पत्रकारिताको मर्यादाप्रति राष्ट्रपतिको प्रश्न र नेपाली मिडियाको भविष्य

भरतराज पोखरेल

नेपाली मिडिया यस्तो संकटबाट गुज्रिरहेका छन् तर देशभरिबाट भेला भएका पत्रकारले यो विषयमा गम्भीर विमर्श गरेको पाइएन । मिडया उद्योग नै धराशायी हुने अवस्थामा पत्रकारको रोजगारीको समस्या पनि प्रवल रूपमा देखिने अवस्था छ । तैपनि यो विषय प्राथमिकतामा परेन । त्यति मात्रै होइन मर्यादित पत्रकारितका बारेमा राष्ट्रपतिले उठाएको प्रश्नमा पनि सामान्य छलफलसमेत भएन । कार्यक्रमका प्रमुख अतिथिले उठाएको प्रश्न जायज हो भने कि त चिन्तन मनन् हुनुपथ्र्यो होइन आक्षेप मात्रै थियो भने यथोचित सन्देश दिन सक्नुपथ्र्यो ।

यही पुस ८ र ९ मा नेपाल पत्रकार महासंघको केन्द्र्रीय साधारणसभा सुर्खेतमा भव्यरूपमा सम्पन्न भयो । नारा थियो, ‘मर्यादित पत्रकारिता, सुरक्षित पत्रकार ः श्रम अधिकार र प्रेस स्वतन्त्रता हाम्रो सरोकार ।’ कार्यक्रमको प्रमुखअतिथि हुनुहुन्थ्यो महामहिम राष्ट्रपति विद्यादेवी भण्डारी । लिखित भाषणका क्रममा नारामै लेखिएको मर्यादित पत्रकारिताको बारेमा थुप्रै प्रश्न उठाउनुभयो । छन त नारामा सुरक्षित पत्रकार, श्रम अधिकारका कुरा पनि थिए, तर त्यसमा राष्ट्रपतिको नजर गएन । नेपाली पत्रकारिता मर्यादित हुन सकेको छैन भन्ने विषयमा मात्रै बढी केन्द्रित हुनुभयो । बन्द सत्रमा पत्रकार महासंघको जिल्ला अध्यक्ष भइसकेका एक जना सहभागीले आफनो भोगाइसहित छलफलको विषय उठाए । प्रश्न बडो गम्भीर थिए, ‘बलात्कारको केशमा एक जना पक्राउ पर्छ, जिल्ला प्रहरी कार्यालयबाट फोन आउँछ – खल्तीमा प्रेस पास भेटियो ।’ ठगीको केसमा अर्को पक्राउ पर्छ, प्रहरीले फोन गर्छ –पत्रकार रैछ के गर्ने होला ?

उद्योग व्यवसायीले फोन गर्छन्, ‘तपाईंको पत्रकारले धम्क्याएर पैसा माग्यो ।’ महासंघको जिल्ला अध्यक्षलाई दुःख सुनाए, ‘छुटाउन जाउँ मन मान्दैन, नजाउँ एउटा पत्रकार पक्राउ पर्दा महासंघ के हेरेर बसेको छ ? भन्दै साथीहरू घेराउ गर्छन, यस्तो बेला साह्रै पीडा हुने रैछ ।’ बन्द सत्रमा राष्ट्रपतिले उठाएको गम्भीर प्रश्नमाथि खासै चर्चा भएन । त्यसै गरी पत्रकारिताका विकृतिबारे ती सहभागीले उठाएका गम्भीर विषयमा पनि कुनै छलफल भयो । समानुपातिक विज्ञापन, साना मिडियाको संरक्षण आदिबारे केही छलफल त भए तर व्यावसायिक दक्षताको बारेमा पनि खासै छलफल भएन । मिडिया नै संकटमा भएको बेला गम्भीर छलफल जरुरी थियो । त्यता कसैको चिन्ता देखिएन । प्रत्येक सहभागीलाई दुई मिनेट समय दिएकोमा ६२ जनाले छलफलमा भाग लिए । १३ हजार १६ साधारण सदस्य (२ हजार ३ सय ९२ महिला) बाट चुनिएका र मनोनीत गरी झण्डै साढे सात हजार केन्द्रीय परिषद् सदस्य मध्ये ४ सय २५ उपस्थित थिए । कार्यक्रममा अमेरिकासहित विदेशका १० देशका शाखाबाट प्रतिनिधि सहभागी थिए ।

