बलिवैश्वदेव परम्पराका केही वैज्ञानिक पक्षहरू

सम्मिश्रण, संसर्ग, समयपरिस्थिति र स्थान विशेषअनुसार हावा, पानीलगायत खानेकुराहरू समेत विष हुन वा बन्न पुग्दछन् । कहिले जानाजान त कहिले अनजानमा खाद्य वा पेय पदार्र्थ विषाक्त हुने गर्दछ । कहिले जानाजान मान्छेले आफूलाई वा अरूलाई मार्न विषको प्रयोग गर्दछ त कहिले अन्जानमा । आफूले दैनिक उपभोग गर्ने खाना विषाक्त छ कि छैन भनेर परीक्षण गर्ने प्राचीन कालदेखि चलेको तरिका बलिवैश्वदेव हो । यसको प्रचलन स्थानअनुसार फरकफरक छन् । अघिल्लो दिन त्यही कुरा त्यसरी नै त्यही भाँडामा पकाएर त्यही भाँडामा खाँदा केही हुन्न तर भोलिपल्ट यही प्रक्रिया गर्दा मानिस बिरामी हुन्छ । आधुनिकताले यसलाई फुड प्वाइजन भनिदिन्छ । हो यही फुड प्वाइजनको परीक्षण गर्ने प्राचीन विधि नै बलिवैश्वदेव हो

मोहनप्रसाद सापकोटा

कुनै कुरा पढ्नु अघि दिमागलाई शान्त बनाउनु पर्दछ । दिमाग शान्त नभई मन स्थिर हुँदैन । मन स्थिर नभई पढेको कुरो दिमागमा घुस्दैन । विद्या आर्जनका तरिका बताउँदै यस्तै यस्तै सल्लाह दिन्छन् हाम्रा शास्त्रहरू । यसैले यी तल लेखिएका कुरा पढ्नु अघि मनबाट आग्रह वा पूर्वाग्रह हटाउनुहोस् ।

वेददेखि आधुनिक कालमा जन्मेको केही सम्प्रदायका पुस्तकमा समेत बलिवैश्वदेव गर्नुपर्दछ भनेर लेखेको पाइन्छ । तर, किन ? स्पष्टरूपमा कतै केही लेखिएको हुन्न । वेदका शाब्दिक अर्थ अत्यन्त सरल छन् तर भाव सरल छैन । एउटै शब्दका हजारौँ अर्थ भेटिन्छन् । बलिवैश्वदेव के हो ? बलिवैश्वदेवको आध्यात्मिक पक्ष केलाउने हो यसलाई मानिसले गर्नुपर्ने पाँच थरिका महायज्ञ मध्येको एक भनिएको छ र पर्यायवाची शब्दमा भूतयज्ञ भनेर दिइएको छ । नित्य प्रयोग गरिने चुलो, ढिकी, जाँतो, सिलौटो लोहोरो र कुचोमार्फत हुने जीव हिंसाको प्रायश्चितका लागि यो यज्ञ गर्नु भनेर निर्देशन दिइएको छ । यसभन्दा बढी आध्यात्मिक पक्ष केलाउनतिर म लागिन यद्यपि संकलनमा अथाह विवरण छन् । म यसको अर्कोपाटो केलाउने जमर्को गर्दैछु ।

शास्त्रमा यस्ता कलुषित मन हुने, निकृष्ट पेसा अपनाउने र शुद्धतामा ध्यान नदिने व्यक्तिलाई विशेष किसिमका शब्दले सम्बोधन गरिएका छन् । अन्यथा नलिइयोस् म एउटा शब्दको उदाहरण दिइरहेको छु, ‘शूद्र’ शब्दको । प्रचलन वा परम्परालाई पन्छाएर नेपाली जनजिब्रोले यसको अर्थ खोज्ने हो भने शूद्रको अर्थ छुद्र भनेर भन्दा हुन्छ । अब यसलाई यसरी बुझौँ । छुद्रको पनि कुनै वर्ण वा जात हुन्छ र ? चारै वर्णका व्यक्ति छुद्र हन्छन् वा हुन सक्छन् । के बाहुन छुद्र हुँदैनन् र ? वर्ण व्यवस्था मानिसले गर्ने कर्म र अँगाल्ने आचरणका आधारमा दिइएको विशेषण हो । यसको पुष्टि शास्त्रकै विभिन्न वचनले गरेका छन् । धेरै ठाउँमा भनिएको छ कि पतित बाहुनभन्दा सदाचारी चाण्डाल सेवनीय हुन्छ । आचरणमा नबस्ने बाहुन शूद्रसमान हुन्छ र सदाचारी शूद्र बाहुन समान पूज्य हुन्छ । यसरी शास्त्रले बारम्बार जन्मलाई नभई आचरणलाई प्राथमिकतामा राखेको छ । हामी विगत सैयौं वर्ष अघिदेखि शास्त्रको मर्म विपरीत आचरणलाई पन्छाएर जातमा रुमलिँदै आयौँ ।

