठ्ठा बेचिएका हुन्थे । सानो हाते माइक बजेको सुनिन्थ्यो ‘ल आयो आयो आजै खुल्ने, एक रुपैयाँमा एक लाख । ल..ल..एक रुपैयाँमा एक लाख…’ । मानिसहरू त्यसमा हुत्तिरहेका देखिन्थे । म पनि लोभ गर्दथेँ । अनेकौँ कल्पना गर्दै, लखपति बन्ने लोभमा, कतिपटक बाउले खाजा खान दिएको पैसा त्यो चिठ्ठा किनेर सकेँ सकेँ । तर मलाई कहिल्यै त्यो चिठ्ठाले लखपति बनाएन ।
केही चिज किन्दा अर्को कुनै चिज सित्तैमा उपहार दिने वा दिएजस्तो गर्ने र त्यसको मूल्य पनि मूल चिजमा गाभ्ने ब्यापारको कलामा मैले जानेदेखि म लगायत प्रायः सबै मानिस फस्ने गर्दछन् । विभिन्न देशका मूल चाडहरूमा यस्ता छुट वा उपहारका मेलाहरू लाग्ने गर्दछन् । अमेरिका जस्ता देशमा पनि एक दिन अघिदेखि नै यस्ता मेलामा सामान लिनेहरूको लाम बस्ने गर्दो रहेछ ।

पहिले पहिले एसएलसीलाई फलामको ढोका भनिन्थ्यो । लरतरो मिहिनेतले उत्तीर्ण गर्न कठिन हुन्थ्यो त्यही भएर यस्तो नाम दिएको हुनुपर्दछ । बिस्तारै यो फलामको ढोकामा उपहार कार्यक्रमले प्रवेश पायो । हरेक वर्ष एसएलसीमा कुन विद्यालयका कुन विद्यार्थीले सर्वोत्कृष्ट अंक लेराउने भन्ने कुरामा पनि चलखेल सुरु भयो । आफ्नो विद्यालयलाई उत्कृष्ट देखाउन सम्बन्धित निकायलाई घुस खुवाउने परम्परा बस्न थाल्यो । तत्कालीन परीक्षा नियन्त्रण कार्यालयले अनुत्तीर्ण वा नतिजा स्थगित गर्नुपर्ने परिस्थितिलाई समेत कमाउने माध्यम बनाउन थाल्यो । मेरा आरोप निराधार छैनन् । रमाइला अनुभवहरू छन् । एउटालाई चाहीँ सेयर गरौँ है ।

डिल्लीबजार घट्टेकुलोमा डेरामा बस्थ्यौँ हामी । त्यही ०४०÷४२ सालतिरको कुरा हुनुपर्दछ । म मेरा भाइहरू दुई जना र बुबा गरी हामी चार जना डेरामा बस्ने गर्दथ्यौँ । एकदिन एकाबिहानै तराई मूलका एक जना व्यक्ति ढोकामा देखा परे । बुबाको नाम लिँदै कता हुनुहुन्छ भनेर सोधे । मैलै भित्र लगेर देखाइदिएँ । उनले कोठाभित्र नपसी ढोकैबाट नमस्कार गरे । मलाई लाग्थ्यो बुबा राष्ट्रिय विकास सेवा (एन.डी.एस.) गर्न गौरमा दुई वर्ष बस्नुभएको थियो, यिनी त्यतैतिरका कोही होलान् । म एकछेउ लाएर कुरा सुन्न थालेँ । उनको नमस्कारको प्रत्युत्तर दिएपछि बुबाले उनलाई ‘मैले हजूरलाई चिनिन नि !’ भन्नुभयो । उनले त्यसपछि जे भने म त्यसलाई बेलिविस्तार गर्न गइरहेको छु ।

उनको घर सर्लाही रहेछ । उनका दुई छोरा रहेछन् । पोहोर साल जेठोले र यसपाली कान्छोले एसएलसी दिएको रहेछ । जेठो पोहोर साल अनुत्तीर्ण भएको रहेछ र रिटोटलिङबाट पास गरिएको रहेछ । रिटोटलिङबाट उत्तीर्ण गराउने परीक्षा नियन्त्रण कार्यालयका कर्मचारीहरू हुँदा रहेछन् । पोहोर जेठोलाई ५० हजारमा पास गराइएको रहेछ, अहिले पनि त्यसैगरी कान्छोलाई पास गराउन मान्छे खोज्दै उनी आएका रहेछन् । सबै कुरा सुनेपछि बुबाले हाँस्दै आफू उनले खोजेको व्यक्ति नभएको भन्दै हुनुहुन्थ्यो, ऊ पत्याइरहेको थिएन, बरु पैसा थप्ने कुरा गर्दै थियो । अन्तिममा मैले उनलाई बाहिर निकाल्दै ‘तपाईंले खोजेको व्यक्तिको घर ऊ त्यो हो, त्यहाँ जानुहोस्’ भनेर देखाइदिएँ । ती परीक्षा नियन्त्रण कार्यालयका हाकिमको नाम र मेरो बुबाको नाम एउटै परेछ । संयोगवश धेरै कुरा थाहा पाइयो ।

यो प्रतिनिधि उदाहरण मात्र हो । जसले जतिसुकै आदर्शका गफ चुटे पनि हाम्रो शिक्षाप्रणाली आजका मितिसम्म यसरी नै जर्जर भइरहेको छ । भर्ना लिनदेखि जाँचमा नम्बर दिन समेत दबाब हुन्छ, मोलमोलाई र आदर्शको किनबेच हुन्छ । आजभोलि त थेसिस पनि चोर्न पाइन्छ, जे विषयमा थेसिस लेखिएको हो त्यही विषयको अन्तरंग कुरो थेसिस लेख्नेलाई थाहा नहुँदा पनि केही फरक पर्दैन । इन्टरनेटले ज्ञान चोर्न सजिलो बनाइदिएको छ, गिदी ज्ञान आर्जन गर्न नभई चोर्न खर्च गर्न जाने पुग्दछ । अरू तहका शिक्षा त झन् प्रमाणपत्रे शिक्षा मात्र भएका छन् । अहिलेको शिक्षाले हाम्रा पालाको शिक्षाले भन्दा निश्चय नै धेरै कुरा सिकाउँछ, सिक्छन् पनि । तर देशलाई चाहीँ धेरै थारै मात्र काम लाग्ने देखिएको छ ।

विद्या आर्जनलाई अर्थोपार्जनसँग मात्र लगेर तुलना गर्ने (टाइ अप) परिपाटीले समाज नराम्ररी थलिएको छ । के पढे वा पढाइए चाँडो जागिर पाइन्छ र धेरै कमाउन पाइन्छ पूरै समाज बुताले भ्याएसम्म त्यसैमा केन्द्रित भइरहेको छ । पढ्नेहरू ‘के विषय पढे विदेश जान सजिलो हुन्छ’ र अभिभावकहरू ‘के विषय पढाए आफ्ना सन्तानको विदेशतिर बिहेबारी गर्न सजिलो हुन्छ’ भनेर सोचिरहेका देखिन्छन् । यो मूलधारको सोच बनिसकेको छ । जो यो सोचमा असफल हुन्छन् ती देशको नीति वा राजनीतिको चाकडी गरेर बस्ने गर्दछन् । विदेश जाने वा पठाउने चाहना पूरा नहुँदा देशको लथालिंग अवस्थालाई शिक्षामा आफूले गरेको लगानी उठाउने माध्यम बनाएर बाँचिरहेका हुन्छन् । विदेशका लागि जनशक्ति उत्पादन गरिरहनेहरू नै यहाँका नीतिनिर्माता भई देश विकासका खाका कोर्ने तहमा पुगिरहेका हुन्छन् ।

