थरीथरीका दम्भ र घरीघरीका अवसान

भरतराज पोखरेल

हिजो भारतीय राजदूतका अगाडि अनावश्यक र असभ्य तुजुक देखाउने ज्ञानेन्द्रको हविगत आज के भयो ? अनि ओलिको पनि यस्तै दम्भले पार्टी तहसनहस मात्रै भएन सातमा ६ मुख्यमन्त्री र प्रमको कुर्चीबाट बेदखल गरी बालुवाटारबाट बालकोट पुर्यायो । अकस्मात सफलता त यो विश्वकपमा साउदी अरेबियालाई पनि मिलेकै हो नि अर्जेन्टिनालाई हराएर । तर टिके पो !

– सिंहासनबाट प्रधानमन्त्रीको कुर्सीमा हाम फालेका तत्कालीन राजा ज्ञानेन्द्र शाहले एक दिन नेपालका लागि भारतीय राजदूतलाई दरबारमा बोलाए । कार्यकक्षको आफ्नो कम्प्युटर स्क्रिनमा आफैँले अंग्रेजीमा डेमोक्रेसी (DEMOCRACY) लेखे अनि उनलाई पढ्न लगाएर त्यसको अर्थ सोधे । राजदूतले अर्थ भनेपछि राजाले त्यसलाई तुरुन्त ‘डिलिट’ गरिदिए । अर्थात मेटाइदिए ।

— तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसामु सपथ लिइरहेको बेला राष्ट्रपतिले पढेको सपथको भाषा दोहो¥याउनुपर्नेमा ‘त्यो पर्दैन’ भने । शीतलनिवासको वातावरण असहज हुन नपाउँदै राष्ट्रपति भण्डारीबाट आएको ‘खितिति’ प्रतिक्रियाले वातावरणलाई सहज बनाइदियो ।

— पार्टी फुटेपछि महाधिवेशनको औपचारिकता पूरा गर्ने क्रममा एमाले अध्यक्षमा केपी शर्मा ओलीले सपथ खाइदिनुपर्ने भयो । निर्वाचन मण्डलका अध्यक्ष विजय सुब्बाले सपथ खुवाउन विधानको किताबबाट सपथका लाइन पढ्न थाल्नुभयो । सपथको भाषा दोहोर्याउनुपर्नेमा ओलीले आफैँ खरर पढेर सक्नुभयो, विचरा सुब्बाको अनुहार तीनमाना चुक खाएजस्तो मात्रै भयो ।

यी त हाम्रो राजनीतिमा सतहमा देखिएका दम्भका सामान्य उदाहरण हुन् । पहिलो संविधानसभामा नेकपा माओवादीले आकस्मिक जित हासिल गरेपछि त्यसका दोस्रो वरीयताका नेता बाबुराम भट्टराइले अरू पार्टीलाई हरूवा भनेर हेपेको अस्ति भर्खर मात्रै हो । एउटा छिमेकी राष्ट्रको राजदूत र राजाको त्यो भेटघाट कति सौहार्द भए होला ? एउटा छिमेकी राष्ट्रको राजदूतले ‘महाराज’ का अगाडि कल्पनै नगरेको अवस्था भोग्नुपर्दा त्यहाँको वातावरण कस्तो भए होला ? अनुमान गर्न सकिन्छ । त्यसपति ‘मौसुफ’को अन्त्य कसरी भयो अनुमान गर्न परेन, देखेभोगेकै कुरा भयो ।

शीतलनिवासको सपथग्रहण समारोहमा सपथ लिइरहेका प्रधानमन्त्रीको अस्वभाविक हर्कतले वातावरण असहज पक्कै भयो । अझ राष्ट्रपतिले आफ्नो औपचारिक मर्यादाको ख्याल गर्दै यसलाई संस्थागत र व्यक्तिगत अपमानको रूपमा लिएको भए स्थिति अझै बिग्रन्थ्यो पनि होला । तर यहाँ प्रम र राष्ट्रपतिको अनौपचारिक सम्बन्ध हावी भएकोले वातावरण बिग्रन पाएन भन्ने कुरा राष्ट्रपतिको हाँसोको खित्काले जनाउँथ्यो ।