जन्मने मर्दछ र मर्ने फेरी जन्मन्छ । एउटै जीव समयअनुसार र गरेको कर्म अनुसार नयाँ नयाँ रूप लिएर जन्मिरहन्छ । फेरी छुट्टै नयाँ सृष्टि हुँदैन, वातावरण र कालखण्ड अनुसार रूपहरू बदलिई रहन्छन् । कहिले हात्ती कमिलो जत्रो हुन्छ त कहिले कमिलो हात्ती जत्रो । कहिले मानिको आकार पर्वताकार हुन्छ त कहिले भिँडे खोर्सानीका बोटमा झुण्डिएर आत्महत्या गर्नेखालका अति साना हुन्छन् । महाप्रलय नुहँदासम्म जीव र प्रकृतिमा पनि यही नियम लागू हुन्छ । अस्त्विका लागि जसरी जीवहरूका बीचमा संघर्ष चलिरहन्छ त्यसरी नै ग्रह, नक्षत्र र ताराहरूका बीचमा पनि संघर्ष चलिरहन्छ । डार्बिन र न्यूटनले यसलाई जीव विज्ञान र गुरुत्वाकर्षणको सिधान्त भनेर नाम दिए । हिन्दूहरूले मान्ने सबै देवीदेवताको पनि आयु हुन्छ । अविनाशी कोही पनि छैनन् । अन्तमा एक शक्ति मात्र बाँकी रहन्छ र त्यो नै सर्वशक्तिमान ईश्वर हो । चाहे शिव हुन् वा विष्णु वा ब्रह्मा नै किन नहुन् सबै उनै ईश्वरका अंश हुन् । सबै चल अचल संसार ईश्वरकै अंश हो । शत्रुमा पनि ईश्वरको बास हुन्छ, खाने अन्नमा र कमिलामा पनि तिनै ईश्वरको अंश हुन्छ । ईश्वर अर्थात अदृश्य, जान्न नसकिने र कहिल्यै ननासिने शक्ति । यही भन्दछन् हाम्रा शास्त्रहरू ।

हरेक शास्त्रमा आफूलाई मात्र खाना बनाएर कहिल्यै नखानु, सामूहिक भोजबाट सकेसम्म टाढै रहनु, कलुषित मन हुने एवं त्यस्तो पेसा गर्ने वा शुद्ध र सफा नहुने व्यक्तिले पकाएको वा पस्केका खाना नखानुजस्ता धेरै कुरा यत्रतत्र सल्लाह दिइएको पाइन्छ । विभिन्न समयमा देशमा होस् या विदेशमा सामूहिक भोज खाएर बिरामी भएका समाचारतर्पm सबैको ध्यान गएकै होला । यस्ता सामूहिक भोज वा प्रसाद खाँदा भएको दुर्घटना हजूरहरूले पक्कै पढ्नु नै भएकै होला ।