समान्यीकरण गर्न हुन्न तर शिक्षाको मूलप्रवाह सकारात्मक छैन । विद्यालय जाँदै नगई तलब पाक्ने अवस्था आउँदा एकताका धेरै मानिस शिक्षकतिर आकर्षित हुने गर्दथे । पञ्चायतकको अन्तदेखि बहुदल सुरु भएपछि एकदशकसम्म यो प्रचलन कायम रह्यो । त्यसपछि आफू बिरामी हुँदा डाक्टर वा अस्पताललाई तिर्नुपरेको फिस देखेर, उसको कमाइ एवं मानसम्मान देखेर, मुखबाट निकाल्दै सबैले आफ्ना सन्तानलाई डाक्टर पढाउने चलन चल्यो । फेरी इन्जिनियरतिर त्यो रोग सल्क्यो । व्यक्तिको आर्थिक औकात सन्तानलाई दिइने शिक्षाको अचूक माध्यम हुन थाल्यो । पचासौँ पटक जाँच दिँदा पनि एसएलसी पास गर्न नसक्ने खालका भुत्तो दिमाग भएका व्यक्ति पनि धमाधम डाक्टर र इन्जिनियर बनेर आउन थाले । पैसाले बनाइदिन थाल्यो त कसको के लाग्दो रहेछ र ? अहिले छोरीलाई नर्सिंङ पढाउने खूब लहर छ, देशका लागि होइन, विदेशका लागि । वकिल बन्ने लहर छ, किन कि त्यो पेसाको कमाइमा न कसैले प्रश्न गर्न पाउँछ, न जाँचपडताल नै ।

सबैलाई एउटै घानमा हाल्नु अतिशयोक्ति हुन्छ, अन्याय हुन्छ । तर, शिक्षा धनी उपहार कार्यक्रम बनिरहेछ, बनाई रहिएको छ, यो कुरा सत्य हो । आखिर कहिलेसम्म यसरी चल्छ होला ? देशलाई कस्ता र कति जनशक्ति चाहिन्छ भनेर निकालिने तथ्यांकमै भ्रष्टाचार र अनियमितता हुन्छ, त्यसपछिका नीति र कार्यान्वयनका पक्षमा हुने अनियमितताका के कुरा गर्नु ?

शिक्षा र प्रतिफल

आज समाचारमा आँखा कुदाउँदै गर्दा एउटा समाचारले आँखा तान्यो । १५ लाख खर्च गरेर नर्स पढ्यो पढायो, आठ हजार तलबमा पनि काम पाउन मुस्किल छ भन्ने उक्त समाचारको सारसंक्षेप थियो । नर्सका मात्रै के कुरा गर्नु, गरिएको लगानी अनुसारको प्रतिफल कुनै पनि विषय लिएर उच्चशिक्षा हासिल गर्ने कसैले पनि यो देशमा पाउन सक्दैनन् । विदेशीले दिएका पाठ्यक्रम र त्यसलाई माध्यम बनाएर शिक्षा क्षेत्र मात्र ब्यापार बन्दै गएको छ । पढाउने संस्थाहरू अर्बपति हुन्छन् पढ्ने व्यक्ति र तिनका परिवार माग्ने हुँदै गइरहेका छन् । आकर्षक तलब र सुविधा पाइने ठाउँमा जागिर खाने, कमाउन कुनै मिहिनेत नै गर्नु नपर्ने पदमा बस्नेहरू एवं पैत्रिक सम्पत्ती बेचेर जीवनस्तर माथि माथि पुगेका नागरिकलाई यो समस्या समस्या जस्तो पनि लाग्दैन ।

स्नातक, स्नातकोत्तर पढिसकेका सैयौं व्यक्ति बेरोजगार भई चिनेजानेका सबैलाई रोजगारका लागि हारगुहार गरिरहेका दृष्टान्त तपाइँ हामी सबैले दिनहुँ भोगिरहेका छौँ । भएको जायजेथा बेचेर सन्तानलाई पढायो, बिहान बेलुकीको दुई छाक जोहोर्न पनि धौ धौ पर्ने किसिमका रोजगारीका अवसर तिनका अगाडि तेस्र्याइन्छन् । अनि ऊ बाध्य भएर देश छोड्छ र भाग्यलाई कोस्दै विदेशतिर दुःख गर्न पुग्दछ । हाम्रा नीतिहरू उपदेशक छन् पथप्रदर्शक छैनन् । देखासिकीको जीवनस्तर र आय आर्जनका बीचमा आकाशजमिनको फरक छ । समाजमा करोडौँ खर्च गरेर सन्तानलाई उच्च शिक्षा पढाउनेहरू बढिरहेका छन् तर त्यस्ता जनशक्तिबाट परिवार वा समाज वा देशले पाउने उपलब्धी हेर्दा हरेक नागरिकका आँखा रसाउँछन् । सम्मानको जीवनयापन गर्न पढेका व्यक्तिहरू पनि हरपल असक्षम हुँदै गइरहेका छन् । देशले लिएको शिक्षा नीतिले सीमित वर्ग लाभान्वित भइरहेको छ भने विस्तारै पूरै नागरिक समाज कंगाल बन्दै गइरहेको छ ।

