७ वटै प्रदेशका प्रहरी प्रमुख फेरिए

काठमाडौं । प्रहरी प्रधान कार्यालयले १७ जना प्रहरी नायव महानिरीक्षक (डीआईजी) हरुको काज सरुवा गरेको छ । डीआईजी सरुवा सूची अनुसार ७ वटै प्रदेश प्रहरी प्रमुख फेरिएका छन् । प्रदेश १ का प्रहरी प्रमुख डीआइजी सुदिप गिरीको प्रहरी मुख्यालयअन्तर्गत विशेष ब्यूरोमा सरुवा भएको छ । प्रदेश १ मा साइबर ब्यूरोका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीलाई पठाईएको छ ।
मधेस प्रदेशका प्रहरी प्रमुख डीआईजी मसाउद आलम खाँलाई काठमाडौंस्थित उपत्यका प्रहरी कार्यालय रानीपोखरी ल्याईएको छ। खाँको ठाउँमा प्रहरी प्रधान कार्यालयस्थित कार्य विभाग निर्देशनालयका डीआईजी बसन्त बहादुर कुँवरको सरुवा भएको छ ।

शक्ति केन्द्रका हिसाबले महत्वपूर्ण मानिने बागमती प्रदेश प्रहरी प्रमुखमा प्रहरी मुख्यालयकै आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयका प्रमुख डीआइजी दिपक थापालाई पठाईएको छ । उनको ठाउँमा डीआईजी किरण बज्राचार्यलाई ल्याईएको छ । गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी रामदत्त जोशीलाई प्रहरी मुख्यालयस्थित अन्वेषण योजना तथा विकास निर्देशनालयमा ल्यार्यएको छ। गण्डकीमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका डीआईजी बुद्धिराज गुरुङलाई पठाईएको छ ।

गुरुङ कार्यरत प्रतिष्ठानमा लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डीआईजी नल प्रसाद उपाध्यायलाई ल्याईएको छ । त्यस्तै लुम्बिनी प्रदेश प्रहरी प्रमुखमा प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको सचिवालयका डीआइजी टेक प्रसाद राईको सरुवा भएको छ । सचिवालयमा कर्णाली प्रदेश प्रहरी प्रमुख पोषराज पोख्रेललाई ल्याईएको छ ।

पोख्रेल कार्यरत कर्णालीमा प्रहरी प्रधान कार्यालयस्थित अन्वेषण योजना तथा विकास निर्देशनालयका डीआइजी भिम प्रसाद ढकालको सरुवा भएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहको सरुवा भएको छ । त्यहाँ कार्यरत डीआइजी मोहन कुमार आचार्यको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा सरुवा भएको छ ।

नेपाल प्रहरी शिक्षालय, भरतपुरमा कार्यरत डीआइजी सन्दिप भण्डारीको प्रहरी मुख्यालयस्थित कार्य विभागको कार्य निर्देशनालयमा सरुवा भएको छ। भण्डारी कार्यरत शिक्षालयमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीआइजी दुर्गा सिंहको सरुवा भएको छ। ब्यूरोमा सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख मोहन कुमार आचार्यलाई ल्याईएको छ ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत डीआइजी किरण राणाको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा भएको छ । सामान्यतः इन्चार्जको सरुवा एक वर्ष अवधिमा गरिने भएपनि १ नम्बर, बागमति प्रदेश, गण्डकी प्रदेशका डीआइजीहरुको भने पाँच महिना मात्रै पुगेको थियो । गत साउनमा मात्रै उनीहरुको प्रदेशमा सरुवा भएको थियो ।

प्रहरी प्रमुखको आकांक्षीका रुपमा रहेका डीआइजीहरु क्रमशः बसन्त बहादुर कुँबर, दिपक थापा, टेक प्रसाद राई, अशोक सिंहले यसअघिको डीआइजी सरुवामा इन्चार्च नमागी एआइजी बढुवाको चलखेलमा लागेका थिए। प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई शक्तिकेन्द्रमार्फत दबाब दिएपनि सिंह र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडले नमानेपछि खाली रहेका दुई एआइजी पदमा बढुवा हुन सकेको थिएन । स्रोतले भन्यो,‘शक्तिकेन्द्रमार्फत बढुवाहुन दबाब दिने होइन, काम गरेर अनुभवसँगै कार्यप्रगतिको आधारमा बढुवामा हुनुपर्छ भन्ने गृहमन्त्री रबि लामिछानेको निर्देशन अनुरुप महानिरीक्षक सिंहले डीआइजीहरुको काज सरुवा गरेका हुन् ।’ त्यसो त यसअघिका प्रदेश प्रहरी प्रमुखले पनि शक्तिकेन्द्रमार्फत नै सरुवाका लागि दबाब दिएका थिए ।

प्रतिक्रिया