विष सिसीभित्रको झोल वा कुनै चक्की वा धुलो मात्र हो भनेर व्याख्या गर्ने विषय होइन । सम्मिश्रण, संसर्ग, समयपरिस्थिति र स्थान विशेषअनुसार हावा, पानीलगायत खानेकुराहरू समेत विष हुन वा बन्न पुग्दछन् । कहिले जानाजान त कहिले अनजानमा खाद्य वा पेय पदार्र्थ विषाक्त हुने गर्दछ । कहिले जानाजान मान्छेले आफूलाई वा अरूलाई मार्न विषको प्रयोग गर्दछ त कहिले अन्जानमा । आफूले दैनिक उपभोग गर्ने खाना विषाक्त छ कि छैन भनेर परीक्षण गर्ने प्राचीन कालदेखि चलेको तरिका बलिवैश्वदेव हो । यसको प्रचलन स्थानअनुसार फरकफरक छन् । अघिल्लो दिन त्यही कुरा त्यसरी नै त्यही भाँडामा पकाएर त्यही भाँडामा खाँदा केही हुन्न तर भोलिपल्ट यही प्रक्रिया गर्दा मानिस बिरामी हुन्छ । आधुनिकताले यसलाई फुड प्वाइजन भनिदिन्छ । हो यही फुड प्वाइजनको परीक्षण गर्ने प्राचीन विधि नै बलिवैश्वदेव हो ।

खाना तयार भएपछि सबै थोकको केही अंश बेग्लाबेग्लै सबभन्दा पहिले आगोमा होम्नु, त्यसपछि आफूले पालेको वा स्वतन्त्ररूपमा विचरण गर्ने पशुपंक्षीलाई एवं अदृश्य, अप्रामाणिक तर आफूले मानेका देवीदेउता, ऋषि, पितृ, भूतप्रेत आदि समस्त वर्गलाई केही चढाउनु । सबै आश गर्नेलाई जलसहित केही खाने कुराको अंश दिनु । पाहुना आएको भए उसलाई पहिला खुवाउनु । त्यसपछि आफूमा आश्रित सबै जना (काम गर्ने कुनै व्यक्ति राखिएको भए उसलाई समेत) लाई पहिला खुवाएर अनि मात्र आफूले (घरमूलीले) खानु ।

खाना खानुअघि हातगोडा सफा पानीले धुनु (पखाल्नु होइन) खाना खान प्रयोग गरिने वस्त्र अरू कुनै प्रयोजनका लागि पनि प्रयोग नगर्नु । सुत्दा धोएको चिसो गोडा लिएर कहिल्यै नसुत्नु तर खाना खान चिसै गोडाले खानु । खाना खानुअघि खाना पस्किएको भाँडोलाई चार कुने घेरा पारेर शुद्ध र चिसो पानीले छेक्नु र बसेको ठीक अगिल्तिर भुइँमा आफूले खान लागिएका वा खाइने सबै चिज मिसाएर बूढी औंला र साहिँली औंलाको टुप्पाले च्याप्दा जति आउँछ त्यति भूपति (आफूबसेको देशको मालिक), भूवनपति (संसारको मालिक), भूतपति (सारा जीवका मालिक), सबैदेवता र अग्निको नाम लिँदै चढाउनु (औसानी हाल्नु) तथा त्यसपछि पानी आचमन गरी सोही विधिले शरीर सञ्चालन गर्ने पाँथ थरी वायुको नाम लिँदै शरीर भित्र बलिरहेको अग्निमा सोही मात्रामा खाना खानु । अनि देब्रे हातको बूढी र साहिँली औंला जलमा डुबाई दुबै बन्द आँखामा लगाउनु ।

सारांशमा स्मृतिदेखि महाभारतसम्म यही कुरा लेखिएको छ । यसको कारण र उपलब्धीका विषयमा आध्यात्मिक वचनहरू असंख्य छन् । तुरुन्त परिणाम नदिने वा पाइएको नदेखिने हुनाले मानिसहरू यसलाई रुढीवादी परम्परा मान्ने गर्दछन् । यसको फल र उपभोग गर्ने जीव अदृश्य छ । अदृश्य जीवको सम्बन्धमा त अहिले नासामा कामगर्ने सबै वैज्ञानिकहरू समेत कुरा चपाउँछन् । पहिलो दिन अदृश्य जीव वा एलियन छैन भन्छन् अर्को दिन अर्को वैज्ञानिक हामीसँग त्यस्तो प्रविधि छैन, अदृश्य जीवहरू हाम्रै नाक अगिल्तिर घुमिरहेका पनि हुन सक्छ भन्ने गर्दछन् ।