एक करोडमा किनिएको दक्ष जनशक्ति देश, समाज र परिवारप्रति अपवादमा बाहेक उत्तरदायी हुँदैन, हुन सक्दैन । ऊ पैसाप्रति मात्र उत्तरदायी हुन्छ । त्यसैले हरेक क्षेत्रमा विकृति र विसंगतिहरू झांगिँदै जान्छन् । आयु कम हुन्छ, छोटो समयमै लगानी उठाइकन नाफा कमाउनुपर्ने हुन्छ, अनि उत्पादन भइरहेको जनशक्ति छोटो तरिकाले धेरै धन कमाउने बाटोहरू खोज्न थाल्दछ । देशभित्र यस्तो अवसर पाउने अवस्था नहुँदा ऊ विदेशिन्छ ।
समग्रमा भन्नुपर्दा नेपालले आफ्ना नागरिकलाई दिइरहेको शिक्षा विदेशीले सित्तैमा दक्ष जनशक्ति पाउन गरिरहेको लगानी नै हो । देशको थाप्लोमा हरपल ऋणको भार बढिरहेको छ, विदेशीले सित्तैमा दक्ष जनशक्ति पाइरहेका छन् । हामी पढ्ने, पढाउने सबै स्वार्थी भइरहेका छौँ । देशलाई के चाहिन्छ भनेर वा देश सेवाको पवित्रतम उद्देश्य लिएर यहाँ जनशक्ति उत्पादन भइरहेका छैनन् । के पढाए सन्तानले धेरै कमाउन सक्छ, छोरीले विदेशतिर रहेको लोग्ने पाउँछे, अमेरिका, अष्ट्रेलिया, क्यानडा आदि देशको भिसा पाइन्छ, पूरै समाजको ध्यान त्यतैतिर एकोहोरिएको छ ।

मेरो देश जीवनभरको कमाइ सकेर सन्तानलाई पढाउँछ र पढाइसकेपछि विदेश पठाउँछ । अनि ऊ गर्ब गर्दै छाती फुलाउँछ र भन्दछ, ‘मेरा छोरा अमेरिकामा छन्, मेरी छोरी क्यानाडामा छे, मेरी नातिनी अष्ट्रेलियामा छे । अझै पनि हाम्रा नीतिहरू कुम्भकर्ण निद्रामा छन् । कतै यस्तो नहोस् कि निद्राबाट बिउँझिँदा देशका सबै श्रीसम्पत्ति सकिएर हामीसँग धातु गाल्ने भाँडो (मेल्टिंग पट) मात्र बाँकी बचोस् । त्यतिखेर पछुताउन पनि हामीसँग समय हुने छैन ।

गरेर खान पाउनुपर्ने र सेवा दिइरहेको छु कसले भन्दैन र ? सडक पूरै कब्जा गरेर व्यापार गर्नेहरू पनि सेवा दिइरहेको छु, गरेर खाइरहेको छु नै भन्दछन् ।

उस्तै हो, हात्ती र हात्ती छाप चप्पल भन्छन्, तर….

