पूर्व मुख्यमन्त्री पौडेलले जारी गरे ‘श्वेत पत्र’

हेटौँडा अस्पतालको स्वामित्व विवाद

हेटौँडा । मकवानपुरको हेटौँडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातहतमा जाने विषयमा राजनीतिक खिचातानी चुलिएको छ । बागमती प्रदेश सरकारले सरकारी स्वामित्वको हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हस्तान्तरण गर्न लागिएको भन्दै त्यसको विरोधमा जिल्लाका ८ राजनीतिक दलले संयुक्त प्रेस विज्ञप्ति जारी गरेको ४ दिनपछि प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले एक ‘श्वेत पत्र’मार्फत त्यसको खण्डन गरेका छन् ।

वैशाख २९ गते नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, राप्रपा नेपाल, राप्रपा र नेकपाका जिल्ला प्रमुखहरूले संयुक्त विज्ञप्तिमार्फत हेटौँडा अस्पताललाई प्रतिष्ठानमा हस्तान्तरण गरिए आन्दोलन गर्ने चेतावनी दिएका थिए । प्रतिष्ठानको भौतिक पूर्वाधार नबन्दासम्मका लागि अस्पताललाई प्रयोगशालाका रूपमा प्रयोग गर्ने सहमति भए पनि हेटौँडा अस्पतालको अस्तित्वलाई नामेट पार्ने प्रयास भएको ८ दलको दाबी थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले ८ दलको विज्ञप्तिप्रति लक्षित गर्दै अस्पतालको सेवा तथा स्वास्थ्य शिक्षासमेत सरकारी नीति नियमअनुसार नै सञ्चालन हुने भएकाले तथ्य विपरीत आउने अभिव्यक्तिमा कुनै सत्यता नभएको दाबी गरेका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान नेपाल सरकारबाट स्वीकृत भएको हुँदा अस्पताल पूर्णतः सरकारी नै रहने उनको भनाइ छ । ‘श्वेत पत्र’मा पूर्व मुख्यमन्त्री पौडेलले लेखेका छन्, ‘प्रतिष्ठानसँग हेटौँडा अस्पताललाई अलग गर्नुपर्छ भन्ने अभिव्यक्ति भ्रम, कुण्ठा र राजनीतिक प्रतिशोधबाहेक केही होइन ।’
पौडेलले प्रतिष्ठान बागमती प्रदेशकै गौरवको योजना र कार्यक्रम भएकोले ८ दलको विज्ञप्तिलाई ‘सार्वभौम संसद्ले बनाएको कानुनी व्यवस्था विपरीत’ भएको बताए ।

नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले जारी गरेको ‘श्वेत पत्र’लाई हास्यास्पद भनेका छन् । सम्बन्धित मन्त्रालयका मन्त्री वा सरकारले श्वेत पत्र जारी गर्ने अभ्यास भए पनि पूर्व मुख्यमन्त्रीले श्वेत पत्र जारी गर्नुलाई पदमा रहँदाकै धङधङी मात्र रहेको लामाले बताए । उनले भने, ‘उहाँमा यो सबै मेरै सम्पत्ति हो भन्ने भ्रम छ । पूर्व मुख्यमन्त्रीले यस्ता विषयमा चासोसम्म राख्ने हो, श्वेत पत्र जारी गर्ने होइन ।’ पौडेलले पत्रकार सम्मेलनमार्फत जारी गरेको ‘श्वेत पत्र’मा ‘मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापनाकालको बागमती प्रदेशको मुख्यमन्त्री, मकवानपुर जिल्लाको नागरिक’का रूपमा हस्ताक्षर गरेका छन् ।

छवि अनित्य

मकवानपुर

प्रतिक्रिया