बलिवैश्वदेव गर्ने प्रक्रियामा लुकेको कारणका सम्बन्धमा भने केही कुरा आयुर्वेदका ग्रन्थमा लेखिएको पाइन्छ । त्यहाँ होम गर्नुपर्ने वा खानेकुरा चढाउनुपर्ने कारण यो हो भनिएको त छैन, तर त्यसबाट पाइने लाभका विषयमा बताइएको छ । म त्यसलाई यहाँहरू माझ सारांश बनाएर प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

पहिला लागौँ होमतिर । पहिलापहिलाका ऋषिमुनिहरू जंगलका एकान्तस्थलमा कुटी वा आश्रम बनाएर बस्दथे । त्यहाँको वायु स्वच्छ र शुद्ध हुन्थ्यो । मानव संसर्र्ग बढ्न थालेपछि वा वातावरण प्रदूषित हुन थालेपछि ती आफ्ना आश्रमहरू अन्त फेरी एकान्तमा सार्दथे । तिनीहरू नित्य दिनको तीनपटक होम गर्दथे । होम गरिने चरु (धान, चामल आदि अनाज, घिउ, सखर, तील आदि) मा सामान्यतः परिवर्तन गरिँदैनथ्यो । तर, विशेष परिस्थितिमा वा निश्चित समयको अन्तरालमा हुने होममा चरु बदल्ने गरिन्थ्यो । रुखविरुवाका मुना, पशुपंक्षीको मासु आदिसमेत आवश्यकता र प्रयोजन हेरी होम गरिन्थे । वेदका मन्त्र शुद्धरूपमा उच्चारण गर्दै यस्ता होमहरू हुने गर्दथे । यस्ता स्थलमा दैवसंयोगले पुग्ने मानिसहरू कुनै एकान्तस्थलको तलाउ वा तीर्थस्थलमा पुगेको जस्तो वर्णन गर्न नसकिने खालको आनन्द महसुस गर्दथे र त्यसैमा लीन हुन पुग्दथे ।

वेदमा र स्मृतिग्रन्थहरू लेखिएकै समयमा लेखिएको मानिने शतपथ ब्राह्मणमा होम गर्दा बल्ने ज्वाला (आगाको लप्को) का लक्षणहरू लेखिएका छन् । वेदमा स्तुतिकारूपमा लेखिएको छ भने त्यसपछिका ग्रन्थहरूमा बुझिने गरी यी लक्षण लेखिएको छ । होम गर्दा सधैँ एउटै नापका दाउरा (समिधा), एउटै साधन र एउटै स्थलको प्रयोग हुन्थ्यो । विशेष परिस्थितिमा यी साधनको मिश्रणमा र होम गर्ने स्थानमा समेत फेरबदल गरिन्थ्यो । घरघरमा पनि होम हुन्थे । सक्नेले नित्य र नसक्नेले विशेष विशेष पर्वहरूमा अनिवार्य होम गर्ने परम्परा थियो । नयाँ अन्न उत्पादन भएपछि र नयाँ कुरा पकाएपछि त्यो होम नगरी खान सुरु नै गरिँदैनथ्यो । आखिर किन त ? आध्यात्मिक कारण त यत्रतत्र लेखिएको पाइन्छ तर केही अरू कारण पनि त होलान् नि भनेर खोतल्दै गएँ ।

ऋषिमुनिहरूले गर्ने नित्य होमको पहिलो कारण थियो पर्यावरणको परीक्षण । होम गर्दा निस्कने ज्वालाको आकारप्रकार, रंग एवं त्यसबाट वातावरणमा फैलने बास्ना वा गन्धका आधारमा परिवर्तित वातावरणको परीक्षण गरिन्थ्यो । यिनै लक्षणका आधारमा भविष्यमा हुनसक्ने घटना परिघटनाहरूको अकाट्य भविष्यवाणीहरू हुने गर्दथे । त्यसपछि ती ऋषिमुनिहरू जुन राजाको अधिनस्त क्षेत्रमा बसेका हुन्थे त्यहाँका राजालाई गएर भविष्यमा हुन लागेको विपत्तिप्रति सचेत गराउँदथे । दोस्रो कारण थियो खाद्यान्नको गुणस्तर परीक्षण । नित्य प्रयोग गरिने खाद्य वस्तु भक्ष्य वा अभक्ष्य के छ भनेर होमको विधिबाट गुणस्तर पत्ता लगाइन्थ्यो ।