म सही छु वा छुइन थाहा छैन । मेरो मतमा को सहमत हुन्छन् वा को हुँदैनन् त्यो पनि मतलब गर्दिनँ । म ३६ सालदेखि नै के मान्यता राख्दछु भने नेपालमा ०७ सालदेखि आजसम्म भएका हरेक तथाकथित क्रान्ति र परिवर्तन विदेशीका लागि बनाइएका हेलिप्याड हुन् । इतिहासको विद्यार्थी हुँ, इतिहास अहिले पनि पढिरहेछु । क्रान्ति सम्झौतामा कहीँ कतै कहिल्यै पनि टुंगिएको अभिलेख छैन । जहाँजहाँ सम्झौतामा टुंगिएका छन् ती क्रान्ति वा परिवर्तन प्रायोजित देखिएका छन् । भियतनामदेखि श्रीलंकासम्म भित्रैकालाई बझाएर वा उचालेर लामो समय युद्ध चलाइयो र स्थानीय धर्मलाई प्रतिस्थापन गर्दै अमुक धर्मले मात्र शान्ति कायम गर्न सक्छ भनेर शान्ति स्थापनाको नाटक देखाइयो । सतहमा अनेक कारण तेस्र्याइए जो शतप्रतिशत गलत सावित भइरहेका छन् । नेपालमा… आफैँ मनमनै केलाउनुहोस् ।

कमाएको अस्तित्व गुम्ने डरले कुनै धर्मका अनुयायी जस्ता देखिने तर भित्रभित्रै मानवीय धर्म नै त्यागी सकेकाहरू वास्तविक हिन्दू, वास्तविक मुस्लिम, वास्तविक बौद्ध र वास्तविक इशाईभन्दा खतरनाक छन् म यही भन्थे, भन्छु र भनिरहनेछु । फेरी पनि भन्छु यी तस्करहरू हुन् तस्करको तस्कर–धर्मबाहेक अरू कुनै धर्म नै हुँदैन । मुसा निखार्न कसैले घरमा आगो लगाउँदैन, तर हामी कहाँ लगाइयो । म अबूझ हुन पनि सक्छु तर कुनै धर्मले मुसा मार्न घरमा आगो लगाउनु भनेर उपदेश दिएको छ–यस्तो मैले पढ्न पाएको छैन ।

म पञ्चायतकालीन काठमाडौंको विद्यार्थी जीवनलाई अहिले झलझली सम्झिरहेछु । त्यतिखेर पनि प्रभूहरू सडकमा ओहोरदोहोर गर्दथे, हामीलाई बुख्याचा बन्याएर सडकमा घण्टौँसम्म घाममा उभ्याइन्थ्यो । निगाला वा स्टिलका डाँठ भएका काला टेक्न र सेक्न मिल्ने छाताहरू हुन्थे, तर प्रभूहरू ओहोर गरी नसक्दासम्म त्यो छाता ओड्न दिइन्नथ्यो । सम्झना हुनेहरूले यो कुरालाई आआफ्ना स्मृतिपटलमा खोतलेर हेरुन् । किन यसो गरिन्थ्यो त्यसको उद्देश्य र प्रयोजन आजभोलीको नयाँ युगको समाजलाई बताइरहन नपर्ला ।

गजब छ हाम्रो आत्मा, सार्वजनिक सूचना छोपिने गरी पर्चाहरू नटाँस्न वा टाँसिएको देखे पनि च्यात्न हामीलाई कहिल्यै मन लागेन । पञ्चायतकालमा विपक्षीबाट भित्ताभित्तामा लेखिएका नाराहरू मेट्न अभियान चलाइन्थ्यो, सरकार रंग पोत्दै जान्थ्यो, विपक्षीहरू रातारात फेरी नारा लेखी सक्दथे । अहिले निर्मलाको पर्चा उप्काउने सरकारी अभियान देखेर म त्यही पञ्चायतकालको सम्झना गरिरहेछु । जसरी त्यो पञ्चायतकालीन शैली सही थिएन भनिरहेका छौँ त्यसरी नै अहिलेको शैलीको पनि भोलि मूल्यांकन हुनेछ नै । स्वास्नीसँग कुरा नमिले पारपाचुके गरेर सौता त थप्न सकिन्छ तर माया बजारमा खरिद गर्न सकिन्न । करोडौँ मान्छेले आकाशतिर हत्केला तेस्र्याउँदै सूर्य छेक्यौँ भने पनि बिहान हुनासाथ सत्य उजागर हुन्छ हुन्छ । हामी जजसले जनतालाई ढाँटेर जुन द्वैध चरित्र देखाइरहेका छौँ, त्यसका कारण भोलिदेशले अत्यन्त भयानक मूल्य चुकाउनुपर्ने हुन्छ । त्यसैले जतिसक्दो चाँडो एकल र वास्तविक भूमिकामा सबै आउन्, यसैमा नै सबैको कल्याण हुनेछ ।

समानता

घरी हातका औँला त घरी विभिन्न क्षेत्रमा समानता बेच्न पल्केका व्यापारीभित्रकै असमानता हेर्न पुग्छु । जन्मजात तर गलत राजनीतिक अन्धविश्वास छियाछिया हुन्छ । मुखले बाँड्न र बजारमा बेच्न जति सजिलो छ, त्यति नै व्यवहारमा लागू हुन असम्भव हुने रहेछ यो ‘समानता’ । समानता कि पागलले कि योगसिद्ध जोगीले मात्र महसुस र आत्मसाथ गर्ने विषय रहेछ । अरू सब भ्रम रहेछन् । ‘समानता’ ले पनि आस्था खोज्दो रहेछ, नाता खोज्दो रहेछ, जात र लिंग खोज्दो रहेछ । यति मात्र होइन समानताले आफ्नै मूल्य र भागसमेत खोज्दो रहेछ ।

देश गरिब छैन, सोच गरिब छ । जाँगर मरेको होइन बानी बिग्रेको छ । मागेरै घर, समाज र देश चलाउन सजिलो हुने गरेको छ । निश्चय नै हामी अल्पविकसित देशको श्रेणीमा पर्दछौँ । अल्प विकसित, विकासोन्मुख र विकसित देशलाई विश्व बैंक, एसियाली विकास बैंक आदि देशले दिने सहयोग वा ऋणको मात्रा (भोलम), ब्याजदर, अनुदान र सहयोग फरक फरक छन् । अल्पविकसित देशबाट विकासोन्मुख देशको श्रेणीमा उक्लन हामीले जबरजस्ती कार्यान्वयन गरिरहेका दबाबका नीतिले अन्ततोगत्वा हामीलाई दोबाटोमा लगेर बेवारिसे छाड्छ कि भन्ने चिन्ता बढेको छ ।

विकासोन्मुख देश बन्न, सहर बढाउनु पर्ने, सहरी क्षेत्रमा बस्ने जनसंख्या निश्चित प्रतिशत पुगेको हुनुपर्ने प्रावधान छ, त्यसैले हामीले अनेक थरी आन्दोलन गरेर वा नीति थोपरेर ठाउँठाउँमा जनघनत्व बढायौँ । मुखले विकेन्द्रीकरणका कुरा गरिरह्यौँ तर व्यवहारले जनतालाई सहरतिर थुप्रिन बाध्य पार्दै आयौँ । कुनै पनि हालतमा सहर भन्न नमिल्ने स्थानलाई पनि जबरजस्ती सहर बनाउँदै लग्यौँ । विकासोन्मुख देशको दर्जा पाउने लोभमा हामीले दिन दुई गुना रात चार गुनाका दरले नगरपालिका थप्दै गयौँ । राजनीतिक तहमा वा प्रशासनिक तहमा केही रोजगारी यसले निश्चय नै बढाएको छ । तर आधार सहितको आत्मनिर्भरताको खोजी कसैले पनि गरेको छैन । जनताको आय स्रोत देशभित्रै बढ्ने वातावरण बनाउन नसकिए यो वाध्यात्मक सहरीकरणले देशलाई उल्टो असर गर्नेछ ।

