गण्डकीका मुख्यमन्त्री अधिकारीलाई सर्वोच्चले दियो अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई दीर्घकालीन असर पर्ने गरी कुनै निर्णय नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश अब्दुल अजिज मुसलमानको एक इजलासले नेपाली कांग्रेस प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले दायर गरेको रिटमा सो आदेश दिएको हो । उक्त आदेशमा नवनियुक्त मुख्यमन्त्री एमालेका अधिकारी नेतृत्वको सरकारलाई नियमित कार्य सञ्चालनबाहेक दीर्घकालीन पर्ने गरी कुनै निर्णय नगर्न आदेश दिएको छ ।

अन्तरिम आदेश जारी हुनेनहुने विषयमा छलफल गर्न सर्वोच्चले दुवै पक्ष बोलाएको छ । रिटलाई अग्राधिकार दिई जेठ ८ गते पेसीमा चढाउन पनि इजलासले भनेको छ । प्रदेशसभा, सभामुख र प्रदेश प्रमुखका नाममा कारण देखाऊ आदेश पनि सर्वोच्चले जारी गरेको छ ।

निवर्तमान मुुख्यमन्त्री समेत रहेका पाण्डेले नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा संविधान उल्लंघन गरेको दाबी गरेका थिए ।

पाण्डेको रिटमा अधिकारीले ६० सदस्य प्रदेश सभामा ३० सदस्य देखाएर बहुमत दाबी गरेको उल्लेख गरेका थिए । प्रदेश सभामा बहुमतका लागि ३१ सांसद हुनुपर्नेमा एक जना कम हुँदा पनि बहुमत पुगेको भनी सभामुखले घोषणा गरेर संविधान मिचेको दाबी रिटमा गरिएको थियो ।

प्रतिक्रिया