सीआईबीले थाल्यो अनुसन्धान

नेपाल टी–२० लिगमा म्याच फिक्सिङको आशंका

काठमाडौं । नेपाल टी–२० लिगमा म्याच फिक्सिङ हुनसक्ने आशंकामा नेपाल प्रहरीले अनुसन्धान सुरु गरेको छ। सामाजिक सञ्जाल र लिगका संलग्न काठमाडौं नाईट क्लबकै कप्तान ज्ञानेन्द्र मल्लले आफ्ना खेलाडीहरुलाई फिक्सिङका लागि ‘एप्रोच’ गरेको भन्दै सार्वजनिक रुपमा बोलेपछि प्रहरीले अनुसन्धान थालेको हो । उपप्रधान एवं गृहमन्त्री रबि लामिछानेको निर्देशनपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान थालेको छ। लामिछानेको निर्देशन प्रहरी मुख्यालयहुँदै सीआइबी पुगेको थियो। प्रहरी मुख्यालयले सीआइबीलाई अनुसन्धान गर्न बुधबार पत्र पठाएको थियो । प्रहरी मुख्यालयको पत्रकै आधारमा गम्भीर भएर अनुसन्धान एवं छानविन थालिएको जानकारी सीआइबीका निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीले दिए ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यममा यस विषयमा विवरणहरु सार्वजनिक भएसँगै सीआइबीले यसमा चासो देखाएको थियो । सीआइबीले छुट्टै टोली गठन गरेर अनुसन्धान सुरु थालिएको छ। काठमाडौं नाइट्स क्लबका कप्तान मल्लले आफ्नो खेलाडीलाई ‘फिक्सिङका लागि एप्रोच’ गरिएको बताउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को ‘एन्टी करप्सन युनिट’लाई जानकारी गराएको बताएका थिए । प्रतियोगिताका कमेन्टेटर सचिन तिमल्सिनाले समेत म्याच फिक्सिङ भएको दाबीसहित फेसबुकमा भिडियो वक्तव्य जारी गरेका थिए। उनले भिडियो वक्तव्य जारी गर्दै जिम्मेवारीबाट बाहिरिएको घोषणा समेत गरेका थिए। समाजिक सञ्जालमा फिक्सिङ भएको बताएका खेलाडी र अफिसियलबाट प्रहरी अनुसन्धानमा सहयोग पु¥यान सीआइबीले आग्रह गरेको छ ।

सीआईबीले औपचारिकरुपमा अनुसन्धान सुरु गरेकै दिन नेपाल क्रिकेट संघ (क्यान) ले जारी खेलमा म्याच फिक्सिङ भएको आरोप गलत रहेको दाबी गर्दै वक्तव्य जारी गरेको छ । क्यानले नेपाली क्रिकेट र राष्ट्रकै नाममा ठेस पुर्याउने गरी यस्ता मिथ्या र भ्रामक सूचना नफैलाउन सबैमा आग्रह गरेको छ । सीआइबीका अनुसार जारी खेलमा सट्टेबाजीसमेत भइरहेको छ । अनलाइन सट्टेबाजी लागि चर्चित एप वानएक्सवेटले यसमा सट्टेबाजी गराइरहेको प्रहरीले जनाएको छ । सीआइबीले सट्टेबाजीमा संलग्न करिब ४० जनालाई पक्राउ गरिसकेको छ ।

सीआइबी प्रमुख एआइजी सुवेदीले भने,‘म्याच फिक्सिङको सम्बन्धमा प्रहरी मुख्यालयबाट अनुसन्धान एवं छानविनकालागि पत्र आएपछि हामीले टोली गठन गरेरै काम गरिरहेका छौं। सट्टेबाजीको हकमा भने धमाधम पक्राउ गर्दै अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाएका छौं।’ उनले बेटिङ र फिक्सिङको सन्दर्भ बेग्लाबेग्लै भएकाले छुट्टाछुट्टै अनुसन्धान जारी रहेको बताए । प्रतियोगितामा विदेशी खेलाडीलाई श्रम स्वीकृतिबिना खेलाइएको आरोप लागेको छ । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा ९ पुसदेखि सुरु भएको खेल २७ पुससम्म चल्नेछ ।

डिएसपी केसीमाथि छानविन गर्न समिति गठन

नेपाल प्रहरीका नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीमाथि छानबिन गर्न प्रहरी मुख्यालयले समिति बनाएको छ। प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) चन्द्रकुवेर खापुङको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको मुख्यालयले जनाएको छ ।

नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी टेकप्रसाद राईका अनुसार छानविन समितिलाई विस्तृत छानविन गरेर विभागीय कारबाही वा अन्य कारबाही गर्नुपर्ने आधार खुलाएर सिफारिस गर्न निर्देशन दिईएको छ। इलाका प्रहरी कार्यालय बुटवलका निर्वतमान डीएसपी केसीको सरकारी निवासबाट सीआइबीको प्रहरी टोलीले ३५ तोला सुन, १० लाख नगद र १५ लाख रुपैंया अंकित चेक बरामद गरेको थियो ।

व्यवसायीको सुन नियन्त्रणमा लिएर डीएसपी केसीले सुन फिर्ताका लागि भन्दै २५ लाख असुलेको उजुरी सीआइबीमा परेपछि अनुसन्धान गर्दा केसी नियन्त्रणमा परेका थिए । केसी हाल निलम्बनमा छन् । अपराधको प्रकृति अनुसार केसीले बर्दीको आडमा व्यवसायीबाट ‘लुटिएको’ सुन र नगद बरामद गर्दा उनलाई हिरासतमा लिएर फौजदारी कसुरमा अनुसन्धान अघि बढाउनुपर्ने थियो। तर, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडका विश्वापात्र भएकै कारण उनीमाथि कारबाही गर्न आनाकानी भईरहेको स्रोत बताउँछ ।

प्रतिक्रिया