रौतहटको मौलापुर पूर्ण खोप सुनिश्चितता पालिका घोषणा

मधेस ब्यूरो । रौतहटको मौलापुर नगरपालिकालाई आज पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । एक समारोहका बिच पूर्ण रुपमा खोप घोषणा गरिएको हो । जिल्लाको स्थानीय तहमध्ये पूर्ण खोप सुनिश्चितता पालिका हुनेमा १५औँ पालिका बनेको छ ।

शुक्रबार जिल्ला समन्वय समिति रौतहटका सभापति एवम् खोप समन्वय समिति रौतहटका संयोजक रामअयोध्या प्रसाद यादवको प्रमुख आतिथ्यतामा विशेष कार्यक्रम आयोजना गरी मौलापुरलाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको मौलापुर नगरपालिकाकी नगर प्रमुख रिना कुमारी साहले जानकारी गराएकी हुन् ।

मौलापुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहका अनुसार १५ महिनामा ७ पटकसम्म लगाइने हरेक १३ वटा खोपहरु लगाइएको छ । नगरभरिको खोप लगाउनुपर्ने सम्पूर्ण बालबालिकाहरूलाई खोप लगाइसकिएको छ । पूर्ण खोप लगाउनबाट छुटेका बालबालिकाहरू एउटा अभियान सञ्चालन गरी पहिचान गरेर खोप लगाइएपश्चात् पूर्ण घोषण गरिएको उनले बताए ।

पूर्ण खोप घोषणा कार्यविधी अनुरुप निर्देशिकाको सम्पूर्ण प्रक्रिया पूूरा गरी सबै खोप लगाइसकेपछि पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको मौलापुर नगरपालिकाले जनाएको छ । त्यस्तै कार्यक्रममा जिल्ला समन्वय समिति रौतहटका सभापति रामअयोध्या प्रसाद यादवले मौलापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका भएको घोषणा गर्दै नगरप्रमुख रिना कुमारी साहलाई घोषणापत्र हस्तान्तरण गरेका छन् ।

कार्यक्रमलाई समापन गर्दै नगरप्रमुख साहले सबैको साथ र सहयोगले नै मौलापुर नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्न सकिएको बताइन् । उनले यसमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरिन् । कार्यक्रम समापनपश्चात् प्रमुख अतिथिलगायत सबै जनाले नगरपालिका पूर्ण खोप सुनिश्चितता पालिका बनेको प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा मेयर साहले सहभागी सबै वडाका प्रतिनिधीहरुलाई पूर्ण खोप सुनिश्चितता वडा भएको प्रमाणपत्र प्रदान गरेकी छन् । साथै स्वास्थ्य स्वंयमसेविकाहरु र स्वास्थ्य शाखा इन्चार्जहरुलाई कदरपत्रसहित सम्मान गरिएको हो । अतिथिहरुलाई मायाको चिनोका साथ सम्मान गरिएको छ ।

कार्यक्रममा पूर्वसंघीय सांसद समिना हुसैन, मौलापुर नगरपालिकाका उपप्रमुख नागेन्द्र यादव, स्वास्थ्य कार्यालय रौतहटका सूचना अधिकारी एवं खोप फाँट प्रमुख अनिलकुमार कर्ण, मौलापुर नगर प्रवक्ता चन्देश्वर बैठा, वडा नम्बर ५ का वडाध्यक्ष चन्देश्वर साहलगायतले आ–आफना शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो पूर्ण खोप घोषणा कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख अच्छेलाल साहले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन मौलापुर नगरपालिकी लघुउधम शाखाका प्रमुख सुमन यादवले गरेकी थिइन् ।

यता जिल्लाको पूर्ण खोप पालिका घोषणा भएको नगरपालिकामा गौर नगरपालिका, दुर्गा भगवती गाउँपालिका, इशनाथ नगरपालिका, राजपुर नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका, गुजारा नगरपालिका, चन्द्रपुर नगरपालिका, वृन्दावन नगरपालिका, गरुडा नगरपालिका, माधवनारायण नगरपालिका, परोहा नगरपालिका र बौद्धिमाई नगरपालिका रहेका छन् ।

जेठ महिनाको दोस्रो हप्तामा रौतहट जिल्ला नै पूर्ण खोप जिल्लाको रूपमा घोषणा गरिने तयारी तीव्र रूपमा भइरहेको र बाँकी रहेको पालिका पूर्ण खोप घोषणाको अन्तिम चरणमा रहेको बताइएको छ । अब उपरान्त जिल्लामा तीनवटा पालिकाहरु वैशाख २९ गते राजदेवी नगरपालिका, वैशाख ३१ गते गढिमाई नगरपालिका र जेठ २ मा कटहरिया नगरपालिका घोषणा हुने तयारीमा रहेको बताइएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया