आम निर्वाचन सम्पन्न

केही अपवादबाहेक आमनिर्वाचन ०७९ निर्वाध रूपमा सम्पन्न भएको छ । आइतबार देशभर प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि एकै चरणमा मतदान भएको थियो । निर्वाचनमा तडकभडक तामझाम देखिएन । आचारसंहिता पालना गर्न कोशिस गरेको देखियो । स्थानीय तहको निर्वाचनमा भन्दा सहभागिता अत्यन्त निराशाजनक देखियो । पहिलो कुरा त करिब २० प्रतिशत मतदाता विदेशमा छन् । दोस्रो कुरा निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले सहज रूपमा मतदान गर्ने व्यवस्थासमेत निर्वाचन आयोगले गर्न सकेन । उनीहरूका लागि समानुपातिकतर्फ मतदान गर्न पाउने व्यवस्था त गरियो, तर यो व्यवस्था कार्यान्वनका लागि प्राविधिक पक्ष फितलो बनाइयो ।

जसका कारण निर्वाचनमा खटिएका अधिकांश कर्मचारी तथा सुरक्षाकर्मी मतदान गर्नबाट वञ्चित भए । यसैगरी निर्वाचन पर्यवेक्षकमा खटिनेमध्ये पनि अधिकांशले मतदान गर्न पाएनन् । त्यसो त अति अशक्त तथा अति अपांगता भएकाहरूलाई पनि मतदानमा सहभागी गराउने प्रबन्ध यसपटक पनि भएन । स्वदेशभित्र जो जहाँ काम गरेर बसेको छ, उसले त्यहीँ मतदान गर्न सक्ने व्यवस्था गरिएको छैन ।

यसका बाबजुद पनि जति मतदान भएको छ त्यो हुनु भनेको सकरात्मक मान्नुपर्छ । यसपटकको आमचुनावमा निर्वाचन आयोग निष्पक्षता र तटस्थताको मामिलामा सुरुदेखि नै चुुक्यो । निर्वाचन आयोगका धेरैजसो कदमहरू विवादास्पद बने । तैपनि राजनीतिक दल, उम्मेद्वार तथा मतदाताहरूको सहनशीलताका कारण निर्वाचन बिथोलिन पाएन । जसलाई सकरात्मक रूपमा लिनुपर्छ । नेपाली जनताको चेतनाको स्तर माथि पुगिसकेको संकेत हो यो । निर्वाचनका क्रममा सुरक्षा निकायको योगदान यसपटक निकै सराहनीय रह्यो ।

निर्वाचन भनेको लोकतन्त्रका लागि सबैभन्दा ठूलो पर्व हो भन्ने कुरामा कसैको विमति छैन । लोकतन्त्रमा हरेक राजनीतिक समस्याको निकास निर्वाचनले दिन्छ । तर, निर्वाचन भनेको आफैँमा साध्य होइन, साधन मात्रै हो । निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि चुन्छन्, जनताले चुनेका तिनै प्रतिनिधिहरूको क्रियाकलापस“ग मुलुकको भविष्य जोडिएको हुन्छ । त्यसैले कुनै पनि निर्वाचन के कति सफल भयो ? भन्ने मापदण्ड भनेको निर्वाध रूपमा मतदान सम्पन्न हुनु मात्रै होइन, कस्ता दल र कस्ता व्यक्तिहरूले चुनाव जिते ? कस्ता दल तथा व्यक्तिहरूले चुनाव हारे ? भन्ने प्रश्नको उत्तर प्राप्त गरेपछि मात्रै निर्वाचन के कति सफल तथा असफल भयो ? भन्ने विश्लेषण गर्न सकिन्छ । त्यसैले आमनिर्वाचन ०७९ सफल कि असफल ? भन्ने विश्लेषण गर्न पहिलो कुरा त मतगणनाको परिणाम पर्खनुपर्ने हुन्छ । दोस्रो कुरा अब संघीय सरकार र प्रदेश सरकारहरूमा के कस्ता व्यक्ति सामेल हुन्छन् ? भन्ने कुरा पनि बुझ्नुपर्छ ।

किनकी हाम्रो निर्वाचन पद्धति अपवादबाहेक एउटै पार्टीको बहुमत आउने किसिमको छैन । यसपटक पनि कुनै पार्टीको बहुमत नआउने निश्चित छ । अब बन्ने भनेको पनि मिलिजुली सरकार नै हो ।

मतदानमा भाग लिने तर मतगणनाको परिणाम थाहा पाउन हप्तौँसम्म पर्खनुपर्ने दुर्भाग्यपूर्ण परिस्थितिबाट हामी गुज्रिरहेका छौँ । उदाहरणका लागि अघिल्लो आमनिर्वाचन ०७४ मंसिर १० गते सम्पन्न भएको हो । तर नयाँ प्रधानमन्त्रीको नियुक्ति फागुन ३ गते मात्रै भयो । प्रदेश सरकारहरू त्यसपछि मात्रै बने । यसपटक निर्वाचन आयोगले मंसिर २२ गते भित्र मतगणनाको काम सक्ने भनेको छ । विश्वका अरू मुलुकलाई हेर्दा यो पनि बढी अवधि हो ।

किनकी एक अर्ब मतदाता भएको छिमेकी मुलुक भारतमा दुई दिनभित्र मतगणनाको परिणाम आउने गरेको छ ।

तर, पौने दुई करोड मतदाता भएको नेपालमा मतदान भएको तीन सातापछि मात्रै मतगणनाको परिणाम आउने निर्वाचन आयोगले जनाएको छ । यहाँभन्दा लज्जाजनक अवस्था अरू के हुन सक्ला ? २१औँ शताव्दीमा पनि १८औँ शताव्दीकै मतदान प्रविधिलाई निरन्तरता दिइएपछि यस्तै हुुन्छ । शासन व्यवस्था जतिसुकै राम्रो भए पनि युग अनुसारका प्रविधिहरू अँगाल्न सकिएन भने हामी पछि पर्छौं ।

प्रतिक्रिया