राष्ट्रपतिले सपथग्रहणको उल्लंघनलाई जति सहज रूपमा लिएर हि हि गर्नुभयो अध्यक्षको सपथग्रहण गराइरहेका विजय सुब्बालाई भने त्यति सहज लागेको थिएन भन्ने हाउभाउबाट बुझन सकिन्थ्यो । संवैधानिक हिसाब राष्ट्रिय अंगको मर्यादाको शीतलनिवासको घटना जति महत्वपूर्ण हो, त्यसको तुलनामा चितवनको सौराहा गतिविधि पार्टीमा मात्रै सीमित रहने विषय हो ।

जुन पात्रको नेतृत्वमा अघिल्लो पाँच वर्षमा झण्डै दुईतिहाइको जनमत टिकेन उसैलाई व्यक्तिगतरूपमा अघि सारेर मत माग्दै डुलाउनु अर्को दम्भ हो । हालै सम्पन्न संसदीय निर्वाचनमा प्रधानमन्त्रीको रूपमा कसैलाई अगाडि सारेर कुनै पार्टीले मत मागेको थियो भने त्यो हो नेकपा एमाले । एमालेले आफ्ना सर्वशक्तिमान अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीका रूपमा अगाडि सार्दै प्रत्यक्षमा सय सिट र समानुपातिकमा ५० सिट मागेको थियो । तर, जनताले यसलाई दम्भकै रूपमा बुझे । निर्वाचन परिणामले प्रत्यक्षमा मागेभन्दा धेरै कम मात्रै होइन भइरहेको सिटभन्दा आधा सिट दिएर प्रमको रूपमा ओलीलाई अस्वीकार गरिदिएको छ ।

ओलीलाई प्रमको रूपमा अगाडि सार्नु कति जायज थियो त्यो एमालेले जान्ने कुरा भयो तर ऊ त्यतिमा मात्रै सीमित भएन, एमाले अन्य पार्टी, खास गरी सत्ता गठबन्धनलाई प्रधानमन्त्रीका उम्मेद्वार खोई ? भन्दै निर्वाचन अवधिभर ललकारी रहेको थियो । निर्वाचनताकाको एमालेको यो दम्भ बाबुराम भट्टराईले ‘हरुवा’ भनेर ललकारेको भन्दा कम थिएन । तर, निर्वाचन परिणामपछि भने ‘धाँधली भयो’ भन्ने एकआध रुन्चे स्वरबाहेक वालकोटबाट औपचारिक प्रतिक्रिया आएको छैन । गत निर्वाचनमा ८० सिट प्रत्यक्षमा पाएकोमा यसपालि ४४ सिटमा झरेको छ भने अघिल्लोपटक समानुपातिकमा पाएको मत र सिट दुबै घटेको छ ।

सरकारमा मात्रै होइन पार्टीमा पनि दम्भले नै काम गरेको छ । पार्टीको नेतृत्व ओलीको हातमा गएपछि आन्तरिक लोकतन्त्र मर्न थाल्यो । ओलीका आलोचकहरूलाई माथिदेखि तल्ला कमिटीसम्म टेढा आँखाले हेर्न थालियो । पार्टीमा हुने संस्थागत आकर्षणले ठाउ सरेर व्यक्ति नै सबै हो भन्नेमा ओली नेतृत्वले वातावरण तयार ग¥यो । पार्टीमा कुनै काम गर्नु नपर्ने ओलीको वरिपरि बसेर आलोचकहरूलाई सत्तोसराप गरिदिए पुग्ने भयो । कार्यकर्ताको त्याग समपर्ण त्यसैमा देखिन थाल्यो । ओलीका अगाडि पछाडि पार्टीका कार्यकर्ता कम ‘अन्य’ को ताँती बढी लाग्न थाल्यो । तिनले एमाले पार्टी होइन, ओली महान भनेर देवत्वकरण गर्ने काम गरे ।

पार्टीको नियुक्तिलगायत निर्वाचनका लागि उम्मेद्वार छान्ने काम पनि विधिवत रूपमा पार्टीको जस्तो रहेन । पद्धति होइन त्यो शक्ति सरेर ओलीमा गयो । ओलीले महाधिवेशनमा टीका लगाएर प्रतिनिधि ल्याए जसरी आफ्नै दाइँदाइँ चलाएर टिकट बाँडे । दम्भपूर्ण तरिकाले टिकट बाँडेको जनताले त के कार्यकर्ताले पनि पचाएनन्, निर्वाचन परिणाममार्फत त्यो सर्वाजनिक भइसकेको छ ।

