फिदिममा महिलाहरुका पाठेघर क्यान्सरको निःशुल्क उपचार हुने

पाँचथर । जिल्लाको फिदिम नगरपालिकामा पाँच दिन महिलाहरुका पाठेघरको क्यान्सर स्क्रिनिङ निःशुल्क उपचार हुने भएको छ । नगरपालिकाले पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निःशुल्क शिविर चलाउने भएको हो ।

महिलाहरुको गर्भावस्था, गर्भपतन, प्रसव र यौन व्यवहारका कारणले प्रजनन प्रणालीमा प्रतिकुल प्रभाव पर्ने तथा आङ खस्ने, प्रसव छिद्र, बाझोपन, स्तन क्यान्सर जस्ता प्रजनन स्वास्थ्य रुग्णता स्क्रिनिङ तथा पहिचानका लागि शिविर आयोजना गर्न लागिएको नगरका स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश यादवले जानकारी दिए ।

प्राथमिक स्क्रिनिङ एवं परीक्षण एचपीभी डिएनए विधिवाट गरिनेछ । परीक्षणको नतिजा एक महिनामा आउने र रिपोर्ट पोजेटिभ आएका महिलाहरुलाई थप उपचारका लागि आवश्यक परामर्श प्रदान गरी सम्बन्धित अपस्तालमा प्रेषण गरिने यादवले बताए । शिविर जेठ ९ गते सुरु भई १३ गतेसम्म चल्नेछ ।

नगरका ४ स्थानमा शिविर राखिएको नगरपालिकाले जनाएको छ । जस अनुसार जेठ ९ गते लुङरुपा स्वास्थ्य चौकी फिदिम १४ मा, जेठ १० गते नागीन स्वास्थ्य चौकी फिदिम १२ मा, जेठ ११ गते रानिटार स्वास्थ्य चौकी फिदिम ८ मा तथा जेठ १३ र १४ गते जिल्ला अस्पताल, पाँचथरमा शिविर सञ्चालन गर्ने कार्यक्रम तालिका मंगलबार पत्रकार सम्मेलन गर्दै नगरले सार्वजनिक गरेको हो ।

नगर क्षेत्रका १ हजार महिलाको परीक्षण गर्ने लक्ष्य रहेको र ३० देखि ४९ वर्ष उमेर समूहका महिलाको स्क्रिनिङ गरिने नगरले जनाएको छ । महिनावारी नभएका बेला र गर्भवती नभएका बेला स्क्रिनिङ गरिने हुनाले त्यस्ता महिलाहरुलाई शिविरमा आई क्यान्सर परीक्षण गराएर लाभ लिन अनुरोध गरिएको छ ।

प्रतिक्रिया