अनाथालयका ३० जना बालकलाई भोजन

रौतहट । स्वर्गीय श्रीमती रामा यादवको ३३औँ जन्मजयन्तीको अवसरमा ३० जना बालकलाई भोजन गराइएको छ । रौतहट जिल्लाको गरुडामा अवस्थित रहेको बंशीराम अनाथालयमा रहेको ३० जना बालकहरूलाई भोजन गराइएको हो । स्वर्गीय श्रीमती रामा यादवको २९ वर्षको सानो उमेरमा कोरोनाको कालमा मृत्यु भएको थियो ।

स्वर्गीय श्रीमती रामा यादवको श्रीमान जयप्रकाश यादवले श्रीमति रामा यादवको ३३औँ जन्मजयन्तीको अवसरमा भोजन खुआएर जन्मजयन्ती मनाएका छन् । जीवित रहेको बेला नै आफ्नो जन्मदिन अनाथ बालबालिकासँग मनाउने रहर राखेकी हुनाले उनको मनोकामना पूरा गर्नका लागि ३३औँ जन्मजयन्तीको अवसरमा अनाथ बालकहरूलाई भोजन खुआएर जन्मजयन्ती मनाएको श्रीमान् जयप्रकाश यादवले बताए । विश्वमा कोरोना महामारीले आतंक मचाएका बेला अल्पआयुमै सञ्चार क्षेत्रमा क्रियाशील यादवको कोरोनाका कारण मृत्यु भएको थियो । स्वर्गीय श्रीमती रामा यादवको २०७८ वैशाख २८ गते गौर अस्पतालमा मृत्यु भएको थियो ।

को थिइन् स्वर्गीय श्रीमती रामा यादव

स्वर्गीय श्रीमती रामा यादवको जन्म २०४८ वैशाख २७ गते माधव नारायण नगरपालिकाको खेसरहिया भन्ने गाउँमा भएको थियो । उनी २९ वर्षकै उमेरमा यो संसार छोडेर गइन् । रामा यादव रौतहट जिल्लाको पहिलो टेलिभिजन रेड टेलिभिजनकी सञ्चालिका थिइन् ।
सानैदेखि सञ्चार क्षेत्रमा रुचि राखेकी रामा यादव ठूलो अठोट गरेर जिल्लामै पहिलो टेलिभिजन स्थापना गर्न सफल भएकी थिइन् । रामा यादव प्रेस युनियन रौतहटको कोषाध्यक्षसमेत थिइन् । स्वर्गीय रामा यादवको श्रीमान् जयप्रकाश यादवसमेत सञ्चार क्षेत्रमा जोडिएको हुनाले उनले श्रीमतीले चाहेको सबैथोक पूरा गर्न कुनै कसर बाँकी राखेनन् । तर कोरोनाको बेला रामा यादवको मृत्यु भयो ।

श्रीमतीको मृत्यु भए लगत्तै श्रीमान् जयप्रकाश यादवले स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कारसमेत घोषणा गरेको थियो । स्वर्गीय रामा यादव पत्रकारिता पुरस्कार प्रत्येक वर्ष स्वास्थ्य क्षेत्रमा कलम चलाउने १ जना महिला पत्रकारलाई पुरस्कार वितरण गरिँदै आएको छ । स्वर्गीय रामा यादवकी ४ छोरी र श्रीमान् एवं सासूससुरा रहेका छन् ।

प्रतिक्रिया