नेपालगञ्ज दादुरा संक्रमणले आक्रान्त

बाँके । जिल्ला सदरमुकामस्थित नेपालगञ्ज उपमहानगरपालिका दादुरा संक्रमणले आक्रान्त बनेको छ । दादुराकै कारण एक जना बालकको मृत्युसमेत भइसकेको नेपालगञ्ज दैनिक दादुरा संक्रमितका कारण आक्रान्त भइरहेको हो । यहाँ दैनिक दादुरा संक्रमितको संख्या बढ्दो क्रममा रहेको छ । नेपालगञ्ज उपमहानगरमा दैनिक सरदर २० जनाभन्दा बढी संक्रमित फेला परिरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नेपालगञ्जमा मात्रै संक्रमितको संख्या सय नाघिसकेको छ । यहाँका १० वटा वडामा संक्रमित फेला परेका छन् । नेपालगञ्जमा कुल २३ वटा वडा रहेका छन् । कार्यालयका अनुसार सबैभन्दा बढी वडा–८ मा २९ जना संक्रमित फेला परेका छन् । वडा–७ मा २८ जना, वडा–११ मा २१ जना, वडा–५ मा १५ जना संक्रमित भेटिएका छन् । बाँकेको खजुरामा दुई जना संक्रमित फेला परेका छन् ।

नेपालगञ्जमा १ सय ८ र खजुरामा दुई जना गरी जिल्लामा दादुरा संक्रमितको संख्या १ सय १० पुगेको छ । जसमध्ये एक जनाको मृत्यु भइसकेको छ । दुई जना संक्रमितको अस्पतालमा उपचार भइरहेको छ ।

भेरी अस्पतालमा उपचार भइरहेका विरामीसँग अस्पतालले शुल्क लिएपछि वडाबाट उपचारका लागि सिफारिस गरी पठाएका स्वास्थ्यकर्मीले आक्रोश पोखेका छन् । निःशुल्क उपचार हुन्छ भन्दै दादुरा संक्रमितको खोजपडतालमा निस्केका स्वास्थ्यकर्मीले अस्पतालले विरामीसँग पैसा लिएपछि काम गर्न अप्ठ्यारो भएको बताएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले संक्रमण फैलिएको नेपालगञ्जमा संक्रमितलाई भेरी अस्पतालले निःशुल्क उपचार गर्नुपर्नेमा शुल्क लिएपछि काम गर्न अप्ठ्यारो परेको बताए । यता स्थानीय तहले संघीय सरकारले चासो नदिएको गुनासो गरेको छ ।

प्रतिक्रिया