यति प्रतिशत जनताले यो तहको शिक्षा लिएकै हुनुपर्ने भन्ने प्रावधान पनि छ । हामीले पढ्दै नपढी वा कम पढी वा बिनामिहिनेत त्यो लक्ष देखाउने गरी शिक्षा नीतिमा परिवर्तन गर्दै आयौँ । यसले गुणस्तरीय जनशक्तिमा अहिले नै ह्रास आउन थालिसकेको देखिएको छ । भविष्यमा यसको असर अझ विकराल देखिनेछ । सामाजिक समानताको नाममा सामाजिक क्षेत्रलाई एकअर्काको विश्वास गर्न नसक्ने गरी जरैसम्म हल्लाइदिएका छौँ । धर्म विशेषमा लागेका, विशेष भौगोलिक क्षेत्रमा बस्ने र विशेष जातका मानिसलाई छानीछानी देश बाहिर लगिरहिएको छ । अनि उत्तर र दक्षिणतिरबाट आउने नयाँ नेपालीले तिनको रिक्तता परिपूर्ति भइरहेछ । सामाजिक समानताका नाममा समाजकै प्रतिस्थापन भइरहेछ यो देशको लागि कुनै हालतमा पनि शुभ संकेत होइन । जो सदियौँदेखि सीमान्तकृत नागरिक भएर वा आदिवासी भएर यो देशमा बसे तिनलाई भन्दा पनि बढी अधिकार नवआगन्तुक तथाकथित सीमान्तकृत र आदिवासी नागरिकलाई चाहिएको देखिएको छ ।

प्रयोगशाला

गिनीपिगहरूको देश, विश्वका सबै कुरा निर्विघ्न प्रयोग गर्न पाइने देश, यही हो मेरो देश । हरेक किसिमका रासायनिक मल यहीँ प्रयोग भए, हरेक किससिमका विषादी औषधीहरू यहीँ प्रयोग भए । नयाँ नयाँ बालीनालीको प्रयोग यहीँ भए । हरेक थरी नयाँ औषधिको प्रयोग यही देशले बेहोर्र्नु प¥यो । यहाँका दलालहरूले केही पपुरा चाटे, मानार्थ विद्यावारिधीको जामा गुथे । प्रयोग कर्तामध्ये कहिले कसैले नोबेल पुरस्कार पाए, कहिले कसैको उद्योग फस्टायो । पुँजीवाद, साम्यवाद र त्यसको सम्मिश्रण यहाँका रैथाने वादहरू होइनन् । यी पनि यहाँका जनतामा प्रयोग हुँदै आएका कुरा हुन् ।


अहिले एकथरी दलालहरू पुँजीवादको प्रयोग पुँजीवादलाई नै गलत सावित गर्न गरिरहेका छन् । अर्काथरीलाई ‘वाद’ बाँदरको हातमा नरिवल जस्तो भइरहेको छ । मरेको सिंहको छाला ओढेर जंगलको राजा भएको स्याल त्यतिबेलासम्म मात्र राजा हुन सक्छ जतिखेरसम्म आफ्नै विरादरीको स्याल कराउँदैन । अर्को स्याल कराएपछि ऊ पनि स्वाभाविकरूपमा कराउँछ, अनि यथार्थता थाहा हुन्छ । त्यसपछि कोही पछुताउँछन्, कोही रिसाउँछन् ।


औषधि, बिउवीजन र वाद पछि अहिले यो देशमा नीतिहरूको प्रयोग भइरहेको छ । अर्काको जुठोपुरोको भरमा बाँच्ने भइसकेपछि उसका दिसापिसाब त कुरै छाडौँ रगत र पीप पनि मिठो मानेर खानुपर्दो रहेछ । त्यसैले को ककसले दिएको के खाए भन्ने बहस नै अनावश्यक बहस हो । असक्षमतामा वा वाध्यतामा नाकिनिकी गर्ने विकल्प नहुँदो रहेछ । जे भेटिन्छ आँखा चिम्लेर खानुपर्दो रहेछ ।