नेपाली मिडियाको भविष्य

मुलुकमा कोरोना कहर चलिरहेको बेला सञ्चार क्षेत्रमा सबैभन्दा बढी छटपटी देखिएको थियो । पत्रकार तथा कर्मचारी निष्काशनका समाचार फाट्टफुट्ट बाहिर आए पनि मुलुककै सबैभन्दा ठूलो एक सञ्चार गृहले आफ्ना तीनवटा प्रकाशन बन्द गर्ने घोषणा गरेसँगै निजी क्षेत्रका सञ्चार गृहको उकुसमुकुस छताछुल्ल भएको हो । प्रकाशन कटौतीले सञ्चार क्षेत्रमा हलचल ल्यायो ।

अहिले कोरोनाले दोष पाए पनि छापा पत्रकारिताको बारेमा संशयपूर्ण अडकल चल्न थालेको धेरै भइसकेको छ । कोरोनाकालमै दुई वर्षअघि संभवतः देशभरका सञ्चारकर्मीहरू लुम्बिनीमा भेला भएर नेपाली सञ्चार क्षेत्रको भविष्यको बारेमा चिन्ता जाहेर गरेका थिए । मंसिर १ देखि चलेको तीन दिने न्युज फेस्टिबलमा लुम्बिनीमा भेला भएका देशका प्रतिनिधिमूलक मिडियाकर्मीको करिबकरिब एउटै स्वर थियो, ‘अब परम्परागत तरिकाले नेपाली मिडिया चल्न सक्दैनन् । सबैजसो सञ्चारमाध्यमका स्थानीय प्रतिनिधिको बाहुल्य रहेको सो जमघटमा सबैले आ–आफ्नो पीडा पोखे । समग्रमा सबैको एउटै स्वर सुनिन्थ्यो, ‘पुरानो पाराले चल्दैन ।’

विगत झण्डै एक दशकदेखि स्थानीय रूपमा असाध्यै फैलिएका र महत्वपूर्ण योगदान भएको एफएम रेडियो करिबकरिब धराशायी भएको गुनासो रेडियोकर्मीहरूको थियो । अब समाचारका लागि वा अन्य जानकारीका लागि रेडियो सुन्ने घटे । पत्रिकाका रिपोर्टरको गुनासो थियो न्युज ब्रेक गर्ने अवस्थै रहेन । भोलिपल्ट पत्रिकामा समाचार आउ“दा बासी भइसक्छ ।

टेलिभिजनकर्मीको पनि दुःखेसो उस्तै थियो, ‘मोबाइलमा गिथोलिएको समाचार हेर्न टिभीसेटसम्म पुग्न मानिसहरू जागर गर्न छोडे ।’ तुलनात्मक रूपमा न्यु मिडिया भनेर हौसिएका अनलाइनकर्मीको भिन्न दुःखेसो थियो, ‘हामीलाई पाठक दर्शकले पत्याउन गाह्रो मान्छन् ।’ रेडियो, टेलिभिजन, पत्रपत्रिका र न्यू मिडिया भनिएका अनलाइनजस्ता सञ्चारका माध्यमको मोटामोटी तस्बिर हो यो । अझ भनौँ हाम्रो मिडियाको हविगत हो यो । हाम्रो मिडियोको ट्रेन पनि असाध्यै बदलिएको छ । आज मूलधारको पत्रिकामा राम्रै पदमा रहेर काम गरेको सञ्चारकर्मी भोलि नै कुनै अनलाइन खोलेर सम्पादकमा नाम चढाइसकेको हुन्छ ।

कति अनलाइन बन्द भइसके भने कति खुल्दै छन् । बरु पत्रिका खोल्न भने करिब करिब बन्द छ । रेडियोको पनि अवस्था त्यस्तै छ, अनि साना साना लागानीकाको हिसाब नगर्ने हो भने अपवादबाहेक ठूला लगानीका टेलिभिजन पनि आएका छैनन् । बढ्दो अनलाइनको बाढीले नेपाली पत्रकारिता बलियो भयो कि, कमजोर बहसको विषय छ । मलाइ लाग्छ अनलाइनको बाढीले जनताले सूचना त समयमै पाएका छन् तर यसले पत्रकारिताभन्दा सूचनाकारिता बढी भएको छ । यसले मिडियाको संगठित शक्ति क्षयीकरण भएको छ ।

