१८ महिनादेखि तलब नपाउँदा नगरपालिकाका कर्मचारी पलायन हुँदै

Oplus_131072

मधेस ब्युरो । रौतहटको कटहरिया नगरपालिकाका करारका कर्मचारीहरूले १८ महिनादेखिको तलब भत्ता पाउन सकेका छैनन् । तलब नै नपाएपछि कर्मचारीहरूले पनि राजाको काम कहिले जाला घामजस्तै निराश भएर काम गर्न थालेका छन् भने कतिपय कर्मचारीहरू हुँदाखाँदाको जागिर छाडेर विदेश पलायन हुन थालेका छन् ।

कटहरिया नगरपालिकाका कर्मचारी रविरन्जन यादवले नगरपालिकाले गत २० महिनादेखि बाँकी रहेको तलबमा जम्मा २ महिनाको मात्र तलब उपलब्ध गराएको बताएका छन् । २० महिनाको पाउनुपर्नेमा २ महिनाको मात्र तलब पाउँदा घरपरिवार चलाउन विजोग भएको बताउँदै यादवले घरका मानिसहरूले जागिर छाडेर विदेश जान दबाब दिन थालेको बताएका छन् ।

कटहरिया नगरपालिकाका रहेका करारका कर्मचारीको बारेमा आफूहरूलाई केही पनि जानकारी नभएको वडाध्यक्ष सर्फलाल गुप्ता बताउँछन् । नगरप्रमुख अजय प्रकाशले कार्यपालिका बैठकमा पनि करारका कर्मचारीको बारेमा केही पनि बताउने नगरेको र करारका सबै कर्मचारीको कम्तीमा एक वर्षभन्दा बढीको तलब बाँकी रहेको आफूले सुनेको गुप्ताको भनाइ छ ।

करारका कर्मचारीको संख्या कति रहेको र कति तलब दिने गरेको बारेमा नगरप्रमुखले कहिल्यै कुनै जानकारी नदिने गरेको स्पष्ट पार्दै वडाध्यक्ष गुप्ताले करारका कर्मचारीहरूबाट आधा रकम जति नगरप्रमुखले कमिसन लिने गरेको आरोप आफूले सुनेको बताउँछन् ।

नगरपालिकामा करारमा कार्यरत कर्मचारीको संख्या ७० को हाराहारीमा भएको आफूहरूले बुझेको तर नगरप्रमुख अजय प्रकाशले भने १५० भन्दा बढी करारका कर्मचारी रहेको बताउने गरेको गुप्ताको भनाइ छ । करारका कर्मचारी कहाँ काम गर्छन् भन्ने बारेमा कसैलाई कुनै जानकारी नरहेको गुप्ताको भनाइ छ ।

अर्का वडाध्यक्ष चन्दन कुशवाहाले भने नगरप्रमुख अजय कुशवाहाले कटहरिया नगरपालिका–९ स्थित आफ्नो चिनी मिलमा ८० देखि १०० जनालाई करारमा काम दिएको र त्यसको भुक्तानी नगरपालिकाबाट दिएको आरोप लगाउँछन् । काम गर्ने वास्तविक कर्मचारीलाई तलब नदिएको तथा नगरप्रमुखको निजी काम गर्नेलाई भने तलब दिने गरेको वडाध्यक्ष कुशवाहाको दाबी छ ।

इमानदार र दक्ष कर्मचारीले तलब नपाउँदा विदेश पलायन भइरहेको देखिएको छ । करारका कर्मचारीले करिब डेढ वर्षदेखि तलब नपाएको गुनासोको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानलाई सम्पर्क गर्दा निजको मोबाइलको स्विच अफ रहेकाले सम्पर्क हुन पाएन ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया