कुलुङद्वारा आमाबुवाको स्मृतिमा दुई लाख बराबरको स्वास्थ्य कोष स्थापना

काठमाडौं । बेलायत बस्दै आएका महाकुलुङ– ३ छेस्कामका विर्खबहादुर कुलुङ दम्पतीले बुवा र आमाको स्मृतिमा स्वास्थ्य कोष स्थापना गरेका छन् ।

आर्थिक अभावका कारण ऋण काढेर उपचार गर्न बाध्य भएकाहरूको उपचारमा सहयोग पुर्याउने उद्देश्यका साथ स्वर्गीय बुवा नरवीर कुलुङ र स्वर्गीय आमा लाखसञ्च कुलुङको स्मृतिमा दुई लाख रुपैयाँ बराबरको कोष आज स्थापना गरेका हुन् । साथै, आजै सञ्चालक समितिमार्फत कानूनी प्रक्रिया पूरा गरिएको विर्खबहादुर ले बताए ।

कुलुङले आमा र बुवाको स्मृतिमा ‘नरवीर–लाखसञ्च स्वास्थ्य कोष’ स्थापना गरी सञ्चालक समिति अध्यक्ष घनश्याम कुलुङलाई रकम हस्तान्तरण गर्दै कोष सञ्‍चालन सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त कोषबाट सोलुखुम्बु, भोजपुर र संखुवासभाजस्ता बिकटबाट काठमाडौं उपचार गर्न आएकालाई सहयोग गरिने सञ्चालक समितिका सदस्यसचिव विवश कुलुङले बताए ।

उनका अनुसार आजै संखुवसभाको सिलिचोङबाट आएर ह्याम्स अस्पतालमा उपचार गराइरहेकी कौशिला कुलुङलाई चार हजार रुपैयाँ सहयोगसमेत गरिएको छ ।

सो अवसरमा विर्खबहादुर कुलुङले कोषको रकम उपचार गर्न समस्या भएकाहरूको सहयोगी बन्ने विश्वास व्यक्त गरे । ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त छु’, उनले भने ।

कोष सञ्चालक समितिका अध्यक्ष घनश्याम कुलुङले भने, ‘कतिलाई आर्थिक अभाव भएकै कारण उपचार गर्न समस्या छ। त्यसैले कोष स्थापनाले विपन्नलाई राहत मिल्नेछ ।’

विरामीको अवस्था र आर्थिक अवस्था हेरेर वर्षमा कम्तीमा ४ जनालाई सहयोग गर्न सकिने कार्यविधि बनाइएको समितिले जनाएको छ । कोषको रकम थप गर्दै लगिने विर्खबहादु कुलुङ दम्पतीले बताएका छन् ।

प्रतिक्रिया