दलैपच्छिे रेडियो घरैपच्छिे अनलाइन छन् । टेलिभिजन उस्तै छन बिच्च बिच्चमा । युटुबरको बिगबिगी उस्तै छ । पहिला पहिला अन्तर्राष्ट्रिय मिडियामा पापराजीको खुब हल्लाखल्ला हुन्थ्यो, त्यसको ठाउ“ अहिले युटुबरले लिएका छन् । फेसबुके समाचारको आतंक छुट्टै छ अर्कोतिर । अब युटुबर र टेलिभिजन पत्रकारिता छुट्याउने बेला भयो । फेसबुके पत्रकारिता र अनलाइन पत्रकारिता चिनिने गरी छुटिने बेला आयो ।

सरकारी गोरखापत्र निजी क्षेत्रका पत्रपत्रिकामा सरकारी सूचना÷विज्ञापनमा प्रतिष्पर्धा गरेर बसेको छ । अब पनि सरकारले पत्रिका चलाउने कि नचलाउने भनेर बहस गर्न सकिन्छ तर गोरखापत्र चलाउने नै हो भने सरकारी सूचना त्यतै छापे विज्ञापन बजार माछाबजार जस्तो हुने थिएन कि ? निजी क्षेत्रको विज्ञापनको त के कुरा गराइ भो र ? सरकारी भ्रष्टाचारका प्वाल टाल्ने माध्याम भएका छन् सरकारी विज्ञापन । सरकारले निजी क्षेत्रलाई सहयोग गर्ने हो भने लोक कल्याणकारी विज्ञापन केन्द्रीय स्तरबाटै कुनै माध्यामबाट दिए हुन्छ तर तल्लो निकाय, आयोजना स्थानीय तह कतैबाट पनि विज्ञापन सरकारीमै जाने व्यवस्था गरे बरु यो रन्थमलो कम हुन्थ्यो कि । कम्तीमा एक कार्यकाल स्थानीय सरकार (पालिका वा प्रदेश) का सूचना÷टेन्डर जस्ता विज्ञापन गोरखापत्रमै छापिदिने हो भने स्थानीय तहमा कति भ्रस्टाचार भइरहेको छ भन्ने समाचार निस्फिक्री साथ निजी क्षेत्रका पत्रपत्रिका र अन्य सञ्चार माध्यममा आउन पाउ“थे कि भन्ने लाग्छ कहिलेकाहीँ ।

विज्ञापनको विकृति कतिसम्म छ भने केही दिनअघि एउटा मूलधारको दैनिकले ८० प्रतिशत छुट दिएर विज्ञापन छाप्न परेको पीडा प्रकाशकीयमै उल्लेख गरेको थियो । यो छुट ‘ओपन सेक्रेट’ जस्तै छ तर सरकारी निकायको हिसाब भने पत्रिकाले हरेक वर्ष निकाल्ने विज्ञापनको दररेटभन्दा धेरै फरक छैन होला । नेपाली मिडिया यस्ता संकटबाट गुज्रिरहेका छन् तर देशभरिबाट भेला भएका पत्रकारले यो विषयमा गम्भीर विमर्श गरेको पाइएन । मिडिया उद्योग नै धराशायी हुने अवस्थामा पत्रकारको रोजगारीको समस्या पनि प्रवलरूपमा देखिने अवस्था छ । तैपनि यो विषय प्राथमिकतामा परेन । त्यति मात्रै होइन मर्यादित पत्रकारितका बारेमा राष्ट्रपतिले उठाएको प्रश्नमा पनि सामान्य छलफलसमेत भएन ।

कार्यक्रमका प्रमुख अतिथिले उठाएको प्रश्न जायज हो भने कि त चिन्तन मनन् हुनुपथ्र्यो होइन आक्षेप मात्रै थियो भने यथोचित सन्देश दिन सक्नुपथ्र्यो । यसमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभा गम्भीर रूपमा चुकेको छ । त्यसै पनि पत्रकार आचारसंहिता त छ तर त्यसको पालना भए नभएको बारे आत्मसमीक्षा गर्ने कुनै फोरम छैन । मिडियाको बारेमा कि त ताली कित गालीको वर्षा हुन्छ तर सकारात्मक बहस गर्ने कुनै फोरम बन्न सकेनन् अहिलेसम्म । प्रेस काउन्सिल एउटा फोरम हुन सक्थ्यो तर त्यो पनि चिट काट्ने ट्राफिक प्रहरीले जस्तो मात्रै भएको छ । यस्तो अवस्थामा नेपाली पत्रकारिताको आत्मसमीक्षा मात्रै होइन नेपाली मिडियाको भविष्यको बारेमा चिन्तन–मनन् गर्न नेपाल पत्रकार महासंघको यस्ता सम्मेलनजस्ता फोरमहरूको सदुपयोग गर्न जरुरी छ ।

प्रतिक्रिया