दम्भको पारो यति चढेको थियो कि अधिवेशन ताका देशभरीका ६ हजार ७ सय ४३ वडामा एकैपटक वडा अधिवेशनको उद्घाटन आफैँ ओलीबाट भयो । यो पटकको उद्घाटनको अर्को रोचक पक्ष के भने सबै वडाको उद्घाटन् अध्यक्ष ओली आफैँले एक क्लिकमा गरेपछि अन्य तहका नेता कार्यकर्ता हेरेको हे¥यै भए ।

पहिला पहिला पार्टीका यस्ता कार्यक्रममा धेरै नेता कार्यकर्ताको सहभागिता हुन्थ्यो । वडा तहको कार्यक्रममा जिल्ला वा त्यो भन्दा माथिल्लो कमिटीका नेता प्रमुखअतिथि, अतिथि बन्थे । जिल्ला, प्रदेश वा त्यही खालका कार्यक्रममा सोही अनुरूपका नेताहरूलाई प्रमुख अतिथि वा अतिथिको रूपमा पार्टीले खटाउने गर्दथ्यो । तर यसपालि त्यस्तो भएन । वडाको कार्यक्रममा पनि प्रमुख अतिथि, विशिष्ट अतिथि वा अतिथि सबै ओली नै ओली । एक हिसाबले वडा अधिवेशन ओलीमय ।

पार्टी भनेको भावनाले जोडने हो प्रविधिले होइन । प्रविधि मूल होइन सहायक हो तर एमाले भने बढी प्राविधिक हँुदै गयो । दुईतिहाइको सरकारको नेतृत्व गरेर बालुवाटार छिरेको पार्टी अध्यक्ष लज्जास्पद तरिकाले बालकोटको यात्रा तय गर्दा सडकमा हर्क बढाईं गर्ने कार्यकर्ताले घेरिन्जेल त धेरै टाढा देखिँदैन तर प्रविधिको भर परेर मात्रै पार्टी बन्दैन ।

ठीक यस्तै काम तत्कालीन राजा ज्ञानेन्द्रका वरिपरि बस्नेहरूले गरे । ‘राजा’का हरेक बहुलठ्ठीपूर्ण व्यवहार र निर्णयमा ताली बजाउन तँछाडमछाड गरे । परिणाम के भयो ? सार्वजनिक भएकै विषय हो । दम्भको र पछि विचरा ज्ञानेन्द्रको गद्दी गयो वरिपरि बस्नेहरू अन्यत्र डेरा सरे । तालीवालाहरूको त के गयो र ? मालिक मात्रै फेरिए ।

राजनीतिमा जति खारियो त्यति परिपक्व हुनुपर्नेमा प्रतिशोधपूर्ण दम्भले ठाउँ बनाउँछ भने त्यो सकारात्मक संकेत होइन । शायद कल्पना नगरिएको र अपेक्षा पनि नराखीकन अकस्मात आइलागेको शक्तिले दम्भ निम्त्याउँछ । हिजो भारतीय राजदूतका अगाडि अनावश्यक र असभ्य तुजुक देखाउने ज्ञानेन्द्रको हविगत आज के भयो ? अनि ओलीको पनि यस्तै दम्भले पार्टी तहसनहस मात्रै भएन सातमा ६ मुख्यमन्त्री र प्रमको कुर्चीबाट बेदखल गरी बालुवाटारबाट बालकोट पु¥यायो । अकस्मात सफलता त यो विश्वकपमा साउदी अरेबियालाई पनि मिलेकै हो नि अर्जेन्टिनालाई हराएर । तर टिके पो फाइनल मात्रै होइन सेमीफाइनलसम्म पनि देख्न पाएन । आकस्मिक सफलता दिगो हँुदैन बरु यसले दम्भ मात्रै बढाउँछ र दम्भले विनास निम्त्याउँछ भन्ने ज्ञानेन्द्रदेखि केपी ओलीसम्मका आचार व्यवहारले प्रमाणित गरेका छन् ।

प्रतिक्रिया