अहिले नेपाली भाषालाई सरकारी कार्यालयको भाषाबाट विस्तारै प्रतिस्थापन गरिँदै छ । तर्कहरू हाम्रो शिक्षानीति र त्यसबाट हुने उत्पादन अनुकूल आउने गर्दछन् । अर्थात विदेशीले नेपालीलाई आफू अनुकूलको बनाइरहेका छन् । घरायीि व्यवहारदेखि देशको व्यवहार तिथिबाट गते हुँदै अब तारिखमा सार्दै लगिएको छ । विदेशीलाई सजिलो हुने किसिमले तिनकै सफ्टवेयरमा तिनकै भाषामा देशका सबै तथ्यांकहरू रूपान्तरण भइरहेका छन् ।
आफ्नोपनको जगेर्ना किन र कसरी गरिरहेछन् भन्ने कुरा जर्मन, फ्रान्स, चीन एवं भारत आदि देश घुमेर आउने मालिकहरूको दिमागमा पनि कहिल्यै घुसेन । उल्टो त्यहीँको वीर्यसँग आफ्नो वीर्य साटेर आउँछन्ं ।

आजभन्दा १५ वर्ष अगाडि आजैको दिन फिलिपिन्सबाट पठाइएको एउटा मेल (जसलाई मैले डाउनलोड गरेर सुरक्षित राखेको थिएँ) आज अनायास पढ्न पुगेँ । म त्यो मेलको उल्था पस्कन चाहन्छु । ‘म एक फिलिपिनो हुँ, उमेरले ५० काटीसकेँ, बिरामी भएर थला परेँ, सबैले माया मारे । म प्रभूको शरणमा गएँ, उहाँले मलाई हात थाम्नुभयो, म अहिले जीवित छु । मसँग अथाह सम्पत्ति छ । तपाइँमार्फत म हजूरको गरिब देशमा पनि प्रभूको कृपालाई विस्तार गर्न चाहन्छु । एउटा प्रभूको प्रार्थना गृह बनाउनु होला । हजूरले दृढ विश्वास र अठोट गरेपछि म एक हजार डलर पठाउनेछु । त्यसपछिका प्रगति विवरणका आधारमा पैसा पठाउनेछु । आशा छ मलाई यो पवित्र कार्यमा हजूरले निराश बनाउनु हुने छैन ।’ एकजना ….अक्विनोको नामबाट आएको यो मेल छानीछानी विभिन्न व्यक्तिहरूलाई पठाइएको थियो । मैले मेल डाउनलोड गरेँ, त्यसपछि कुनै प्रतिक्रिया दिइरहन उचित ठानिनँ । अहिले देशको वातावरण हेर्दछु, उनको त्यो मेलको सान्दर्भिकता पहिल्याउन मलाई कुनै कठिनाई भइरहेको छैन । यस्तै यस्तैको पूरा खान पल्केको छ मेरो देश । त्यसैले ऊ नुनको सोझो गरिरहेछ । नुनको सोझो गर्नमा विश्वमा एक नम्बरमा पर्दछौँ हामी । नुनमा के मिसाइएको हुन्छ भनेर राजा महेन्द्रलाई र नेपोलियन बोनापार्टजस्ता व्यक्तित्वलाई त थाहा भएन भने विचरा नेपालीलाई कसरी थाहा होस् ।

कुनै पनि विदेशीले निःशर्त सहयोग गर्दैनन् । ब्याजका शर्त होलान्, भुक्तानीका शर्त होलान्, आपसी छलफल गरेर एउटा निष्कर्षमा पुग्नुपर्दछ । आमप्रचलन यही नै हो । तर धर्मसम्बन्धी शर्त हामीले विगत आधा शताब्धी अघिदेखि मान्दै आएका छौँ, यो देशको शान्ति र अस्तित्वका लागि घातक भइरहेको छ र हुनेछ ।

अन्त्यमा

उपत्यकाका जाडो यामका पचास दिन जतिखेर पानीमा माछाहरू पनि सतहमा देखिँदैनन्, पिँधमा लुकेर बस्दछन् त्यो समयलाई मीन पचास भनिन्थ्यो । त्यसबेला यो अवधिभर विद्यालय बन्द हुन्थे । अहिले ब्स्तिारै यो दिन घटेर मीन पन्ध्र, मीन हप्ता बनाइसकिएको छ तै पनि यसरी दिएको शिक्षाले देशको माया गर्ने मानिस अभैm भेटाउन सकेको छैन ।

प्रतिक्रिया