दलहरूलाई सवक

संसदीय निर्वाचनमा पहिलोपटक उम्मेद्वार बनेकी नेतृ रामकुमारी झाँक्रीले पराजय बोहोरेपछि प्रतिक्रिया दिँदै भनिन्, ‘विश्व विद्यालयमा पढेको भन्दा प्रभावकारी शिक्षा उम्मेद्वार बनेपछि प्राप्त गरेँ ।’ सत्य कुरा यही हो । निर्वाचन भनेको शिक्षा हो । हरेक निर्वाचनले एउटा न एउटा शिक्षा तथा सन्देश दिन्छ । निर्वाचनमा भाग लिनु भनेको परीक्षामा सामेल हुनु मात्रै होइन, सामाजिक पक्षको जटिलता र हरेक पुस्ताको मनोविज्ञानको अध्यायनसमेत हो । यति हुँदाहुँदै पनि हरेक निर्वाचनले दिँदै आएको साझा शिक्षा हो, ‘सकेसम्म युवाहरूलाई उम्मेद्वार बनाउ ।’

मतदाताले युवा उम्मेद्वारलाई रुचाउने गरेको पुष्टि नेपालका हरेक निर्वाचनले गर्दै आएको छ । पुराना उम्मेद्वारप्रति भन्दा नयाँ उम्मेद्वारप्रति मतदाताको आकर्षण बढी हुने गरेको पुष्टि यसपटकको आमनिर्वाचनले मात्रै होइन, यसअघि भएका पटकपटकका निर्वाचन परिणामले गर्दै आएको छ । यसपटक ठूलादलहरूले अनपेक्षित क्षति बेहोरेको भनिएको छ । तर, कस्ता उम्मेद्वारले चुनाव जित्ने हरेका छन् र कस्ता उम्मेद्वारले हार्ने गरेका छन् ? भन्ने प्रश्नको उत्तर खोज्ने हो भने अहिलेको मत परिणाम अनपेक्षित हुँदै होइन । विगतको जस्तै हो । फरक कति हो भने, ‘विगतमा सहरी क्षेत्रमा मात्रै युवा उम्मेद्वारप्रति मतदाताको आकर्षण हुन्थ्यो, यसपटक दूरदराजमा पनि युवा उम्मेद्वारप्रति आकर्षण देखियो ।’

आसन्न आमनिर्वाचनको प्रारम्भिक मतपरिणमको रुझान हेर्दा सत्ताधारी पाँच दलीय गठबन्धनको अवस्था कमजोर हुने देखिएको छ । सुविधाजनक बहुमत पुग्न पनि हम्मेहम्मे पर्ने हो कि ? भन्ने देखिएको छ । पहिलो शक्ति नेपाली कांग्रेस, तेस्रो शक्ति माओवादी केन्द्र, चौथो शक्ति एकीकृत समाजवादी पार्टीका अतिरिक्त लोसपा र राष्ट्रिय जनमोर्चासमेत एक ठाउँमा उभिएर निर्वाचनमा होमिदा दुईतिहाइ बहुमत हासिल हुनुपर्ने थियो, तर सामान्य बहुमत पु¥याउनसमेत धौ धौ पर्नु भनेको एकहिसाबले भन्नुपर्दा पराजय नै हो । कस्ता उम्मेद्वारलाई मतदाताले मन पराउँछन् ? भन्ने भन्दा पनि हामीले अघि सारेका उम्मेद्वारलाई मतदाताले भोट दिइ हाल्छन् नि, भन्ने सोच गठबन्धनका शीर्ष नेताहरूमा देखियो ।

चुनाव जित्ने मुख्य अस्त्र गठबन्धन मात्रै होइन, युवाहरूलाई उम्मेद्वारका रूपमा अघि सार्नु पनि हो भन्ने सवक यसपटकको आमनिर्वाचनबाट सबै दलले सिक्नुपर्छ । त्यसमा पनि गठबन्धनमा सामेल पाँच दलका शीर्ष नेताहरूले अझै धेरै सिक्नुपर्छ । उदाहरणका लागि गत स्थानीय निर्वाचनको मत परिणामका आधारमा काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये सत्ता गठबन्धनका लागि सबैभन्दा प्रतिकूल क्षेत्र नं ५ थियो । सबैभन्दा अनुकूल क्षेत्र नं ६ थियो । तर, चुनावी परिणाम उल्टो आयो । युवा उम्मेद्वार प्रदीप पौडेलले जिते, बुढा उम्मेद्वार भीमसेनदास प्रधानले हारे । गठबन्धनका युवा उम्मेद्वारहरूले एमालेको कथित लालकिल्ला मुस्ताङमा बाजी मारे ।

गठबन्धनको राम्रो भोट रहेको पाल्पा क्षेत्र नं २ मा गठबन्धनका सोमप्रसाद पाण्डेलाई एमालेका युवा उम्मेद्वार ठाकुर गैरेले चुनौती दिए । उता बझाङमा पनि गठबन्धनका उम्मेद्वार भानुभक्त जोशीलाई एमालेका युवा उम्मेद्वार ऐनबहादुर महरले चुनौती दिइरहेका छन् ।

यसैगरी सत्ता गठबन्धनका लागि तनहुँको क्षेत्र नं २ अनुकूल रहेको र क्षेत्र नं २ प्रतिकूल रहेको भनिएको थियो, तर क्षेत्र नं १ मा चुनाव जित्न गठबन्धनका उम्मेद्वार रामचन्द्र पौडेललाई हम्मेहम्मे प¥यो भने क्षेत्र नं २ बाट गठबन्धनका युवा उम्मेद्वार शंकर भण्डारी फराकिलो मत अन्तरले विजयी भए ।
यसपटकको आमनिर्वाचनका क्रममा उदय भएको राष्ट्रिय स्वतन्त्र पार्टीले सबैजसो युवा उम्मेद्वार नै अघि सारेको थियो । स्वतन्त्र पार्टीका उम्मेद्वारले चुनाव जितेका प्रायः सबैजसो निर्वाचन क्षेत्रमा निकटम प्रतिस्पर्धी एमालेका उम्मेद्वार छन् । धन्न रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले युवा उम्मेद्वार खडा गरेको रहेछ र पाँच दलीय गठबन्धनको नाक जोगियो, होइन भने एमाले नै ठूलो दल हुने रहेछ । यति भन्दै गर्दा चुनाव जित्नका लागि मुख्य भूमिका पार्टी संगठनले नै निर्धारण गर्छ । उम्मेद्वारको उमेर मुख्य निर्णायक भने होइन । किनकी राष्ट्रिय स्वतन्त्र पार्टीबाट १ सय ३१ उम्मेद्वार खडा थिए, सबै युवाहरू नै थिए । ती १ सय ३१ मध्ये कति जनाले चुनाव जिते त ? भन्ने प्रश्नको उत्तर हेर्ने हो भने संगठनभन्दा ठूलो शक्ति अर्को होइन भन्ने कुरा प्रमाणित हुन्छ ।

प्रतिक्रिया