जस्तैः

ऋषिमुनिहरूले गर्ने नित्य होममा चरु बदलिएको छैन, हिजो जे होमिएको थियो आज त्यही कुरा होमिएको छ, हिजो जुन् वृक्षका जत्रा र जस्ता दाउरा प्रयोग गरिएको थियो आज पनि त्यही प्रयोग गरिएको छ । तर, होममा बलिरहेको आगोको ज्वाला एउटै घेरामा बदलिन्छ र बलिरहेको आगो अर्कै आवाज निकालेर पड्किन्छ भने वातावरण प्रदूषित भइरहेको छ भनेर भन्ने गरिन्थ्यो । नीलो रंगको ज्वाला देखिए शुद्ध वायु (अक्सिजन) को मात्रा घटिरहेको छ भनेर भविष्यवाणी गरिन्थ्यो । कीरा बल्दा वा काँचो दाउरा बल्दा पनि नीलो रंगको ज्वाला निस्कन्छ । त्यसैले बाल्दा आवाज वा गन्ध आउने, काँचो एवं कीरा लागेको दाउराको होममा प्रयोग गर्न निषेध गरिएको थियो ।

गृहस्थले घरघरमा नित्य गर्नुपर्ने होममा पनि पकाएका सबै थोक खानुअघि बेग्लाबेग्लै बलिरहेको अग्निमा चढाउनु पर्दछ भनिएको छ । प्राचीनकालमा पकाएको वा तुल्याएको खाने कुरा भाँडाको संसर्गका कारण, खाद्यान्नमा जान अनजानमा हुने मिसावटका कारण, पानीका कारण वा अन्य कारणले विषाक्त भएको छ वा छैन भनेर परीक्षण गर्ने पहिलो विधि यही रहेको देखिन्छे । सधैँ यही कर्म गर्ने अनुभवी गृहस्थले होम गरिएको खाद्यान्नको ज्वालाको रंग, आकारप्रकार एवं त्यसबाट आउने बास्ना वा गन्धका आधारमा खाद्य वस्तुको गुणस्तर जाँच्ने गर्दा रहेछन् । आजभोलि त पूरै मानव समाज विषपुरुष र विषकन्या भएको छ, जे भेटिन्छ ल्यायो पकायो खायो । वाध्यता छ, नैतिकता छैन । विरामी भए नजिकै अस्पताल छँदै छ । न कसैसँग जिम्मेवारी छ, न उत्तरदायित्व ।

खाद्यान्नको अग्नि परीक्षामा पनि कहिलेकाहीँ झुक्किने सम्भावना हुन्थ्यो । त्यसैले अझ गुणस्तरप्रति विश्वस्त हुन यसपछि पकाइएको खाद्यान्नको केही अंश लगेर पशु वा पंक्षीलाई वा अदृश्य देवीदेवता वा अन्यलाई भनेर खुल्ला ठाउँमा लगेर खान दिने वा राख्ने प्रचलन थियो । पशु, पंक्षी वा कीराले खाएर त्यसको असर तिनमा देखिनुपर्ने अवधिसम्म कुरिन्थ्यो । किनकि कुन विषको असर खाएको कतिबेर पछि कुन जीवमा कस्तो देखिन्छ भनेर पनि लेखिएको छ ।

