आत्मानन्द गोल्डकपमा सुनसरीको विजयी सुरुआत

इलाम । इलामको माङसेबुङ–५ लारुम्बामा १५ औं आत्मानन्द गोल्डकप सुरु भएको छ । शुक्रबार भएको उद्घाटन खेलमा हाटखोला फुटबल क्लब सुनसरीले विजयी सुरुआत गरेको छ ।

डिफेन्डिङ च्याम्पियन माङसेबुङ गाउँपालिका इलामलाई टाईब्रेकरमा ४–३ गोलको अन्तरले पराजित गर्दै सुनसरीले विजयी सुरुआत गरेको हो । निर्धारित र अतिरिक्त समयमा समेत दुवै टिमबाट कुनैपनि गोल हुन नसकेपछि टाइब्रेकरमा विजेता निर्धारण गर्नुपरेको थियो ।

प्रतियोगिता अन्तरगत शनिबार जलथल फुटबल क्लब झापा र कर्णसिंह सोनाम फुटबल क्लव ताप्लेजुङबीच प्रतिष्पर्धा हुनेछ । किरात धर्मगुरु आत्मानन्द लिङदेनको ६९ औं जन्मोत्सवको अवसरमा संचालित गोल्डकपका विजेताले नगद ३ लाख ११ हजार १ सय ६९ रुपैयाँ र उपविजेताले नगद २ लाख ५ हजार १ सय ६९ रुपैयाँ पाउनेछन् ।
गोल्डकपमा पूर्वी नेपालका इलाम, पाँचथर, झापा, मोरङ, सुनसरी, तेह्रथुम, ताप्लेजुङ र भारतको दार्जिलिङ गरी ८ टिमको सहभागिता छ ।

आत्मा पवित्र हक्चात यक्चुमले आयोजना गरेको गोल्डकपको फाइनल १७ मंसिरमा हुनेछ । धर्मगुरु लिङको जन्मोत्सवको अवसरमा हरेक वर्ष मंसिरमा गोल्डकप संचालन हुँदै आएको छ ।

प्रतिक्रिया