‘भवन मात्रै राम्रो भएर के गर्नु, सिटामोल त पाइएन’

मुगु अस्पतालमा सिटामोल पनि अभाव !

मुगु । कर्णाली प्रदेशको मुगु जिल्ला पर्यटकीय क्षेत्र हो । स्वर्गकी अप्सरा भन्ने उपमाले परिचित रारा ताल यही जिल्ला पर्छ भने भौगोलिक हिसाबले पनि अत्यन्तै सुन्दर छ । यही सुन्दर जिल्लामा बनाइएको जिल्ला अस्पताल पनि भव्य र सुन्दर छ । यो अस्पताल हेर्दा लाग्छ– यहाँ पुगेपछि आधा रोग यसै निको हुन्छ । यथार्थमा भने यहाँ पुग्ने बिरामीले यही अस्पतालको भव्यता र यहाँबाट देखिने सुन्दर दृश्य हेरेर रोग निको बनाउनुपर्ने बाध्यता छ ।

यही जिल्ला अस्पतालमा अहिले सिटामोलजस्तो सामान्य औषधि पनि पाइँदैन । औषधि अभाव भएर बिरामीले सास्ती खेपिरहँदा सरोकारवाला निकायको ध्यान यसमा पुगेको देखिँदैन । पटक–पटक औषधि अभाव भएर स्थानीयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था हुँदा पनि दीर्घकालीन समाधानको उपाय खोजी गरिएको पाइँदैन ।
औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी छ । सरकारले ९८ प्रकारका निःशुल्क औषधि वितरण गर्ने भनिए पनि दुर्गम हिमाली जिल्ला मुगुमा सामान्य सिटामोलसमेत पाउन नसकेको स्थानीय बताउँछन् ।

बाहिर हेर्दा चिटिक्क देखिने जिल्ला अस्पताल सेवा सुविधाका हिसाबले भने आफैँ थला परेको छ । बिरामी परेर उपचार खोज्दै आएका मुगालीहरूले गतिल्लो उपचार नपाएको भन्दै दुखेसो पोख्ने गरेका छन् ।

मुगुको खत्याड गाउँपालिका–९ का राजकुमार लावड सामान्य बिरामी परेपछि जिल्ला अस्पताल मुगेका थिए । तर, उनले अस्पतालमा सिटामोलसमेत पाउन सकेनन् । ज्वरो आउने, खोकी लाग्ने, कान दुख्ने जस्ता समस्या देखिएपछि आफू अस्पताल पुगेको, तर सिटामोल पनि पाउन नसकेको उनको गुनासो छ । ‘भवन मात्रै भव्य र सुन्दर भएर के गर्नु, सिटामोल नै खान नपाएर मरिएला जस्तो छ,’ उनले भने ।

१५ शय्याको यस अस्पतालमा उपचारका लागि मुगुका मात्र नभई छिमेकी जिल्ला हुम्लाका केही क्षेत्रका नागरिक पनि आउने गरेका छन् । मौसम परिवर्तनसँगै बिरामीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा सामान्य प्रकारका औषधि अभाव हुँदा पनि सम्बन्धित निकाय बेखबर छन् । जिल्ला अस्पताल मुगुले अहिलेमात्र नभई यस्तो समस्या भोगेको होइन, यहाँ समयसमयमा औषधि अभाव हुँदै आएको छ ।
गत वर्ष नै खरिद गरिएको औषधिले अहिलेसम्म काम चलेको अस्पताल प्रशासनले जनाएको छ । गत वर्ष भदौमा खरिद गरिएको औषधिले नै अहिले धानिरहेको स्वास्थ्य सेवा कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख डाक्टर कमल ढुंगानाले बताए ।

सामान्य बिरामी हुँदासमेत उपचार नपाएपछि नागरिक भने मारमा छन् । गाउँमै अस्पताल भएर पनि आफूहरूले सास्ती खेप्नुपरेको उनीहरूको गुनासो छ । अस्पतालमा पर्याप्त मात्रामा औषधि, उपकरण र विशेषज्ञ जनशक्ति व्यवस्थापन गर्न सके मेडिकल टुरिजमकै विकास र विस्तार गर्न सक्ने सम्भावना भए पनि राज्यले उपेक्षा गर्दा आफूहरू मारमा परेको उनीहरू बताउँछन् ।

प्रतिक्रिया