जस्तै ः

विषाक्त अन्न खाएपछि झिंगा आदि कीराहरू मर्न थाल्दछन् । कागको स्वर बस्दछ । सुँगा, मैना आदि जस्ता घरपालुवा चराहरू त्यस्तो अन्न नजिक पाउनासाथ ठूलठूलो स्वर गरेर अचम्मसँग कराउन थाल्दछन् । हाँस हिँड्दाहिँड्दै ढल्न थाल्दछ । च्याँखुराका आँखा सेता हुन्छन् । कर्याकुरुङ झुम्न थाल्दछ । परेवा, कोइली, कुखुरा मर्दछन् । बिरालोमा तीव्र वेग उत्पन्न हुन्छ । बाँदरले तुरुन्त दिसा गर्दछ । मयुर यस्तो अन्न देख्नासाथ नाच्न थाल्दछ । आफ्नो अनुकूल अनुसार यीमध्ये जुन् जीवबाट सम्भव हुन्छ त्यही जीवबाट नित्य पकाइएका खाद्यान्नको गुणस्तर जाँच हुन्थ्यो र नकारात्मक असर देखिए ती अनाजहरू कतै लगेर खाल्डो खनी पुरिन्थ्यो । बालिन्नथ्यो वा त्यत्तिकै कतै खुल्ला फालिन्नथ्यो । टायर बालेर जाडो भगाउन पल्केको आधुनिक समाजलाई यस्ता कुरा उदेकलाग्दा हुन सक्छन् ।

पहिला अग्निमा, त्यसपछि पशुपंक्षीमा र त्यसपछि औसानीको माध्यमले कीराफट्यांग्रामा परीक्षण गरि सकेपछि बल्ल मानिसहरू अरूलाई खाना खुवाउँथे र अन्त्यमा आफू खान्थे । परीक्षणको यो विधिलाई पूर्वजहरूले धर्ममा समाहित गर्दै प्रचलन चलाए, वर्ग विशेष भित्र संस्कारको अभिन्न अंग बनाए ।

यो पनि जान्दा फरक पर्दैैन (ब्रह्मवैवर्तपुराणबाट)

आँखालाई सफा पानीले पखाल्ने, नियमित व्यायाम गर्ने, पैतालामा तेलले नित्य मालिस गर्ने, अनि दुबै कान र शीरमा तेल हाल्ने गरे रोगव्याधी लाग्दैन ।

हरेक वसन्त ऋतुमा घरमै थच्चिएर नबसी, कतै न कतै पैदल घुम्ने वा भ्रमण गर्ने, आगोको सम्पर्कमा थोरै समय रहने (कुनै पनि किसिमको ताप ः आगो, हिटर वा घाम वा अन्य ताप धेरै नताप्ने) तथा निश्चित समय र दिनमा मात्र सहवासमा संलग्न हुने मानिसलाई कहिल्यै रोगले आक्रमण गर्दैन ।

ग्रीष्म ऋतु (जेठ र असार) मा तलाउ, नदी, झरना आदिको प्राकृतिक, स्वच्छ, सफा र चिसो पानीमा गरिने स्नान, शरीरमा चन्दनको लेपन र स्वच्छ वायुको सेवनले मानिसलाई रोगले आक्रमण गर्दैन (दशहरामा मेला लाग्ने र नुहाउने चलन किन चलाइएको हो अब बुझ्नु भो होला, हामी कहाँ पनि त दशहरामा गोसाइँकुण्ड आदि गरिएका तीर्थस्थलमा मेला लाग्दछ नि होइन र ?) । वर्षा ऋतु (साउन, भदौ) मा तातोपानीले गरिने स्नान, वर्षाको पानीले गरिने अस्नान र ठीक समयमा ठीक्क मात्रामा गरिने आहारका अगाडि रोग आउँदैन ।

शरद ऋतुमा घाम नताप्नु, धेर घुमघाम नगर्नु अनि नित्य तलाउमा गएर नुहाउने गर्नु, शरीरमा रोग आउँदैन । हेमन्त ऋतु (मंसिर–पुस) मा नित्य बिहान नुहाउने गरे, समयमा ठिक्क ताप (अग्नि) ताप्ने गरे अनि अलिअलि तातो र नयाँ अन्नको भोजन गर्ने गरे, उसका नजिक रोगव्याधि आउँदैन ।
शिशिर ऋतुमा (माघ–फागुन) मा न्यानो कपडा लगाउनु, आगो ताप्ने गर्नु, ताततातै खानेकुरा खानु र तातो पानीले नुहाउने गर्नु, रोगव्याधि लाग्दैन ।
भोकलाग्दा उत्तम खानेकुर खानु, तिर्खालाग्दा उत्तम जल पिउनु र दिनहुँ शुद्ध पान (केही नमिसाइएको) चपाउने गर्नु रोगव्याधि लाग्दैन । जो व्यक्ति संयमतापूर्वक मात्रा मिलाएर दिनहुँ, दही, नौनी, घिउ र सखर खाने गर्दछ उसका नजिक रोग आउँदैन ।

सुकेको वा भुटेर सुक्खा पारिएको मासु, आफूभन्दा पाको उमेरकी स्त्रीको सेवन, कात्तिकको घाम तथा धेरै दिनको बासी दही खानाले रोगले दलबलसहितसहित आक्रमण गर्दछ । रातमा दही खानेलाई अनि व्यभिचारिणी वा रजस्वला स्त्री सम्भोग गर्नेलाई कति थरी रोग लाग्छ लाग्छ ।
शास्त्रले जे जे कुरा गर्दा, खाँदा वा पिउँदा पाप लाग्दछ भनेका छन् नि त्यो वास्तवमा रोग नलागोस् भनेर भनिएको हो । पाप नै रोगको प्रमुख कारण हो । पापको रोगसँग अचम्मको मित्रता रहेको हुन्छ । त्यसैले मानिस मात्रले पापबाट आफूलाई पर राख्नु । म फेरी पनि भन्दछु कि– पापले गर्दा नै रोग लाग्दछ, पापले गर्दा नै असमयमा बूढ्यौली लाग्दछ, पापले गर्दा नै अनेक थरी दुःख हुन्छ र पापले गर्दा नै अकल्पनीय शोक बेहोर्नु पर्दछ । पाप नगर्ने व्यक्तिसँग रोगहरू त्यसरी नै भाग्दछन् जसरी गरुडलाई देखेर सर्पहरू भाग्दछन् ।

जरो आउनु भनेको सम्पूर्ण रोगको प्रारम्भिक लक्षण हो (विज्ञान भन्दछ कि जरो आफैँमा रोग होइन) । धेरै भोग लाग्दा पनि जब मानिसले खानेकुरा खाँदैन तब नाइटोको पछिल्तिर रहेको मणिपूर चक्रमा पित्त उत्पन्न हुन थाल्दछ । यस्तो बेलामा कसैले भोक मेटाउन ताडी वा बेल खान्छ र त्यसपछि तुरुन्त पानी पिउँछ भने त्यो व्यक्ति पित्तमा आउने विकृतिका कारण तुरुन्त मर्न पनि सक्दछ । यसैगरी, जो उल्टोमति भएको मानिस भदौमा तातोपानी शीरमा हालेर नुहाउँछ वा प्रायः तीतो कुरा धेरै खान्छ उसको पनि पित्त बढ्दछ । धनियाँ पिँधेर सखर मिसाई चिसो पानीमा सर्वत बनाएर खाए पित्त शान्त हुन्छ । चना, पञ्चगव्य, रसहीन दही, पाकेको बेल वा ताडी, उखुको रसले बनेका सबै पदार्थ, अदुवा, मूला, मुँगीको दाल र सक्खर मिसाइएको तिलको धूलो (अमिलो र खोर्सानी हालिएको तिलको छोप होइन) पित्तलाई नियन्त्रण गर्ने खानेकुराहरु हुन् ।

खाना खानासाथ तुरुन्त नुहाउने गर्नाले, तिर्खा नलागी नलागी बलजफ्ती पानी पिउने गर्नाले, तिलको तेलको सेवन गर्नाले, धेरै चिल्लो कुरा खाने गर्नाले, अमलाको अत्यधिक सेवन गर्नाले, बासी खानेकुरा खाने गर्नाले, मोही–पाकेको केरा–दही खानाले, झरीमा रुझ्नाले, सखरको सर्वत खानाले, चिल्लो तर परेको पानी पिउने गर्नाले, नरिवल पानी खानाले, बासी पानी पिउनाले, धेरै घाममा बस्नाले, तरबुजो वा पाकेको काँक्रो खानाले, वर्षामा तलाउमा गएर नुहाउनाले र मूला खानाले मानिसको शरीरमा कफ बढ्दछ । कफको उत्पत्ति स्थल ब्रह्मरन्ध्र हो । शिरको सबभन्दा माथि खोपडीमा एक प्वाल वा बाटो हुन्छ, जसलाई ब्रह्मरन्ध्र भनिन्छ । (ब्रह्माण्डको पनि ब्रह्मरन्ध्र हुन्छ त्यतातिर आज जान चाहन्न) । कफ बढ्ने भनेको शरीरलाई चाहिने विभिन्न रस र वीर्य बन्ने क्रममा रोकावट हुनु हो ।

कफ बढेको अवस्थामा पसिना निस्कने गरी परिश्रमका काम गर्नु । भाङका गेडा भुटेर खाने गर्नु । भुटेर पेलिएको तेलको प्रयोग गर्नु । यताउता घुम्ने गर्नु । सकेसम्म सुक्खा खानेकुरा खानु । सुकेको अथवा पाकेको हर्रो चपाउने गर्नु । काँचो पिण्डारक (?), काँचो केरा, धनियाँ–जीरा आदि मिसाएर पिँधिएको धुलो मसला, सिवाँली (लेउ विशेष), खाना नखाई उपवास बस्ने कार्य, पानी नपिउने कार्य, घिउसँग मिसाएर खाइने वंशलोचन, घिउ र सखरको मिश्रण, मरिच, पीप्ला, सुठो, जीवक (विजयशाल ?) र मह जस्ता पदार्थले तुरुन्त कफको नाश हुन्छ ।

खाना खानासाथ तुरुन्त हिँडडुल गर्नाले, दौडनाले, शरीरका कुनै अंग काटिनाले, आगो ताप्नाले, लामो समय हिँडिरहनाले, मैथुनले, आफूभन्दा बढी उमेरकी स्त्रीसँग सहवास गर्नाले, चिन्ता वा पश्चात्ताप मनमा लिइरहनाले, रुखो खानेकुरा खानाले, भोकभोकै बस्नाले, युद्धमा संलग्न हुनाले, झगडा गर्नाले, कटुवचन बोल्नाले, डराउनाले र शोकमा डुब्नाले शरीर भित्र वायु बढ्दछ । शरीरभित्र वायुको उद्भव हुनेस्थल निधारको बीच भाग (आज्ञा चक्र) हो ।

(शरीरलाई चाहिनेभन्दा बढी वा कम हावा उत्पन्न हुनु वा शरीरभित्र हावा बहने मार्गमा रोकावट हुनु वा चाहिनेभन्दा बढी हावा कुनै भागमा गएर थुप्रनु नै वायुजन्य रोग हुने कारण हुन् । बोलिचालीको भाषामा यसलाई गानुगोला, बाथ, अमन, डकार, पेट फुल्ने, कब्जियत, गोटा पर्नु आदि अनेक नामले चिनिन्छ । पेटमा हावा भरिए वा कब्जियत भए कुनै जेल वा डाइजिन वा डुस वा त्रिफलाचूर्णजस्ता औषधि खाएर मात्र हुन्न । दिमागको त्यो भाग (आज्ञा चक्र) लाई ठिक गर्नुपर्ने हुन्छ जसले शरीरभित्रको हावालाई नियन्त्रण गरिरहेको हुन्छ–महर्षि चरक)

शरीरमा वायु–विकार उत्पन्न भए पाकेको केरा, कुनै कागती आदि फलको गेडासहित हालेर बनाइएको शखरको सर्वत (सबीजं शर्करोदकम्), नरिवल पानी, ताजा लस्सी वा मट्ठा वा मोही, ताजा पुवा–मालपुवा आदि, भैँसीको शुद्ध वा शखर मिसाइएको दही, पकाएको केही समय पछिको बासी अन्न (सद्यः पर्युषितान्नं), जौ आदिको पीठोमा जडिबुटी मिसाएर पकाइएको माडा, शीतल जल, भुटेको तेलहनको तताइएको तेल वा तिलको तेल, नरिवल, ताडी, खयर, अमलाको तात्तातो झोल, मनतातो पानीको स्नान, श्रीखण्डको आलो चन्दन–रस (धेरै खानु हुन्न), नसुकेको कमलका पातमाथिको सुताइ र अलि बढी चिल्लो खानेकुरा–यी कुराले तुरुन्त वायु–विकारलाई शाम्य पार्दछ ।

प्रतिक्रिया